ट्रेंडिंग:

>> बुहारीलाई कन्यादान >> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग

अभिभावकको छहारी

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

निःस्वार्थ भावनाले ओतप्रोत भएको जीवनदाता, आश्रयदाता नै अभिभावक हो । यसले अभिभावकको निकै फराकिलो परिभाषा दिन्छ । अभिभावक हुन र आश्रित हुन उमेरको बार बन्देज हुँदैन । यसमा सद्भाव र सहृदयको कुरा आउँछ । अभिभावकको हृदय बुझ्न भर्खरै ब्याएको कुकुर्नीको व्यवहार हेरे स्पष्ट हुन्छ । कम्तिमा आधा दर्जन छाउराछाउरीले झोँजरिएर झोल्लिएकी ख्याउटीले मैँ हुँ भन्ने डाँगो कुकुरलाई भूत लखेटेजस्तो गरेर लखेट्छे । त्यसरी लखेट्ने दम वा शू¥याइँ ख्याउटे कुकुर्नीको हैसियतमा होइन एक जिम्मेवार अभिभावकको हैसियतले सिर्जिएको हो ।

आफ्ना बालबच्चाको पीडालाई अभिभावकले के कसरी लिने गरेका हुन्छन् भन्ने सन्दर्भमा महाभारतको एक प्रसङ्ग उल्लेख गर्न उपयुक्त हुनेछ । राजा परीक्षितका छोरा जनमेजय, भीमसेन, उग्रसेनमध्येका भीमसेन र उग्रसेनसमेतका केटाकेटीले राजदरबारकी सरमा नामकी कुकुर्नीका छाउराछाउरीलाई बेकसुरमा पिटे । सरमाले राजकुमारहरूलाई टोक्न, झम्टन सकिन । त्यसो गर्दा उसको गासबास उजाडिने डर थियो । आफ्ना बेकसुर सन्तान पिटिँदा उसको चित्त साह्रै दुख्यो । उसले ‘तिमीहरूको ठूलो काममा विघ्नबाधा परोस्’ भनेर सराप दिई । सराप त ती पिटाइ खाने छाउराछाउरी दिनुपथ्र्यो । ती छाउराछाउरी पिटिउन्जेल काइँकाइँ कुइँकुइँ गरे । आमाले सुम्सुमाइन्, दूध खुवाइन् । सबै पीडा भुले । बच्चाबच्चीलाई एक दुख्दा अभिभावकलाई सय दुख्छ भन्ने भनाइको लागि यो एक राम्रो प्रमाण हो । यही सरमा कुकुर्नीका सराप लागेर जनमेजयले गर्न लागेको सर्प यज्ञ बीचैमा छोड्नु परेको थियो ।

कृष्णको जन्म पृष्ठभूमि हेर्ने हो भने उनी महाअनाथ हुन् । अन्यायपूर्वक थुनिएका बाआमाका कोखीमा कारागारमै जन्मनुजस्तो दुर्भाग्य के होला ? राजा कंशको राजधानी मथुरा कारागारमा जन्मेका कृष्णलाई जेलर र पालेपहरासितको विशेष मिलेमोतोमा गोकुलका नन्द—जसुदाका घर पु¥याइएको थियो । नन्द—जसुदाको लालनपालनमा कृष्ण हुर्कँदै गए । नन्द—जसुदा धेरै पढालेखा थिएनन् । तर उनीहरूले सानातिना कुरालाई पनि निकै चासोका साथ लिने गर्थे । उनीहरूले थुप्रै गाई पालेका थिए । नन्द बिहानै उठेर सबै गाई गोरुलाई सुम्सुम्याएर तिनीहरूको सञ्चोविसञ्चो सोधपुछ गर्थे । उनी गाई, गोरु, बाच्छा, बाच्छीसित मान्छेसितजस्तै कुरा गर्थे । बालक कृष्णलाई यो कुरा निकै रमाइलो लाग्थ्यो ।

एक दिन जसुदाले कृष्ण धेरै चकचके भयो भनेर नन्दसित गुनासो गरिन् । तर नन्द खुशी हुँदै हाँसे । आफ्नो दुःखमा खुशी भएको भनी जसुदा रिसाइन् । तब नन्दले सम्झाउँदै भने— हेर, जसुदा हाम्री फुर्की गाईको तारिके बाच्छो आफ्नी आमाको दूध खाएपछि उफ्रदै जमुना किनारसम्म गएर फर्कन्थ्यो । तिमीले तारिकेलाई अप्ठ्यारो, नटखटे भनी गाली गथ्र्यौ । तर हेर आज तारिके गाउँको सिरा(सबैभन्दा जोधा) भएर गाईको बथानका माझमा भलादमी पाराले डुक्रदै हिड्छ । त्यसले गर्दा हाम्रो इज्जत बढेको छ । तारिकेका नामले हामी चिनिन्छौँ । बच्चाबच्ची चकचके हुनु, फुर्तिलो हुनु, स्वस्थ र निरोगी भएको लक्षण हो । यत्तिकैमा साथीसित खेल्न गएका कृष्ण आएर जसुदाको काखमा तेर्सो परी दूध खोतल्न लागे । जसुदाले कृष्णको मुख मुसार्दै दूध खुवाउन लागिन् ।

अर्को कुनै दिन कृष्ण साथीहरूसित खेलिरहेका बेला एक जना साथीले कृष्णलाई भन्यो— ए किस्ने, रोहिनी आमा गोरी भएकीले बलराम दाइ पनि गोरो नै छ । मेरी आमा काली हुनाले म पनि कालै छु । तर जसुदा आमा गोरी छिन् तर तँ कालो छस् । त्यसैले तँ जसुदा आमाको छोरो हैनस्, बुझिस् । कृष्णलाई साथीले भनेको साच्चै हो जस्तै लाग्यो । यसपछि कृष्णलाई साथीहरूसँग खेल्न मन लागेन । उनी लुरुलुरु घर आए । घर आएर एउटा कुनामा झोक्राएर बसे । सधै कृष्ण आएको परै थाहा हुन्थ्यो । दौड्दै उफ्रदै घर भित्रिने कृष्णको आज लुल खसेको थियो, जाँगर मरेको थियो । नन्दले बन चराउन लगेका गाई ल्याएर बाँधे । जसुदाले साना बाच्छाबाच्छीलाई घाँसको जोहो गरिन् । गाईहरू दुहुने बेला भयो । घरभित्र पस्दा नन्द जसुदाले कृष्णलाई अँध्यारो मुख लाएर कुना झोक्राएर बसिरहेको, निन्याउरो देखे । बाआमा दुबै जनाले के भयो भनी कृष्णका बारेमा सोधखोज गरे । कृष्ण बोल्दै बोलेनन् । आमालाई देख्नासाथ दूध खानका लागि काखिन हतारिने कृष्ण आज काखमा आउँदै आएनन् । जसुदाले बाबुको पेट दुख्यो कि भनी पेट छाम्न लागिन् । नन्दले ज्वरो आउनका लागि लोलियो कि भनी निधार र छाती छामे । तर कुनै लक्षण भेटिएन । नन्दले डुलुवा राक्षस लाग्यो कि भनी धूपधुवाँर गर्न लागे । जसुदाले काखमा लिएर दूध खुवाउन खोजिन् । कृष्णले दूध खान मानेनन् । अनि जसुदा रुँदै के भयो भन बाबू भनिन् । तब कृष्ण भक्कानिँदै म हजुरको छोरो हैन अरे भन्दै रोए । नन्दले कसले त्यसो भन्यो भनी सोधे । कृष्णले दिउँसो साथीहरूले भनेको सबै कुराको बेलीबिस्तार लाए । अनि नन्दले कृष्णलाई उचालेर गाई गोठतिर लगे । कृष्णले कुन गाईको कुन बाच्छो, कुन गाईको कुन बाच्छी भनी चिन्थे । तब नन्दले भने— हेर बाबू, यो सेती गाईको छोरो सेतै छ । त्यो राती गाईकी छोरी काली छे । त्यो माली गाईको छोरो राते छ । फेरि यो कालु गाईकी छोरी काली नै छे । आमा जस्तो छ छोराछोरी उस्तै हुनुपर्छ भन्ने केही छैन । कहीँ मिल्छ कहीँ मिल्दैन । कृष्णलाई बुबाको कुरामा चित्त बुझ्यो । कृष्णको अनुहार उज्यालो भयो, अनि दगुर्दै गएर जसुदाको दूध खान काखिए ।

नन्द—जसुदा गोठाला थिए । तर बालबालिकाका हरेक असंभव जस्ता देखिने समस्यालाई हृदयदेखि स्वीकारेर तनमन लगाएर समाधान खोजिदिन्थे । बालबालिकाको समस्यालाई आफ्नै समस्या सम्झन्थे । त्यसरी लालनपालन गरेका कृष्ण पढाइमा पनि निकै तेज देखिए । किनकि उनी कहिल्यै पनि उत्कण्ठा पीडित हुनु परेन । समाजका हरेक समस्यालाई जरैदेखि बुझ्न सक्ने श्रीकृष्ण बने । गीता दर्शनका प्रणेता बने । आज श्रीकृष्णलाई सम्झँदा उनका पृष्ठभूमिमा नन्द—जसुदाको प्रतिछाया सबैको मनमष्तिष्कमा झलझली आउँछ । सन्तानका नाम अगाडि श्री थप्न अभिभावकको कति ठूलो हात हुन्छ भन्ने कुराको उदाहरण दिन यहाँभन्दा पर जानै पर्दैन । असल अभिभावकका छहारीले एक अनाथ बच्चा सबैको नाथ बन्न सक्छ भन्ने यो अद्वितीय उदाहरण हो । बालबालिकाको मानसिक पीडा हटाउने बुबाआमा वा भनौँ अभिभावकको समय वा साथजस्तो ठूलो औषधी अरू केही छँदैछैन ।

आफ्ना नानीबाबुका यस्ता मानसिक समस्या समाधान गरिदिने नन्द—जसुदाजस्ता आदर्श बाबुआमाको निकै खाँचो छ । आजका बाआमालाई आफ्ना बालबालिकासित नन्द—जसुदाजस्तो नजिकिएर व्यावहारिक कुराकानी गर्ने फुर्सत छैन । आमालाई स्तनपान गराउने समय छैन । आफै कोल्टे पर्न नसक्ने बालबालिका शिशु स्याहार केन्द्रमा मासिक शुल्क तिर्ने गरी भर्ना गरिन्छन् । त्यसरी शिशु छाडेर एयरपोर्टतिर काम गर्न जाने आमालाई बनकालीका बाँदर्नीहरूले गिज्याउँदा हुन् । आमाको गुनगुनबाट सिकिने भाषा भएकोले परिवारमा बोलिने भाषाको नाम मातृभाषा भएको हो । अबको भाषाले मातृभाषा भनिने हक कसरी थाम्नसक्ला र ? आजका बाआमालाई लाख, करोड, अरब….का चिन्तनले सताइरहेको छ । एउटा परिवारका लागि घडेरीमाथि घडेरी(कतिवटा हो कुन्नी !) धुन छ । फिनी हराएको थाहा छैन गहुँका गेडा गन्छ भन्ने उखान जस्तो । सुसन्तानाय धनम् किं ? कुसन्तानाय धनम् किं ? अर्थात् असल सन्तानका लागि धन चाहिँदैन किनकि उसले आफूलाई चाहिने धनको जोहो आफै गर्छ र खराव सन्तानलाई पनि धन चाहिँदैन किनकि उसले जतिसुकै धन भए पनि एकैछिनमा फूः गरेर उडाइदिन्छ । वास्तवमा सन्तानलाई चाहिने महत्वपूर्ण सम्पत्ति सुसंस्कार हो । यो आफ्नै अभिभावकबाट दिइने सम्पत्ति हो । लौ न ! यो कुरा कसरी बुझ्ने होला ? कसरी बुझाउने होला ?

मृत्यु शैयामा छटपटाइरहेको अभिभावकको प्राण परदेश रहेको आफ्नो सन्तानको भेटको लागि अडिइरहेको हुन्छ । परदेशबाट आएर जब सन्तानले ‘हजुर म आएँ’ भन्छ तब अभिभावकको शान्त चित्त भएर प्राण पखेरु उड्छ । सन्तानका लागि अभिभावकले काल होइन महाकाललाई पनि लत्याएर अगि बढ्छ भन्ने प्रमाण यस्तै यस्तै घटनाहरूले पेश गर्ने गर्छन् । अभिभावकका लागि सन्तान महामृत्युञ्जय हो । यो दैवी चेत अहिलेका अभिभावकमा पलाएको छ छैन ? बालबालिकामा यो चेत टुसाउने वातावरण छ छैन ? छलफलको विषय हुनसक्छ ।
बच्चा हुर्काउँदा आमाबुबाको अनुसन्धान कसरी चलेको हुन्छ छोटो चर्चातिर लागौँ । बच्चाले खाएको, बसेको, हेरेको, दिसापिसाब गरेको आदि कुरामा आमा बुबाको सूक्ष्म निगरानी रहेको हुन्छ । निकै चाखले खायो, करबलले खायो, खान मानेन । सामान्यबाहेकका हरेक अस्वाभाविक कुरामा उनीहरूको किन प्रश्न झुण्डिएको हुन्छ । झोक्राएर बस्ने, कुनै अङ्ग च्यापेर बस्ने, निठ्ठिएर बस्ने, अमारिएर बस्ने, ठसठसी कनेर बस्ने, बेलाबेलामा कहराएर बस्ने बसाइमा पनि किन प्रश्न यथावतै हुन्छ । सुतेको बेलामा निसास्सिने, घोप्टो परेर सुत्ने, बेलाबेलामा झस्कने, बर्बराउने, बङ्गारा चपाउने जस्ता व्यवहारमा पनि बाआमाको चासो र चिन्ता रहेकै हुन्छ । अनुहार विवर्णको छ विसञ्चो हुनलाई हो कि ? ओँठ कलेँटी परेका छन् सञ्चो नहुनलाई हो कि ? रातोपिरो मुख भएको छ सञ्चो हुँदैन र हो कि ? आँखाका परेला बाटिएका छन् सातो गयो कि ? आज धेरै हाँसो लागेको छ सञ्चो हुँदैन कि ? आज धेरै पिरोलेको छ सञ्चो हुँदैन कि ? दूध टोक्यो विसञ्चो हुन्छ कि ? दूध चुस्दा पोल्यो ज्वरो आउँछ कि ? छाती चक्र्यो बच्चालाई विसञ्चो हुन्छ कि ? आज सपनामा नानी हाँसेको देखेँ विसञ्चो हुन्छ कि ? सपनामा धमिलो पानी देखेँ बच्चालाई रुघा लाग्छ कि ? यस्ता हजारौँ अनुसन्धानात्मक प्रश्नको समाधानको खोजीमा अभिभावकको जिन्दगी बितेको हुन्छ ।
वास्तवमा अभिभावक जीवनदायिनी उर्जा हो, पोषणको प्रतिरूप हो । माटो, पानी, वायु, अकाश र तेज जस्ता पाँचवटा भौतिक तत्वले बनेको शरीरलाई जियालो राख्न भौतिक तत्वको पोषण, खाद्यपोषण चाहिन्छ । हामीले विभिन्न खानेकुराबाट शरीरको भरणपोषण गर्छौँ । सन्तुलित भोजन खानुपर्छ भनी उपदेश गर्छौँ । तर अभिभावकबाट यो भौतिक पोषणको साथसाथै दृष्टि पोषण, श्रवण पोषण, स्पर्श पोषण, घ्राण(सुँघाइ) पोषण पनि प्राप्त हुने गर्छ ।

दृष्टि पोषणको प्रामाणिकता कर्ण जन्मको घटनाले देखाउँछ । सूर्य र कुन्तीबीचको अनायास सम्बन्धले कर्णको जन्म भयो । अविवाहित अवस्थामा जन्मेको बच्चालाई लोकापवादका कारण सूर्यलाई रक्षा गर भनी सन्दुसमा हाली नदीमा राखिन् कुन्तीले । सूर्यले आफ्ना किरण दृष्टिले जल तरङ्ग र जलजन्तुबाट जोगाउँदै राधाकहाँ पु¥याएका थिए । बालबालिकाले अभिभावकको दृष्टि पोषणको ताकतले शूरिएर अखन्द्र अखन्द्र क्रियाकलाप गर्छन् । अभिभावकले देख्ने अवस्थामा बालबालिका बढ्ता हौसिने गरेको हामीले देखे जानेकै कुरा हो । आमाले आफ्नो नानीलाई मीठो मुस्कानसित आँखा जुधाउँदै दूध खुवाएको दृष्यले त द्रष्टालाई समेत दृष्टि पोषण दिन्छ भने ती नानी र आमामा प्राप्त हुने आनन्दको शब्दले व्याख्या गर्न सकिदैन । त्यो त केवल अनुभूति मात्र गर्न सकिन्छ ।

अरूको लाख आमाको काख भन्ने भनाइ स्पर्श पोषणको खारिएको निचोड हो । गाई भैँसीले आफ्नो सन्तानलाई लपलपी चाट्नु, कुकुर्नीले आफ्ना छाउराछाउरीलाई ङ्याचङ्याचङ्याचङ्याच गर्दैै अगाडिका दाँतले शरीरका रौँ टोकिदिएर आनन्दित पार्नु, कुखुरीले आफ्ना चल्लालाई पखेटाभित्र लुकाउनु, बाँदरले आफ्ना बच्चाको जुम्रा हेरे जसरी रौँ चलाइदिनु, मान्छेको आमाले मायालु हातले तेल वा सुख्खा मालिस गर्नु, कपाल ठुँगाएर नानीलाई आनन्दित पार्नु स्पर्श पोषणका कुरा हुन् ।

मीठो कण्ठ धुन, लय, कथा, कविता वाचन, गुनगुन सुनाएर बालबालिकालाई आनन्दित तुल्याउनुले श्रवण(सुनाइ) पोषणको काम गर्छ । कर्कस धुनमा हुर्केको बिरुवाको भन्दा मधुर धुनमा हुर्केको बिरुवाको उत्पादकत्व राम्रो हुने कुरा प्रमाणित भइसकेको छ । बिरुवामा त श्रुति माधुर्यको त्यस्तो प्रभाव पर्छ भने जन्तुजनावर र मान्छेमा यसको प्रभावको बारेमा ज्यादा कुरा गर्नु परेन ।

घ्राण(सँुधाइ) पोषणको प्रयोग गाई, भैँसी, बाख्रा….. आदिले आफ्ना बच्चालाई दूध खुवाउँदा देख्न सकिन्छ । आफ्नो सन्तानको आयु, आरोग्य, समृद्धि, सुस्वास्थ्यका लागि बुबाआमाले बाबुनानीको माथ सुँघ्ने निकै पुरानू परम्परा मानिन्छ । भेट वा बिदाइको बेलामा माथ सुँघ्ने परम्परा भारतीय चलचित्रमा यदाकदा देख्न पाइन्छ । प्राचीन संस्कृत साहित्यमा पनि माथ सुँघ्ने सन्दर्भ भेटिने गर्छ ।
यी माथिका सन्दर्भले अभिभावक अनन्त झरी ओत्ने छाता, अनन्त प्रहार रोक्ने परखाल, अनन्त बलवान् धक्का समन गर्ने कमानीपुञ्ज हुन् भन्न सकिन्छ ।
आवासीय विद्यालयमा विद्यार्थी आवास एक महत्वपूर्ण पक्ष मानिन्छ । यस पक्षले यी विद्यालयलाई परम्परागत गुरुकुल पद्धतिको रूपान्तरणको रूपमा लिन सकिन्छ । तर गुरुकुल पद्धतिमा जस्तो गुरु गुरुआमाको अभिभावकीय छहारी यहाँ रूपान्तरण हुन सकेको छ छैन भन्ने कुरा अझ महत्वपूर्ण छ ।
होस्टेलमा बस्न खोज्नु, बसाल्न खोज्नु रहर र कहर जेसुकै हुन सक्छन् । तर होस्टेलमा बस्दा बालबालिकामा कुण्ठा पलाउने अवस्था आउनु हुन्न । बालबालिकालाई होस्टेलमा राख्दा बुबाआमाको भूमिकामा रहने होस्टेल वार्डेनले विशेष ख्याल राख्नुपर्ने हुन्छ । प्रत्येक बालबालिकामा आफ्ना छोराछोरी आरोपित गरेर हेर्न सक्ने सक्षम व्यक्तिले मात्र यो भूमिका लिनुपर्छ । साँझमा होस्टेलको आँगनमा बसेर आकासमा तारा खसेको(उल्कापात भएको), सप्तऋषि तारा पुञ्ज, तीनतारे, लक्ष्मण तारो, राम तारो, अगस्ति तारो, ध्रुव तारो, कचपचे तारा(षट्कृत्तिका तारा), शुक्र, बृहस्पति…. चिनाउने र तिनीहरूसँग सम्बन्धित कथा सुनाउने मिजास वार्डेनमा हुनुपर्छ । बिहान शुक्र उदाएको, सूर्य उदाउनु अगि भुकभुको भएको, डोरो परेको, बिहान हेर्दाहेर्दै तारा हराएको, अरूणोदयको रमाइलो देखाउन र त्यसको वास्तविकता बुझाउन झिँजो नमान्ने व्यक्ति मात्र होस्टेलको उत्तम अभिभावक हुनसक्छ । कृष्णपक्षका चन्द्रमा कसरी र कतापट्टिबाट घट्दै गएर आँैसी आउँछ र शुक्लपक्षका चन्द्रमा कसरी र कतापट्टिबाट बढ्दै गएर पूर्णिमा आउँछ भन्ने कुरा बुझाउन नसक्नेको नेतृत्वलाई यान्त्रिक पहरेदारभन्दा माथि कसरी मान्न सकिन्छ र ?

के होस्टेलमा बालबालिकाहरूको गृह संस्कारको प्रतीकात्मक क्रियाकलाप सञ्चालन गर्ने सोच राख्न सक्नुहुन्छ ? जस्तै सत्यनारायणको कथा, षडाङ्ग रुद्रि, ठूली एकादसीमा फलाहार खाई व्रत बस्ने, अक्षय तृतीयामा सातुसर्वत खाने, दशहरामा दशथरी तरकारी मिसमास गरी खाने,………., रोजा बस्न चाहनेलाई खानपिनको व्यवस्था मिलाउने… । होस्टेलमा पकाउने चामलका ढुङ्गा, बियाँ(धान) हेर्ने, तरकारी धुने, बनाउने( बोडी सोस्ता भाँच्ने, फोक्ने, कीरा लागेको बेग्ल्याउने….) आदि जस्ता जीवन निर्वाहका काम सिकाउन सक्नुहुन्छ ? यसो गर्न सकियो भने त्यो होस्टेल अहिलेको होस्टेल नभएर पुरानू जमानाको धौले घर(बूढो घर) हुन्छ । घर छाडेर बाहिर लाग्नु विद्यार्थीका पाँच लक्षणमध्येको एक लक्षण मानिन्थ्यो पुरानू जमानामा । उनीहरूले गुरुकुलमा रहेर शिक्षा र संस्कार साथसाथै सिक्थे । आवासीय विद्यालयले यति गर्न सके ‘यी विद्यालयको पठनपाठन यान्त्रिक भयो’ भन्ने आरोप पाटीका अक्षरझैँ सातसुत्तै मेटिने थियो ।

नानीबाबुहरू, तिमीहरूलाई आमाबुबा धेरै जान्ने हुनुहुन्छ भन्ने लाग्छ ? लाग्छ भने आहा ! कति ठूलो अवसर, कस्तो ठूलो भाग्य ? उहाँहरूसँग धेरै कुरा शोधखोज गर । धेरै कुरा सिक । धेरै जान्ने हुनुहुन्छ भन्ने लाग्दैन भने तब पनि निराश हुनु पर्दैन । आफूले जानेको कुरा उहाँहरूलाई सुनाऊ बुझाऊ । यसो गर्दा तिम्रो ज्ञान पनि बढ्छ र उहाँहरूको पनि । एउटा नीति श्लोकले यसो भनेको छ —
प्रदोषे दिपकश्चन्द्रः प्रभाते दिपकः रवि । त्रैलोक्य दिपकः धर्म सन्तान कुल दिपकः ।
(रातिका बत्ती चन्द्रमा हुन्, बिहानका बत्ती सूर्य हुन्, तीनै लोकको बत्ती धर्म हो र कुल वा घरको बत्ती सन्तान हो ।) तिमी अँध्यारा भयौ भने घरै अँध्यारो हुन्छ । प्रत्येक घरका तिमीहरू हाँस्यौ भने संसार हाँस्नेछ । भोलिको संसारमा देश कत्तिको विकसित छ भनेर नाप्ने सूचक उद्योगधन्दा, कलकारखाना, प्रतिव्यक्ति वार्षिक आय कति छ भनेर नहेरी ‘ त्यो देशमा बालबालिका कत्तिको खुसी छन्’ भन्ने हुनेछ ।
तिमीहरूले पढ्ने सिक्ने कुरालाई भोलि गरूँला भनी बस्ने ग¥यौ भने पढ्ने कुराले तिमीहरूलाई थिँच्दै जानेछ अनि कहिल्यै उच्छार पाउने छैनौ । तर तिमीले आजको कुरालाई आजै छर्लङ्ग पार्ने ग¥यौ भने जीवन साह्रै हल्काफुल्का हुनेछ । साँझ गृहकार्य(ज्यmभ धयचप) सिद्धाएर आनन्दसित सुत्ने र भोलि सबेरै उठेर सबै विषयलाई उत्तिकै महत्व दिएर पढ्ने गर्ने हो भने असफलता भन्ने कुरा सात कोश टाढा भाग्छ । यति सजिलो कुरा नगरेर विद्यार्थीले दुःख पाइरहेका हुन्छन् ।

कक्षामा प्रथम, द्वितीय, तृतीय हुने वा गराउने प्रवृत्तिले पनि विद्यार्थीलाई निकै हैरान पारेको हुन्छ । पगरी पाउन गाह्रो र पाए थाम्न गाह्रो भनेजस्तो । मलाई जिते भन्ने ईष्र्या र मलाई जित्लान् भन्ने त्रास पालेर बस्ने बानी विद्यार्थीका लागि घातक हुन्छ । कक्षामा को प्रथम ? को द्वितीय ? भन्ने कुरालाई एक खेलको रूपमा लिनुपर्छ ।

अभिभावकहरूले आफ्नो सन्तान लगनशील, मेहनती, अब्बल दर्जाको ज्ञानी होओस् भन्ने चाहन्छन् । तिमीहरूले उहाँहरूको यो सोचलाई बेवास्ता गरी बेढङ्गको व्यवहार देखाउन थाल्यौ भने मन कुडिन्छ । अनि बाबुआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामूढा माथि जस्ता भनाइ आउन थाल्छन् । एक जना अभिभावकलाई आफ्ना सन्तानको उत्ताउलो स्वभावबाट दिक्क लागेछ र ‘अरू सबै वंशाणुगत गुणहरू आमाबाबुबाट सन्तानमा सर्छन् तर बौलहठ्ठीपनचाहिँ छोराछोरीबाट बाबुआमामा सर्ने गर्छ’ भनेछन् । अर्का अभिभावकले यसरी दुखेसो पोखेका छन्— सन्तानले बाबुआमाप्रति वास्ता नगर्नु कुन ठूलो कुरा भयो र ? किनकि बाबुआमा त सित्तैमा पाइएका चिज हुन् ।
यी माथिका व्यङ्ग्यात्मक भनाइमा अभिभावकका पाकेका पीडा छन्, उदास र निराश मनका सुस्केरा छन् । यसबाट आआफ्ना अभिभावकलाई जोगाउनुपर्छ आफू लगनशील बनेर । अभिभावक त्यस्तो छाता हो जो जति पुरानू हुँदै जान्छ उति बाक्लो हुँदै जान्छ, जति तुन्दै गयो उति बुनिँदै जान्छ । यस्तो अनौठौ जादूगरी छाताको महत्व बेलैमा बुझौँ र लामो समयसम्म यसको छहारीमा बस्ने अवसर जुटाउँ । छाता च्याते आफै रुझिन्छ, आफै डढिन्छ । कुरो आफ्नै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?