Logo
८ चैत्र २०७९, बुधबार

विद्यार्थीहरु न्यायाधीशसँग अन्तरसम्वाद गर्दा खुशी


दाङ, ३ चैत ।

ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराही दाङमा कानून विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले शुक्रबार दाङ जिल्ला अदालतका न्यायाधीशसँग सम्वाद गर्न पाउँदा दंग भएका छन् ।

कार्यक्रममा जिल्ला अदालत दाङका न्यायाधीश कृपासुर कार्कीले मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्याविधि संहिता २०७४, मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, विद्युतीय कारोवार सम्बन्धी कसुर र सजाय (विद्युत कारोवार ऐन) २०६३ का बारेमा आधारभूत जानकारी गराएका थिए । यसैगरी, समाजमा बढ्दो अपराध रोकथामका लागि युवाहरु बढी सजग हुनुपर्ने र विद्यमान कानूनका बारेमा सचेतना फैलाउन लाग्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समय युवाहरुमा बढ्दो लागु औषधको दुव्र्यसन नियन्त्रण गर्न लागु औषध (नियन्त्रण) ऐन, २०३३ मा भएका प्रावधानहरुको विषयमा प्रकाश पार्दै न्यायाधीश कार्कीले कसुर गरेर अपराधको भागीदार हुनुभन्दा समयमै सचेत भई सभ्य नागरिक बन्न सुझाव दिएका थिए ।

सहभागी विद्यार्थीहरुको जिज्ञासा मेटाउँदै उनले कुनै पनि भावनामा नबगी सोच विचारका साथ सही गलत के हो भनेर छुट्टयाउन सकिएमा युवाहरु कुलत बाटो छोड्न सक्ने बताए । सही मार्गमा हिड्न सफल हुने हुँदा भविष्य बोकेर अध्ययनमा लागेका हरेक विद्यार्थी आफ्नो कर्तव्यमा लाग्नुपर्नेमा उनले सचेत गराए ।

सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा पवित्रा तामाङले कानूनका बारेमा व्यावहारिक ज्ञान दिने कार्यक्रम आगामी दिनमा पनि गर्न आग्रह गरिन् । आफूले सिकेका कुरा व्यवहारमा लागु गर्ने र गाउँघरमा सबैलाई जानकारी गराउने बताइन् । राप्ती शिक्षा क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशकुमार खड्काले विद्यार्थीहरुलाई आधारभूत ज्ञान दिने उद्देश्यले कानुनी साक्षरता कार्यक्रम राखेर विद्यार्थीलाई जानकारी गराएको बताए । विद्यालय कोर्डिनेटर तिलक अधिकारीले कानुन विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीले थप ज्ञान लिन पाएको बताए ।

ज्ञानसिन्धु माविका प्राचार्य एवम् राप्ती शिक्षा क्याम्पस दाङका क्याम्पस प्रमुख हुकुम बुढाथोकीले आफ्ना विद्यालयका विद्यार्थी कानुन पढिरहेकालाई थप ज्ञान दिन पाएकोमा खुशी भए । कक्षा ११ र १२ मा कानुन विषय लिएका विद्यार्थीलाई सहभागी गराइएको बताए ।

कानून संकायको १२ कक्षामा अध्ययनरत देवी घर्र्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रकुमार शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?