ट्रेंडिंग:

>> मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी >> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि

शाकाहारी भोजन

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

शाकाहार संस्कृत शब्द हो । यसको नेपालीमा अनुवाद साग आहार हुन्छ अर्थात् साग खाने । तर व्यवहारमा भने मांसाहार नगर्नेलाई शाकाहारी भन्ने चलन छ । यसको सबैभन्दा सजिलो परिभाषा ! एक अध्ययनअनुसार संसारको कुल जनसङ्ख्याको केवल २२ प्रतिशत मान्छे मात्रै शाकाहारी छन् । यो एक अल्पमत सङ्ख्या हो । तर दैनिक मासु खानेको सङ्ख्या भने जम्मा ७ प्रतिशत मात्रै छ । यसको मतलब ७१ प्रतिशत मान्छे मासु खानेका कोटीमा नाम दर्ता भए पनि नियमित मासु खाँदैनन् । यसमध्ये कतिपय हप्ताको २ पटक खाने होलान्, कोही १ पटक खाने होलान्, कोही १५ दिनको एक पटक र कोही विशेष चाडपर्वमा खाने होलान् । यसरी हेर्दा औसत शाकाहारीको संख्या ठूलो बहुमतमा छ भन्न सकिन्छ ।
जीव विकासको क्रमसित मेल खाने गरी पौराणिक कालको औतार क्रममा मासु आहारको घट्दो क्रम देखिन्छ । नृसिंह औतार त उग्र हिंस्रक देखिए नै । परशुरामले मासु खाए नखाएको प्रमाण त भेटिएन तर उनको जातीय विनाशको इतिहास कहाली लाग्दो छ । श्रीरामले वनमा शिकार खेल्न गएको प्रमाणले उनले मांसाहार गरेको निश्चय गर्न सकिन्छ । श्रीकृष्णले शरणागतको रक्षाका लागि हिंसाको बाटो लिए पनि दुग्धजन्य पदार्थ प्रिय खाद्यको रूपमा लिएकोले शाकाहार औतारको सुरुवात भएको भन्न सकिन्छ । श्रीकृष्ण प्रेमका अवतार हुन् । जसको हृदय प्रेमल छ उसले अरूको जीवन समाप्त पारेर कसरी आफ्नो पेट भर्ने कुरा सोच्न सक्छ र ! बुद्धावतारमा त अहिंसा र शान्तिकै कुरा आएपछि शाकाहार अझ परिपाक भयो ।

ऋषिमुनिले मांसाहार गर्दा हुन् कि, यो एक जिज्ञासा हुन सक्छ । वातापिको दाइ इल्वल राक्षस राजले मासु खाने ऋषिलाई मार्ने बडो गजबको तरिका अपनाएको थियो । उसले मांसाहारी ऋषिहरूलाई मैत्रीपूर्ण भोजमा बोलाउँथ्यो । अनि उसको मायावी भाइ वातापिलाई भेँडाको रूप धारण गर्न लगाउँथ्यो र त्यही वातापि भेँडालाई काटेर मासु पकाई खुवाउँथ्यो । ऋषिहरू खानपिन गरी उठेपछि उसले भाइलाई वातापि भनेर बोलाउँथ्यो । जब दाइले बोलाउँथ्यो भाइ वातापिले सबैको पेट फोर्दै जेकाते हुन्थ्यो र भुँडी फुटेका ऋषिहरू मर्थे ।

यसै गरी एक दिन इल्वलको भोज निम्तामा अगस्त्यसमेतका ऋषिहरू बोलाइए । उसै गरी मासु पाक्यो । अगस्त्यले मजाले खाए । अनि इल्वलले भाइलाई बोलायो । अगस्त्यको पाचन शक्ति बेजोडको थियो । उनले वातापिलाई पचाइसकेका थिए । इल्वलले बोलाउँदा वातपि बोल्ला भनेको त अगस्त्यले जोरसित पादे । त्यसपछि इल्वलको ऋषि मार्ने क्रम बन्द भयो । अरू ऋषिको नाम उल्लेख भएन । तर सप्तर्षिमा गनिने ब्रह्मज्ञ अगस्त्यसमेतले मांसाहार गरेको प्रमाणले आहार जिभ्राका पछि लागेर लिप्सायुक्त व्यवहारले खाने कि साछी भावले खाने भन्ने कुरा स्पष्ट हुन्छ । अगस्त्य इल्वलले आज पेटभरि मासु खान दिने भयो भनेर ¥याल काढ्दै आएका थिएनन् । उनी निम्ता मान्न आए । दिएको कुरा खाए । त्यति खाए जति पचाउन सकिन्छ । आफ्नो पाचन शक्तिको ख्याल नगरी कन्दानी छिँदुन्जेल खाने ऋषिहरू पनि हुँदारहेछन् जो मरे । यसले सम्यक् आहार र शाकाहारको नजिकको साइनो रहेको समेतको छनक दिन्छ ।
त्यसै गरी ब्रह्मर्षि विश्वामित्र जो गायत्री मन्त्र द्रष्टा ऋषि भनेर चिनिन्छन् उनले ठूलो अनिकाल पर्दा कुकुरको जाँघको मासु खाएको प्रसङ्ग महाभारत शान्तिपर्व अध्याय १४१ मा छ । मागेर कसैले केही खानेकुरा नदिएपछि उनले त्यो मासु चोरेर लैजाने विचार गरेका थिए । तर चोर्ने बेलामा घर मालिकले देख्नाले लाजपचाएर ठूलो डबलफसल गरी मासु लगेरै छाडे । आपतविपतका बेला भक्षाभक्षको कुराभन्दा पनि शरीर कसरी बचाउने भन्ने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसैले शाकाहार मांसाहार भन्ने कुरा गर्न सकिने हदसम्मका कुरा हुन् भन्ने सन्देश यस सन्दर्भले दिन्छ ।
शाकाहार मांसाहारमा कुन राम्रो कुन नराम्रो भन्ने कुरा एक अन्तहीन बहस हो । तर शाकाहारी र मांसाहारी प्राणीको शरीर संरचना र प्रवृत्तिको अध्ययन गर्दा मान्छे शाकाहारी गुणसित निकै नजिक छ । पानी चाटेर खाने, प्रायः रातीमा सक्रिय हुने, कुकुर दाँत अर्थात् दाह्राको ज्यादा विकास भएको हुने, बङ्गाराले मस्याक्मस्याक नचपाउने केवल ङ्याचङ्याच पारेर खाना टुक्राउने र धुल्याउने मात्रै गर्ने जस्ता शारीरिक बनोट मांसाहारी जीव जनावरको हुन्छ जुन मानिसमा हुँदैन ।

हाम्रो समाजमा मासुलाई, घ्यु तेललाई ज्यादै ठूला पोषक तत्त्वका लिने एक भ्रम छ । त्यसैले पनि मांसाहार इज्जतको र हाइहाइ भोजन मान्ने गरिन्छ । विशेष पाहुना आउँदा मासु पकाउने, घ्युसित भोजन खुवाउने चलन निकै छ । पाहुनाको निहुँ मलाई पनि घिउ भन्ने उखानै छ । तर पोषणविद् भन्छन्— मासुबाट पाइने मुख्य तत्त्व प्रोटिन हो । मासुको प्रोटिन पचाउन गाह्रो हुन्छ । यसभन्दा सजिलो त दाल वा गेडागुडीको निकै राम्ररी पच्ने प्रोटिन हुन्छ । त्यसैले आर्थिक हिसाबले र सहज पहुँचका हिसाबले गेडागुडीको प्रोटिन मानव स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।
कतिपयले भन्ने गर्छन् मांसाहारी मान्छेको स्वभाव क्रुर हुन्छ, उनीहरू निष्ठूर हुन्छन् । हो तामसी भोजनले मान्छेलाई तमगुणी बनाउँछ, रिसाहा, विवेकहीन, निष्ठूर बनाउँछ । तर यो कुरा शतप्रतिशत सत्य भने होइन । दया, माया, करुणा, रिस, डाहा, ईर्ष्या दिलमा उब्जने भाव हो । शाकाहारी शान्तिप्रेमी हुने कुरा ध्रुव सत्य जस्तै हुन्थ्यो भने क्रुरताका उदाहरण मानिने जर्मनीका शासक एडोल्फ हिटलर त्यति क्रुर हुने थिएनन् । उनी शाकाहारी थिए ।
शाकाहारी भोजन व्यवस्था समूह यात्राका सन्दर्भमा ठूलो मुद्दा नहुन सक्छ तर पिकनिकमा खाना नै उच्च प्राथमिकतामा रहेको अवस्थामा भने चित्त दुखाइ पनि हुन सक्छ । शाकाहारी भोजन व्यवस्था हेर्दा समूह यात्रामा विविधता व्यवस्थापनको महत्वलाई ख्याल गर्नुपर्ने देखाएको छ । यो ठूलो कुरा होइन तर एक मानवीय संवेदनाको कुराचाहिँ पक्कै हो ।
दक्षिण एसियाबाहेकका देशमा शाकाहार खर्चिलो र व्यवस्थापनका लागि समस्याको कुरा बन्न सक्छ । हाम्रो देशका सन्दर्भमा भने यो कम खर्चिलो र सहज व्यवस्थापनीय छ । भावनात्मक रूपले सम्बोधन गरेमा यो निकै सरल तरिकाले व्यवस्था गर्न सकिन्छ ।
पिकनिक भोज जस्ता कार्यक्रममा पनि यो झिनो समस्या वेवास्तापनका रूपमा देखा पर्ने गर्छ । म आफू शाकाहारी भै लेख्नुपर्दा अलि अमिल्दो जस्तो लाग्न सक्छ तर यो मेरो व्यक्तिगत सोचभन्दा पनि प्रवृत्तिगत कुरामा संप्रेषण गर्न खोजेको छु । यस समस्यालाई व्यवस्थापकले जसरी कम मूल्यमा समाधान हुने भनेर हल्काफुल्का रूपले लिने गरेको सङ्केत गर्छ त्यसरी नै कार्यान्वयनकर्ताले त्योभन्दा १०० गुना हल्का गरेर कार्यान्वयन गर्छ । यसो हुँदा यो समस्या भौतिकभन्दा मानसिक रूपतिर मोडिने गर्छ ।
शाकाहारी अहिलेको अवस्थामा अल्पसंख्यक स्थितिमा पाइन्छन् । शाकाहारीहरूको भोजन प्रायः निर्वाहमुखी स्वभावको हुन्छ । अल्पसङ्ख्यक भएका कारणले बहुसंख्यकबाट कम प्राथमिकतापूर्ण व्यवहार र खिसीट्युरी शाकाहारीले भोग्नुपर्ने झिना समस्या हुन् । यसको दह्रो प्रतिकार नहुँदा बहुसङ्ख्यकमा शाकाहारीलाई हेपे पनि खासै समस्या नहुने भ्रमपूर्ण समझको विकास भएको पाइन्छ । शाकाहार भोजन मांसाहारीलाई पनि चल्ने भएकाले सीमित व्यवस्थापनमा हुने भोजमा शाकाहारी भोजनमाथि दवाव पर्ने हुन्छ । यसरी शाकाहारी झनै निचोरिन्छन् ।
शाकाहारी खाना र मांसाहारी खानामा गरिने तुलना एक अहं अर्थात् इगो उत्तेजनाको विषय मात्र हुने गर्छ । पिकनिक जस्ता कार्यक्रममा समान लगानीमा हेपाइ बोनससितको व्यवहार हुँदा एक खालको निराशाको जन्म हुने गर्छ । खानाकै विषयमा दिक्दारी लिनु शाकाहारी आदर्श वा भनौँ स्वभाव विरुद्धको कुरा हो । शाकाहारीले एक छाक त हो नि भनी शान्तसित चित्त बुझाउने र मांसाहारीले शाकाहारीको आहाराप्रति सकारात्मक चासो राख्ने गर्दा दुवै पक्ष खुसी हुने अवस्था आउँछ ।
इन्डोनेसियाको वाङ्डुङ शहरमा एक बहुराष्ट्रिय शिक्षा गोष्ठीमा भाग लिन गएका बखत करिव १०० जना सहभागीमा १ जना भेगन र १ जना शाकाहारी थिए । त्यति ठूलो समूहमा केवल २ जना सहभागीका लागि विशेष महत्वका साथ पहिले ती भेगन र शाकाहारीलाई खानाको व्यवस्था गरी अरूलाई खानाको व्यवस्था हुने गर्थ्यो । यस्तो देखेर म छक्क परेको थिएँ । त्यसै गरी हवाइजहाजमा दिइने खाना पनि पहिले भेजिटेरियनलाई दिएर अरूलाई दिएको देखे भोगेको छु ।
शाकाहार कम हिंसाको भनौँ वा अहिंसाको बाटो हो । तर भोजनमा मासु खाइनँ भन्दैमा यसैलाई ठूलो अहंको विषय बनाउनु त अझ बढी हिंसक हुनु हो । एक लोक भनाइ छ— मान्छेले तीन तरिकाले मासु खान्छ रे । पहिलो सबैले देख्ने गरी जीव जनावरको मासु खाने मान्छे, दोस्रो अरूलाई सताएर रातको निद न दिनको भोक गराएर परोक्ष रूपमा मान्छेकै मासु खाने मान्छे र तेस्रो अरूको डाहा र ईर्ष्याले आफ्नै मासु खाने मान्छे । मानव समाज व्यवस्थापनमा पछिल्ला दुई प्रकारका मांसाहारी अझै खतर्नाक मानिन्छन् ।
कसैका अर्ती बुद्धि उपदेशले शाकाहारी हुनु अहिंसाको पहिलो पाइला त हुनसक्छ तर हृदयमा करुणाको भाव नपलाई भएको शाकाहारी एक दमित इच्छा बोकेको शाकाहारी मात्रै हो । जब शरीर कमजोर भएर इच्छा दमन गर्न नसकिने अवस्थाको मानसिकता हुन्छ त्यो बेलामा ऊ मासु खाने घिटकिसो व्यक्त गर्न लाग्छ । कतिपय व्यक्तिले देहान्तको अवस्थामा मासु खाने ईच्छा जाहेर गर्नुको कारण यही हो ।
शाकाहारीलाई अङ्ग्रेजीमा भेजिटेरियन भन्छन् । यसले मासु नखाने अर्थ लाग्छ । तर अरूको गास खोसेर खाएको वा खाने मान्छे शाकाहारी भएर पनि हिंसक मानिन्छ । दूध वा दुग्ध पदार्थ, मह जस्ता खानेकुरासमेत नखानेलाई भेगन भनिन्छ । यिनीहरू शाकाहारीभन्दा कम हिंसक हुन्छन् भन्ने कुरा व्याख्या गरिरहनुपरेन । जैन धर्मावलम्बीहरूले श्वास लिँदा जीवाणु मुखमा जालान् र हत्याको पाप लाग्ला, मांसभक्षी दोष लाग्ला भनेर मुखमा मास्क वा मुकुन्डो लगाउँछन् ।
जीव विज्ञानको दृष्टिले हेर्दा हरिया वनस्पति उत्पादक हुन् । उनीहरूले माटो, हावा, पानी जस्ता निर्जीवनबाट जीवनको सुरुवात गर्छन् । ती बोटबिरुवा खाएर बाच्ने पहिलो दर्जाका उपभोक्ता जसलाई शाकाहारी भनिन्छ ती सबैले वनस्पतिको हिंसा गरेरै आफ्नो जीवन निर्वाह गर्छन् । त्यसैले मान्छेको जीवन हिंसारहित हुन नसक्ने देखियो । धान कुट्दा, गहुँ पिस्दा पनि ती सुषुप्त अवस्थामा रहेका बीजको नाश हुने गर्छ । त्यसैले होम यज्ञ गर्दा पुराना उमार शक्ति क्षीण भएका अन्नको चरु बनाउने भनिन्छ । यसरी उमार शक्ति सकिएको अन्नलाई अज भनिन्छ । अनि समिधा पनि डोलेठा प्रयोग नगरेर चिरेका प्रयोग गर्नु पनि दाउरा वा काठभित्र पसेका बसेका कीराको हत्या नहोस् भन्ने हो । पूर्ण रूपमा अहिंसक भएर जीवन जिउनका लागि त खरानी खाएर बाच्न सक्नुपर्छ । एक वर्षभरि साग खाने मान्छेले एक धार्नी कीरा खान्छ, वर्षभरि कन्दमूल खाने मान्छेले एक धार्नी माटो खान्छ, वर्षभरि मही खाने मान्छेले एक धार्नी घ्यू खान्छ भन्ने लोक भनाइ छ । त्यसैले शाकाहार पनि हिंसामुक्त हुन सक्दैन भन्न सकिन्छ ।
हाम्रो उद्देश्य कमभन्दा कम हिंसाबाट जीवन जीउने हुनुपर्छ । फूल टिप्दा, साग चुँड्दा पनि बडो प्रेमसित व्यवहार हुनुपर्छ । हाम्रा हरेक काम कम हिंसा उन्मुख हुनुपर्छ । यही हो शाकाहारी जीवनको मुख्य आदर्श !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?