कपिलवस्तु, चैत ।- पाल्पामा बसोबास गर्ने चित्रकार समुन्द्र घिमिरे क्षेत्री बुद्धस्थल प्राचिन कपिलवस्तु (तिलौराकोट दरबार) मा क्यानभासमा चित्र उतार्न व्यस्त देखिन्थे । कलाकार शुरेस अग्रहरीको छेउमै बसेर उनले बुद्धस्थल कुदानमा आएका भिक्षुहरुको बुद्धस्थल सहितको चित्र क्यानभासमा उतारदै थिए । कला कार्यशालामा सहभागी हुनकै लागि पहिलो पटक उनी कपिलवस्तु आएका हुन ।
बुटवल र पाल्पा बसाई भएर पनि कपिलवस्तु आउन छुटाएकोमा उनलाई अहिले दुखेसो छ । आफुहरु जस्तै युवा पुस्ताले चासो नराखेका कारण तिन वटा बुद्धको पवित्र र ऐतिहासिक भुमी ओझेलमा परेको भन्दै उनले पश्चाताप गरे । तर ढिलै भए पनि कपिलवस्तु आएर यहाँका बुद्धस्थलको चित्र क्यानभासमा उतार्न पाएकोमा उनलाई केहि खुसीको अनुभुती मिलेको छ । कपिलवस्तुलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउने बिषय अवसर र चुनौती दुवै रुपमा उनी देख्छन । “अहिलेका युवाहरु यहाँ टिकटक र भिडियो बनाउन आउदा रहेछन । तर यो स्थानको महत्व बारे कुनै जानकारी लिन खोज्दा रहेनछन ।” उनले भने । आफु सहित राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा कला प्रदर्शन गर्ने कलाकार मार्फत अबका दिनमा कपिलवस्तुका ऐतिहासिकस्थलको चित्र मार्फत प्रचार प्रसार हुनेमा उनी ढुक्क छन । उनी जस्तै नवलपरासीका कलाकार बिके नर बहादुरले पनि क्रकुछन्द बुद्धको जन्मस्थलको रुपमा परिचित गोटिहवामा रहेको अशोकस्तम्भको चित्र बनाउदै गरेको भेटिए । लुम्बिनीको तुलनामा कपिलवस्तु बारे मानिसहरुलाई (बिशेष नेपालीहरु) लाई थाहा नभएको अवस्था भएको उनले बताए । “कला मार्फत कपिलवस्तुलाई बिश्वभर चिनाउन कार्यशालामा बनाईएका यहाँका ऐतिहासिकस्थलको तस्बिरले भुमिका खेल्नेमा बिस्वस्त छौं ।” उनले भने । अब सबै कला मात्रै होईन सबै क्षेत्रले सम्भावनायुक्त जिल्ला कपिलवस्तुको योजना बनाएरै प्रचार प्रसार गर्नु पर्नेमा उनले जोड दिए ।
नेपाल ललित कला प्रतिष्ठानको लोककला बिभागका प्रमुख प्रदिप अधिकारी पनि तिलौराकोटमा चित्र बनाउदै गरेका भेटिए । उनले केनभासमा बुद्ध र प्रकृतिको चित्र उतार्दै थिए । सरकारले आफै नेपाली कला सँग सम्बन्धित निकायहरुलाई वा एकेडेमी सँग सहकार्य गर्दै अन्तरराष्ट्रियस्तरमा कला मार्फत यो क्षेत्रको पहिचान गर्न भुमिका खेल्नु पर्ने भए पनि सरकार चुकेको उनले बताए । तर स्थानिय सरकारले सिया आर्टस सँगको सहकार्यमा आयोजना गरेको कार्यशालाबाट निर्मित चित्र प्रदर्शनीमा गए पछि ति चित्रले यस स्थानको आवाज बोल्ने अधिकारीले बताए । “यहाँ बनेका कला कृतिहरु बिश्वभर परिचित गराउन कार्यक्रम आयोजनाले सहयोग पुर्याउने देखेको छु । यो कार्यले यस स्थानको पहिचान राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमै सबल रुपमा उठाउन सकिन्छ भन्ने लागेको छ ।” उनले भने ।
राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका कलाकारहरु कपिलवस्तुमा जारी तिन दिने राष्ट्रिय कला कार्यशालामा सरिक हुन कपिलवस्तु आएर आफ्नो प्रस्तुत गर्न तत्पर थिए । ऐतिहासिक महत्व बोकेको कपिलवस्तु जिल्लालाई कला मार्फत बिश्वभर परिचित गराउने उद्धेश्यले कपिलवस्तुको प्राचिन कपिलवस्तु दरबार (तिलौराकोटमा) मा राष्ट्रिय कला कार्यशाला अन्तरगत क्याभास चित्र बनाउने कार्यको आयोजना गरिएको थियो । क्यानभासमा चित्र बनाउने कार्यमा २३ जना राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कलाकारहरु सहभागी भएका थिए । कपिलवस्तु नगरपालिका, लुम्बिनी बिकास कोष, कपिलवसतु जिल्लाकै मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाको सहयोगमा सिया आर्ट एण्ड क्राफ्टले कार्यशालाको आयोजना गरेको हो । कार्यशालाको पहिलो दिन जिल्लाको शाक्यमुनी, कनकमुनी र क्रकुछन्द बुद्ध र अन्य प्राचिनस्थलको भ्रमण गरेका कलाकारले तिलौराकोटमा ति स्थलहरुको चित्र बनाएका हुन । ऐतिहासिक स्थलको क्यानभास चित्र बनाउने कार्यमा नेपाल ललित कला प्रतिष्ठानका उपकुलपति लालकाजी लामा सहित अबध र मिथिला सस्कृतिका कलामा पहिचान बनाएका कलाकारहरु पनि सहभागी छन ।
चित्रकला र पेन्टिङ्ग मार्फत कपिलवस्तुका पुरातात्विकस्थलको बिश्वभर प्रचार गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा कलाकारले बनाएको कला र पेन्टिङ्गको शुक्रबार प्रदर्शनी गरिने आयोजक संस्था सिया आर्टस एण्ड क्राफ्टका अध्यक्ष बालगोबिन्द त्रिपाठीले जानकारी दिए । कला आफैमा अन्तरराष्ट्रिय भाषा भएकाले यसको माध्यमबाट यहाँको कला बिश्वभर पुग्ने उपकुलपती लामाले बिश्वास व्यक्त गरे । “कलामा आकृति हुन्छ त्यसैले यसलाई आम मान्छेमा पुर्याउन सहज हुन्छ । यसले कला अवलोकन गर्नेमा जिज्ञासा र कौतुहलता बढाउछ । जसका कारण यहाँका यि स्थलको प्रचार प्रसार प्रभावकारी बन्न पुग्छ ।” उनले भने । कार्यशालामा निर्मित कलाकृतिले कपिलवस्तुको महत्व अन्तरराष्ट्रिस्तरमा उजागर गर्न सहयोग पुग्नेमा उनले बिश्वास व्यक्त गरे ।
कार्यशाला आयोजना गरिएको प्राचिन कपिलवस्तु (तिलौराकोट दरबार) राजा शुद्धोधनको राजधानी र सिद्धार्थ गौतमले आफनो बाल्यकाल र युवा अवस्थाको २९ बर्ष बिताएको प्राचिन शाक्य गणराज्य कपिलवस्तुको रुपमा परिचित छ ।