Logo
८ चैत्र २०७९, बुधबार

शंकरनगर वनबाटिकाका संस्थापक अध्यक्ष अर्यालको निधन


बुटवल, ४ चैत ।

रुपन्देहीका पुराना पत्रकार एवं शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका परिकल्पनाकार बाबुराम अर्यालको निधन भएको छ ।

पछिल्लो समय जण्डिसको उपचार गराईरहेका अर्यालको शुक्रवार दिउँसो भरतपुरस्थित अस्पतालमा ७५ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । वि.सं. २००४ साल फागुन ७ गते गुल्मीमा जन्मिएका अर्याल केही वर्षदेखि शंकरनगरमा बसोबास गर्दै आएका थिए । अर्याल २०५४ सालमा तत्कालीन शंकरनगर गाउंविकास समितिको उपाध्यक्ष निर्वाचित भई जिम्मेवारी निर्वाह गरेका थिए ।

२०६२ सालमा शंकरनगर वनबाटिकाको रुपमा परिचित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको संस्थापक अध्यक्ष बनेका अर्यालले १४ वर्षसम्म केन्द्रको सफलतापुर्वक नेतृत्व सम्हाल्दै आएका थिए ।

अर्यालकै योजना र नेतृत्वमा वनबाटिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सम्भव भएको केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डे बताउंछन् । पर्यावरण र वन्यजन्तु संरक्षणमा चासो राख्ने अर्यालले वनबाटिकामा प्रदेशस्तरीय चिडियाखाना विकास गर्ने योजना अगाडि सारेका थिए । वनबाटिकाप्रतिको लगावकै कारण परिवारका सदस्यहरु विदेश रहंदा समेत अर्याल एक्लै शंकरनगरमा बसेका थिए ।

अर्यालले पञ्चायतकालिन समयमा रुपन्देहीको चर्चित पत्रिका सिद्धार्थ दैनिकको संचालक तथा सम्पादकको भूमिका निर्वाह गरेका थिए । स्वर्गीय अर्यालको निधनप्रति विभिन्न संघसंस्थाले विज्ञप्ती निकालेर दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?