बर्दघाट, बैशाख - कुनै समय खेलकुद क्षेत्रमा जिल्लाको बागडोर सम्हालेका पश्चिम नवलपरासीका कुमार आले पछिल्लो समय मत्स्य ब्यवशायमा होमिएका छन । जिल्ला खेलकुद विकास समितिको ४ वर्षे कार्यकाल सफल सम्पादन गरेका बर्दघाट नगरपालिका वडा नम्बर १३ का आले पछिल्लो समय बायोफ्लेक्स प्रविधिमा आधारित मत्स्य पालनसँगै एकिकृत कृषि फर्म संचालन गरेका छन ।
कुनै समय राजनिती र खेलकुद क्षेत्रमा ब्यस्त रहने आले पछिल्लो समय फर्ममै समय विताउने गरेका छन । बिहान उठेदेखि निरन्तर माछाको रेखदेखमा दिन विताइरहेका छन । आफूले जति ध्यान अन्यले दिन नसक्ने बताउने आले आफैले दाना खुवाउने देखि पानीको तापक्रम र ब्यवस्थापन गरिरहेका छन ।
युवाहरू विदेश पलायन हुनु देशको लागि अभिषाप बताउने आले आफ्नै देशमा आफ्नै गाँउ ठाँउमा केहि गर्नुपर्छ भन्ने मान्यताका साथ एकीकृत कृषि फर्म सुरु गरेको बताउँछन । करिव विगाहा क्षेत्रफलमा मत्स्यपालनबाट ब्यवशाय सुरु गरेका आलेले पछिल्लो समय यस क्षेत्रमै रमाउँदै आएका छन । राजनितिमा समेत सक्रिय आले पछिल्लो समय भने कृषि कर्ममा ब्यस्त रहेका छन ।
भारत मध्य प्रदेशको दतिया भन्ने ठाँउमा माछा विशेषज्ञ जे पी सिँहको सम्पर्कमा पुगी विशेषतः बायोफ्लेक्स प्रविधिमा माछापालन सम्बन्धि तालिम लिएर ब्यवशाय सुरु गरेका उनले सुरुमा बायोफ्लेक्समै आधारित रहेर माछा पालन सुरु गरेको बताउँछन । बैखी माँगुर लगायतका माछा भने उनले जमिनमा नै पालेका छन ।
आफ्नो गाँउठाँउमा काम गर्न हिच्कीचाउने तर विदेश गइ जस्तो सुकै काम गर्न पनि पछि नपर्ने युवाहरूलाई सामान्य लगानी र थोरै पूँजीबाट पनि ब्यवशाय गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि आफूले मत्स्य ब्यवशाय सुरु गरेको आले बताउँछन ।
देशको दक्ष जनशक्ति विदेशिदा सरकार पनि रेमिटान्स भित्रिने लोभले दक्ष जनशक्ति युवा विदेसिनेबाट रोक्ने तर्फ उदासिन रहेको उनी बताउँछन् ।
“इच्छशक्ति हुने हो भने नेपालमै पशुपालन, मत्स्यपालन, तरकारी खेती, फलफूल खेती गरेरै मनग्गे आम्दानी गर्न सकिन्छ’ उनको तर्क छ । “नेपाल हरेक खाद्य वस्तुमा परनिर्भर रहेको छ तथापी युवाहरूलाई कृषि वा पशुपालन कर्ममा भएको भविष्यको न त सरकारले नै मार्ग दर्शन गर्न सकेको छ न त युवाले नै यो कुरा स्वीकार गरेको छ’ आले आक्रोस सहित दुखेसो पोख्छन ।
२०७७ सालमा ६ वटा बायोफ्लेक्स टंकी निर्माण गरी मत्स्य ब्यवशाय सुरु गरेका आलेले थप १ वटा सिमेन्ट जुन आर ए एस प्रणालीमा सँचालित टँकी र जमिनमै करिव ६ कठ्ठामा पोखरी बनाइ विभिन्न प्रजातीमा माछा पाल्दै आएका छन । करिव ७ लाखको लगानीबाट सुरु भएको ब्यवशाय अहिले करिव ३० लाखमा पुगेको छ । आलेले आफ्नो फर्मबाट उत्पादित माछा स्थानिय बजार सहित पाल्पा गुल्मी लगायतका स्थानबाट समेत माग हुँदै आएका बताउँछन । तर धेरै टाढाबाट माग हुँदा जिंउदै पुर्याउनु चुनौती रहेको उनले बताए ।
माछापालनबाट आर्थिक रूपमा सफल हुन सकिने उनको भनाइ छ । मत्यपालनमा आउने चुनौतीहरूलाई सामना गर्दै ब्यवस्थापन गर्न सकियो भने १ सय देखी १ सय २० प्रतिशत सम्म नाफा आर्जन गर्न सकिने उनले बताए । विशेषगरी बायोफ्लेक्समा निरन्तर विद्युत आपूर्ति, वाटर पारामिटर मुख्य चुनौती रहेको उनको भनाइ छ ।
देश विकासमा युवाको निकै ठूलो योगदान रहेपनि युवाहरू विदेशिनु दुर्भाग्य रहेको आलेको ठम्याइ छ । आफ्नै देशमा कुनै ब्यवशाय गर्छु भन्ने युवालाई राज्यले सहज लगानीको वातावरण मिलाउन नसक्दा युवाहरूमा नैराष्यता छाएको उनको तर्क छ । राज्य सँचालनको जिम्मा लिएका नेतृत्वहरूले भाषणमा युवाहरूलाई प्राथमिकतामा राखी उनीहरूलाई स्वदेशमै रहने वातावरण मिलाइनेछ भन्ने गरेपनि ब्यवहारिकता भने नितान्त फरक रहेको उनको बुझाइ छ ।
कृषि क्षेत्रमा युवा आकर्षित हुने कार्यक्रम सरकारको प्राथमिकतामा नपरेको उनी बताउँछन । कृषिमा युवालाई आकर्षित गर्न सरकार असफल छ कसैगरी युवा आकर्षित भएको कृषिमा केहि गर्छु भन्ने सोंचका साथ अघि बढन खोजे पनि स्थानिय निकाय वा प्रदेश सरकारले दिने सुविधा कृषि कर्म गरेका किसानले भन्दा पनि पहुँचवालाहरूले नक्कली फर्म दर्ता गरी वा पहुँचको आधारमा अनुदान लिने गर्दा वास्तविक कृषकलाई कृषिप्रति नै वितृष्णा जागेको उनी बताउँछन । राजनितीमा जिल्ला स्तरिय नेतृत्व वहन गरेका आले कुनै समय खेलक्षेत्रमा परिचित नाम हो । खेलक्षेत्रमा पछिल्लो समय थोरै र मत्यपालनमा धेरै समय दिँदै आएका उनले आफ्नो कार्यकाल अविष्मरणिय रहेको बताउँछन । आफूले जिल्लाको नेतृत्व लिइरहेको बेला नवलपरासी जिल्लालाई कबड्डीमा नेशनल च्याम्पीयन बनाएको र राष्ट्पति रनिङ शिल्डको क्षेत्रिय प्रतियोगितामा द्धितिय स्थान हासिल गर्दाको क्षण कहिल्यै नभुल्ने उनी बताउँछन । राजनिती, खेलकुद र कृषि पेशा (मत्स्यपालन) लाई अहिलेसम्म साथसाथै हिँडाएका आलले युवा विदेश पलायनबाट रोक्न ब्यवशाय नै आवश्यक रहेको समेत बताउँछ ।