बुटवल,५ मंसिर । नेकपा एमाले लगायतका दलले सत्ता गठबन्धनबाट धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताएका छन् । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रन्चोकको दुर्गा मावि र हिमालय मावि, सोही पालिकाको सूर्यज्योति मावि, पालुङटार नगरपालिका वडा नम्वर ७ को जीवनज्योति मावि, वडा नम्वर १ को स्थानिका आधारभूत विद्यालय, सिरानचोक गाउँपालिका–८ जौवारी स्थित परोपकार आदर्श मावि र अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योति माविको मतदान केन्द्रमा बाम गठबन्धनले धाँधली गरेको उनीहरुको आरोप छ ।
त्यस्तै गोरखा–१ को चार वटा मतदान केन्द्रमा पनि धाँधली भएको उनीहरुले बताएका छन् । भीमसेन थापा गाउँपालिका–१ को बालकल्याण आधारभूत बिद्यालय, बिन्द्रवती मावि, वडा नम्बर ८ को भीमसेन आधारभूत विद्यालय र धार्चे गाउँपालिका–३ को पार्वती आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने उनीहरुको माग छ ।