ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

विश्व सम्पदा सूचीमा राखिनु पर्ने क्षेत्र सिञ्जा लामथाडा

२६ जेष्ठ २०८१, शनिबार
२६ जेष्ठ २०८१, शनिबार

पृष्ठभूमि– सिञ्जा क्षेत्रको मानव बस्ती विकासको लागि आकर्षक हुनका लागि हिमा नदीको मध्यम कद र समतल बहाव नै हो भन्न सकिन्छ । धान खेतीको सुरुवात भइसकेको अवस्थामा सिमाइलो जमिनको महत्व उच्च रहने गथ्र्यो । सिमाइलो राम्रोसित धानको उत्पादन हुने धनहर जग्गालाई अब्बल कोटीको मानी सेरा नाम दिइन्थ्यो । हिमा नदीको पश्चिम लुड्कु हाट सिञ्जा क्षेत्र र पूर्वतिरको धोबीघाट ठाना सेरा क्षेत्रको जग्गा जमिन निकै उर्वर र ओसिलो भएकोले यो क्षेत्र प्राचीन कालमा बस्ती बसाइका लागि रोजिन्दा हुन सकेको अनुमान गर्न सकिन्छ । राजधानी वा रजस्थल स्थापनाका लागि हाल कनकासुन्दरी मन्दिर रहेको क्षेत्र लामथाडा त्यस बेलाको सामरिक र सुरक्षाका हिसाबले निकै सुरक्षित देखिन्छ । गोरखा दरबार क्षेत्र र लामथाडाको बनोट सुरक्षाका हिसाबले उस्तै देखिन्छ । यही लामथाडामा पौराणिक कालमा दक्ष प्रजापतिकी छोरी तथा महादेवकी पत्नी सती देवीको तल्लो ओठ खसेको ठाउँ हो भन्ने जनविश्वास पनि छ । सती देवीको तल्लो ओठ खसेको ठाउँ भएकोले लामथाडाको बनोट चिउँडा जस्तै छ भनी पाका पुस्ताले बताउँछन् ।

नामकरण— ईसाको बाह्रौँ शताब्दीतिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्यको स्थापना गरेको मानिन्छ । (नेपाल परिचय, रामकुमार पाँडे पृ. १० ) अर्कोतिर नेपालको पहाडी क्षेत्रमा बसोबास गर्न आर्यमूलका मानिसहरू कुमाउ गढवालतिरबाट माथितिर लागेको मानिन्छ । खारी क्षेत्रबाट आएर शासन गरेको हुनाले उनको शासन क्षेत्रलाई खसान भनियो भन्ने मत स्वाभाविक लाग्छ । खारी क्षेत्रबाट आउने शासकको भाषा नै शासन क्षेत्रमा लागू भयो वा शासकहरू स्थानीय भाषामा समाहित भए ? एउटा कुरा हुन सक्छ । स्थानीय र शासकको भिन्न भिन्नै भाषा भएको भए दुबै मिलेर वा मिलाएर छुट्टै भाषा भयो ? यो अर्को चर्चाको सन्दर्भ हुन सक्छ ।तर ठाउँका नाम शासक फेरिँदैमा फेरिन्छ भन्नु पनि छैन । सिञ्जा क्षेत्रका आदिबासी आर्य मूलका भएको मानिएकोले तिनीहरूले आर्य भाषा संस्कृतमा आधारित हुनुपर्ने अनुमान गर्न सकिन्छ । संस्कृतमा सिञ्जाको अर्थ धातुका गहना ठोकिएर निस्कने आवाज हुन्छ । यो अर्थले स्थाननामसित त्यति सान्निध्य देखाउन सकेन वा भनौँ सान्निध्य गराउन सकिएन । विशेष गरी स्थाननामहरू आफ्नै स्थानीय विशेषतासँग जोडिएर बनेका हुन्छन् वा बनाइएका हुन्छन् । त्यसैले सिञ्जा क्षेत्रको विशेषता बनोटसित नजिकिएर यसको नामको सार्थकता खोज्नु उचित हुन्छ । सिञ्जा हिमा नदीको फाँटको सिरानको क्षेत्र हो । यो क्षेत्र विभिन्न सिमसार जमिनले युक्त छ । धापिलो वा ओसिलो जमिनलाई खस भाषामा सिम भनिन्छ र सिमका देवतालाई सिमे र भूमी वा पाखा पखेराका देवतालाई भूमे भनिन्छ ।

(सपै र सप घाँसै र काटिम् भँेडीका थुमेलाई । आहै भेँडीका थुमेलाई । पहिला प्रथम गाएको गीत सिमे र भूमेलाई । आहै सिमे र भूमे लाईधान रोपाइँमा गाइने वाली गीतको मड्गलाचरण ।) खस भाषामा बेँसी वा खेत क्षेत्रलाई ज्यूला भनिन्छ । खेतमा गरिखानेलाई ज्यूलाल र पाखामा गरिखानेलाई पावै भनिन्छ । हालको गुठी ज्यूला, हाट सिञ्जा धोबीघाटको सेरा (हाल कनका सुन्दरी मन्दिरको दक्षिण पूर्व)मा रहेको सेपिलो वा सिमाइलो बेँसीका कारण यस क्षेत्रलाई सिम ज्यूला भनियो । ज्यूला मात्र नभनेर सिम ज्यूला भनिनुमा सिमका कारण धनहर खेतको अब्बलापन देखाउनु हो । यही सिम ज्यूला पछि गएर सिँज्यूला, सिँज्ला, सिँजा र सिञ्जा भएको हुन सक्छ ।
संस्कृतमा जाम्बल भनेको हिलो, धापिलो हुन्छ । हुन सक्छ सेपिलो, ओसिलो, धापिलो जमिनलाई जाम्बल जम्बाल, जम्बला भन्दाभन्दै ज्यूला बनेको होस् । उता हाल सदरमुकाम रहेको ठाउँमा दुईवटा जुम्ल्याहा जस्ता डाँडा छन् । यिनी जुम्ल्याहा डाँडाका नामको कारण यस ठाउँको नाम जुम्ला रहेको हो भन्ने कतिपयको भनाइ पाइन्छ । सिञ्जा क्षेत्रको जस्तै आकार प्रकारको फाँट रहेकोले चलनचल्तीको बोलीले यस क्षेत्रलाई पनि ज्यूला भन्न सहजै देखिन्छ । सिञ्जा क्षेत्रकाले सदरमुकामतिरका क्षेत्रलाई ज्यूला भन्ने सदरमुकाम तिरकाले सिँजा क्षेत्रकालाई सिम ज्यूला भन्दा सिमज्यूला सिञ्जा भएको र ज्यूला जुम्ला भएको पनि हुन सक्छ । यसै गरेर ज्यादा हिँउ पर्ने बेँसी भनेर ह्यूँज्यूलाबाट हुम्ला भए होला कि ? जुम्लाको सदरमुकाम क्षेत्रलाई खलङ्गा भनिन्छ । खलङ्गाको अर्थ धेरै मानिस बसोबास गर्ने ठाउँ भन्ने हुन्छ । यस नामले यो क्षेत्र पुरानो बाक्लो बस्ती भएको ठाउँ हो भन्न सकिन्छ । (प्यूठानको सदरमुकाम, जाजरकोटको सदरमुकाम, सल्यानको सदरमुकाम …. जस्ता ठाउँलाई पनि खलङ्गा भनिन्छ ।)

सिञ्जा राज्य जुम्लासम्बन्धी केही ऐतिहासिक तथ्य– ई.सं. ११५० देखि ई.सं. १३७६ (२२३ वर्ष) सम्म सिञ्जा राज्य व्यवस्थित किसिमले राम्रोसित चल्यो ।(ऐ.पाँडे पृ.१०) । जालन्धर राजाको लहडी स्वभावले सिञ्जा राज्य टुव्रिmएर बाइसी राज्यहरूको उदय भएको भन्ने सिउँ बाघ जुजाएँ लामथाडो हल्लाएँ भन्ने जनश्रुतिमा आधारित कथोपकथनले दिन्छ । (बाइसी राज्यहरूमा जुम्ला, रुकुम, सल्यान, मालनेटा फलाबाङ, गुर्माकोट, दाङ, छिल्ली, जाजरकोट, जाहारी, रोल्पा, बाँकी,दुल्लु, दैलेख, गौताम, अछाम, बमिकोट, मुसिकोट, दर्ना, बझाङ्, बाजुरा, थलहरा थिए ।) सिञ्जा सबल राज्य हुँदा गर्मी याममा सिञ्जा र जाडो याममा दुल्लूमा राजधानी बनाइन्थ्यो भन्ने इतिहास पाइन्छ । सो राज्यका जितारी मल्ल, अशोक मल्ल, बलिराज जस्ता प्रतापी राजा थिए । सिञ्जा खस साम्राज्यको अन्तिम राजा जालन्धर रहेको बताइन्छ ।

नेपाली भाषा जसलाई पुरानु जमानामा खस भाषा वा खस कुरा भनेर चिनिन्थ्यो,को उत्पत्तिस्थलको रूपमा सिञ्जा चिनिन्छ । अहिले जुम्लामै खस भाषाको शब्दकोश लेखिदै वा भनौँ सम्पादन हुँदै गर्नुले अर्को ऐतिहासिक तथ्य थपिने क्रममा रहेको कुरा भन्नैपर्छ । पुरानु जमानामा हाट बजारको व्यवस्था भएकोले लुड्कु क्षेत्रको केही अंशलाई हाट सिञ्जा भन्ने गरिएको कुरा त्यहाँका स्थान नामले स्पष्ट पार्छ । सिञ्जाको लुड्कु क्षेत्रलाई काशीको कुनुको उपमाले चिनिन्थ्यो भनिन्छ । यसको अर्थ काशीमा जस्तै विद्वान् र शास्त्र पाइने ठाउँ भन्ने हुन्छ । अध्ययन अध्यापनको लामो संस्कार स्थापित नभई यस्तो उपमा पाइने अवस्था हुन सक्दैन । त्यसैले यो क्षेत्र प्राचीन कालमा अध्ययन अध्यापनतिर अगाडि रहेको अनुमान सहजै गर्न सकिन्छ ।

जुम्लाको बास्तु शैली र बसाइ व्यवस्थामा पनि आफ्नैपन देखिन्छ । थाडा शैलीका घर(माटो पिटेर बनाइएको छत भएका घर) र बाडा शैलीको बसाइ(एकै ठाउमा गुजुमुज्ज परेर बस्ने संस्कारत्यस्तै मिल्दो आवहवामा उपयुक्त हुन सक्छ वा परिमार्जन गर्नुपर्छ भन्ने कुरा अध्ययनको विषय हुन सक्छ । कौडिन्न्य गोत्रीय आचार्य र नेउपाने सम्बन्धी एक जनश्रुति— पुरानु जमानामा गुठीज्युलामा ठूलो यज्ञ गराउने पण्डितका रूपमा कौडिन्न्य गोत्रीय दुई भाइ ब्राह्मण बोलाइएका रहेछन् । दाजुलाई प्रमुख पण्डितको रूपमा आचार्य वरणी गरेछन् । आचार्यले मन्त्र बलले आगो उत्पत्ति गरेर होम आदि यज्ञ कर्म गर्न लागेछन् । यसै बेला यजमानले अग्नि त मन्त्र बलले जन्माएको शुद्ध प्रयोग गरिने भैयो । यसै गरी पानी पनि मन्त्र बलले उत्पत्ति गर्न पाए हुन्थ्यो भनेछन् । भाइचाहिँ बरुण देवताका साधक रहेछन् । अनि उनले मन्त्र बलले पानी उत्पत्ति गरेछन् । यज्ञमा मन्त्र बलले आगो उत्पत्ति गरेको थाहा पाएका सबैलाई पानी उत्पत्ति गरेको अनौठो लागेछ र ती ब्रह्मणलाई नयाँ पानी बनाउने भनेर नयाँ पाने भन्न थालेछन् । ती कर्ताले ती दुवै जना भाइलाई हाट सिञ्जा क्षेत्रको केही जग्गा बिर्ता दिएर बसोबासको व्यवस्था गरेछन् । जेठाका सन्तान आचार्य भएछन् र कान्छाका सन्तान नेउपाने भएछन् । बरुण देव खुसी पारेका भएकाले नेउपाने बस्तीमा पानीको समस्या हुँदैन भन्ने भनाइ पनि पाइन्छ ।
हाल कनकासुन्दरी उच्च माध्यमिक विद्यालय सञ्चालन भएको क्षेत्र लुड्कु चौतारो क्षेत्र हो । यो सिञ्जाका राजाको विदेशी पाहुनाहरूलाई भेट्ने राजसभा भवन थियो भनिन्छ । यहाँ रहेको फेँदको गोलाइ करिब १२ मिटर भएको देवदारको रूखत्यो ऐतिहासिक राजसभाको किनाराको साछी यो (रूख) होला कि होइन होला भन्ने कुरा खोजको विषय हुनसक्छ ।
यस क्षेत्रकी आराध्य देवी कनकासुन्दरी देवी हुन् । यिनका अतिरिक्त जालपा देवी, कालिका देवी र लामा विष्णुको पनि साथसाथै पूजा गरिन्छ । लामा विष्णुको आराधना व्यवस्था कनकासुन्दरी मूर्तिको साथसाथै लामा विष्णुको मूर्ति राखी गरिनुले हिन्दु धर्म र बौद्ध धर्म समन्वयको उदाहरणीय उदाहरण पेश गरेको छ ।
चैत्र शुक्ल अष्टमी र नवमीमा यस मन्दिरमा ठूलो मेला लाग्छ । यसै गरी आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कनकासुन्दरी देवीको पूजा आराधना गर्ने भक्तजनहरूको घुँइचो लाग्ने गर्छ । महाअष्टमी, महानवमी र विजया दशमीमा विशेष बलि चढ्ने मेला लाग्छ । बोका, थुमा र राँगाको सयौँको सङ्ख्यामा बलिचढ्ने गर्छ । कनका सुन्दरीको भाकल गरी बलि चढाएमा अभिष्ट मनोकामना सिद्ध हुने जनविश्वास छ । विजया दशमीलाई टीका दशमी भन्ने चलन छ । मन्दिरमा टीका चढाउँदा राज शासनताका देवी पछि राजालाई टीका चढाएर ठूला बडाको हातबाट टीका लगाउने चलन थियो । राज शासन हटेपछि देवीलाई टीका चढाएपछि उपस्थित भद्रभलादमीलाई टीका दिई अरू सबैले टीका लगाइन्छ । कोजाग्रत पूर्णिमालाई यस क्षेत्रमा देवी जात्रा पूर्णिमा भनिन्छ । यही पूर्णिमाका दिनदेखि बडा दसैँको विशेष पूजा समाप्त हुन्छ ।

कनका सुन्दरीको प्रभाव तथा विश्वास राजामा पनि उत्तिकै रहेको पूजारीको अनुभव छ । राजा महेन्द्र र वीरेन्द्रले पटक पटक कनका सुन्दरी मन्दिरमा आई पूजाआजा गरेका थिए । मन्दिरको नियमित तथा विशेष पूजा सञ्चालनका लागि तली गाउँ, माझी गाउँ र माथि गाउँ पाखो गुठी र ६५ मुरी खेत (१ मुरी.४ आना क्षेत्रफल) गुठी थियो । माओवादी द्वन्द्वका बेलामा सबै रैकर गराई अहिले केवल ६ मुरी मात्र गुठी रहेको पुजारी भानुभक्त काफ्लेको भनाइ छ । कनकासुन्दरी मन्दिरको सेरोफेरो अर्थात् लामथाडा क्षेत्र प्राचीन सिञ्जा साम्राज्यको रजस्थल हो । यसको प्रमाणका लागि मन्दिरको पश्चिमोत्तर भागमा दरबार तथा भवनहरूका भग्नावशेष अहिले पनि देख्न सकिन्छ । काल व्रmमले भत्केर ढलेर भुईँमा समेटिएका वा दबिएका प्राचीन बहुमूल्य कलाकृति यस क्षेत्रमा प्रशस्त रूपमा रहेको कुरा त्यहाँका पुराना पाका स्थानीय बासीहरू बताउँछन् । मन्दिरको पूर्वपट्टिगत वर्ष निर्माण सम्पन्न भएको धर्मशाला भवन बनाउने क्रममा घडेरी खार्दाभेटिएका पुराना कलात्मक शेषशायी विष्णु र इन्द्रसमेतको मूर्तिले यो क्षेत्र पुरातत्विक महत्वको रहेको कुराको प्रमाण दिन्छ । ती घडेरी खार्दा भेटिएका मूर्तिहरू स्थानीय प्रहरी चौकीको संरक्षणमा रहेका छन् । मन्दिरको दक्षिण पाखाको पेदमा रहेको धौले सुनारको बारीमा आज भन्दा ५०— ६० वर्ष अघि एक गाग्रो असर्फी भेटिएको कुरालाई स्थानीयहरू यसरी बताउँछन्—धौले सुनारलाई राती सपनामा कनकासुन्दरी देवी प्रकट भएर भनिन्— हेर धौलेतिमीले मेरो निकै भक्ति ग¥यौ । तिमीलाई सुख शान्ति हुने उपाय बताउँछु सुन । तिम्रो त्यो सानो सुर्के बारीको पल्लो छेउमा च्याखुराले फुल पारेको छ । त्यो फुल ल्याउनू। तिम्रा सन्तान दर्शन्तानलाई सुख शान्ति हुनेछ । धौले जागे । जाडोको याम थियो । बाहिर हिउँ परेको थियो । आजभोलि बट्टाई च्याखुराले फुल पार्ने याम पनि होइन । सपना हो जे पनि देखिन्छ भन्दै सुर्के बारीको छेउमा गई हेरेछन् । अन्त जहाँतहीँ हिउँ जमिरहेको तर एक ठाउँमा च्याखुराले बस्दा ओगट्ने जति ठाउँमा हिउँ नरहेको ओबानो देखेछन् । त्यहाँ च्याखुराका फुल त थिएनन् तैपनि त्यहाँ हिउँ नपरेकोले अचम्म मान्दै धौले घर गई कुटो ल्याएर खनेछन् । खन्दा धद्धद् धोद्रो आवाज आएछ । अलिकति गहिरो खन्दा त असर्फीको गाग्री भेटिएछ ।

कृषि संस्कार—हिमा र तिला नदीको वरदानको रूपमा चिनिने जुम्लाको कृषि परम्परा विशेष खालको छ । त्यसमा पनि धान खेतीसम्बन्धी संस्कार निकै अनौठो छ । धानको ब्याड राख्नका लागि चैत्र १२ गते धान भिजाइन्छ । यो धान भिजाउने दिन घरमूली घरमा उपस्थित हुन अनिवार्य जस्तै मानिन्छ । धान भिजाएको ४ दिनपछि अर्थात् १६ गते पानी तराएर जराउनका लागि राखिन्छ र २० गते ब्याडमा छरिन्छ । रोपाइँ गर्दा भने आफ्ना सुविधाअनुसार रोपिन्छ । गोड्दा झार गोडेर सिद्धाइसकेपछि काठको फल्याक छेँडेर बनाएको साधन बिँगारोले धानको बोट मर्काइन्छ । यसो गर्दा धानले धेरै तामा हाल्छ वा गाँज ठूलो हुन्छ भन्ने मान्यता छ । यो मर्काउने काम पुरुषले मात्र गर्नुपर्ने मान्यता छ । धान काट्ने साइतजसलाई मुठी लिने पनि भनिन्छ ज्योतिषीद्वारा उत्तम दिन ठह¥याई परिवारका व्यक्तिमा राशी जुराएर गरिन्छ । चन्दननाथ मन्दिरमा लिँगो ठड्याउने दिन मुठी लिनु पर्ने मान्यता छ खलङ्गातिर । यो दिन प्रत्येक वर्ष ज्योतिषीहरूले जुराउने गर्छन् । त्यसै गरी न्वागी खाने पनि विशेष साइत हेरेर गरिन्छ । न्वागीलाई सिञ्जातिरलल्या भनिन्छ । यस दिन आफ्नो खलकको बरिष्ठ व्यक्ति भएको घरमा जम्मा भई आआफ्ना घरबाट ल्याइएका नयाँ धानका च्यूरा र दूध आपसमा बाँडीचुँडी खाने गरिन्छ । घटस्थापनापछिको स्वाती नक्षत्र परेको दिनलाई लल्या गर्ने उत्तम दिन मानिन्छ । यो लल्या शब्द मेरो नयाँ अन्न तिमीलाई लाऊ र तिम्रो नयाँ अन्न मलाई लेऊ बाट बनेको हुनसक्ने भनाइ स्थानीय समाजशास्त्री पृथ्वीनारायण नेउपानेको छ ।
जुम्ला खलङ्गातिरको फाँट जहाँ तिला नदीले सिँचाइ गर्छ मा काली मार्सी रोपिन्छ भने सिञ्जा क्षेत्रको फाँट जहाँ हिमा नदीले सिँचाइ गर्छ मा राती मार्सी रोपिन्छ । काली मार्सी चन्दननाथ बाबाले ल्याएको मानिन्छ । त्यसैले काली मार्सीको मुठी लिने र न्वागी खाने अवसरमा चन्दननाथ बाबालाई विशेष रूपमा सम्झने र अन्न चढाउने गरिन्छ । सिञ्जातिरको राती मार्सी भने त्यस क्षेत्रको निकै पुरानो मानिन्छ । चैत्र १२ गते नै बीउ भिजाउने र धान गोडेपछि काठको फल्याकले मर्काउने कुराको कृषि विज्ञानले अध्ययन गर्नुपर्ने कुरा छन् ।
जुम्ला पतझर बनमाथिको उचाइमा पाइने सदाबहार कोणधारी बन र लेकाली तृणभूमिसमेतको वानस्पतिक विविधता पाइन्छ । प्राकृतिक भूगोलमा भनिने लेकाली तृणभूमिलाई यहाँ पाटन भनिन्छ । श्राद्ध नखाएको बाहुन र पाटन नखाएको घोडा तग्दैन भन्ने यहाँको उखानले लेकाली तृणभूमिमा पाइने वनस्पतिको पोषिलो खुराकलाई स्पष्ट पार्छ । यहाँ बर्खे खेती लगाइसकी साउने सक्रान्तिसम्म आफ्ना पाल्तु पशु विशेष गरी गाई भैँसी नजिकको लेकाली बनमा लगी दुई महिनाको लागि उतै छाडा छोड्ने चलन छ । दुहुना पशुहरूका बाच्छापाडा गोठाला बस्ने अस्थाइ टहरामा राखिन्छ र माउहरू आफ्ना बाच्छापाडा खोज्दै साँझ बिहान टहरामा आउँछन् र दुहुने गरिन्छ । गाउँका सबै बस्तुभाउ बन लगे पनि सबै घरका गोठाला बन जाँदैनन् । आपसी सल्लाहले आवश्यक जना मात्र गोठाला जान्छन् । हप्ता हप्तामा आआफ्ना बस्तुभाउलाई नुन दाना दिन वनमा जान्छन् । बनमा गई बस्न आवश्यकताअनुसार पालो मिलाउँछन् । आश्विन सक्रान्तिमा बन लगिएका सबै वस्तुभाउ बटुलेर घर ल्याइन्छ । यस प्रचलनले घुम्ती चरिचरनको खिइदो अवशेषको झझल्को दिन्छ । स्याउ, सिमी, कोदो, फापर, सिस्नु, विभिन्न खालका बनेलीसमेतका औषधीजन्य जडीबुटी, ऊनका सामग्री यस क्षेत्रका महत्वपूर्ण कृषिजन्य उत्पादन हुुन् । गोटी चौरमा सरकारीस्तरबाट स्थापना गरिएको भेँडा फार्म यस क्षेत्रको कृषि क्षेत्रमा चालिएको प्रगतिशील पहिलो पाइला हो भन्ने कुरामा कसैको दुईमत छैन तर दोस्रो पाइला चाल्ने काम हुन नसकेको स्थानीयहरूको गुनासो रहेको छ । सफा र चिसो जलप्रवाह रहेको यी नदीको पानी प्रयोग गरी अहिलेको अन्तरराष्ट्रिय स्तरमा उच्च माग रहेको ट्राउट माछा पालनको संभावना पनि उच्च छ । जुम्लालगायत कर्णाली क्षेत्रको जल सम्पदालाई सदुपयोग गर्न सकेमा पश्चिम तराईका फाँट सधै हराभरा र देशभरि बिजुली पुग्ने क्षमता रहेको कुरा घामजस्तै छर्लङ्ग छ । यस क्षेत्रको कृषिसम्बन्धी बृहत् अध्ययन गर्न कृषि अनुसन्धान अध्ययन संस्थानको स्थापना हुनु आवश्यक देखिएको छ ।
लामथाडा क्षेत्रको पुरातात्विक उत्खनन गर्ने प्रयास एक विदेशीले गर्न खोजे पनि पुरातात्विक वस्तु हिनामिना हुने आशङ्कामा सो कार्यलाई स्थानीयहरूले रोकेका थिए । स्थानीय बासिन्दालाई थाहा छ यस क्षेत्रमा पुरातात्विक वस्तुहरू यत्रतत्र सर्वत्र छरिएर रहेका छन् । यसका लागि धौले सुनारको घटना त एक प्रतिनिधि घटना मात्र हो । पुरानो जमानामा बहुमूल्य गरगहना, सिक्का पैसा गाडेर सुरक्षित गर्ने चलन थियो । यसरी गाडिएको धनलाई गाड धन भन्ने चलन थियो । यसरी सुरक्षाका लागि गाडिएको धन नितान्त गोप्य हिसाब गडिने गथ्र्यो । कुनै कारणले गाड्ने व्यक्तिले सो धन निकाल्ने अवसर मिलेन ( अकाल मृत्यु, विस्मृति…………. आदि) भने मानव पहुँचबाट हराए सरह हुन्थ्यो । यसै गरी विशेष धातुका गहना पनि सुरक्षाका लागि गाडिन्थे र उल्लिखित नियतिमै परिणत हुन पुग्थे । ठूलो साम्राज्यको राजधानी भएकोले अमूल्य धातुगत सम्पत्ति प्रशस्त सङ्ग्रह हुन सक्ने संभावनालाई आशा राख्न सकिन्छ । यस क्षेत्रको पुरातात्विक उत्खनन र अध्ययन विश्लेषणले हाम्रो देशको सात आठ सय वर्ष अघिको सामाजिक बनोट सामाजिक स्वरूप पत्ता लागाउन सहयोग मिल्ने छ । विश्वकै उच्च उचाइमा( ७०००— ८००० फिटमा ) धान फल्ने क्षेत्रको रूपमा परिचित यो क्षेत्र कृषि तथा पशुपालन क्षेत्रका लागि पनि उत्तिकै आशा र संभावना बोकेका क्षेत्र हो । जैविक विविधता, सांस्कृतिक विधिता, पुरातात्विक महत्व, वातावरणीय स्वच्छताको संगम सिञ्जा लामथाडा क्षेत्रलाई विश्व सम्पदा सूचीमा दर्ता गर्न पहल गरेमा देशको र कर्णाली क्षेत्रको गरिमा बढ्ने कुरामा दुईमत छैन ।
माथि उल्लिखित तमाम ऐतिहासिक तथा पुरातात्विक महत्वको कारण सिञ्जा जुम्ला आफैमा एक महत्वपूर्ण पर्यटकीय स्थल हो । नेपाली भाषासेवीको तीर्थस्थल हो । देवीभक्तहरूको मनकामना सिद्धि प्राप्तिस्थल हो । इतिहास गवेषकको महत्वपूर्ण अध्ययन क्षेत्र हो । देवाधिदेव महादेको बासस्थान कैलाश, मानसरोवर, रेलिङ्ग गुम्बा, रारा जस्ता महत्वपूर्ण पर्यटनस्थलमा स्थलमार्गबाट जाने महत्वपूर्ण आधार शिविर हो सिञ्जा । यस्ता विकासका प्रचुर संभावना बोकेको क्षेत्रलाई पिछडिएको भन्नु, पिछडिएको देख्नु, पिछडिएको देखिनु देशकै लागि लज्जाको विषय हो । जुम्ला हिँजो पनि समृद्ध थियो, आज पनि समृद्ध नै छ र भोलि पनि समृद्ध नै रहने छ । मात्र यसले केही सोच र केही पसिना भने अवश्यै मागेको छ । अस्तु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?