Logo
११ मंसिर २०७९, आईतवार
Logo

अब नागरिक झुक्याउने खेल बन्द होस्


जुनसुकै मुलुकमा पनि समृद्धि आफै आउँदैन । समृद्धि कसैले न कसैले ल्याउनु पर्दछ । समृद्धि एक पक्ष वा एक दिशाको हुँदैन । यो चौतर्फी जोडिएको हुन्छ । समृद्धिले मानिस मात्रलाई प्रत्यक्ष फाइदा हुन्छ तर यसको साथमा धेरै विषय र वस्तुलाई समेत फाईदा पुग्दछ । सानो उदाहरण– हामीले घरमा बाल्ने विद्युतको तारबाट हाम्रो घरमा विद्युत आउँछ । हामीले प्रयोग गर्छौं । त्यही तारमा चराहरु रमाएका हुन्छन् । त्यही पोलमा अन्य कुराका तारहरु तानिएका हुन्छन् । एउटा पोलले ल्यानलाईन फोनदेखि अन्य धेरै केवुल सेवाका लागि सहयोग पुग्दछ । हामीले बनाउने पोखरी वा तलाउहरुमा सिंचाईको सुविधा थपिनुका साथै मनोरञ्जनका लागि डुंगा सयर गर्न सकिन्छ । यस्तै विभिन्न जीव जनावरहरुका लागि पिउने पानीको व्यवस्था हुनसक्छ । एउटा मार्गले निकै टाढाका मानिसलाई समेत जोड्न सक्छ । मार्गका कारणले कृषि, व्यापार अनि बस्तु उत्पादन र ढुवानीमा समेत सहजता हुन्छ । ढुवानीका लागि ढुवानीको साधन निर्माण र मर्मत अनि त्यसका लागि विभिन्न प्रकारका इन्धनसमेत खपत हुन्छन् । एउटा बाटो त्यसमा चल्ने साधनदेखि खनिज तेलसम्म जोडिएको हुन्छ । हामीले गर्ने हरेक प्रकारका उत्पादन वस्तुले ठूला कारखाना चलाएका हुन्छन् । उत्पादित बस्तुले हाम्रो जीवनमा आवश्यक वस्तु परिपूर्ति हुन्छ । एउटा कुरा अनेकसंग जोडिएको हुन्छ । यसकारण समृद्धिले धेरैलाई एक पटक सहयोग गरिरहेको हुन्छ ।

समृद्धि ल्याउनका लागि केही आधारहरु अवश्य पनि चाहिन्छ । त्यस मध्येमा पहिलो कुरा भनेको असल जनप्रतिनिधि हो भने त्यस्तै असल जनप्रतिनिधिले निर्माण गरेको नियम कानुनका साथै त्यही कानुनको पालना गराउने सरकार लगायतका कुरा प्रमुखरुपमा पर्न आउँछन् । जनप्रतिनिधि असल भएनन् भने नीति राम्रो बन्दैन । नीति तथा नियम राम्रो भएन भने योजना राम्रो बन्दैन । यसबाट सरकारमा पनि खराव असर पर्दछ । असल कार्यका लागि असल व्यक्तिहरुको प्रतिनिधित्व रहेको सरकार हुनुपर्दछ ।

सरकार नागरिकका लागि अभिभावक सरह हो । अभिभावक राम्रो भएन वा चरित्रवान भएन भने घरमा भएको आम्दानी सबै स्वाहा पार्दछ । आफ्नै स्वार्थका निम्तिमात्र खर्च गर्दछ । राम्रो आय नभएको परिवार रहेछ भने एउटा अभिभावका कारणले पूरै परिवार कंगाल हुन पुग्दछ । त्यसकारण अभिभावक असल चाहिन्छ । यस्तै हाम्रो मुलुकको आम्दानी अनुसार कार्ययोजना बनाउने र नागरिकको चाहना अनुसार योजना बनाउने र कार्यान्वयन गर्ने सरकारको आवश्यक्ता पर्दछ । यसका निम्ति स्थिर सरकार हुनुपर्दछ । विगत लामो समयदेखि नेपालमा स्थिर सरकार नभएर वितिरहेको छ । सरकार अस्थिर हुनुका कारणले हाम्रो मुलुकको सरकार अभिभावक बन्न सकेको छैन । नागरिकको सुख एवं दुःखमा साथै हुने गुण सरकारमा हुनुपर्दछ । प्राकृतिक विपत्ति हुँदा होस् चाहे दैनिक आवश्यक वस्तु परिपूर्तिका निम्ति सरकारले तदारुकता देखाउनु पर्दछ ।

गएको वर्षायामको कुरा गर्ने हो भने हाम्रो अभिभावकले हामीलाई न मल दिन सक्यो न उन्नत बीउ दिन सक्यो । तितो यथार्थ भन्ने हो भने प्राकृतिक प्रकोपको अवस्थामा त हाम्रो सरकार वेखवरजस्तै रहनपुग्यो । तेलको कारण देखाएर महंगीले सगरमाथा छुन पुग्यो । त्यही तेलको मूल्य घटेर आउँदा पनि नेपालमा मूल्य घटाउने कुनै छनक पाइदैन । चारैतिरबाट उपभोक्ताले दवाव दिंदा पनि साह्रै मौका ढुकेर बसेको बस्यै छ । यसरी हेर्दा हाम्रो मुलुकको सरकार नेपालीको लागि अभिभावकत्व निर्वाह गरेको मानिदैन् ।

समृद्धि कसैले ल्याउने हो भनिरहँदा नागरिकको सहयोगमा सरकारले ल्याउने हो । नागरिकको सहयोग भनेको सरकार निर्माणका निम्ति आवश्यक अधिकार दिनु हो । अर्थात आवश्यक मत प्रदान गर्नु हो । यस पटकको निर्वाचनमा मतदाताले आफ्नो मत जाहेर गरेका छन् । आफूले जे जस्तो शिक्षा पाउन सके उनीहरुले त्यसै अनुसार मतदान गरेका छन् । अव निर्माण हुने सरकारले हिंजोको जस्तो व्यवहार देखाउने वा फरक ढंगले आफ्ना योजनाहरु बनाउने छ । यो हेर्न बाँकी छ । सरकार नयाँ जनादेशकासाथ पाँच वर्षको लागि आदेश पाएको अवस्था पनि हिंजोको जस्तै अभाव र महंगीको उपहार दियो भने समृद्धि भगवानलेमात्र दिन्छन् भन्नुपर्ने हुन्छ । मत माग्दा हाम्रा भगवान जनताहरु भनेर धेरैले सम्वोधन गरेको सुनिएको हो । तर त्यही भगवानको आदेश मान्ने नमान्ने यसपटक बन्ने सरकारको जिम्मामा छ । तर यसपटकको निर्वाचनबाट निर्माण भएकोे सरकारले पनि पुरानै गोरेटो छोडन सकेन भने आउँदो निर्वाचनमा सायद मतदाता मतदान केन्द्रमा पुग्न गाह्रो छ । यस पटकको न्यून उपस्थितिले त्यही संकेत गर्दछ । नयाँ जनादेशका लागि २०६२ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गराएको नगरको निर्वाचन जस्तै गरेर गराउनु पर्ने हुनेछ । त्यो निर्वाचन जनअपेक्षा अनुसार गराईएको थिएन । मात्र तत्कालिन राजा ज्ञानन्द्रको लहडमा गरिएको निर्वाचन थियो । निर्वाचनको वास्तविक मूल्यांकन गर्ने हो भने यस पटकको निर्वाचनमा जनचासो त्यति बढता देखिएको होइन । त्यसकारण कुल ६१ प्रतिशत मत खसेको पाईयो । यस पटक मतदाताको चासो भन्दा उमेदवारको लागि बढ्ता चासो भएको हो । कतिपय कार्यकर्ता तथा सर्वसाधारण नागरिकले खासै चासो व्यक्त नगरेको अत्यधिक सत्य हो । यसको ठोस कारण के हो भन्दा जनअपेक्षा अनुसार कुनैपनि काम हुन नसक्नु नै हो । नेताहरुले नागरिकको अपेक्षा के हो ? भन्ने वारेमा चासो दिएनन् । मात्र सत्ता ढाल्ने र बनाउने खेलमा सिमित हुनपुगे । जसले यो खेलको रचना गरे उनीहरुका लागि यो सामान्य जस्तो लाग्छ होला तर कुरा अति गम्भिर छ । नेपाली नागरिकले सरकार ढाल्ने र बनाउने खेलका निम्ति २०७४ को निर्वाचनमा आफ्नो मत दिएका होइनन् । सरकारको स्थिरता र देश विकास निर्माणका कारणले समृद्ध देख्नका लागि गरिएको मतदान थियो । तर सरकार बनेको एक वर्षपछि खुट्टा तान्न थालियो । छँदा खाँदाको सरकारका प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव जस्ता कुराहरु चर्चामा आउन लागे । दुईवर्ष वित्दा नवित्दै प्रधानमन्त्री बदल्ने कसरतमा लागेको देखियो । एउटा पार्टीमा दुई दुईवटा अध्यक्ष हुनुको परिणाम यही हो । पाँचवर्ष धैर्य गरेको भए नागरिकले दिएको जनादेश लत्याउन पर्ने थिएन । यसपटकको निर्वाचनमा अनावश्यक गालीको सुनामी चलाउनु पर्ने थिएन । हामीलाई यस्तो गालीको सुनामी चाहिएको होईन । आधा अवधिमै प्रधानमन्त्री फेर्ने कुरा वा काममा लागेकै अवस्थामा पदबाट हटाउने जनताको चाहना होइन । पार्टी भित्रको किचलो पनि जनाताको चाहना होइन । तर नेपाली नागरिकका लागि जुन कुरा पाच्य थिएन । हाम्रा नेताहरुले खुशीका साथ हामीलाई त्यही उपहार दिनुभयो । यसलाई विडम्वना भन्नुपर्दछ । विगतमा बनेको सरकार ढाल्ने बहादुर अहिलेपनि मैदानमा हुनुुहुन्छ त्यसकारण अव बन्ने सरकार पूरै अवधि चल्छ नभनेपनि हुन्छ । जतिसुकै स्वार्थ लुकेको भएपनि खुट्टा तान्ने वानी परेकालाई फेरी पनि खुट्टा तान्न नपाए निदहराम हुने निश्चित छ । आफूलाई लागेको वानी उहाँले कसरी छोड्न सक्नु होला र ? यसमा .शंका गर्नुपर्ने कुनै कारण छैन । हामीले भन्दै आएको समृद्धि फेरी पनि भुंग्रोमा जानेछ अनि खरानीको रुपमा उपहार मिल्ने छ । यो अवधिमा एक पटक हाम्रा अग्रजहरुको चालढाल सबै राम्ररी हेरेर मूल्यांकन गरेर आफ्नो बलियो धारणा बनाउनुपर्छ । आम मतदातामा अव यस्तो धारणा बन्नुपर्छ कि यस पटक नागरिकका चाहना कुल्चनेहरु सबैलाई किनारा लगाएर नयाँ सक्षम र जनपक्षीय उमेदवारलाई मत जाहेर गर्नुपर्दछ । हामीले हाम्रो दलको वा नजिकको भनेर जसरी अहिलेसम्म आफ्नो मत जाहेर गर्दै आएका छौं । यो अन्तिम अवसर बन्नु पर्दछ । यस अवसरमा पनि सरकार ढाल्ने खेल हुने छ भन्ने संकेत आइसकेको छ । कहिले म आफै प्रधानमन्त्री बन्ने चाहना छ भन्ने अनि कहिले प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दिन तर अवसर आयो भने पछाडि सर्दैन भन्नुको तात्पर्य के हो ? कुरा यत्तिमामात्र सिमित छैन । पूर्व गयो पुर्वको उमेदवारलाई तपाई प्रधानमन्त्री बन्ने हो भनिदिने अनि उत्तर गए उत्तरको उमेदवारलाई भावी प्रधानमन्त्री भनिदिने । दक्षिण गए दक्षिणका उमेदवारलाई र पश्चिम गए पश्चिमकालाई भावी प्रधानमन्त्री भन्ने गरेको त धेरैले सुनेको कुरा हो । यसको सिधा अर्थ के लाग्छ ? अस्थिर मनस्थिति भएकाहरुसंग साथ संगत गरेपछि स्थिरता पाइन्छ भन्नुपनि मूर्खता हो । जसले हिंजोका दिनमा सरकार बनाउन र गिराउन अनि कहिले कोसंग जोडिन कहिले कोसंग जोडिएकोलाई विभक्त गर्न विलम्व गरेनन् । अहिले उनीकै निर्देशनमा गठवन्धन चलेको छ । त्यस्तो व्यक्तिबाट मुलुकले स्थिरताको सरकार पाँच वर्षका लागि पाउँछ भन्नु चरीको दुध आउँछ भनेको भन्दा किमार्थ फरक होइन ।

अव यस्ता जालझेलबाट सदाका लागि मुक्त हुनका लागि अस्थिरताको भूमरीमा यहाँका राजनीतिक दलहरु र पूरै मुलुकलाई फसाई रहनेहरुका लागि एकचित्तले भन्नुपर्छ तपाईहरुका लागि यो अन्तिम अवसर हो भनेर । हामीले देखाउने सदासयता अति देखायौं । अव यो दोहो¥याएर यस्तो कार्य गरियो भने ठूलो गल्ती हुनेछ । यसकारण पनि विना हिच्किचाहट भन्नुपर्दछ– “तपाईको यो अन्तिम अवसर हो अव नागरिक झुक्याउने खेल बन्द गर्नुस” भनेर । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?