ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

सामुदायिक पुस्तकालयः पाठक फर्काउनै सकस

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

पुस्तकालय हुनका लागि पुस्तक, पठनसामग्री, त्यसको व्यवस्थापन र पाठक हुनुपर्दछ । पुस्तक तथा अन्य सूचनामुलक सामग्रीको संकलन, संरक्षण र व्यवस्थापन गरी पाठकले आवश्यक समयमा प्रयोग गर्न मिल्ने प्रणाली भएको स्थानलाई पुस्तकालय भनिन्छ । बदलिँदो परिस्थितिमा पुस्तकालयमा पुस्तक मात्र नभएर पत्रपत्रिका तथा डिजिटल सामग्री तथा विचार, भावना, अनुभव, दर्शन र सिद्धान्तमा आधारित पठन सामग्रीहरू हुन्छन् ।
पुस्तकालयको लक्ष्य पाठकलाई ज्ञान, सिप, धारणा र सूचना प्रदान गरी पठन संस्कृतिको विकास गर्नु हो । पुस्तकबाट सिकाउनु हो, बुझाउनु हो, बदल्नु हो ।

पहिलेका कुराः
मल्लकालमा धर्मशास्त्र, व्याकरण तथा दर्शनका किताब, ताम्रपत्र र भोजपत्रहरू विभिन्न मठ, मन्दिर, गुम्बा र चैत्यहरूमा राख्ने गरेको पाइन्छ । नेपाल एकीकरणको समयमा गोरखा, नुवाकोट, भक्तपुर, ललितपुरलगायतका स्थानबाट विभिन्न हस्तलिखित सामग्री हनुमान ढोकामा ल्याएर राखिएको इतिहास पाईन्छ ।
तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले १८६९ भाद्र १५ गते उक्त संग्रहित सामग्रीलाई संरक्षण गर्न पुस्तकालयबारे नीति–नियम बनाई पुस्तक चिताइ तहविलमा लालमोहर लगाएपछि नेपालमा औपचारिक रूपमा पुस्तकालय स्थापना भएको मानिन्छ (दाहाल, २०१९) । उक्त लालमोहरमा पुस्तकको संरक्षण गर्नु, बिना हुकुम कसैलाई नदिनु, पुस्तकालयको खाता पुस्तकाध्यक्षको जिम्मा दिनु भन्ने खालका नियम बनाएका थिए ।
१९०४ सालमा हनुमान ढोकाका पुस्तक जङ्गबहादुर राणाले थापथलीमा सारेको, १९१० मा वीरशमसेरले थापाथलीबाट दरबार स्कुलको बुइगलमा सारेको, १९९७ मा बीर पुस्तकालय स्थापना भएको, १९९३ तिर पाल्पामा पुस्तक पढ्ने दलानको सुरुवात भइ एक वर्षमै बन्द भएको, सोही वर्ष तौलिहवामा पशुपतिप्रसाद पुस्तकालय स्थापना भएकोलगायतको इतिहास रहेको छ । २००३ देखि २००४ सालसम्म शारदा पुस्तकालय (पाटन), प्रदीप्त पुस्तकालय (काठमाडौं), आदर्श पुस्तकालय (विराटनगर), धवल पुस्तकालय (पाल्पा), महावीर पुस्तकालय (बुटवल), सार्वजनिक विद्याभवन पुस्तकालय (धरान) आदि पुस्तकालयहरू स्थापना भएको पाइन्छ । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि भने पुस्तकालयको संख्यामा उलेख्य वृद्धि भएको पाइन्छ । २०१३ सालमा राजगुरु हेमराज पाण्डेको निजी पुस्तकालयमा भएका ३४ हजार २ सय ५२ पुस्तक खरीद गरी सिंहदरवारको सिक्री ढोकामा राखी राष्ट्रिय पुस्तकालयको स्थापना ग¥यो । २०१९ सालमा त्रिभुवन विश्वविद्यालयमा पुस्तकालय स्थापना भएको थियो ।

हाम्रा पुस्तकालयको अवस्था :
नेपालमा कति वटा पुस्तकालयहरू छन् अथवा चलिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन । यद्यपि सन् २०२० मा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र रिड नेपालले गरेको सर्बेक्षणमा २२७ सार्बजनिक तथा सामुदायिक पुस्तकालयले भाग लिएका छन् । रुम टु रिडले सन २०२२ सम्म ४७४२ बिद्यालय पुस्तकालय बनाउन सहयोग गरेको तथ्यांक भेटिन्छ । नेपालमा राष्ट्रिय पुस्तकालय, सार्वजनिक पुस्तकालय, शैक्षिक पुस्तकालय र विशेष पुस्तकालयहरू सञ्चालनमा छन् ।
नेपाल राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा रहेको छ । हाल यहाँ १ लाख ५० हजार पुस्तक तथा पत्रपत्रिका छन् । केशर पुस्तकालय (२०२६), मदन पुरस्कार पुस्तकालय (२०१३), डिल्लीरमण रेग्मी पुस्तकालय (२०३७), प्रभात पुस्तकालय (पाटन), किरण पुस्तकालय (गुल्मी), लेखनाथ पुस्तकालय (झापा), देवकोटा पुस्तकालय (जुम्ला) आदि नेपालका केही सार्बजनिक पुस्तकालय हुन् ।
शैक्षिक पुस्तकालयका रूपमा विद्यालय पुस्तकालय, महाविद्यालय वा क्याम्पस पुस्तकालय र विश्वविद्यालाय पुस्तकालयहरू रहेका छन् । विशेष पुस्तकालयका रूपमा कृषि पुस्तकालय, वन विज्ञान पुस्तकालय, इन्जिनियरिङ पुस्तकालय, चिकित्सा विज्ञान पुस्तकालय, टेलिभिजन पुस्तकालय आदि बिशेष प्रयोजनका लागि खोलिएका पुस्तकालय हुन् । विभिन्न संघसंस्था तथा रुम टु रिड, रिड नेपाल, द लाइब्रेरी फाउन्डेशनलगायत संस्थाहरूले पनि विभिन्न शैक्षिक तथा सार्वजनिक पुस्तकालयहरू स्थापना गर्न मद्दत गर्ने गरेका छन् ।

पुस्तकालय सम्बन्धी नीतिः
नेपालमा पुस्तकालयको विकास धेरै पहिलेदेखि भएता पनि यसको विकास, विस्तार तथा व्यवस्थापनमा स्पष्ट नीति तथा कार्यव्रmम बन्न सकेका छैनन् । २०६४ सालमा पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति पारित गरिएको थियो । २०६९ मा पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका पनि जारी गरिएको छ । २०७४ सालमा सार्वजनिक/सामुदायिक पुस्तकालय अनुदान कार्यविधि जारी गरिको छ ।
स्थानीय सरकार सन्चालन ऐन २०७४ मा गाउँपालिका तथा नगरपालिका अधिकार क्षेत्र अन्तर्गत स्थानीय पुस्तकालय तथा वाचनालयको संचालन र व्यवस्थापन गर्ने र माध्यमिक तहसम्मको शैक्षिक क्रियाकलापको समन्वय र नियमन गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै आधारभूत विद्यालयमा भवन, कक्षाकोठा, फर्निचर, प्रयोगशाला, शौचालय, पानी, पुस्तकालय, बुक कर्नर जस्ता भौतिक तथा शैक्षिक पूर्वाधार पूरा गरिनेछ भन्ने उल्लेख छ ।
आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै शैक्षिक संस्थाहरूमा पुस्तकालय विकास, व्यवस्थापन तथा सञ्चालनको मापदण्ड तयार गरी पर्याप्त सन्दर्भ सामग्रीसहितका पुस्तकालय स्थापना गरिनेछ भन्ने उल्लेख छ । विद्यालय क्षेत्र सुधार योजनाले विद्यालयमा हुनै पर्ने ५ वटा न्यूनतम अवस्था मध्ये प्रत्येक कक्षामा एक पुस्तकालय कुना तोकेको छ ।

पुस्तकालय किन ?
पुस्तकालय ज्ञानको भन्डार भएको हुँदा यसले जुनसुकै उमेर र अवस्थाका पाठकलाई आफूले चाहेको ज्ञान, सिप र धारणा वृद्धि गर्न मद्दत गर्छ । प्रारम्भिक उमेरका बालबालिकाले पुस्तकालयको प्रयोग गर्न सकेमा उनीहरूमा सानै उमेरमा साक्षरताका साथै भाषिक सिप, पठन सिप र पढ्ने बानी विकास भई असल र जीवनपर्यन्त पाठक बन्न सक्छन् । विद्यालय तहका बालबालिकाले पुस्तकालयको प्रयोग गर्दा उनीहरूमा वौद्धिक विकासका साथै सिर्जनशीलतामा थप सहयोग पुग्छ । खोज, अनुसन्धान, अन्वेषण जस्ता वौद्धिक कामका लागि पनि पुस्तकालयको आवश्यकता झनै खड्किन्छ । सामुदायिक तथा सार्बजनिक पुस्तकालयहरूले मानिसहरूको चेतनास्तरमा बृद्धि गर्न ठूलो मद्दत गर्दछ । बिशेष पुस्तकालयले पेशा, व्यवसायलाई प्रभावकारी बनाउन सघाउँछन् । आफ्नो कार्यक्षेत्रको विकास गर्नपनि मद्दत गर्दछन् । यसरी सभ्य समाज निर्माण गर्दै देशमा दक्ष जनशक्तिउत्पादनमा पुस्तकालयको महत्व छ ।

पुस्तकालय व्यवस्थापन र प्रयोगः
पुस्तकालयमा सामग्री भएर मात्र हुँदैन, यसलाई सही ढङगले ब्यवस्थापन र प्रयोग गर्नु आवश्यक छ । पुस्तकालय व्यवस्थापन गर्दा सामान्यतया दर्ता, वर्गीकरण, अन्तिम प्रक्रिया र तखतामा राख्ने र सूचीकरण गर्ने आदि पर्दछन् । पुस्तकालय व्यवस्थापन गर्दा विभिन्न तरिका अपनाउन सकिन्छ । पुस्तकालय व्यवस्थापनको सन्दर्भमा भारतीय विद्वान एस. आर. रंगनाथनले पाँचवटा नियम प्रतिपादन गरेका छन् ।
१. पुस्तक प्रयोगका लागि हुन्,
२. प्रत्येक पाठकका आफ्नै पुस्तक हुन्छन्,
३. प्रत्येक पुस्तकका आफ्नै पाठक हुन्छन्,
४. पाठकको समय बचाउँछ,
५. पुस्तकालय निरन्तर वृद्धि हुने संस्था हो ।
पुस्तकालयको प्रयोग पनि विभिन्न तरिकाले गर्न सकिन्छ । आफुले चाहेको सामग्री एक्लै पढ्ने, किताबको समीक्षा गर्ने, जोडी पठन गर्ने, सँगसँगै पठन गर्ने, पुस्तकालयमा भएका किताब घरमा लगेर पढ्ने, खोज अनुसन्धान गरेका सामग्री पढ्ने, डिजिटल पुस्तकालयबाट किताब तथा सूचना डाउनलोड गरेर पढ्ने जस्ता क्रियाकलाप गरेर पुस्तकालयको प्रयोग गर्न सकिन्छ । पाठकले आफ्नो दैनिक वा साप्ताहिक कार्यतालिका बनाएर पुस्तकालयको प्रयोग गर्दछन् । पुस्तकालय प्रयोग गरेपछि उचित अभिलेखिकरण गर्नु पर्दछ ।
१८६९ भदौ १५ गते गिर्वाणयुद्धविक्रम शाहले “पुस्तक चिताही तवहिल”मा लालमोहर लगाएको दिनलाइ सम्झेर २०६५ भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो । यस वर्षको सोह्रौँ पुस्तकालय दिवस “पुस्ताँ पुस्ताका लागि पुस्तकालय” भन्ने नाराका साथ मनाइयो ।
पुस्तकालय दिवस बिभिन्न तरिकाले मनाउन सकिन्छ । पुस्तकालयको आवश्यकता र महत्व सम्बन्धी सरोकारवालाको बृहत् छलफल गर्न सकिन्छ । सबै काम छोडी पुस्तक पढौं अभियान गर्ने, घुम्ती पुस्तकालय चौतारी पुस्तकालय तथा कक्षा पुस्तकालयबाट पुस्तकहरू पढ्ने, वक्तृत्वकला, निबन्ध, पुस्तक लोकार्पण, पुस्तक चर्चा, कथा पठन प्रतियोगिता, पुस्तक विवेचना जस्ता प्रतियोगितात्मक क्रियाकलापहरू गर्ने उत्कृष्ट पाठक पुस्तकालय /पुस्तकालय प्रेमी तथा पठन संस्कृति प्रवद्र्धनका अभियान्ता सम्मान कार्यक्रम गर्ने, नयाँ पुस्तकालय उद्घाटन तथा पुस्तक उपहार दिने जस्ता व्रिmयाकलाप गरेर समुदायमा, विद्यालयमा, विश्वविद्यालयमा, स्थानीय तहमा, जिल्ला, प्रदेश र केन्द्रमा पुस्तकालय दिवस मनाउन सकिन्छ ।

पुस्तकालय र पुस्तकालयका प्रकारः
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक तथा सामुदायिक पुस्तकालय अनुदान कार्यविधि २०७४ अनुसार पुस्तकालय भन्नाले पाँचसय वा सो भन्दा बढी पुस्तक, पत्रपत्रिका तथा विद्युतीय माध्यमबाट पढिने सामग्री लगायतका पठन सामग्रीको सङ्कलन भई सर्वसाधारणलाई त्यस्ता पठनसामग्रीको अध्ययन गर्न दिने सेवा सञ्चालित संस्था सम्झनुपर्दछ र सो शब्दले सरकारी पुस्तकालय समेतलाई जनाउने उल्लेख छ ।
सार्वजनिक पुस्तकालय भन्नाले स्थानीय सरकार वा प्रदेश सरकारको सहयोगमा समुदायका सबै वर्ग, धर्म, लिङ्ग, जातजाति, भाषाभाषी लगायतका सबै उमेर र पेसा व्यावसायमा संलग्न नागरिकलाई विनाभेदभाव सदस्यता प्राप्त गरी वा नगरी पुस्तकहरूको आदान प्रदान वा निश्चित स्थानमा बसी अध्ययन वा प्रयोग गर्न पाउने गरी सञ्चालन भएको पुस्तकालयलाई सम्झनुपदर्छ । सो शब्दले बाल पुस्तकालय, वाचनालय, विद्युतीय पुस्तकालय समेत बुझ्नुपर्ने भनेको छ ।
त्यसैगरी सामुदायिक पुस्तकालय भन्नाले स्थानीय समुदाय, समाजसेवी वा सामुदायिक संस्था, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायको सहयोगमा स्थापना र सञ्चालन भएका पुस्तकालयलाई जनाउँदछ । सो शब्दले बाल पुस्तकालय, वाचनालय, विद्युतीय पुस्तकालय समेतलाई जनाउँने भनेको छ ।

पुस्तकालयको वर्गीकरण र सरकारको अनुदानः
सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई सरकारले बढीमा १० लाख रूपैंयासम्म अनुदान दिदै आएको छ । अनुदान उपलब्ध गराउन पुस्तकालय छनोटका आधारहरूका वर्गीकरण गरेको छ ।
हाल सञ्चालन भइरहेका वा नयाँ स्थापना भएर सञ्चालन हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूलाई अनुदान प्रदान गर्दा पुस्तकालयमा रहेका पुस्तक, भौतिक पूर्वाधार, कार्यरत जनशक्ति तथा सेवाग्राहीका आधारमा क, ख र ग वर्गमा विभाजन गरी देहायबमोजिमको मापदण्डका आधारमा छनोट गरिनेछ ।

१. ‘क’ वर्गको पुस्तकालयः
(क) कम्तीमा १०,००० भन्दा बढी पुस्तक तथा पठन सामग्रीको सङ्कलन भएको हुनुपर्नेछ ।
(ख) पुस्तकालयमा कम्तिमा ३ ओटा दैनिक, २ ओटा साप्ताहिक पत्रपत्रिका नियमित रूपमा पुस्तकालयमा आउने व्यवस्था गरिएको हुनुपर्नेछ ।
(ग) पुस्तकालयको नाममा आफ्नै टेलिफोन लाइन, पाँचओटा कम्प्युटर, एकथान प्रिन्टर, एकथान फोटोकपी मेसिन, एक थान मल्टिमिडिया तथा इन्टरनेट सुविधा भएको हुनुपर्नेछ ।
(घ) पुस्तकालयको आफ्नै जग्गा, भवन वा कम्तिमा पाँचओटा कोठा, कम्तीमा एक जना पुस्तकालय तथा सूचना विज्ञान विषयमा तालिम प्राप्त र दुईजना अन्य कर्मचारी भएको हुनुपर्नेछ ।
(ङ) दैनिक ३० भन्दा बढि पाठकले सेवा लिइरहेको हुनुपर्नेछ ।

२. ‘ख’ वर्गको पुस्तकालयः
(क) कम्तीमा ३००० देखि १०,००० सम्म पुस्तक तथा पठन सामग्रीको संकलन भएको हुनुपर्नेछ ।
(ख) पुस्तकालयमा कम्तिमा २ ओटा दैनिक, २ ओटा साप्ताहिक पत्रपत्रिका नियमित रूपमा पुस्तकालयमा आउने व्यवस्था गरिएको हुनुपर्नेछ । (ग) कम्तीमा २ सेट कम्प्युटर, फोटोकपी मेसीन, प्रिन्टर, मल्टिमिडिया, टेलिफोन लाइन हुनुपर्नेछ ।
(घ) पुस्तकालयको आफनो स्वामित्वको भवन वा घटिमा ३ ओटा कोठा भएको तथा पुस्तकालय व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान भएको स्वयंसेवक हुनुपर्नेछ ।
(ङ) पुस्तकालयबाट पुस्तक लेनदेन, इमेल इन्टरनेट सुविधा लगायतका सेवा प्रदान गरिरहको हुनुपर्नेछ ।
(च) दैनिक २० जना वा सो भन्दा बढी पाठकले सेवा लिइरहेको हुनुपर्नेछ ।

३. ‘ग’ वर्गको पुस्तकालयः
(क) कम्तीमा ५०० देखि २९९९ पुस्तक तथा पठन सामग्रीको सङ्कलन भएको हुनुपर्नेछ ।
(ख) कम्तीमा दैनिक १ पत्रिका, २ साप्ताहिक पत्रिका नियमित रूपमा आउने व्यवस्था हुनुपर्नेछ ।
मिलाएको हुनुपर्नेछ । (ग) पुस्तकालयको आफ्नै भवन वा कम्तिमा एउटा कोठा भएको हुनुपर्नेछ ।
(घ) पुस्तकालय सञ्चालनका लागि कम्तीमा एकजना स्वयमसेवी वा पूर्णकालीन कर्मचारीको व्यवस्था भएको हुनुपर्नेछ ।
(ङ) सबै वर्गका पाठकहरूका लागि पुस्तक लेनदेन सेवा सञ्चालन गरिहेको हुनुपर्ने ।
४. पुस्तकालय अनुदानको सीमा (१) पुस्तकालयको भौतिक पूर्वाधार, पुस्तक, पत्रपत्रिका लगायतका पठनसामग्रीको सङ्ख्या तथा पुस्तकालयको प्रयोगकर्ता समेतका आधारमा अनुदान वितरण गरिनेछ ।

पुस्तकालयमा व्यवस्थापन समितिः
यस्ता खालका पुस्तकालयका लागि पुस्तकालय व्यवस्थापन समितिको व्यवस्था यसरी गरेको छ ।
(१) सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको उचित व्यवस्थापन तथा सञ्चालनका लागि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका सदस्यहरूसमेत रहेको व्यवस्थापन समितिको व्यवस्था तथा त्यस्तो समितिको काम, कर्तव्य र अधिकार पुस्तकालयको विधानमै उल्लेख भएको हुनुपर्नेछ । समितिमा कम्तीमा निम्नानुसारका पदाधिकारीहरू रहेको समिति हुनुपर्नेछः
(क) समितिका पदाधिकारीहरूमध्ये समितिले तोकेको एकजना अध्यक्ष
(ख) समितिका पदाधिकारीहरूमध्ये समितिले तोकेको एकजना उपाध्यक्ष
(ग) समितिका पदाधिकारीहरूमध्ये समितिले तोकेको एकजना कोषाध्यक्ष
(घ) महिला, दलीत, जनजाती, विशेष क्षमता भएका, विद्यालयको शिक्षक, स्थानीय सरकार (नगरपालिका वा गाउँपालिकाको सम्बन्धित वडाको वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य) को प्रतिनिधि समेतको प्रतिनिधित्व हुने गरी समावेशी आधारमा कम्तिमा तीन सदस्य
(ङ) पुस्तकालय प्रमुख सदस्य सचिव ।

पुस्तकालय बिकासका समस्याहरूः
नेपालमा पुस्तकालयको थालनी भएको लामो समय भइ सक्दा पनि राम्रोसँग विकास हुन सकेको छैन । नेपालमा २०६४ सालमा पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति आएपनि प्रभावकारी कार्यान्वयन हुन सकेन ।

आएन पुस्तकालय नीतिः
देश संघीयतामा गएसँगै संघीयताको मर्मअनुसार पुस्तकालय नीति आउनु सकेको छैन । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा पुस्तकालयसम्बन्धी कार्यक्रमहरू पर्देनन् । जसले गर्दा पुस्तकालयको विकास र पहुँच सबै आम नागरिक स्तरमा पुग्न सकेको छैन । स्थानीय सरकार संचालन ऐनले स्थानीय स्तरमा पुस्तकालय तथा वाचनालय खोल्ने अधिकार दिएपनि, नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको पाइँदैन ।
पुस्तकालय दिवसमा नारा अनुसार पुस्तकालय विकासका लागि कार्यक्रम बनाएर नारालाई मुर्तरूप दिन सकेको छैन । देशका दुरदराजमा रहेका विद्यालय, समुदाय तथा क्याम्पसमा पुस्तकालय कस्तो हुन्छ भन्नेसम्म थाहा छैन । कति बिद्यार्थी तथा समुदायका मानिसहरू पुस्तकालयको पहुँचमा छन् भन्ने सम्म यकिन तथ्याङ्क समेत छैन । भएका पुस्तकालयहरूको पनि उचित ब्यवस्थापन नहुँदा प्रयोग बिहिन भएका छन् धमाधम बन्द हुने गरेका छन ।

स्थापना भयो, विकास भएनः
पुस्तकालय हरेक पाठकका लागि नभइ नहुने कुरा हो । पुस्तकालय सुरु भएको लामो समय भइसके पनि पुस्तकालयको विकास भएको छैन । सर्वप्रथम त सरकारले संघीयताको मर्म अनुरूप पुस्तकालय नीति ल्याउनु पर्दछ । पुस्तकालय विकासलाई महत्व दिएर मूलप्रवाहीकरण गर्नु जरुरी छ । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रअनुसार समुदाय तथा बिद्यालयमा पुस्तकालय स्थापना गर्न नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्दछ ।

यस्ता हुन सक्छन् कार्यक्रमः
सरकारले एक विद्यालय एक पुस्तकालय, एक स्थानीय तह एक पुस्तकालय, एक कक्षा एक पुस्तकालय कुना जस्ता कार्यक्रमअघि सारेका कार्यक्रमहरूको उचित कार्यान्वयन गर्नु आबश्यक छ । छापा सामग्रीको साथै डिजिटल सामग्रीको प्रवद्र्धन गरी समुदाय तथा बिद्यालयमा पुस्तकालय खोल्ने गरी कार्यक्रम बनाउनु आबश्यक छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले पुस्तकालय बिकासमा गरेको कामलाई सरकारको प्रणालीमा एकीकृत गरी पुस्तकालय नीति बनाएर सबै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले नीति, कार्यक्रम र बजेटमा राखी मूलप्रवाहीकरण गर्न सके पुस्तकालयको माध्यमबाट सूचना एवम् ज्ञानमा आधारित सभ्य समाज बनाउन सकिन्छ । यसरी महत्व राख्ने सामुदायिक पुस्तकालय हामीले चाह्यौं, माग्यौं तर चलाएनौं । यो दोष सरकारको मात्रै छैन र हैन, समाज र समुदायका हामीको पनि हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?