ट्रेंडिंग:

>> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी

हिमाल घुमिआएका प्रियजनहरुका नाममा

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

मेरा केही प्रियजनहरू हालै लाङ्टाङ उपत्यकाको सेरोफेरो घुमेर आएका छन् । उनीहरूको त्यो यात्रा समुद्र सतहको १६० मिटरबाट शुरु भएर ४ हजार ७ सय ७० मिटरको उचाइसम्म पुगेको रहेछ । यात्रा अवधिमा खिचेका तस्वीरहरूद्वारा तिनले आफ्नो यात्रा वृतान्त बताएका छन् । तिनले हिमाली जनजीवनको संस्कृति, समाज र त्यहाँका मानिसहरूको सुखदुःखलाई प्रतिविम्वित गर्ने अरू पनि धेरै तस्वीरहरू सामाजिक सञ्जालमा राखेका छन् ।

एउटा पोष्टमा तीन मनुवाहरू क्यान्जिन रि १ र २ लाई बिलकुलै नजिकैबाट हेरिरहेका देखिन्छन् । तस्वीरको अग्रभागमा हिमालका चुचुराहरू छन् । कलिलो घामका किरणमा हिमाल चाँदीजस्तै चम्केको देखिन्छ । अवलोकनकर्ताहरूको पृष्ठ भाग मात्रै तस्वीरमा देखिन्छ ।

तस्वीरको शीर्षनुलेखमा (क्याप्सन)मा लेखिएको छ–

बिहान उठने बित्तिकै हिमाल हेर्न पाइयोस्…….. !

एउटा साहसिक यात्राको रोमाञ्च जस्तो ! प्रायः आइरहने एउटा सपना जस्तो ! वर्षौदेखि संगालिराखेको एउटा आकाङ्क्षाजस्तो ! मेरा प्रियजनहरूको हर प्रयासमा साहसिक यात्रा (एड्भेन्चर) त देखियो नै, त्यस बाहेक त्यो यात्रामा मैले तिनका देशप्रेम, हिमालसँगको अनुराग र हिमाली जनजीवनप्रतिको जिज्ञासा पनि देखेँ ।

समाज यही हो, हजारौ लाखौं मानिसहरू दिपावलीको तयारी गरिरहेका थिए । घरमा छिमेकी मुलुकहरूबाट आयातित सजावटी विजुलीका झल्लर सजाइरहेका थिए । सयपत्री फूलको जुगाड गरिरहेका थिए । पूरै फेस्टिबल मूडमा पुगेर जुवातास खेलिरहेका थिए । खसी–बोका काटिरहेका थिए । रक्सी पिइरहेका थिए ।

अनि ढोंग हेर्नुस् –पूजा कोठामा माता लक्ष्मीको फोटो टाँसिरहेका थिए ।

जबकि पछिल्ला तथ्याङ्कहरू भने ज्यादै भयावह थिए । नेपाल विद्युतीय व्यवसायी महासङ्घका (एफ.ई.ई.एन.)अनुसार अघिल्लो वर्ष चीनबाट मात्रै ८ सय मिलियन (८० करोड) रूपैयाँको सजावटी बिजुलीको झल्लरहरू आयातित भएको थियो जसमा बिना भन्सार भित्रिएकाको कुनै हिसाब छैन । फूल व्यवसायीहरूका अनुसार करोडौंको त सयपत्रीका मालाहरू भारतबाट आयातित भएका थिए । लक्ष्मीको फोटो मात्रै करोडौं रूपैया बराबरको आयात भएको अनुमान गरिएको थियो ।
तर आसन्न तिहारको बेला समयको सम्पूर्ण सदुपयोग गर्दै मेरा प्रियजनहरू भने ६ सय १० कि.मि. मोटर यात्रा र ७७ कि.मि.पैदल यात्रा गरी लाङ्टाङ पुगेका थिए । तिनले २०७२ को भुकम्पले क्षतविक्षत पारे पनि आफ्नै सङ्घर्षमा बिस्तारै बौरिदैं गरेका गाउँबस्ती छिचोलेका थिए । हिमाली जनजीवनसँग साक्षात्कार गरेका थिए । त्यहीको खान्की खाँदै र त्यहींको जाडोलाई अनुभूति गर्दै देश बुझ्ने कोशिस गरेका थिए ।

तिनले पोष्ट गरेका अचल र चल दृश्यहरूमा हिमाली गाउँ देखिन्छ । गुम्बाहरू देखिन्छन् । ढङ्गै ढुङ्गाले बनेका चौतारी र देउरालीहरू देखिन्छन् । ती गुम्बा, चौतारी र देउरालीहरूमा हिमाली हावाको वेगमा निरन्तर फर्फराइरहेका रङ्गीविरङ्गी लोभलाग्दा लुङ्दरहरू देखिन्छन् । घामको किरणमा टल्किरहेका हिमाली चुचुरोहरू देखिन्छन् । हिमालको फेंदबाट बगिरहेका हिमनदीहरू देखिन्छन् । पृष्ठभूमिमा मरुभूमिको टाकुराजस्ता देखिने पहाडहरू पनि देखिन्छन् ।

मेरा प्रियजनहरूले आफ्नो यात्राका क्रममा ती सबै दृश्यहरूको तस्वीर खिचेका छन् ।

मित्रहरू हो ! तस्वीरको महत्व धेरै ठूलो छ । ती तस्वीरहरू नखिची हामीलाई सुखै कहाँ छ र ? त्यसैले म त भन्छु–खिच्नू, भएभरका तस्वीरहरू खिच्नू ।

खिच्नू र सम्हालेर राख्नू ।

किनभने हामीलाई संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरसले यहाँ आएर सम्झाइदिनु पर्दछ । सम्झाइदिनु पर्दछ कि विगत तीन दशकमा हाम्रा हिमालहरूले एक तिहाइ हिउँ गुमाइसकेका छन् । बिहान र साँझमा सुन जस्तै र दिनमा चाँदीजस्तै चम्किने हाम्रा हिमालहरू बिस्तारै काला पहाडमा परिणत हुँदै गइरहेका छन् । मेरा प्रियजनले खिचेका तस्वीरहरूमा केही वर्ष अघिका हिमालहरू काला पहाडमा परिणत भइसकेको पनि त देखिएको छ !

भन्दै थिएँ–तस्वीरको बहुतै महत्व छ । मेरो प्रियजनहरू ! आफूले खिचेका तस्वीरहरू बिलकुलै सम्हालेर राख्नू ! तिनै तस्वीरहरूद्वारा नै आउने पिढींलाई हिमाल देखाइनेछ ।

तिनै तस्वीरहरू देखाएर भावी सन्ततिहरूलाई हिमाल पढाइनेछ ।

तिनै हिमाली श्रृङ्खलाहरूको समानान्तरमा उठिरहेका चर्चहरूले गुम्बाहरूलाई पूर्णत विस्थापित गरेपछि भावी सन्ततिहरूलाई हामीले कहाँको गुम्बा देखाउनेछौं ? गुम्बा र हिमाली जीवनको संस्कृतिको सम्बन्धलाई हामीले कुन गुम्बा देखाएर बुझाउनेछौं ? लुङ्दर र हिमाली सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई कुन लुङ्दर देखाएर बुझाउनेछौं ?

त्यो बेला गुम्बाका ती तस्वीरहरू काम लाग्नेछन् । लुङ्दरका ती तस्वीरहरू काम लाग्नेछन् ।

हिमालका तस्वीरहरू देखाएर नै भावी सन्ततिहरूलाई हिमालको चिसो र सौन्दर्य अनुभूति गर्न लगाइनेछ । हिमनदीको तस्वीर हेरेर नै तिनले आफ्नो तिर्खा मेट्ने छन् ।

तपाईं भन्न सक्नुहुन्छ–यस्तो क्रूर र अप्राकृतिक पनि कसरी सोंच्न सकेको होला ! तर खासमा हामी त्यस्तो सोंच्न बाध्य छौं । हाम्रा बाध्यताका पछाडि हाम्रा पनि प्रशस्तै गल्तीहरू छन् तर मूलभूत रूपमा औधोगिक मुलुकहरू जिम्मेवार छन् । कार्वन उत्सर्जनमा पूँजीवादी बजारका निर्माण गरेर संसारको धन सोहोर्न उद्यत मूलतः तिनै मुलुकहरू दोषी छन् जो कार्वन उत्सर्जन गरेर ‘ग्लोबल वार्मिङ’को मुख्य हिस्सेदार भएका छन् । जो धर्मका नाममा यो हिमाली राज्यमा आफ्नो अधिपत्य जमाउन शताब्दीदेखि लागिरहेका छन् ।

देश भनेको फगत क्षेत्रफल होइन । त्यसैले हिमाल भनेको क्षेत्रफल मात्रै होइन । हिमाल भनेको हिउँको समुच्चय हो । हिमालमा हिउँ नरहनु भनेको हिमाल नरहनु मात्रै होइन । देश नै नरहनु हो । विडम्बना के छ भने हामी हरदिन देश गुमाइरहेका छौं तर बोल्दैनौं । हाम्रो सरकार बोल्दैन । सरकारलाई त्यति ठूलो मुद्दामा मानौं कुनै सरोकार छैन । ‘तिम्रो हिमाल त सक्किन लाग्यो है !’ भनेर गुटेरस आएर सम्झाइदिनु पर्दछ । देश सक्किदै गएकोमा एक से एक राजनीतिक दल र नेताहरूलाई कुनै मतलब छैन । ती त बर,ै ‘मिशन ८४’ लिएर नौटङ्कीको मैदानमा उत्रिइ नै सकेका छन् ।

हरेक वर्ष हिमाल आरोहण गर्ने नाममा हजारौं विदेशीहरू हाम्रो हिमाली भेगतिर उकालो लाग्छन् । तिनका खानपिनका कुरा, तिनका आवश्यकता र कतिसम्म भने विलासिताका साधन इत्यादिबाट निस्केका फोहरले हिमाललाई ढाक्दछ । सगरमाथा क्षेत्रमा मात्रै सयौं टन फोहर जम्मा भएको समाचारहरू आइरहन्छन् । हामीलाई हिमालको सुरक्षामा कुनै चिन्ता छैन । आइरहनेछन् गुटेरसहरू र सम्झाइरहनेछन् हामीलाई बारबार तर हामीलाई चासो छैन ।

खासमा हिमाल आरोहण एउटा ढोंग हो । मानव सभ्यताले स्थापित गरेको एउटा अहङ्कार र विलाशिता हो । हिमाल विजेता बन्छु भन्नु बिलकुलै अहङ्कार हो । अलि अलि राजश्व उठ्छ भन्ने कुरा केवल पाखण्ड हो ।

अरू देशमा के गर्छन्, थाहा छैन । हाम्रोमा आरोहणको पाखण्ड बन्द गर्नु पर्दछ ।

हिमाल हाम्रो अभिभावक हो । जुगजुगदेखि त्यसले हामीलाई तिब्बती पठारको चिसोबाट बचाएको छ । ढाल बनेर त्यसैले हामीलाई शत्रुहरूबाट बचाएको छ । हिमाल हाम्रो देवता हो । देवतालाई सम्मान गरे हुन्छ । स्पर्श गरे हुन्छ । हेरे हुन्छ । त्यसलाई आफ्ना समस्त इन्द्रियहरूले अनुभूति गरे हुन्छ । तर हाम्रा हिमालहरूको शिर टेकिनलाई होइन । हिमाल बिजेता बन्छु भन्ने नाथे मान्छेको के अस्तित्व छ हिमालका अघि ? कुन चाहिँ टिक्न सकेको छ हिमालको चुचुरोमा ?

जस्तो कि लाङ्टाङपुगेका प्रियजनहरूमध्ये एक सामाजिक सञ्जालमा भन्दछन्–हिमाल झैं अग्लो र अटल हुनु पर्दछ भनी हिमाल हेर्न गएको १५ मिनेट नि टाकुरामा टिक्न सकिएन ।

मेरा प्रियजनहरू ! लाङ्टाङ स्मृतिका तस्वीरहरू सम्हालेर राख्नू । सम्हालेरै राख्नू सुदूर भविष्यसम्म । तस्वीरको ठूलो महत्व छ बाबै !

धेरै ठूलो छ तस्वीरको महत्व
यो जगत नै आखिर
तस्वीरहरूकै
संग्राहलय न हो विचित्रको
कालचक्रको बलवान फ्रेमभित्रको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?