Logo
२४ जेष्ठ २०८०, बुधबार

बसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा शुरु, केबलकार १५ गतेदेखि चल्ने


बुटवल, १२ जेठ ।  बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ ।

आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुनु पुर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु भएको हो ।

भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।
सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही,पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए ।
सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन् ।

कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर,गणेश मन्दिर,कैलाश पर्वत, वर पिपल, ढुंगे धारा,पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए ।

सप्ताहव्यापी पुजाआराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यवसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए ।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकासंग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ ।

बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउंपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि काठमाडौंको चन्द्रागिरीमा र हालै नवलपुरको गंैडाकोट नजिक मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । ग्रुपले सातै प्रदेशमा केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयां धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ ।

पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।
मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन