Logo
२३ जेष्ठ २०८०, मंगलवार

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित


 काठमाडौँ ।

यसअघि थुनामा पठाउने न्यायाधीशकै इजलासमा परेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सरेको छ। लामिछानेविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दा फैसलाका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सोमबार पेसी तोकिएको थियो।

तर, यसअघि थुनामै पठाउने न्यायाधीशकहाँ पेसी तोकिएपछि सन्दीपका वकिलले सुनुवाइ सार्न निवेदन दिएका थिए। ‘हामीले अहिलेलाई सुनुवाइ रोकेर पेसी सार्न निवेदन दिएका छौँ’, सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘अब यसबारे एकसातापछि अर्को पेसीमा सुनुवाइ हुन सक्नेछ।’

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा यो मुद्दा पेसी तोकिएको थियो। त्यसअघि ११ वटा मुद्दा बयान बकपत्रलगायतका विषयमा यो इजलासमा पेसी तोकिएका थिए।

सन्दीपको मुद्दाभन्दा अगाडि चेक अनादर, नक्सापास, निषेधाज्ञाका मुद्दा पनि पेसीमा थिए।

घिमिरेले नै सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए। गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

पछि घिमिरेले गरेको आदेश उच्च र सर्वोच्चबाट बदर भएको थियो। उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएपछि ९९ दिन थुनामा बसेर सन्दीप छुटेका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई थुना बाहिर राख्ने आदेश नै सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंकै न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले जाहेरवाली किशोरीलाई अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो। अन्तरिम राहत माग गर्दै किशोरीले जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।

यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने आदेश छ। यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ।

सन्दीपविरुद्ध गत भदौ २१ गते एक किशोरीले जबर्जस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले असोज २० गते सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। पीडित किशोरी नाबालिग रहेको दाबी गर्दै सन्दीपलाई १० देखि १२ वर्ष कैद माग गर्दै मुद्दा दर्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?