ट्रेंडिंग:

>> बुटवलको डेल्टा एजुकेशन मार्टमा भीषण आगलागी (भिडियोसहित) >> लुम्बिनी प्रदेश सरकारविरुद्ध सञ्चारसंस्थाहरु एक मतः पहुँचका आधारमा कानुन मिचेर बजेट छुट्टयाइएको आरोप >> एक्साभेटरले च्यापिंंदा युवकको मृत्यु >> बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं–गिरी >> ब्याटिङका लागि पीच चुनौतीपूर्ण थियो : रोहित पौडेल >> छैठौं स्थापना दिवसमा सरसफाई र बृक्षरोपण >> लुम्बिनीको सञ्चार वजेट मनपरी बांडिएकोमा आपत्ति >> गिरीबन्धुको जग्गा छानबिन समिति बनाउन कांग्रेसको माग >> लुम्बिनी प्रदेशमा भित्रियो मनसुन >> निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री >> विषाक्त मदिरा सेवनबाट भारतको तामिलनाडुमा २९ जनाको मृत्यु >> लुम्बिनी भारतीय दुतावासको योग दिवस >> जीबी राईको मलेसिया लोकेसन पत्ता लाग्यो : गृहमन्त्री >> आज संसदमा प्रधानमन्त्रीसंग प्रश्नोत्तर >> सर्लाहीमा बस दुर्घटना हुंदा रुपन्देहीका तीनजनाको मृत्यु >> स्कलर्समा क्षमता अभिवृद्धि कार्यक्रम >> टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै >> सुर्तीजन्य पदार्थको प्रयोग रोक्न विद्यालयबाट सुरु गर्नुपर्ने >> पूर्व राजपरिवारका ज्वाइँ प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेषले दियो सबैलाई सफाइ >> आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना >> ‘सुपर एट’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका पराजित >> गैंडहवामा महिलाहरुको स्वास्थ्य परीक्षण >> ‘बिरामीले पाउने सास्ती अन्त्य होस्’ >> अब जनवादी गणतन्त्र ल्याउन उठौं >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खोल्सा व्यवस्थापनमा नमुना अभ्यास >> ‘साँगुरिदै अक्सिजन क्षेत्र’ >> तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता (पुर्णपाठ) >> बुटवलको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई मुख्य प्राथमिकता >> पर्साका तत्कालीन मालपोत अधिकृतसहित तीन जनालाई ८ वर्ष कैदको फैसला >> झलनाथको रिट निवेदन सर्वोच्च अदालतद्वारा अस्वीकार >> बैंक तथा वित्तीय संंस्थाका ऋणिहरुद्वारा बुटवलमा प्रदर्शन >> जेसिस सप्ताहको तयारी पुरा >> मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै पुनर्लेखन गर्न कांग्रेसको माग >> अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन >> थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने >> कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो –प्रभु शाह >> २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन >> सुनको मूल्य स्थित, चादीको बढ्यो >> केन विलियम्सनले छोडे कप्तानी >> संसद भवनको शौचालयमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या >> नेतन्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप >> ‘हेरी रहुँ तिमीलाई’बोलको म्यूजिक भिडियोे सार्वजनिक >> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा

बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ?

१० जेष्ठ २०८१, बिहीबार
१० जेष्ठ २०८१, बिहीबार

पूर्णिमा उज्यालोको द्योतक हो । यसले शीतलतालाई पनि सङ्केत गर्दछ । चन्द्रमाले सूर्यका तीखा किरणहरू आफूले लिएर जगत्मा शीतलता छरेझैँ बुद्धले दुःखमय संसारबाट मुक्तिको लागि मार्ग देखाउनु भयो । यसरी अज्ञानताको अन्धकार हटाउने र दुःखको अन्त्य गर्दै शान्तिको प्रकाश छर्ने सन्दर्भमा बौद्ध शिक्षालाई बुद्ध पूर्णिमासँग लक्षणाको अर्थमा जोडिएको हो । गौतम वुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण (मृत्यु) तीन घटनाहरूको संयोग अर्थात् ‘त्रिसंयोग’को तिथि हो–बैषाख पूर्णिमा । त्यसैले यसलाई बौद्धहरू ‘बुद्ध पूर्णिमा’ भन्दछन् । तर, विडम्बनाको कुरा छ नेपाल सरकारको आधिकारिक क्यालेन्डरमा बुद्ध जयन्ती भनी उल्लेख गरिएको छ । जयन्ती शब्दले जन्म दिवस वा जन्म दिनलाई सङ्केत गर्दछ । प्रज्ञा नेपाली वृहत् शब्दकोशमा पनि जयन्तीलाई “कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन, सो दिन मनाइने उत्सव” भनी अथ्र्याइएको छ । तर, वैषाख पूर्णिमा बुद्धको जन्म दिन मात्र होइन । यो तिथि त त्रिसंयोग हो –जन्म, बुद्धत्व प्राप्ती र महापरिनिर्वाणको । त्यसैले यस दिनलाई त्रिसंयोग दिवस वा बुद्ध पूर्णिमा भन्नु उचित हुन्छ ।

तत्कालीन कपिलवस्तु राज्यमा माता मायादेवी र पिता सुद्धोधनका पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएका थियो । राजकुमारको रूपमा उनले हरेक सुख सुविधाहरू प्राप्त गरेका थिए । तर, त्यो सुख सुविधाले उनलाई शान्ति दिन सकेन । वृद्ध पुरुष, रोगी पुरुष र मरेको लास देख्दा बुद्धमा दुःखको कारण के रहेछ भनी जान्ने कौतुहलता जाग्यो । सिद्धार्थले घरगृहस्थी त्यागेको योगी पनि देखे । यी घटनाहरूले उनलाई दुःखको कारण र त्यसको निवारणको मार्ग खोज्न प्रोत्साहित गरायो । जसले गर्दा सिद्धार्थले महलको सुख सुविधा, घर, परिवार, पत्नी, छोरा सबैलाई छोडेर प्रबज्या ग्रहण गरे । यस घटनालाई बौद्ध साहित्यमा ‘महाभिनिष्क्रमण’ अलारकलाम र खुदक राम पुत्रसँग सारा शिक्षा लिँदा पनि उनी सन्तुष्ट हुन सकेनन् । छ वर्षसम्म केही नखाई दुश्करचर्या गरी बसे तर, पनि ज्ञान प्राप्त हुन सकेन । सुजाताले वृक्षदेवता मानी दान गरेको खिर खाएपछि उनी निरन्जना नदीमा स्नान गरेपश्चात् बौद्ध गयामा पिपलको रुखमुनि ध्यानमा बसे । उनलाई त्यही रात बोधी ज्ञान प्राप्त भयो । उनी सिद्धार्थबाट बुद्ध बने । यो समय थियो, वैशाख पूर्णिमा । बुद्धत्व प्राप्त गरेको ४५ वर्षसम्म बुद्धले आफ्नो शिक्षा बाँड्दै सारा संसारलाई मुक्तिको मार्ग सिकाउनु भयो । पहिलो पटक पञ्चवर्गीय भिक्षुलाई शिक्षा प्रदान गर्नुभयो । त्यसपछि क्रमशः बुद्ध शासन फैलँदै गयो । तत्कालीन समाजमा स्थापित ब्राह्मणबाद र कर्मकाण्डले चरम रूप लिएसँगै उत्पीडित वर्गप्रति गरिएको विभेदपूर्ण व्यवहारप्रति गौतम बुद्ध अति संवेदनशील हुनुहुन्थ्यो । जाति प्रथा, जादु–टुना र पशुवली लगायत कुप्रथाले ग्रस्त समाजमा उहाँ विद्रोहीको रूपमा उदाउनु भएको थियो । बुद्धको शिक्षामध्ये सबैभन्दा महत्वपूर्ण शिक्षा भनेको चर्तुआर्यसत्य हो । यसमा दुःख छ । दुःखको कारण छ । दुःख निवारण गर्न सकिन्छ र दुःख निवारणका उपायहरू छन् भन्ने चार सत्यहरू पर्दछन् । दुःखको मूल कारण तृष्णा हो भन्ने बुद्धको मान्यता छ । तृष्णाकै कारण मानिस जन्म मृत्युको चक्रमा घुमिरहन्छ । तृष्णा क्षय गर्न सकेमा जन्म–मृत्युको कारण नै भङ्ग हुन्छ । जसले गर्दा दुःखबाट स्वतः मुक्ति मिल्छ । दुःख निरोध र भवचक्रको अन्त्यलाई बौद्ध धर्ममा निर्वाण भनिएको छ । यही नै बौद्ध शिक्षाको मूल उद्देश्य हो । बौद्ध धर्मअनुसार निर्वाण प्राप्त गर्ने व्यक्ति पुनः जन्म लिँदैन ।

बोधिचर्या गर्दै पारमीहरू पूरा गरेर स्वप्रयासले निर्वाण पाउने व्यक्तिलाई सम्यक् सम्बुद्ध भनिन्छ । गौतम बुद्ध पनि सम्यक सम्बुद्ध हुनुहुन्छ । बुद्धको उपदेश सुनेर निर्वाण प्राप्त गर्नेहरू भने अर्हत हुन् । बौद्ध दर्शनले निर्वाणका दुई अवस्था बताउँछ । पहिलो ‘सौपादिशेष निर्वाण’ र दोस्रो ‘निरूपादिशेष निर्वाण’ । जीवित अवस्थामै प्राप्त निर्वाण सौपादिशेष निर्वाण हो भने भौतिक रूपमा हुने मृत्युसँगै प्राप्त निर्वाण ‘निरूपादिशेष निर्वाण’ हो । सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । यो पहिलो प्रकारको निर्वाण लाभ हो । यस्तो निर्वाण प्राप्त व्यक्तित्व बुद्धको देहत्यागको घटनालाई महापरिनिर्वाण भन्ने चलन छ । यो महापरिनिर्वाणको समय पनि वैशाख पूर्णिमा नै थियो । बुद्धले ८० वर्षको उमेरमा अबको तीन महिनापछि महापरिनिर्वाण लिँदैछु भन्ने कुरा पूर्व घोंषणा गर्नु भएको थियो । यो घटनालाई ‘आयुसंस्कारपरित्याग’ भनिन्छ । बुद्धले पावानगरका उपासक चुन्दको निमन्त्रणामा उनको घरमा भोजन गर्नुभयो, जसमा ‘सूकरमद्दव’ पनि समावेश थियो । त्यो खाएपछि बुद्धलाई रक्तस्रावको निकै गहिरो वेदना हुन थाल्यो । कुशिनगरका मल्लहरूको साल वनमा दुई सालका बृक्षमा आसन लगाई धर्म देशना गर्दागर्दै बुद्धले महापरिनिर्वाण प्राप्त गर्नु भयो । यस प्रकार सुजाताले दिएको खीरबाट बुद्धलाई सौपादिशेष निर्वाण प्राप्त भयो भने चुन्दको भोजनले उहाँलाई निरूपादिशेष निर्वाण प्राप्त भयो ।

बुद्ध जयन्ती शब्दले बुद्धको जन्मसँग मात्र सरोकार राख्दछ । यसले बुद्ध शिक्षालाई समेट्न सक्दैन । वास्तवमा अहिलेको युगमा बौद्ध शिक्षा विश्वभर लोकप्रिय हुँदै जानु र खोज अनुसन्धानका सन्दर्भमा जल्दोबल्दो विषय मानिनुले बुद्ध शिक्षालाई महत्व दिनुपर्ने कुरा निर्विवाद छ । तर, हामी भने यो पर्वलाई जयन्तीको रूपमा मनाउँदै छौँ । त्यसैले अब बुद्ध जयन्तीलाई बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमा वा त्रिसंयोग पर्वको रूपमा मनाइनु उचित हुन्छ । यसो गर्न सके मात्र बुद्धको जन्मलाई मात्र होइन, उहाँको शिक्षालाईसमेत हामीले महत्व दिएका छौँ भन्ने कुरा प्रमाणित हुनसक्छ । बुद्धका विचारहरू सर्वसत्य र सर्वकालीक छन् । त्यसैले आज जनसंख्याको हिसाबले विश्वको चौथो ठूलो धर्मको रूपमा बुद्धधर्मलाई स्विकार गरिएको छ । दिप्रतिदिन बौद्धदर्शनको लोकप्रियता बढ्दै गएको छ । आज दर्शन र मनोविज्ञान विषयको रूपमा विश्वका विभिन्न विश्वविद्यालयमा बुद्ध शिक्षा अध्ययन र अनुसन्धानको विषय बनिरहेको छ । यस्ता महामानवको जन्म नेपालको लुम्बिनीमा हुनु हामी सम्पूर्ण नेपालीको गौरवको विषय हो र उहाँको शिक्षालाई नेपाली जनजनमा स्थापना गर्नु आजको आवश्यकता पनि हो । गौतम बुद्धले मध्यमार्गको सिद्धान्त देशना गर्दै अति भोगविलास र अति दुश्कचर्याबाट जोगिनुपर्ने शिक्षा दिनुभयो, जुन आजको दिनसम्म आइपुग्दा पनि उत्तिकै व्यवहारिक छ ।

जातिवाद र कर्मकाण्डको कुनै स्थान नभएको बुद्धको दर्शनले आफ्नो उज्यालो आफैँ बन्न र आफँैभित्र मानवता खोज्न सुझाव दिन्छ । बुद्धले आफ्ना शिश्यहरूलाई बुद्ध शिक्षाबारे राम्रोसँग चिन्तन मनन गर्न र उचित लागेमा मात्र त्यसलाई अनुशरण गर्न भन्नु भएको छ । त्यसैले उहाँको शिक्षा अन्य दार्शनिकहरूको भन्दा भिन्न र विशेष रहेको मानिन्छ । दुःखबाट मुक्ति दिलाउन र शान्तिको पक्षमा जोड दिइएको हुँदा बौद्ध दर्शन विश्वका निम्ति शाश्वत मात्र होइन सार्वकालिक पनि छ । यही कारणले हुनसक्छ संयुक्त राष्ट्र संघले समेत बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ । बुद्धलाई राष्ट्रियतामा मात्र सीमित राखी उहाँको शिक्षाबारे अनभिज्ञ रहनु नेपालीहरूको लागि बिडम्बना हो । श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, तिब्बत, चीन, जापान, कोरिया जस्ता देशहरूले बुद्ध शिक्षालाई हरेक पक्षसँग जोड्दै आएका छन् । यहाँसम्म कि भुटान र थाइल्याण्डले त आफ्नो अर्थतन्त्रमा बौद्ध शिक्षालाई समावेस गरिसकेका छन् । भुटानले कुलग्राहस्थ उत्पादनको साटो कुल ग्राहस्थ खुसीको अवधारणामार्फत् बौद्ध आर्थिक विचारधारालाई राज्य सञ्चालनमै समाविष्ट गरेको छ । त्यसैगरी थाइल्येण्डले पनि ‘सफिसियन्सी इकोनोमी’ मार्फत् बौद्ध अर्थशास्त्रलाई प्राथमिकता दिएको छ ।

अमेरिका र युरोपमा पनि बौद्ध शिक्षाबारे खोज र अनुसन्धान बढ्दो छ । शान्ति, सजगता र दीगो विकासका सन्दर्भमा बुद्ध शिक्षा कहिले पनि पूरानो भएन । तर, विडम्बना नेपालले बुद्ध शिक्षाबारे खासै चासे दिन सकेको देखिँदैन । लुम्बिनी विश्व विद्यालयको स्थापनाले भने केही आशा पलाएको देखिन्छ । तर, यस विश्व विद्यालयमा स्नातक एवम् एमफिल तहमा बौद्ध अध्ययन विषय छैन । अनुसन्धान र खोजलाई विशेष प्राथमिकता दिनुपर्ने चुनौति पनि छ विश्वविद्यालयलाई । यसका साथै बौद्ध शिक्षा बुझ्ने मात्र होइन अनुभवले महसुस गरेका बौद्ध विद्वानहरूको थप आवश्यकता पनि देखिन्छ । सारा विश्व बौद्ध सम्प्रदायले वैशाख पूर्णिमालाई बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमा वा त्रिसंयोग पर्वको रूपमा मनाइरहँदा हामीले भने बुद्ध जयन्ती भनिरहेका छौँ, जबकि स्वयम् बुद्ध नेपालको लुम्बिनीमै जन्मिनु भएको हो । बुद्धको जन्म हाम्रो लागि महत्वको विषय त हो नै तर, उहाँको शिक्षाले हामीलाई दुःख मुक्तिको मार्ग सिकाएको छ । उहाँको महापरिनिर्वाणले सबै मानिस यस धर्ती छोडेर जानु नै पर्दछ त्यसैले संसार अनित्य छ भन्ने कुराको भान गराएको छ । अतः बुद्धको जन्म, बोधी लाभ र महापरिनिर्वाण तीनै संयोगलाई समेट्ने ‘वैशाख पूर्णिमा’ वा ‘बुद्ध पूर्णिमा’ वा ‘त्रिसंयोग पर्व’ शब्द बुद्ध जयन्तीभन्दा सान्दर्भिक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?