Logo
२३ जेष्ठ २०८०, मंगलवार

उद्यान (पार्क) को औचित्य र चुनौती


१. पृष्ठभूमि : 
उद्यान (पार्क) भनेको त्यस्तो भूमि हो, जहाँ मनोरञ्जन वा आराम गर्नका लागि रुख, फलफूल वा विभिन्न प्रजातिका वनस्पति रोपण गरिएको हुन्छ । पार्क प्राकृतिक वा मानव निर्मित दुबै हुन्छन् । त्यबाहेक घाँसे मैदानलाई पनि पार्क भन्न सकिन्छ, जसमा खेल मैदान वा अन्य मनोरञ्जनका साधन पनि हुन सक्छन् ।
आधुनिक समाजमा पार्कको परिभाषालाई अलि फराकिलो दायराबाट हेर्ने गरिन्छ । तीव्र सहरीकरण, आधुनिकता र स्वतन्त्रताले गर्दा उद्यानको आवश्यकता बढ्दै र औचित्य थप हुँदै गएको छ । अब उद्यान केवल मनोरञ्जनको लागि मात्र हैनन,् पर्याप्त अक्सिजन प्राप्त गर्ने हिसाबले पनि अत्यावश्यक हुँदैछन् । आजभोलि घरघरमा साना साना बगैंचा बनाउन थालिएको छ । कार्यालय, होटल, अस्पताल विद्यालय, मन्दिर सबैतिर वगैंचा राख्ने प्रक्रिया शुरु भएको छ । विवाह, पूजाआजा, पिक्निक वा यस्तै कार्यक्रमहरु गर्नका लागि उद्याननै रोज्न थालिएको छ । अर्थात् समाजको अभिन्न अङ्ग बनेका छन् उद्यानहरु ।
यसबाहेक पार्कहरू जैविक विविधताको संरक्षण र वातावरणीय हिसाबले प्रभावकारी बनेका छन् । वानस्पतिक जैविक अध्ययन अनुसन्धान गर्ने स्थल र समुदायको सामाजिक, साँस्कृतिक तथा राजनैतिक इतिहासका अङ्ग पनि बनेका छन् उद्यानहरु ।
अहिले उद्यानहरु अत्यावश्यक बने पनि तिनका ऐतिहासिक सन्दर्भ पनि  जोडिने गरेका छन् । केही उद्यानहरू सामरिक, ऐतिहासिक घटनाको दर्शनीय स्थल बनेका छन्, जबकि केही त्यसको नीति वा अर्थव्यवस्थासँग सम्बन्धित छन् ।
अमेरिकामा सन् २०१७ अक्टोबरमा हजारजना अमेरिकी मेयरको सम्मेलनले १० मिनेटको हिँडाइमा पार्क भन्ने प्रस्ताव एकमतले पारित गरेको थियो । जसअनुसार अमेरिकीहरुमा दस मिनेटको हिँडाइमा हरेक सहरबासीले पार्क भेट्टाउनुपर्छ भन्ने मान्यता छ । नेपालमा पनि पछिल्लो चरणमा पार्कहरु समाजका अभिन्न अङ्ग बनेका छन् । खासगरी ०६२/०६३ साल पश्चात् यस्ता उद्यानहरु व्यापक रुपमा बन्दै गएका छन् ।
सहरीकरण बढ्दै जाँदा उद्यानको संख्या र औचित्य बढ्दै जान्छ । विश्वव्यापी रुपमा हेर्दा आधाभन्दा बढी जनसंख्या सहरहरूमा बस्छन् । यो संख्या सन् २०५० सम्ममा ६६ प्रतिशत पुग्ने अपेक्षा एसिया र अफ्रिका महादेशमा तीव्र रुपमा भएको सहरीकरणले संकेत गरेको छ । यस अर्थमा उद्यानहरु केवल मनोरञ्जनका स्थान मात्रै हैनन्, स्वास्थ्यका हिसावले पनि अत्यावश्क हुन्छन् । शुरुमा यिनको उपादेयता तदनुसार भएपनि अहिले स्वास्थ्यमैत्री पनि हुन जरुरी छ । जनसंख्याको वृद्घि, तीव्र सहरीकरण, पृथ्वीको तामानमा वृद्घि, काममाज गर्ने चरित्रमा परिवर्तनका कारणले स्वास्थ्यमैत्री पार्कको महत्वलाई वढाएको छ ।
नेपालमा सहरीकरणलाई आधिकारिक रूपमा नगरपालिकाको जनसंख्याको आधारमा परिभाषित गरिएको छ । आज देशमा महानगर, उपमहानगर र नगरपालिका गरी २ सय ९३ वटा छन् । यसरी हेर्दा राष्ट्रिय जनसंख्याको करिब दुईतिहाइ नगरपालिकामा बसोबास गर्छ । यस आधारमा उद्यानहरु धेरै संख्यामा थप हुने निश्चित छ ।
कतिपय पार्कहरु राजनीतिक आन्दोलनसंँग जोडिएर पनि आएका छन् ।उदाहरणको लागि न्यूयोर्कको सेन्ट्रल पार्कलाई मानवअधिकारको समर्थनमा आयोजित गरिएको ¥यालीसँग जोडेर हेरिन्छ । नेपालमा सहिदको नाममा प्रशस्तै पार्कहरु बनेका छन् तर खास प्रसङ्गलाई जोडेर अर्थपूर्ण बनाउन सकेको देखिदैन । पछिल्लो चरणमा पोखरादेखि नजिकै स्याङ्जा जिल्लामा गोर्खा स्मारक पार्कको अवधारणा सार्वजनिक भएको छ । यसबाट नागरिकमा देशभक्तिको सञ्चार गराउन सकिन्छ । जसले साँच्चिनै नाम अनुसारको उद्यान बनाउने लक्ष्य लिएको देखिन्छ ।
उद्यानहरु सभ्य समाजका लागि अत्याधुनिक संरचना हुन् । मानिसहरु बिचमा संवाद, भेटघाट, छलफल, अन्तरक्रिया आदि हुने थलो उद्यान हुन् । बच्चाबच्चीलाई घुमाउने, रमाउने र नयाँ कुरा सिकाउने थलो उद्यान हुन् । बूढाबूढीलाई समय व्यतीत गर्ने, शारीरिक व्यायाम गर्ने, मनोरञ्जन गर्ने केन्द्र उद्यान हुन् । विनाशकारी भूकम्पजस्ता कुनै खास समस्या पर्दा चाहिने खुला ठाउँको रुपमा प्रयोगमा ल्याउने उद्यानहरु हुन् । सहरबजारको कुरा गर्दा वर्षाको पानी शोस्ने ठाउँ उद्यान भएकोले पानीको लागि रिचार्ज सेन्टर उद्यानहरु हुन् । तातो मौसममा सिंगो सहरलाई शीतलता प्रदान गर्ने स्थान उद्यानहरु हुन् । बढ्दो जलवायु परिवर्तनलाई थोरै भएपनि सन्तुलनमा राख्ने उद्यान हुन् । पर्यटकलाई घुमाउने र केही दिन भुलाउने अनि अर्थतन्त्र चलायमान् बनाउने माध्यम उद्यानहरु हुन् ।
नेपालमा अहिले सहरीकरणको साथसाथै उद्यानहरु बनाउने लहर चलेको छ । समयको आवश्यकता र नागरिकहरुमा आएको जागरण यस प्रकारको लहर आउनुको प्रमुख कारण हो ।
अंग्रेजी शब्दको गार्डेन वा पार्कलाई नेपालीमा उद्यान, बाग, बगैंचा, पुष्पबाटिका, फूलबारी, वन आदि भनिन्छ । नेपालको सन्दर्भमा फलफूल लगाइएको ठाउँलाई मधेसमा प्रायः बगैंचा भनिन्छ । उद्यान शब्दले अलि ठूलो भन्ने अर्थ लगाउँछ । बृहत् नेपाली शब्दकोषले प्रायः प्राकृतिक रुखहरु भएको ठूलो बगैंचालाई उद्यान भनेर परिभाषित गरेको छ भने अरु सबैको अर्थ एउटै हुने गरी व्याख्या गरेको छ । त्यस अर्थमा उद्यानको बारेमा पहिलो पटक यसप्रकारको राष्ट्रिय सम्मेलन हुनुले यसको वहुआयामिक महत्व रहन्छ ।
 २. अवधारणापत्रका सीमा
नेपालमा मुख्यतः चार प्रकारका उद्यानहरु पाइन्छन् । पहिलो स्थानीय तहहरुले सञ्चालनमा ल्याएका । दोश्रो सामुदायिक वनमा पर्यापर्यटनको अभियान अन्तर्गत बनाइएका । तेश्रो गैर सरकारी सँस्थाको माध्यमबाट सञ्चालित भएका र चौथो निजीस्तरमा सञ्चालित । उपर्युक्त उद्यानहरुमध्ये गैर सरकारी सँस्थाको माध्यमबाट सञ्चालित पार्कहरुको सञ्चालन र नियमन गर्ने स्पष्ट कानुनी व्यवस्था छैन । प्रायः यो तरिका श्रोत व्यवस्थापनका हिसाबले र पार्कहरुलाई अलि व्यवस्थित बनाउनका लागि समुदायको अपनत्व र सहभागितासहित यो प्रक्रियाबाट चलाइएको भएपनि प्रारम्भिक अवस्थामा तिनको मलजल गर्ने, हुर्काउने अवस्थासम्म बेवास्ता गर्ने र अलिकति देख्ने, हेर्ने र आकर्षक हुन थालेपछि सवैतिरवाट आँखा लगाउने प्रवृत्ति विद्यमान छ ।
यिनलाई व्यवस्थित गर्नका लागि कानुनी तथा अन्य व्यवस्था हुन नसक्नाले अनेकन समस्याहरु सिर्जित छन् । जसको बारेमा अलग कार्यपत्र मार्फत् छलफल हुनेनै छ । जहाँसम्म यस कार्य—पत्रको सीमाको कुरा हो, यसमा मुख्यतः उद्यान (पार्क) को आवश्यकता, औचित्य र चुनौतीका विषयमा केन्द्रित रही विषयको उठान गरिने छ ।
३. ऐतिहासिक सन्दर्भ :
हाम्रो परम्परा अनुसार सार्वजनिक स्थलमा बोट विरुवा लगाउने गरिन्छ । विरुवा लगाउँदा धर्म प्राप्ति हुने विश्वास छ । यो प्रचलन हजारौं वर्षदेखि चल्दै आएको छ । धार्मिक, साँस्कृतिक हिसाबले पनि विशेष महत्व दिएको पाइन्छ । वेद, पुराण, कुरान, वाइबलजस्ता सवै धार्मिक ग्रन्थहरुमा समस्त मानव जातिको जीवनका लागि विरुवाको महत्वलाई उल्लेख गरिएको छ ।
पुराणहरुमा दश पोखरी बराबर एउटा छोरो र दश पुत्र बराबर एउटा रूख भनेर भनिएको छ । त्यस्तै “जसले बाटो र मन्दिरमा छाँया, फूल र फलदिने रूख रोप्दछ, उसले आफ्ना पुर्खाहरूलाई महापापबाट बचाउँछ र रोप्नेले यस मानव संसारमा ठूलो महिमा र शुभ फल प्राप्त गर्दछ । जसको छोरा छैन, त्यो रूख नै छोरो हो भनेर पनि भनिएको छ ।
हिन्दु सँस्कृतिमा बर, पिपल र स्वामी रोपेर विवाह गर्ने चलन छ । हरेक घरमा तुलसीको मठ बनाएर भव्य पूजाआजा गरी तुलसी रोपण गर्ने साँस्कृतिक प्रचलन छ । सघन रुपमा अक्सिजन उत्पादन गर्ने तुलसी र पिपललाई पूजा गर्ने अनि संरक्षण गर्ने परम्परा नेपाली समाजमा युगौं देखिको साँस्कृतिक परम्परा हो ।
यस बाहेक राजा महाराजाले स्वास्थ्यका लागि र मन बहलाउन उद्यान बनाउँथे । मनोरञ्जन गर्ने, रानीहरुसँग विहार गर्ने, मनलाई उद्दीप्त पार्ने अर्थात् ब्युँझाउने, रतिराग गर्ने जस्ता काममा उद्यानको प्रयोग हुन्थ्यो । उद्यानले आनन्दको अनुभूति प्रदान गर्छ । शीतलता दिन्छ । मनलाई संयम र सन्तुलनमा राखेर शान्त राख्छ । शान्तिको लागि पनि उद्यान आवश्यक छ । राजामहाराजाहरु फलफूल खाने व्यवस्थाका लागि पनि यसलाई जोड् दिने गर्थे ।
यसरी हेर्दा प्राचीन कालमा धार्मिक, साँस्कृतिक भावनाले मात्र हैन, मन बहलाउन, पुण्य प्राप्ति गर्न वा मरेपछि धर्म, मानसम्मान होस् भनेर पनि बनाउने चलन थियो । कतिपय ठाउँमा चौतारी वा चौपारी बनाउने प्रचलन थियो । ठाउँठाउँमा शीतल प्रदान गर्न वा छहारी पाउनका लागि चौपारी बनाएर छोड्ने चलन थियो । जसको विकसित रुप बगंैचा, पार्क वा उद्यान हो ।
केही खास बिरुवा रोप्दा विभिन्न फाइदा हुने सन्दर्भ पनि कतिपय धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । जस्तो कि–जामुनको रूखले धन दिन्छ । अनारको रुखले नारीलाई खुशी दिन्छ । गोकुल वात विनाशक, शक्तिशाली मानिन्छ । यो आयुर्वेदीय हिसाबले पनि धेरै औषधीको श्रोत हो । अशोकको रूखले पाठे घर राम्रो बनाउने भएकोले दुःख हुँदैन भनिन्छ । बेलको रूखले लामो आयु प्रदान गर्ने, जेठी मधु र अर्जुन वृक्षले सबै प्रकारका भोजन प्रदान गर्ने विश्वास छ । यो विश्वास मात्र हैन, प्रमाणित कुरा हो । कदमले लक्ष्मी प्राप्त हुने तथा अर्जुन, जयन्ती करवीर र पलाश वृक्षारोपण गर्नाले स्वर्ग प्राप्ति हुने भनाइ छ ।
हरेक वृक्षले फाइदानै गर्ने भएकोले यिनको उपादेयताको चर्चा गरिरहन जरुरी छैन । संयोगले अहिले कार्यक्रम भरहेको स्थल पनि यस्तै ऐतिहासिकताको नमुना हो ।
– वि.सं. १५७५–१६२२ मा निर्माण भएको तत्कालीन मणिमुकुन्द सेनको शीतकालीन दरबारको रुपमा यसको पहिचान छ ।
– झण्डै २५० वर्ष पहिले स्वामिनारायण सम्प्रदायले साक्षात् भगवानका रुपमा मानि आएका ११ वर्षीय बालगुरु श्री स्वामिनारायण निलकण्ठवर्णि यहाँ आई करिब ५ महिना ध्यानरत रहेको इतिहास छ ।
– यहाँ मदारथान पनि छ । इस्लाम धर्मसँग जोडिएर आउने मदारबाबाको थान । नवलपरासीको त्रिवेणी सुस्ता अन्तरगत महलवारीमा पनि यही नामको तीर्थस्थल छ । जुन हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्र हो । माघ फागुनतिर एक हप्तासम्म मेला लाग्ने मेलामा सन्तान नभएकाहरुले सो कामना गर्दै दशौ लाख नेपाली तथा भारतीय भक्तजनहरु जाने गर्छन् । अर्थात् दुवै धर्मावलम्बीलाई एक सूत्रमा आबद्ध गर्ने धार्मिक सहिष्णुता र भाइचाराको प्रतिमूर्ति मदारथानको अवशेषले सो धर्मसँग पनि इतिहास जोडिएको अनुमान गर्न सकिन्छ ।
– २०३७ सालमा यस ठाउँमा ऐश्वर्य पार्क बनाइएको थियो । तर, त्यतिबेलाका शासकहरुले नामाकरण त गरे, यसको उन्नति र प्रगतिमा केही गर्न सकेनन् । यद्यपि केही वृक्षारोपणसम्म गरेका थिए । जसलाई २०४७ सालको जनआन्दोलन पश्चात् बनेका स्थानीय सरकारहरुले जनताको उद्यानका रुपमा अघि सारे र यसलाई मणिमुकुन्द सेनको गौरवशली इतिहाससँग जोडेर नामाकरण गरियो ।
यी त केही सन्दर्भ मात्र हुन् । यो अवस्था देशैभरि छ । खासगरी बहुदल पश्चात् केही न केही नवीन काम गरौं भन्ने दृष्टिकोणका कारण समुदायस्तरमा उद्यानहरु बन्न थाले । यस सन्दर्भमा हेटौडाको सहिद पार्क तत्कालीन नगरपालिकाले आफै अघि बढाएको परियोजना हो । यसले उद्यानहरु आवश्यक छन् र यिनले पर्यटक ल्याउने काम गर्छन् भन्ने कुराको अनुभूति गरायो । सरकारी रुपमा चलेका कतिपय उद्यानले गर्न नसकेको प्रचारात्मक काम यही पार्कले ग¥यो ।
४. उद्यानहरु किन ? 
अहिले उद्यानहरु समाजका अभिन्न अङ्ग बनेका छन् । खासगरी सहर बजारमा यिनको आवश्यकता यस कारणले ज्यादा हुन्छ कि उनीहरुका लागि खुला ठाउँ भनेकै पार्क, घुम्ने र मन वहलाउने भनेकै उद्यान, बच्चाबच्चीलाई देखाउने र केही सिकाउने माध्यम पनि उद्यान हुन् ।
मानिस सौन्दर्यप्रेमी प्राणी हो । उसलाई सुन्दर मन पर्छ । सहरको गुणस्तर मापन गर्ने माध्यम सौन्दर्य हो । त्यो सौन्दर्यता प्रदान गर्ने स्थल पार्क हुन् । जसरी मान्छे राम्रो हुनका लागि सरसफाई गर्छ, क्रिम लगाउँछ, कपाल छाँट्छ र मिलाउँछ, त्यसरीनै सहर सुन्दर बनाउन सरसफाई, हरियालीसहितका विविध प्रकारका पार्क अनिवार्य हुन्छन् ।
कुनैबेला पार्क सुन्दरताका लागि भन्ने थियो । पार्क विलासिता हो र यो धनीमानीका लागि भन्ने थियो । तर, अहिले त्यस्तो छैन । बरु उद्यानहरु धनीभन्दा ज्यादा न्यून आय भएका मानिसलाई मनोरञ्जनका  साथ रोजगार प्रदान गर्न यसले सहयोग गर्छ । उद्यान भनेका खुला ठाउँ हुने भएकोले आपत् विपत् पर्दा पनि चाहिने हुन्छ । भूकम्पको समयमा उद्यान अत्यावश्यक रहेछन् भन्ने अनुभव हामीले २०७२ सालमा गरिसकेका छौं ।
सहर भनेकै कंक्रिटका महल हुन् । जुन शुष्क र उजाड जस्तो लाग्छ । त्यहाँ पानी अडिने अवस्था रहन्न । त्यसैले खुला ठाउँ हुँदा बर्खाको पानी सिञ्चित हुन्छ र जति सिञ्चित भयो, जमिन उति ‘रिचार्ज’ हुन्छ । काठमाडौंको संस्कृतिमा दख्खल राख्ने वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठको विचारमा ‘चउरले सहरमा ‘एयरकन्डिसन’ को काम गर्छ र हावाले खेल्ने ठाउँ पाउँछ ।
हुनपनि एउटा वयस्क रूखले एक वर्षमा करिब १० वटा एयर कन्डिसन लगातार चलाए जसरी वायु चिस्याउने काम गर्छ र करिब ३,४०० लिटर बर्खेपानी सोस्छ । २७ किलो कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, सल्फरअक्साइडजस्ता प्रदूषक ग्यासलाई र १५० किलो हरितगृह ग्यास कार्बन डाइअक्साइडलाई वायुमण्डलबाट सोस्ने गर्छ । रूखका यस्तै विशेषताहरूले सहरमा औसत रूख भएको ठाउँको तापक्रम २ देखि ८ डिग्रीसम्म न्यून हुन्छ ।
ढाकाकै मिरपुरमा ८४ हेक्टरमा फैलिएको बोटानिकल गार्डेन बंगलादेशको सबैभन्दा ठूलो बोटबिरुवा संरक्षित क्षेत्र हो । जसले गर्मी मौसममा ढाकालाई त्राण दिन्छ ।
हामीकहाँ पार्क भनेका मनोरञ्जनका साधन हुन् भन्ने दृष्टिकोण छ । यही दृष्टिकोणका कारण पार्कबाट मनोरञ्जन कर उठाउने गरिन्छ । तर, कुरा त्यस्तो हैन । खासगरी सहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले पार्ने सकारात्मक प्रभावबारे पछिल्ला वर्ष धेरै अध्ययन र अनुसन्धान भएका छन् ।
१. अमेरिकाको पेन्सलभेनिया अस्पतालमा अपरेसन गरेका दुईजना विरामी फरक खालका कोठामा राखियो । एउटामा कोठाका झ्यालबाट हरिया रुखहरु देखिन्थे । अर्कोमा कोठाबाट इँटाका भित्ता देखिन्थे । ती दुई कोठामा बसेका बिरामीको अध्ययनले के देखायो भने रुख देखिने कोठामा बसेका बिरामी इँटाको भित्ता देखिने कोठामा बसेका बिरामीभन्दा अपरेसनपछि छिट्टै घर फर्किए । अस्पतालमा बस्दा थोरै ‘पेनकिलर’ प्रयोग गरे र उनीहरुले नर्ससँग थोरै मात्र नकारात्मक टिप्पणी गरे । यो विवरण अमेरिकाको साइन्स जर्नलमा प्रकाशित छ ।
२. सन् २००१ मा नेदरल्याण्डमा १० हजार डच नागरिकको स्वास्थ्य र उनीहरु बस्ने ठाउँबीच कस्तो सम्बन्ध छ भन्ने अध्ययन गरियो । सो अध्ययनले हरियाली कम भएकोभन्दा धेरै भएको क्षेत्रमा बसोबास गर्ने मानिसका स्वास्थ्य समस्या थोरै थिए । उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो थियो । पार्क होस् वा जंगल वा खेतीपाती गरिएका क्षेत्र हरियालीले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखियो । सो अध्ययनको निष्कर्ष के हो भने बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बढायो भने मानिसको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्छन् ।
३. फिनल्यान्डको राजधानी हेलसिन्कीमा सहरका उद्यान र सहरभित्रका जंगलले मानिसको स्वास्थ्य र ‘मुड’ मा कस्तो असर पार्छ भनेर अनुसन्धान गरेकोमा यस्ता जंगल र उद्यानमा केवल दस मिनेट हिँडाइले मानिसमा तनाव कम गर्ने हर्मोन सक्रिय रहेको पाइयो ।
४. “द अमेरिकन फरेस्ट सर्भिस”को एक अध्ययनअनुसार ५० वर्ष लामो आयु भएको एउटा रुखले उसको जीवनभरमा ३१ हजार डलर मूल्य बराबर अक्सिजन उत्पादन गर्छ, ६२ हजार डलर मूल्य बराबर प्रदूषण नियन्त्रण गर्छ र ३७ हजार डलर बराबर पानी रिचार्ज गर्छ । रुखका पात र जराले पानीमा मिसिएको प्रदूषण फिल्टर गरेर मात्र जमिनमा पठाउँछन् । पानी प्रदूषण गर्ने नाइट्रोजन, पोटासियम र फोस्फरस छान्छन् । वैज्ञानिक अध्ययनले भन्छ– हामीले बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बनायौं भने हाम्रो आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्ने छन् ।
५.सहरमा बस्ने मानिसकोे रुखबिरुवासँग सम्बन्ध सम्पर्क टुटेको छ । उनीहरु माटोको गन्ध सुँघ्न कस्तो हुन्छ थाहा पाउँदैनन । पानीको आवाज बुझ्दैनन् । पानीको गन्ध बासना कस्तो हुन्छ भन्ने पनि मेसो पाउँदैनन् । यहाँसम्म कि शरीरले घाम र हावाको स्पर्श गर्न पाउँदैन । आजभोलि भिटामिन ‘डी’ को अभाव यसै कारणले हुन थालेको छ । घामबाट सित्तैमा पाइने भिटामिन ‘डी’ किनेर खान थालेका छन् ।  यसको समाधान मानिसलाई जंगलमा स्थानान्तरण गरेर सम्भव छैन । सहरलाई जंगलमा रुपान्तरण सकिन्न । तर, रुख रोपेर हरियाली बढाउन सकिन्छ र खाली ठाउँ खोजेर सानाठूला पार्क बनाउन सकिन्छ ।
५. उद्यानहरूबाट हुने फाइदा :
उद्यानहरुबाट हुन सक्ने फाइदालाई निम्नानुसार हेर्न सकिन्छ ।
१. आराम र आनन्दको ठाउँ ः उद्यानहरू आराम र आनन्द प्राप्त गर्ने ठाउँ हुन् । दिनभरीको कामबाट थाकेको अवस्थामा पार्कमा गई सुस्ताउन सकिन्छ । उद्यानमा कैयौं दृश्यावलोकन गर्न मिल्ने ठाउँ वा चिज हुने भएकोले त्यसबाट उसले शारीरिक रुपमा पनि आनन्द लिन सक्छ साथै यहाँबाट समाजिक सञ्चारको काम पनि हुन सक्छ ।
२. स्वस्थ जीवनशैलीको लागिः उद्यानहरु खुला ठाउँ हुन् जहाँ स्वस्थ जीवनशैलीका लागि खेल तथा  शारीरिक क्रियाकलापहरू हुन सक्छन् । जसकोवारेमा विभिन्न अनुसन्धानका विवरणसहित अलग्गै चर्चा गरिएको छ ।
३. मनोरञ्जनको लागिः उद्यानहरू मनोरञ्जनका माध्यम पनि हुन् । यहाँ घुम्न, खेल्न, र अन्य मनोरञ्जन गर्न सकिन्छ ।
४.वातावरण, कला,सँस्कृति र सम्पदाको संरक्षणः उद्यानहरुले प्रकृति, वनस्पति र जीव जनावरहरूको  संरक्षण गर्छन् । यस अर्थमा जैविक विविधताको संरक्षणमा योगदान गरेका हुन्छन् । खुला ठाउँ हुने भएकोले वर्षाको पानी संकलन भई रिचार्जको लागि फाइदा हुन्छ । कतिपय सहरको गर्मीलाई कम गराउन उद्यानहरु सहयोगी हुने भएकोले विश्व तापक्रमलाई नियन्त्रण गर्न सहयोगी हुनसक्छन् । पर्यटन लक्षित पार्कमा कला, सँस्कृति र सम्पदाको संरक्षणलाई जोड दिएको पाइन्छ । यसरी हेर्दा पार्क वातावरण, कला,सँस्कृति र सम्पदाको संरक्षण गर्ने माध्यम हुन् ।
५. पर्यावरणीय सन्तुलनका लागि ः उद्यानहरुले सहरको पर्यावरणीय सन्तुलन कायम गर्छन् । मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ गर्छन् । सहरलाई शोभायमान गराउँछन् र सभ्यताको पहिचान दिन्छन् । अर्थात् कुनै पनि शहरलाई बस्नलायक बनाउने काम उद्यानहरुले गर्छन् ।
६. भेटघाट र जनसम्पर्क बढाउने माध्यम ः उद्यानहरु भेटघाटका माध्यम हुन् । आजका दिनमा जसरी विवाह, पूजा घरमा गर्ने प्रचलन घट्दै गइरहेको छ ,त्यसरीनै अबका दिनमा घरमा भेटेर समय व्यतीत गर्ने गुञ्जायस घट्दै गइरहेकाले यस्तै उद्यानहरुमा भेटघाट गर्ने अवस्था आइरहेको छ । त्यस अर्थमा उद्यान भेटघाट र जनसम्पर्क बढाउने माध्यम हुन् ।
७. स्थानीयको आर्थिक विकास र समुदायको विकासमा सहयोग ः उद्यानहरुमा बाहिरी मानिसको आवागमन हँुदा स्थानीय समुदायमा व्यापार व्यवसाय गर्ने अवसर प्राप्त हुन्छ । यस्ता पार्कहरुमा आउनेहरु अध्ययन अनुसन्धानका लागि पनि आउने गर्छन् । समुदायले पार्कबाट के लाभ लियो लिएन भनेर पनि आजभोलि अध्ययनका विषय हुन थालेका छन् । त्यस अर्थमा उद्यानहरुवाट आर्थिक विकास र समुदायको विकासमा टेवा पुग्छ ।
८. रोजगारीको अवसर ः उद्यानको व्यवस्थापनका सन्दर्भमा रोजगारीका अवसर सिर्जना हुन्छन् । जसको पहिलो हकदार स्थानीयनै हुन्छन् । पार्कमा चाहिने जनशक्तिका आधारमा स्थानीयलाई अध्ययनको अवसरसमेत प्राप्त हुनसक्छ । त्यस्तै आम्दानीको निश्चित हिस्सा स्थानीयको क्षमता अभिवृद्घिमा खर्च गर्ने प्रबन्ध गर्दा पनि स्थानीयनै लाभकारी हुनसक्छन् ।
६. पर्यटन र उद्यान ः
उद्यान पर्यटनका प्रमुख श्रोत हुन् । कुनै नयाँ ठाउँमा घुम्न जानेले सबैभन्दा पहिला त्यहाँ रहेका उद्याननै खोज्छ । संसारभरि नै पर्यटकहरु उद्यानमा जाने, मनोरञ्जन लिने, शरीरलाई ताजा वनाउने, समय व्यतीत गर्ने, केही सिक्ने, मौलिकताको प्रदर्शन गर्ने, सुटिङ्ग गर्ने आदि गरिन्छ । नयाँ सहरमा जाँदा साथ त्यहाँ रहेका पार्क, संग्राहालय, चिडियाखाना, स्थानीय उत्पादन, कला, सँस्कृति, परम्परा आदि जान्ने बुझ्ने जिज्ञासा हुने गर्छ ।
आजभोलि धेरै नेपालीहरु दुबई गइरहेका हुन्छन् । त्यहाँको मिराकल पार्कमा धेरै जना जान्छन् । हुन पनि दुबईको मिराकल पार्क विश्वको सबैभन्दा ठूलो पार्कमध्येमा पर्छ । यसमा विभिन्न प्रकारका विज्ञान, प्रकृति र प्रविधिसँग सम्बन्धित गतिविधिहरू हुन्छन् ।
बोटानिकल गार्डेन, डायनासोर वाक, संग्रहालय, तलाउ र अन्य आकर्षक स्थलहरू यहाँका आकर्षण हुन् । यहाँ फूलको उत्सव, रियलिटी शो, कन्सर्ट, र अन्य कार्यक्रमहरू हुने गर्छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा नेहरु पार्क, लोधी गार्डेन, बुद्ध जयन्ती पार्क, सेन्ट्रल पार्क, मुगल गार्डेन, जापानिज पार्क, नेसनल रोज गार्डेनजस्ता चर्चित पार्कहरु छन् ।
छत्तीस हेक्टरमा फैलिएको मुगल गार्डेन हाल (अमृत उद्यान) खुला भएको दिन भारतको एक दैनिक पत्रिकाले खुसी हुँदैं लेख्यो—‘न्यूयोर्कको म्यानह्याटनमा रहेको सेन्ट्रल पार्कजस्तै दिल्लीको आफ्नै सेन्ट्रल पार्क ।’
बंगलादेशको राजधानी ढाकाको मुटुमा २७ हेक्टरको राम्ना पार्क मा ७१ प्रजातिका फूल, ३६ प्रजातिका फलफूलका रुख र ४१ प्रजातिका रुख छन् ।
पाकिस्तानको राजधानी इस्लामाबादमा तीन सय हेक्टरमा फतिमा जिन्हा पार्क  छ । पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्हाकी बहिनीका नाममा बनाइएको यो पार्कको दुई हेक्टर क्षेत्रमा सोलार प्यानल जडेर रातिमा उज्यालो पारिन्छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा रहेको भिक्टोरिया पार्कलाई अहिले रानी बिहारामहादेवी पार्क भनिन्छ । यो  पार्कभित्रै सानो चिडियाखाना छ, बच्चाबच्ची खेल्ने छुट्टै पार्क छ । पार्कभित्र वाटर फाउन्टेन छ ।
यसको अर्थ ती सवै उद्यानहरुले पर्यटनको विकासमा असाध्यै ठूलो टेवा दिएका छन् । उद्यान र पर्यटन एक अर्काका परिपुरक हुन् । जहाँ पार्क छैनन्, त्यहाँ पर्यटक छैनन्, जहाँ उद्यान छन् त्याहाँ पर्यटक छन् । पर्यटक हुनुको अर्थ सहरमा उनीहरुको बसाई लम्बिनु हो र प्रकारान्तरले आर्थिक चलायमान् हुनु हो ।
७. उद्यानमा विशिष्टीकरण : 
कुनै थिम, सिर्जना वा विषयमा आधारित पार्कहरु बन्दा विशिष्टीकृत हुन्छन् । इतिहास, पुरातत्व, धार्मिक–साँस्कृतिक, वोटविरुवा र फूल, फूलमा पनि कुनै एउटा फूल, बोटविरुवामा पनि एउटा विरुवा, कुनै एउटा जनावर आदि ।
सबै देशमा हुने एउटा महत्वपूर्ण बोटानिकल गार्डेन हो जसले बनस्पतिको जानकारी दिन्छ । कतै हर्वल पार्क हुन्छन् जसले जडीबुटीको जानकारी दिन्छ । आइटी पार्कबाट सूचना प्रविधिको ज्ञान लिन सकिन्छ । हालका दिनमा यसको विश्वब्यापी बजार पनि छ ।
चिनको छेन्दुमा लोपोन्मुख रेडपाण्डा पार्क छ । सिचुवानमा ‘भूकम्पीय भग्नावशेष’ र शंख पार्क छन् । भारतको तेलंगानामा कुकुर पार्क छ । अष्ट्रेलियाको तास्मानियामा विश्वयुद्घमा गरेको योगदानलाई स्मरण गरेर बनाइएको कुकुर पार्क छ । यी त उदाहरण मात्र हुन् । यस्ता धेरै ठाउँमा छन् । चिल्ड्रेन पार्क र हेल्थ पार्क त सवैतिर हुन थालिसके ।
चेन्नइको कोर्कोडायल अर्थात् गोही (ऋचयअयमष्भि ) पार्क  । मेराइन (सामुद्रीक जीव¬) पार्क । अक्वरियम पार्क । आदि इत्यादि ।
कही गुलाफ पार्क हुनसक्छ । स्वास्थ्यलाई जोडेर दुवो पार्क वनाउने र दुवोको जुस खाने प्रबन्ध गर्न सकिन्छ । अर्घाखाँचीको दुर्वाशेश्वर गुफामा यसो गर्दा पहिचानका आधारमा प्रचार गर्न सकिन्छ ।
नेपालको मोरङको केराबारी क्षेत्रमा सालक पार्क बनाउन सकिन्छ । धेरै ठाउँमा च्यकभ उबचप, ःबलनय उबचप बनाउन सकिन्छ । पशुपतिमा आध्यात्मिक पार्क, झापामा ‘चाइना–नेपाल इको इन्ड्रस्ट्रियल पार्क’ । कुनै खास जनावरहरुको पार्क जस्तै नेपालमा समस्या बन्दै गरेको बनेल अहिले यति धेरै भए कि यिनको पार्क बनाएर शिकार गर्ने वातावरण बनाउने हो भने कति मान्छे आउँदा हुन् ? बाँदरको खुला पार्क वनाएर अध्ययन अनुसन्धानस्थलको रुपमा विकास गर्न सकिन्छ । स्मरणीय छ अष्ट्रेलियाले राष्ट्रिय जनावर कंगारु धेरै भएर सन् २०२३ मा ५० लाख कंगारु मार्ने योजना सार्वजनिक गरेको छ ।
सँस्कृतिको हिसाबले कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क र बेनीमा रामायण पार्क बनाइदै छ । पशुपतिमा आध्यात्मिक पार्क र कीर्तिपुरमा ‘युद्व स्मारक पार्क’ बन्दैछन् । प्रसिद्ध मूर्तिकार माइकलान्जेलोको भाषामा ‘प्रत्येक ढुंगा मूर्ति हो  । शायद यसै कुरालाई आत्मसात गर्दै मोरङ, बेलवारीस्थित भाउन्नेमा त्यहाँको सभ्यता झल्काउने धिमाल र राजवंशी संस्कृतिका मूर्तिहरू बनाई मूर्ति पार्क बनाइदै छ । यस्तै देवदहमा पनि सामुदायिक वनले गौतम वुद्घको जीवनीलाई मूर्तिमार्फत् पार्क बनाउँदै छ । नेपालको ताज महल भनेर चिनिने रानीमहलमा ईको पार्क वन्दैछ ।
दाङ्गमा बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क, सहिद स्मारक पार्क, सँंस्कृतिक डबली र लखन थापा पार्क, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यकरण पार्क, दङ्गीशरणमा कल्चरल पार्क, कपिलवस्तुमा कृतिशेष साहित्य, कला, संस्कृति र संगीत क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको १०८ प्रतिमूर्तिसहितको साहित्य तीर्थ नामक उद्यान बन्दैछ ।
सहिद वा नेताको नामवाट जस्तै लखन थापा पार्क । पुष्पलाल पार्क । गणेशमान, मदन भण्डारी आदि पनि वन्दैछन् ।
८. अब के गरिनुपर्छ ?
– जसरी वातावरण जोगाउने काममा जनसहभागिताको माध्यमबाट सामुदायिक वन व्यवस्थापन र राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रका मध्यवर्ती वन व्यवस्थापनमा सफलता प्राप्त भयो, ठिक त्यसरीनै पार्क संरक्षणमा पनि समुदायलाई विश्वास गरेर राज्यले नीति बनाउन आवश्यक छ । जनसहभागितालाई सघाउने राज्यको नीति व्यवहारमा देखिनुपर्छ । स्वामित्वबिनाको सहभागिता र सहभागिताबिनाको स्वामित्वले प्राकृतिक सम्पदा र वातावरणको संरक्षण त हुन सक्दैननै । त्यसवाहेक उद्यानहरुले पनि गति प्राप्त गर्न सक्दैनन् ।
– प्राय स्थानीय तहहरु समुदायबाट व्यवस्थित भइसकेका सार्वजनिक महत्वका सँस्थामात्र हैन, आर्थिक लाभ हुने हरेक कुरामा हस्तक्षेप गर्न चाहन्छन् । समुदायले गरेको कामलाई अपनत्व लिएर स्वःस्फूर्त रुपमा चल्न दिए हुने भएपनि आर्थिक श्रोतमा हस्तक्षेप गरिहाल्ने प्रवृत्तिले दीर्घकालमा फाइदा गर्दैन । त्यसैले स्थानीय तहले हस्तक्षेप हैन, सहजीकरण गरेर उद्यानहरुलाई स्वःस्फूर्तरुपमा चल्ने वनाउन आवश्यक छ ।
– समुदायले टिकाउन र चलाउन पर्यटक केन्द्रित उद्यानहरुले शुल्क लिने कुरा स्वाभाविक भएपनि स्थानीय सरकारहरुले बालबालिका र बृद्घबृद्घाहरु दैनिक जान मिल्ने र  निःशुल्क प्रवेश गर्ने स–साना पार्कहरुको निर्माणमा ध्यान दिनुपर्छ । यसका लागि निश्चित मापदण्ड वनाएर वर्गीकरण गरेर जान सकिन्छ । जस्तो कि ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक वा यस्तै महत्वका पार्कमा शुल्क लिने कुरा ठिकै होला तर, सवै पार्कमा शुल्क लिनु न्यायोचित हुँदैन ।
-उद्यानलाई वनसँग जोडेर हेर्ने चलन स्वाभाविक हो । उद्यानहरु वन वा अन्य सार्वजनिक क्षेत्रमा भएकोले सामुदायिक वनले व्यवस्थापन गरेको हकमा वनले र गैर सरकारी सँस्थाको माध्यमबाट कानुनी वा गैर कानुनी रुपमा ब्यवस्थापन गर्दै आइरहेको हकमा त्यस्ता पार्कहरु पर्यटन मन्त्रालय मातहतमा सञ्चालन गर्ने प्रवन्ध गरिनुपर्छ । वन क्षेत्र भएर पनि गैरसरकारी सँस्थामार्फत् व्यवस्थापन हुँदै आएको छ भने तत्काल हस्तान्तरणका लागि तीनै तहका सरकारले सहजीकरण गर्नुपर्छ । समुदाय भनेको स्थानीय व्यक्ति, समूह र गैरनाफामुखी सँस्था नै हुन् भन्ने विषयलाई भुल्न हुँदैन ।
-पार्कहरुलाई विशिष्टीकरण गरेर जाँदा तिनको विकासमा सहयोग पुग्न सक्छ । यसो गर्दा पर्यटकहरुलाई सवै ठाउँमा लैजान सकिन्छ । परिणामस्वरुप पर्यटकको बसाईलाई केही दिन लम्ब्याउन सकिने अवस्था सिर्जना हुन्छ । प्रायः भद्रगोल तरिकाले पार्कहरु चलेको पाइन्छ । समितिमा रहेका पदाधिकारी वा सदस्यको मनमा जे आयो त्यही रुपमा पार्क वनाउनुभन्दा गुरुयोजना अनुरुप बनाउने र तदनुसार बने नबनेको हेर्ने नियामक निकाय हुन जरुरी छ ।
– निजी क्षेत्रले ब्यावसायिक रुपमा फन पार्क वनाउने चलन व्यापक छ । अव यसलाई पनि विविधिकरण गर्नुपर्छ । जस्तो कसैले बनेल पार्क वनाएर सिकार खेल्ने ढंगले विकास गर्न खोज्छ भने त्यसलाई अनुमति दिने ।
– नेपालमा पार्कबाट भएका उपलब्धिको बारेमा खासै अनुसन्धान भएका छैनन् । अब यसमा ध्यान जानुपर्छ । यो काममा सरकारको भर परेर हैन, पार्कहरुले वन तथा चिकित्सा विज्ञान अध्ययन सँस्थान र पर्यटन विभाग आदिसँग मिलेर पनि गर्न सकिन्छ ।
– स्वास्थ्यमैत्री उद्यान कसरी हुन सक्छन् भनेर पनि यो कार्यक्रममा छलफल गर्दा उचित हुने देखिन्छ ।
– समुहगत छलफलमा पर्यटन, स्वास्थ्य र कानुनी विषयलाई आधार वनाएर एउटा निष्कर्षमा पुग्न सक्यौं भने यो सम्मेलन नेपालको लागि कोशे ढुंगा सावित हुनेछ ।
(बुटवलमा आयोजित प्रथम राष्ट्रिय पार्क सम्मेलनमा प्रस्तुत अवधारणापत्र)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?