ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

नेपाली साहित्य/पत्रकारितामा मोतीरामको योगदान

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

भाद्र कुशे औँसीका दिन बिहीबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पुर्याएका छन् ।

मोतीराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए । थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन् । १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए ।

नेपाली साहित्यको श्रृङ्गार रसमा विशेष योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत भट्टलाई नै जाने गरेको छ । उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपीको खोजी गरी भट्टले नै वि.सं. १९४१ मा प्रकाशन गरेका थिए ।

मोतीराम भट्टको वंश कुमाउगढबाट आएको पाइन्छ । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । नरेन्द्रराज प्रसाईंको जीवनी–लेखअनुसार मोतीराम भट्टलाई दीर्घवीजी राख्न उनका मातापिताले यिनका नाकको. दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे । मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरे । ६ वर्ष भएपछि उनी काशी पुगे । किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसैले मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ यिनले फारसी र उर्दू सिके । काशीमा यिनले भारतेन्दु हरिश्चन्द्रको सामीप्य पाएका थिए । भारतेन्दु सिर्जनामा पोख्त, होनहार र परिश्रमी थिए । यिनै हिन्दी साहित्यका साधक भारतेन्दुसँग संगत गरेर साहित्यका नयाँ–नयाँ कुरा सिक्दै गए । मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अंग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले अंग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । पढ्दापढ्दै आठ वर्षका उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो ।

सुन्दर हस्तलेखनका धनी मोतीराम भट्टले नेपालीसहित फारसी, उर्दू, संस्कृत, हिन्दी तथा अंग्रेजी भाषा बोल्न र लेख्न जान्दथे । सन् १९४५ ताका उनले लेखेको एक अटोग्राफबाट पनि उनको सुन्दर हस्तलेखन हामी थाहा पाउन सक्छौं । यो अंग्रेजी भाषाको पुस्तक उनले बनारस बस्दा नै खरिद गरेका हुन् । पाण्डुलिपि साहित्यिक मासिकको अंक ४ मा भट्टको अटोग्राफ प्रकाशित गरिएको छ । उनले किताब बनारसमा नै खरिद गरी त्यहीँको रामघाट भन्ने ठाउँमा अटोग्राफ लेखिएको देखिन्छ । यससँगै शारदा मासिकले प्रकाशित गरेको भट्टको नेपाली अक्षरको पाण्डुलिपिमा पनिउनले उतिकै सुन्दर हस्तलेखन गरेका छन् । अहिले चलेको ‘क्यालिग्राफी’ (अक्षर लेख्ने कला) मा उनी निकै पोख्त देखिन्छन् । उनले माइ ब्वाय ज्याक, अ रे अफ सनलाइट जस्ता अंग्रेजी पुस्तकको अध्ययन गरेको इतिहास छ ।

सक्रियताको पर्याय मोतीराम

मोतीराम भट्ट आफ्ना समयका सबैभन्दा सक्रिय युवा थिए । साहित्य सृजनाका दृष्टिले मात्र नभई सामाजिक कार्यमा पनि उनको सक्रियता उस्तै बाक्लो देखिन्छ । उनले पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै युवाकाल बिताएको पाइन्छ । १९४५ ताका नै उनले काठमाडौंमा मोतीकृष्ण कम्पनी नामको पुस्तकालय खोले । आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर उनले यो पुस्तकालय खोलेका थिए ।

साहित्यकार डाक्टर नवराज लम्सालले मोतीराम भट्टलाई माध्यमिक कालको सबैभन्दा प्रभावशाली व्यक्ति मान्छन् । लम्सालका अनुसार मोतीराम भट्ट सर्जक र अभियानकर्ता दुवै थिए । उनले लेखेर घरमा थन्काएको भए उनी साहित्यकारमात्रै हुने लम्साल बताउँछन् । ‘आफूसँगै भानुभक्तलाई पनि नेपाली समाजमा चिनाउने काम गरे त्यसले नेपाली जनजीवनमा कायापलट नै ल्यायो,’ लम्साल भन्छन्, ‘आज नाम चलेका समालोचकहरूले आफ्नो जीवनकालभरी गर्न नसकेका कामहरू मोतीरामले ३० वर्षभित्रै गरेर गए ।’

गजलविद् डाक्टर घनश्याम न्यौपाने परिश्रमीले मोतीराम युगको परिवर्तन गर्ने ब्यक्ति भएको बताउँछन् । प्राथमिक कालबाट माध्यमिक कालको सुरुवात उनीबाट भयो । युग प्रवर्तक भए उनको योगदान भनेको नेपाली साहित्यमा श्रृंगारिक धाराको सुरुवात उनीबाट भयो, आख्यानको प्रारम्भपनि उनले नै गरेका छन् । गद्य र पद्य साहित्यलाई अंगाडी बढाएका छन् । नेपाली गजलका प्रबर्तक हुन् । परिश्रमी भन्छन्, मोतीराम के होइनन् ? नेपाली भाषाको मानक ब्याकरणको निर्माणका लागि चिन्तन गर्ने ब्यक्ति हुन् । वर्णबिन्यासका लागि ब्याकरणको आवश्यकता छ भन्ने उनी नै हुन् । पहिलो सम्पादक, पहिलो पत्रकार, पहिलो प्रकाशक, नेपालीमा पहिलो जीवनी लेख्ने पहिलो जीवनीकार, नेपाली साहित्यको खोजी गर्ने पहिलो अन्वेषक, नेपालमा पहिलो छापाखाना राख्ने ब्यक्तिपनि उनी नै हुन् । युवा पिँढीले उनीबाट धेरै प्रेरणा लिन सक्ने डाक्टर परिश्रमी बताउँछन् । ३० वर्षको उमेरमा यति धेरै काम गरे । उनी के हुन् भन्दापनि के होइनन् ? त्यत्तिकै साहित्यकार बन्न सकिँदैन, त्यत्तिकै पत्रकार बन्न सकिँदैन । एउटा योगदान हुनुपर्छ । त्याग, समपर्णको भाव हुनुपर्छ ।
प्राध्यापक डाक्टर कपिलदेव लामिछाने नेपाली साहित्यको विकासमा, नेपाली पत्रकारिताको विकासमा, नेपाली प्रेसको विकासमा यी तीन वटै क्षेत्रले मोतीरामलाई सम्झनुपर्ने बताउँछन् । साहित्यमा मोतीरामले भानुभक्तलाई चिनाए । पत्रकारितामा मोतीरामले गोरखा भारत जीवन नामको पत्रिका निकाले यो नेपाली भाषाको पहिलो पत्रिका निकाले । पत्रकारीताको इतिहास खोज्दै जाने हो भने मोतीराम भट्टसम्म पुगिन्छ । नेपालमा साहित्यिक बिभिन्न संघ, सङ्गठन छन् साहित्यिक संस्थालाई सांगठिनकरुपमा विकसित गर्नुपर्छ भन्ने चेतना मोतीरामले भट्टले नै दिएका हुन् । बनारसमा मोती मण्डली थियो उनको । उनका साथीहरुले खोलेको । लामिछाने भन्छन्, यो हिसाबलेपनि मोतीरामलाई सम्झनु पर्छ । अनि प्रेसको हिसाबले उनको छापाखाना थियो । जम्मा ३० वर्ष बाँचे, छोटो अबधीमा बनारसपनि देखे, भानु भक्तलाई चिनाए । आफुलाई चिनाए, कैयौँ साथिहरुलाई अंगाडी बढाए । नेपाली साहित्य, पत्रकारिता र प्रेसको हिसाबले सधै स्मरणीय रहनेछन् । नेपाली गजलको स्थापनामा, गजलको सुरुवात गर्नमा मोतीरामको ठूलो योगदान रहेको छ त्यसैले हामी सम्झिरहन्छौँ ।

भानुभक्त चिनाउने मोतीराम

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपीको खोजी गरी भट्टले नै वि.सं. १९४१ मा प्रकाशन गरेका थिए । केही साहित्यकार नेपाली साहित्य जगतमा पहिलो जीवनी लेखक मोतीरामलाई नै मान्छन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्यको जीवनीको पुस्तक लेखेका थिए । यस्तै नेपाली साहित्यका प्रथम समालोचकको पगरी पनि मोतीराम भट्टलाई नै जान्छ । उनले सर्वप्रथम भानुभक्तका रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचना विधाको आरम्भ गरेका थिए । ‘भानुभक्तको जीवनचरित्र’मा उनले भानुभक्त आचार्यको जीवनीसहित आचार्यको कवित्वशक्तिको समालोचना पनि गरेको भेटिन्छ ।

मोतीराम भट्टको अथक् प्रयासकै कारण भानुभक्त आचार्यलाई नेपालीले चिन्न पाएका हुन् । यो पनि एक संयोगको प्रतिफल थियो । भानुभक्तको चर्चा हुँदासाथ मोतीरामको चर्चा पनि सँगै जोडिएर आउने र त्यसैगरी मोतीरामको नामसँगै भानुभक्तको नाम पनि गाँसिएर आउने गरेकाले कतिपय मानिसमा भानु र मोती समकालीन हुन् भन्ने भ्रमसमेत रहेको पाइन्छ । यथार्थमा भने भानुभक्तको निधन हुँदा मोतीराम मात्र दुई वर्षका शिशु थिए । भानु १८७१ सालमा जन्मिएर १९२५ मा दिवङ्गत भए भने मोतीराम १९२३ मा जन्मिएका हुन् । भानुको जन्म र मृत्यु तनहुँमै भयो भने मोतीरामको काठमाडौँमा । यी दुई राष्ट्रिय विभूतिबीच कहिल्यै देखभेट हुने सम्भावना नै थिएन तर केही मानिस भानुभक्तले आफ्ना रचनाहरू मोतीरामलाई जिम्मा लगाएका थिए, त्यसैबाट मोतीरामले ती रचना पछि छपाइदिए भन्ने भ्रमसमेत पालेर बसेका पाइन्छन् । वास्तवमा एउटा सानो संयोगले मात्र भानुभक्तसँग मोतीराम जोडिन पुगेका हुन् । मोतीराम बनारसबाट काठमाडौँ आएको बेलामा आफन्तको विवाहमा जन्ती गएका थिए, त्यस विवाहमा कसैले रामायणका केही नेपाली श्लोक भाका हालेर सुनाएछ । त्यो सुनेर मोतीराम आश्चर्यचकित भएछन् । अनि ती श्लोकका बारेमा उनले सोधीखोजी गरेपछि त्यो त भानुभक्तले नेपालीमा तयार गरेको रामायणको अंश भएको पत्ता लगाए । त्यसपछि मोतीरामले को रहेछन् त यी भानुभक्त भनेर उनको गहन खोज गरेपछि भानुका पाण्डुलिपीको दर्शन गर्ने सौभाग्य पाएका थिए । एकक्षण कल्पना गरौँ, यदि त्यो विवाहमा मोतीराम जन्ती नगएका भए वा विवाह समारोहमा कसैले रामायणको श्लोक नेपालीमा नसुनाएको भए सायद भानुभक्तलाई नेपाली समाजले चिन्न अझ कति धेरै समय लाग्थ्यो होला वा अझसम्म अज्ञात नै रहन्थे कि ? त्यसरी साहित्य लेखेर थन्काएर राख्ने तर कहिल्यै प्रकाशित गराउन नसक्ने गुमनाम स्रष्टा धेरै छन् भने कतिले आफूले लेखेको साहित्यले पुस्तकको रूप लिएको आफ्नै जीवनकालमा देख्ने सौभाग्य नपाएका पनि छन्, भानुभक्तले जस्तै । भानुभक्तका बारेमा यथासम्भव प्राप्त जानकारी बटुलेपछि मोतीरामले पहिला भानुभक्त रामायणको बालकाण्डको सानो पुस्तक छपाएर पछि भानुभक्तको जीवनी लेखेथे । त्यति मात्र होइन, भानुभक्तलाई देखेका, चिनेका मानिससँग सोधपुछ गरी पाएको हुलियाका आधारमा मोतीरामले भानुभक्तको सम्भावित मुहारचित्रसमेत बनाएर उनको जीवनीको आवरणमा छपाए । त्यसकै आधारमा नेपाल सरकारले वि.सं. २०१९ मा भानुभक्तको चित्र अङ्कित हुलाक टिकटसमेत जारी गर्यो भने दार्जिलिङलगायत विभिन्न स्थानमा भानुभक्तका जति पनि सालिक बनेका छन्, त्यसको आधार मोतीरामले कोरेको भानुभक्तको चित्र नै हो । मोतीरामले भानुभक्तका बारेमा गरेका खोज र प्रकाशनकै आधारमा पछि भानुभक्तलाई प्रधानमन्त्री जुद्धशमशेर जबराको सरकारद्वारा ‘आदिकवि’को उपाधि दिइयो भने मोतीरामको योगदानको कदरस्वरूप ‘युवककवि’को उपाधि दिइयो । यी दुवैलाई पञ्चायतकालमा ‘राष्ट्रिय विभूति’को सम्मान दिइयो । यसरी मोतीराम नभइदिएको भए भानुभक्त आदिकविका रूपमा चिनिने थिएनन् भन्ने कुरामा द्विविधा रहँदैन ।

पत्रकारितामा मोतीरामको योगदान

मोतीरामको योगदानमध्ये एउटा प्रमुख हो, नेपाली भाषामा पत्रकारिताको बीजारोपण गर्ने ऐतिहासिक कार्य । बनारसमा पढ्न बसेका छात्र मोतीराम भट्टलाई आफ्नो भाषामा अहिलेसम्म पत्रिका ननिस्केकोमा निकै हुट्हुटी लाग्यो र उनले बनारसमै प्रेस सञ्चालन गरिबसेका मित्र रामकृष्ण बर्माको सहयोग लिई १९५० सालमा ‘गोर्खा भारत जीवन’ नामक साहित्यिक मासिक पत्रिका निकाले । यो नै नेपाली भाषाको पहिलो पत्रिका बन्न गयो । नेपाली भाषाको पहिलो पत्रिका बन्ने सौभाग्य पाएको ‘गोर्खा भारत जीवन’ पत्रिका कति अङ्क प्रकाशित भयो र कहिलेसम्म प्रकाशित भयो भन्नेबारे यथार्थ जानकारी प्राप्त छैन । यो कति प्रति छापिएको थियो र त्यसमध्ये कति प्रति नेपाल भित्रियो वा भित्रिएन भन्ने पनि जानकारी पाउन सकिएको छैन तर पनि ‘गोर्खा भारत जीवन’को प्रकाशनले दुईवटा महत्त्वपूर्ण काम गरेको थियो । त्यतिखेर यस भारतीय उपमहाद्वीपमा अङ्ग्रेजीका अतिरिक्त हिन्दी, बङ्गाली, उर्दू, मराठी आदि भाषाका पत्रिका प्रकाशित भइसकेको अवस्थामा हाम्रो गोर्खा भाषा (नेपाली) को अस्तित्व स्थापित गर्नु र नेपाली भाषामा पनि पत्रिका प्रकाशित गर्न सकिँदोरहेछ भनेर नेपालका युवामा आत्मविश्वास र प्रेरणा जगाउनु । यसैको परिणामस्वरूप वि.सं. १९५५ मा काठमाडौँबाट नेपालको पहिलो पत्रिका ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित भयो भने वि.सं. १९५८ मा पहिलो नेपाली अखबार ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भयो । यसरी मोतीरामले बनारसबाट पत्रिका निकालेर नेपाली पत्रकारिताका लागि बाटो खोलिदिए । त्यसैले नेपाली साहित्यमा मात्र होइन, पत्रकारितामा पनि मोतीरामको ऐतिहासिक योगदान रहेको पाइन्छ ।

शृङ्गार रस र भक्ति रसमा रोचक गजल लेख्ने मोतीरामलाई नेपाली गजलका पिता मानिन्छ । आज विशेषगरी युवा स्रष्टामा गजल विधा निकै लोकप्रिय छ, जसको श्रेय मोतीरामलाई नै जान्छ । गजल मात्र होइन, भारतमा प्रचलित ठुमरी, परज आदि शैलीका गीत पनि उनले रचेका छन् । उनले संस्कृत भाषामा रहेको ‘समस्या पूर्ति’ काव्य शैलीलाई नेपाली साहित्यमा पनि प्रवेश गराए । जसमा कविताको पङ्क्तिमा कुनै एउटा समस्याको विषय दिइन्छ र कवितामै त्यसको समाधान पनि लेखिन्छ । यसको अभ्यास अहिलेसम्म पनि नेपाली साहित्यिक क्षेत्रमा प्रचलित रहेको छ ।

शिक्षामा मोतीरामको योगदान

मोतीरामको अर्को अत्यन्तै महत्वपूर्ण योगदान नेपाली भाषालाई शिक्षाको माध्यम भाषा बनाउनुमा रहेको छ । सुधारवादी राणा देवशमशेरले प्रधानमन्त्री हुनुअघि नै नेपालमा शिक्षाको माध्यम कुन भाषालाई बनाउने भन्नेमा विभिन्न तर्क–वितर्क भइरहेको थियो । त्यसै सन्दर्भमा देवशमशेरले तत्कालीन बुद्धिजीवीसँग सुझाव मागे । उनले दिव्यदेव पन्त, हरिहर आचार्यदीक्षित, दरबार हाइस्कुलका हेडमास्टर बटेकृष्ण मैत्रेय, मोतीराम भट्ट र जयपृथ्वीबहादुर सिंहसँग गहन छलफल गरे । विद्वान पन्त र दीक्षित संस्कृत भाषाका पक्षमा थिए भने हेडमास्टर मैत्रेय अङ्ग्रेजी भाषाका पक्षमा तर मोतीराम र जयपृथ्वी भने नेपाली भाषालाई नै शिक्षा र कामकाजी भाषा बनाउनुपर्छ भन्ने अडानमा थिए । देवशमशेरलाई पनि उनीहरूको तर्क व्यावहारिक लाग्यो र पछि नेपाली भाषालाई नै शिक्षाको माध्यम भाषा बनाइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?