Logo
११ मंसिर २०७९, आईतवार
Logo

तिम्रो सत्ताको परेड


अन्तिम किनारतिरको सुदूर गाउँले गोरेटोमा हिँड्दा मेरा पाइतलामा टाँसिएका धुलोले तिम्रो ‘भव्य’ राजधानीको सडक फोहर हुन सक्छ । मेरा आँसुले तिम्रो सवारी हिँड्ने सडक भिजेर चिप्लो हुन सक्छ । मेरो अनशनले तिम्रो सत्ताको भोक ह्वात्तै बढाउन सक्छ । मौनतामा गुञ्जिरहने मेरा मानवीय नाराले तिम्रो अहङ्कारी सत्ताको डकारलाई चुनौती दिन सक्छ ।

म आएँ भने संयमले समयको सीमा नाघ्न सक्छ । विद्रोहले सत्ताको काँडे तारबार भत्काउन सक्छ । क्लान्त मनहरु एकाएक आँधीहुरीमा रुपान्तरण हुन सक्छन् । दलाल पूँजीवादले अनेक छलछाम गरी स्थापित गरेको कथित शान्ति सुरक्षा खतरामा पर्न सक्छ ।

त्यसैले तिमी चाहन्छौ– म नआउँ तिम्रो राजधानीमा । म नदेखिउँ तिम्रो राजधानीमा । सदा सदा अनुपस्थिति रहुँ, म तिम्रो राजधानीमा । तिम्रो अँन्धेर नगरीमा सत्ता विपरितको धारमा बग्दै बग्दै नआउँ तिम्रो राजधानीमा !

तर आएँ त म ! तिम्रो राजधानीमा ।

तिम्रा कथित विकासे बाटाहरुमा कैयौं दिन हिँड्दै हिँड्दै आएँ । भोक प्यासलाई चुनौती दिँदै दिँदै आएँ । तिमीले छरेको कथित समृद्धि छाम्दै छाम्दै आएँ । तिमीले फैलाएको झूठको हुस्सु चिर्दै चिर्दै आएँ ।

निर्दोष निर्मलाहरुलाई तिम्रो राज्यसत्ताका हर्ताकर्ताहरुले अपहरण गर्ने, हत्या गर्ने र गायब बनाउने श्रृंखलाले रोकिने छाँटछन्द नदेखिएपछि म आएँ । तिम्रो राज्यसत्तामा न्यायालय, न्यायालय नभएर धुर्तहरुले राज गर्ने ‘अदालत’ मात्रै भए पछि आएँ । अन्तिम किनारका मानिसहरुको प्रतिरोधी आवाजलाई बुलन्द गर्दै आएँ ।

निर्मलाहरुजस्तै गायब भएको न्याय खोज्दै खोज्दै आएँ ।

तिम्रो राजधानीले मलाई मेरो नामले चिन्दछ । तर म केवल नाम मात्रै होइन । एउटा भौतिक उपस्थिति मात्रै म होइन । एउटा लौकिक देह वा शरीर मात्रै म होइन । म जे देखिन्छु, त्यति मात्रै होइन । म त न्याय खोजिरहेका निर्मलाहरुको समुच्चय हुँ । म तिनका व्यग्रतापूर्वक धड्किइरहेको हृदय हुँ । म तिनका भड्किइरहेको चित्कार हुँ ।

म कुनै ‘हिरोइक’ लजेन्ड होइन । म कुनै लाखौं ‘फ्यान–फ्लोओर’ वाला सेलिब्रेटी पनि होइन । मिठा शब्दहरुको चक्रव्यूहमा झुठा सपनाहरुको राजनीतिक व्यापार गर्ने व्यापारी होइन । म त राजधानी शहरले नचिन्ने तर त्यसका आँखामा बिझाउने एक उपेक्षित आवाज हुँ । तिम्रो दरबार नजिकै माइती घर मण्डलामा धर्ना दिएर अनशनमा बसिरहने एक जिराहा दुख्याहा हुँ ।

याद गर–म तिम्रो वसन्तमा शीतलहर बनेर आइरहनेछु । म तिम्रो शरदमा आँधीहुरी बनेर आइरहने छु । म तिम्रो सत्ताको मदनोत्सवहरु चलिरहँदा भुइँचालो भएर आइरहने छु । हो, म आइरहने छु तिम्रो राजधानी शहरमा । बसिरहनेछु अनशन, माइती घर मण्डलामा ।

माइती घर मण्डला हुँदै सवारीमा हुँइकिरहँदा ध्यान दिएर हेर– तिम्रो भव्य राजधानीमा म रित्तै आएको छैन । तिमीले सुनेर पनि नसुनेको बलात्कृत नानीहरुको आवाज लिएर आएको छु । तिमीले छली हिंडेको राप्ती–लहरको सखिया गीत लिएर आएको छु । तिमीले बिर्सी हिँडेको सपनाको अधमरो संगीत लिएर आएको छु । धमिलो कर्णाली तरेपछि त्यसैको किनारमा तिमीले फाली हिँडेको लौरो लिएर आएको छु ।

गाउँदा गाउँदै अन्तिम किनारतिर तिमीले छोडी हिँडेको सबैभन्दा प्रिय गीतको भाका टिपेर आएको छु । समानताको सङ्गीतमा न्यायको अखण्ड गीत गाउन आएको छु ।

तिमी धेरै अघि बढिसकेका छौ । एकचोटि पछाडि फर्केर हेर । तिमीलाई बोध हुनेछ –म आकाशमा चम्किरहेका ताराहरुका आमा हुँ । तिनका बलिदानमाथि तिम्रो सत्ताको परेड असह्य भएर नै म तिम्रो शहरमा आएको हुँ । तिमीले दुरभिसन्धि अन्तर्गत कैद गरेको सालिकको परिधानबाट निस्केर आएको हुँ । म तिम्रो सिंहदरबारभित्रको चक्रव्यूहमा छट्पटिइरहेको न्यायलाई मुक्त गर्न आएको हुँ ।

हेर–अँध्यारोको खेती हुने सिंहदरवारको आँगनमा म रित्तो हात आएको छैन । बलिदानको आकाशमा तिमीले अलपत्र छोडी हिँडेका ताराहरूको उज्यालो लिएर आएको छु । तिमीले जिउँदा सहयोद्धाहरुसँगै धर्तीमा पुरी हिंडेका जाज्वल्यमान ज्वालामुखीको ताप लिएर आएको छु । शहीद रक्तले हुर्केका राता गुलाफ छोएर आएको छु ।

म तिमीले अन्तिम किनारतिर बेवारिस छोडी हिंडेको चेतनाको चौतारीमा न्याय–आकाङ्क्षी पीडितहरुसँग सरसल्लाह गरी आएको छु । तिनको पवित्र इच्छा र शुभकामना बोकी आएको छु । फेरि पनि न्याय र मुक्तिगीतलाई गोलबन्द गर्ने महान् सूचना लिएर आएको छु !

म निर्मलाहरुको क्षतविक्षत अंगबाट निस्केको रक्तबीज हुँ । म तिनको थिलोथिलो शरीरबाट निस्केको रक्त धारा हुँ । म तिनैको विस्मृत चिहानबाट निस्केर न्यायका लागि तिम्रो राजधानीमा भौतारिइरहेको अतृप्त यात्री हुँ ।

म अन्यायको भुवँरीमा न्याय खोजिरहेको इच्छाको आवृत्ति हुँ । म निर्मलाहरुका निम्ति न्याय खोज्ने अभियानको अनवरत पुनरावृति हुँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?