ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

वन डढेलोको फैलावट र बस्तीमा त्रास

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

लामो समयसम्म पानी नपरेकोले गर्दा अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष डढेलो र आगलागीका घटनाहरू धेरै हुने अनुमान पहिले नै गरिएको थियो । तर, अहिले अनुमान गरेभन्दा धेरै यस्ता आगलागीका घटनाहरू भईरहेका छन् । चैत्र महिनामा सामान्य रूपमा देखिएको डढेलो बैशाखको पहिलो सातादेखि नै विकराल बन्दै गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको विपद सम्बन्धि दैनिक रिपोर्टका अनुसार चैत्र १ देखि बैशाख २० को अवधिमा मात्र देशभर डढेलो र अन्य आगलागीका ठूला २०१३ वटा घटनाहरू भएका छन् । आगलागीमा परेर ४० जनाको मृत्यु, १३१ जना घाईते भएका छन् भने २४९६ परिवार प्रभावित भएका छन् । डढेलो र आगलागीमा परेर १०६६ घरमा पूर्ण क्षति र ५२३ घरमा आंशिक क्षति पुगेको छ । यो ५० दिनको अवधिमा अनुमानित ८२ करोड १३ लाख रुपियाको भौतिक क्षति भैसकेको छ । डढेलो र विपदको यो ग्राफ दिनहँु तिब्र गतिमा बढिरहेको छ । तराईमा वस्तीका कुनै घरबाट शुरु भएको आगो वस्तीमा फैलिएर पूरै वस्ती जलेका घटनाहरू छन् भने पहाडी क्षेत्रमा जंगलको डढेलो नियन्त्रण भन्दा बाहिर गएर हेर्दाहेर्दै वस्तीहरू स्वाहा भएका दुखद समाचारहरू दिनहु आईरहेका छन् । पानी पर्ने संकेत नदेखिएकोले यो वर्ष आगलागीको क्षतिको आंकडा बिशाल हुने निश्चित छ ।
विगतमा अधिकांश डढेलो चुरे र तराईका वनमा लाग्ने गरेकोमा अहिले डढेलोको फैलावट महाभारत पर्वतीय क्षेत्रको वनमा पनि धेरै देखिएको छ । अर्घाखाँचीको भुमिकास्थान र शितगंगा, गुल्मीको चन्द्रकोट, कालिगण्डकी, इश्मा र रेसुंगा, पाल्पाको निस्दी, पूर्वखोला, रैनादेवीछहरा, रामपुर र रिब्दिकोट, प्युठानको मल्लरानी, झिमरुक, माण्डवी र नौबहिनिमा धेरै डढेलो लागेको छ । तराईतर्फ भने बाँकेको राप्ति सोनारी तथा बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा धेरै डढेलो रेकर्ड भएका छन् । रूपन्देही, नवलपरासी र कपिलवस्तुमा विगत जत्तिकै डढेलो लागेको छ भने रोल्पा र रुकुम पूर्वमा ठुलो डढेलो नलागेको वन तथा वातावरण मन्त्रालयको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका ताजा तथ्याकहरूले देखाएका छन् । डढेलो बढी लागेका स्थानहरूमा नै अन्य आगलागीका घटनाहरू धेरै भएका छन् अनि वनको डढेलो वस्तीमा फैलिएर कैयौ घरहरू खरानी भैसकेका छन् । पछिल्ला ५० दिनमा लुम्बिनी प्रदेशमा डढेलो र आगलागीका ४९५ घटनामा परेर ४ जनाले ज्यान गुमाईसकेका छन् भने ३०४ घरमा पूर्ण क्षति, १४९ घरमा आंशिक क्षति, २७४ गोठमा क्षति भैसकेको छ । आगलागीका घटनाबाट ७८१ परिवार प्रभावित भएका छन् । वन र जैविक विविधतामा भएको क्षतिको त् अनुमान गर्न पनि नसकिने अवस्थामा छ । अहिले तराईमा भन्दा पहाडमा आगलागीका घटना र त्यसबाट हुने क्षति उच्च रहेको छ । आगलागी ÷डढेलोबाट पहाडमा बढी क्षति हुनुका मुख्य कारण निम्न रहेको देखिन्छ ।

१. सुख्खा र खडेरी
चैत्रमा लुम्बिनी प्रदेशको केही पहाडी स्थानमा हलुका वर्षा भएपनि ५ महिनायता पहाडी क्षेत्रमा पानी परेको छैन । जलवायु परिवर्तनले गर्दा पहाडी क्षेत्रको औशत तापक्रम बढिरहेको अवस्थामा लामो समयसम्म वर्षा नहुँदा पहाडमा सुख्खापन निकै बढेको छ । वन र वस्तीका घाँसपात, रुख विरुवाहरू सुकेकोले आगलागीको लागि उपयुक्त आधार तयार भैरहेको छ । यस्तो अवस्थामा मानिसको लापरवाही र प्राकृतिक कारणले उत्पन्न सानो झिल्को पनि पात पतिंगरमा पर्ने वित्तिकै नियन्त्रण गर्न नसकिने डढेलो बनेर फैलिने गरेको छ ।

२. झाडी वृद्धि र वन सफाईको कमी
बसाईसराईले घाँस दाउराको उपयोगमा कमी र खेतीपातीमा कमी आएकोले एकातर्फ घर छेउछाउ झाडी बढेको छ भने अर्कोतर्फ खेतबारीमा घाँसपात र बुट्यान बढेको छ । घाँस दाउरा र चरिचरन नहुँदा वस्ती नजिकका वनहरूमा समेत घाँस, खर, स्याउला र सुकेका हाँगाबिंगा त्यत्तिकै रहने गरेका छन् । पहाडी क्षेत्रका कतिपय घरहरू त अचेल जंगलको विचमा भएजस्तो देखिन थालेका छन् । यसले गर्दा वनमा लागेको डढेलो सजिलैसंग वस्तीमा पुग्ने र वस्तीको आगो सजिलैसंग वनमा पुगेर ठुलो क्षति गरेको देखिन्छ ।

३. पूर्व तयारीको कमी
यसपाली कम पानी परेकोले आगलागीको जोखिम धेरै भएको कुरा सबैलाई थाहै थियो । यहि जोखिमलाई ध्यानमा राखेर पहाडी क्षेत्रमा डढेलो÷आगलागी नियन्त्रणका कामहरू स्थानिय वासिन्दा र पालिकाहरूले गर्नुपर्नेमा यी दुई पक्षहरूले ध्यान नदिएको देखिन्छ । सामुदायिक वन उपभोक्ता समुह र स्थानीय सरकार मिलेर वस्ती वरपरको झाडी सफाई गर्ने, वनका पत्करहरू हटाउने, वस्ती नजिक सदाबहार विरुवा रोपेर अग्निरेखा बनाउने जस्ता कामहरूमा स्थानीय वासिन्दाहरू चुकेको देखिन्छ । वन र वस्तीको सम्पर्क तोड्न सकेको भए आगलागीको फैलावट धेरै हदसम्म रोक्न सकिने थियो । प्रदेश सरकारले डढेलो विरुद्धको पूर्वतयारी गर्नको लागि बजेट विनियोजन समेत गरेको थियो । यो बजेटबाट जनता परिचालन गरेर आगलागी रोकथामका पूर्व तयारी गर्न सकिने भएपनि वन कार्यालयहरूले वनसँग सेलिब्रेटी भन्दै राजधानीबाट कलाकार बोलाएर शहरमा नचाएर बजेट सकेको देखिन्थ्यो । यसले गर्दा डढेलो विरुद्धको पुर्वतयारि र नियन्त्रणका कामहरू प्रभावकारी रूपमा हुन सकेनन् ।

४. सहभागिताको कमी
सामुदायिक वन समूह गठनमा हुने चरम राजनीति अनि वन पैदावारको मागमा कमीले गर्दा वनप्रति स्थानीय वासिन्दाको अपनत्व र वन व्यवस्थापनमा सहभागितामा कमी भैरहेको छ । यसको प्रत्यक्ष असर डढेलो नियन्त्रमा परेको देखिन्छ । वस्तीको नजिकै डढेलो आउँदासम्म पनि निभाउनको लागि चासो नदिने, आपसमा सूचना आदानप्रदान र नियन्त्रणमा हातेमालो नगर्ने, वनमा आगो लाग्दा कसरी निभाउने भन्दा पनि भिडियो सामाजिक संजालमा राखेर कसरी भाईरल हुने भन्ने सोच समेत धेरै मानिसहरूमा देखिएको छ । बस्ती नजिकै आगो आउन लाग्दा पनि बचावटको उपायहरू नअपनाएर मिडिया बोलाएर आगलागी देखाउन खोज्ने, डढेलो नियन्त्रण गर्ने काम स्थानीय सरकार र वन कार्यालयको हो भनेर ति निकायहरूलाई पर्खेर बस्ने गरेको गुनासो ति निकायहरूबाट आउने गरेको छ । पूर्वतयारी, नियन्त्रण र पुनस्र्थापनामा जनसहभागिताको कमीले गर्दा आगलागीबाट हुने क्षतिको मात्रा वर्षेनी बढेको देखिन्छ ।

५. जलाधार क्षेत्रको विनास
लुम्बिनी प्रदेशका सबै सानाठूला खोला नदीहरूको जलाधार क्षेत्र पहाडमा नै रहेको छ । अहिले पहाडका जलाधार क्षेत्रहरू निकै सुख्खा भएका छन् । पहाडका खोल्साखोल्सीमा पानीको त कुरै छोडौ, चिस्यान सम्मपनि देख्न मुस्किल हुन थालेको छ । जथाभावी रूपमा खनिएका सडकहरूले जलाधार क्षेत्रलाई विथोलेका छन् । जमिनको जल शोषण क्षमता घटेको छ, जमिन भित्रका जल बहावमार्ग र खोल्साखोल्सिहरू अवरुद्ध भएका छन् । पहिले खोला खोल्सामा पानी हँदा त्यसको छेउछाउ हरियाली भैरहन्थ्यो, जसले वनमा डढेलो लाग्दा प्राकृतिक अग्नि रेखाको काम गर्दथ्यो । खोला खोल्सामा पानी हुँदा आगलागी हुँदा तत्कालै निभाउन सहज हुन्थ्यो । अहिले जलाधार क्षेत्र विनास हुँदा वनको डढेलो एक क्षेत्रदेखि अर्को क्षेत्रमा सहजै फैलिन पाएको छ । खोल्साखोल्सी सुख्खा हुँदा खानेपानीकै हाहाकार भैरहेको अवस्थामा आगलागी हुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता छ ।

अहिले वन र वस्ती सबैतिर आगलागीको त्रास छ र आगोमा परेर वन र धन दुवै खरानी भैरहेको छ । आउँदा दिनमा कतिसम्म क्षति पुग्ने हो भन्ने कुराको अनुमान गर्न कठिन छ । तर आउँदा वर्षहरूमा अझ स्थिति भयावह हुने अनुमान भने सजिलै गर्न सकिन्छ । तापक्रम वृद्धि, सुख्खा र खडेरीलाई हामी नेपालीले टार्न सक्दैनौ, तर हाम्रो व्यवहार र लापरवाहीको कारणले गर्दा हुने आगलागिलाई रोक्न भने सक्छौ । पूर्व सावधानी, रोकथामको तयारी जस्ता कुरामा ध्यान दिन सकेमा पनि धेरै जोखिम कम गर्न सकिन्छ । स्थानीय सरकार र पालिकाहरूले डढेलो÷आगलागी नियन्त्रणको लागि समुदायसंग सहकार्य गर्ने, साधन श्रोत सम्पन्न गराउने र वनप्रति अपनत्व हुन सक्ने कार्यक्रम गर्ने हो भने आगोको चपेटाबाट वन, जन र धनलाई जोगाउन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?