Logo
२३ जेष्ठ २०८०, मंगलवार

विश्वमा पानीको संकटः प्राकृतिक श्रोत संरक्षणमा ढिलाई नगरौं


संयुक्त राष्ट्रसंघले हरेक वर्ष मार्च २२ का दिनलाई ‘दिगो विकासका लागि पानी’ भन्ने नारासहित अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै आएको छ । पानी दिवस मनाउँदै गर्दा विश्वमा पानीको संकट बढ्दै गएको छ । बढ्दो जनसंख्या, प्राकृतिक सम्पदाको विनास, तीब्र औद्योगिकरण, वन जंगलको विनास आदिका कारण आज विश्वभरी नै पानीको संकट बढ्दै गएको छ । पानीको श्रोत र मुहान सुक्दै गएका छन । पानीको संरक्षणको विषयमा ठूला देशहरुले चासो र चिन्ता गर्नै छाडेका छन । यही अवस्था जारी रहे विश्वका लागि पानी मूख्य चुनौति बन्ने अवस्था छ । विश्व पानी दिवसकै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने संकटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, ताल तलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनु भएको छ । राष्ट्रपतिले भनेजस्तै सहरी क्षेत्रमा वर्षातको पानीमार्फत भूमिगत पानीको स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको छ । पानीको संरक्षण गर्ने हो भने देशका विभिन्न स्थानमा पोखरीहरू निर्माण गरी आकाशेपानी संकलन गर्ने र पानीका स्रोतहरूको संरक्षण गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

अहिलेको विश्वले त्यसैपनि जनसंख्या बृद्धि र बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणको तीब्रतातर्फ ठूलो चुनौतिको सामना गर्नुपरिरहेको छ । वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको छ । अव्यवस्थित बस्ती र बढ्दो औद्योगिकीकरणका कारणले जमिनमुनिको पानीसमेत प्रदूषित हुँदै गएको छ । जसका कारण प्राणी जगतका लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ । अवका दिनमा पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पु¥याउनेतर्फ ध्यान नदिने हो भने एकदिन विश्वले पानीकै लागि ठूलो संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।

विश्व पानी दिवसकै सन्दर्भमा पानीको संरक्षण आज विश्वकै लागि चिन्ताको बिषय वन्नुपर्दछ । अवका दिनमा विश्वभरि नदीहरूको सुधार र संरक्षणलाई प्रोत्साहित गर्नु जरुरी छ । भन्ने गरिएको छ– मानव सभ्यता नदी किनारमै स्थापित भएको थियो । पहिलो मानव सभ्यताका लागि नदीहरू आकर्षक स्थानहरू थिए । नदीहरूले निरन्तर पिउने पानीको आपूर्ति गरे, जमिनलाई उर्वर बनाए । तर, आज त्यही पानी चुनौति बन्दै गएको छ । पानीको अपर्याप्तताले मानव जीवन संकटमय वन्दै गएको छ । पानी मानव जीवनका साथै दिगो विकासका लागि अत्यन्त महत्वपूर्ण छ । पानीविना मानिसको अस्तित्व समाप्त हुन्छ । जनसंख्याको बढ्दो माग र द्रुत गतिमा विकास भइरहेको विश्वव्यापी अर्थतन्त्रले जलवायु परिवर्तनको प्रभावका साथ पानी र पानीको पहुँचको अभाव बढाउने निश्चित छ । धेरै विशेषज्ञहरूको भनाई अनुसार पानीको अप्रत्याशित आपूर्तिले भविष्यमा सामाजिक–आर्थिक प्रगतिमा बाधा पु¥याउन सक्छ । त्यसकारण पानी बचाउने अभियानमा लाग्नु जरुरी छ । पानी उत्पादन हुन सक्दैन, त्यसकारण प्राकृतिक सम्पदाको संरक्षण पानी जोगाउने एकमात्र आधार हो । भोलिको सन्ततीले काकाकुलको चुनौति सामना गर्नु नपरोस् भन्नकै लागि आजैबाट पानी संरक्षणको उपाय खोज्न ढिलाई नगरौं । विश्व पानी दिवसकै अवसरमा सारा विश्वको ध्यान पानीतर्फ ध्यान केन्द्रित गर्नैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?