Logo
२४ माघ २०७९, मंगलवार
Logo
विचार

गणित र विज्ञान विषयको नतिजा सुधारका सूत्रहरू


नेपालका विद्यालयहरूमा अनिवार्य विषयका रुपमा अध्यापन गरिने गणित र विज्ञान विषयको नतिजा अत्यन्तै कमजोर रहेको छ । राष्ट्रिय गुणस्तर परीक्षण केन्द्र सानोठिमीबाट लिइएको स्तरीकृत विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षा (नासा) को हालै प्रकाशित नतिजा अनुसार गणितमा ३२.१ प्रतिशत र विज्ञानमा ३७.७ प्रतिशत मात्र विद्यार्थीले ५० प्रतिशत उपलब्धिस्तर ल्याउन सकेका छन् । नेपाल सरकारले नतिजा सुधारका लागि अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरूका लागि शिक्षकको पेशागत विकास तालिम, प्रदेश सरकारले नतिजा सुधार कार्यक्रम र केही स्थानीय सरकारले छोटो अवधिका शिक्षक तालिम र विज्ञान प्रयोगशाला र उपकरण खरिदमा सहयोग गरेका छन् । तर, नतिजा सन्तोषजनक पाइएको छैन । तसर्थ गणित र विज्ञान विषयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीहरूलाई दिनुपर्ने शिक्षण र व्यवस्थापकीय सहायताको सम्बन्धमा प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ ।

कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीहरूको वैयक्तिक समस्या र सिकाई आवश्यकता पहिचान गर्ने परीक्षा पद्धतिको प्रयोग सिकाईस्तर मापन गरी आवश्यकता अनुसार सुधारात्मक शिक्षण गर्र्नेे ब्यवस्था गर्नु जरुरी छ । तर, विद्यालयमा कार्यबोझ, विद्यार्थी संख्या, पोटफोलियो जस्ता मूल्यांकन सामग्रीको अभाव र शिक्षकको क्षमताबृद्धिको अभावका कारण कुनकुन विद्यार्थीहरूमा कुन कुन विषयवस्तु क्षेत्रमा अनुतीर्ण हुने खतरा छ वा अप्ठ्यारो क्षेत्र पहिचान गरी अतिरिक्त सहयोग आवश्यक छ भन्ने पहिचान गर्ने परीक्षणको पद्धति निर्माण भएको छैन । निरन्तर मूल्यांकन र पटकपटकको परीक्षणबाट मात्र विद्यार्थीका आवश्यकता क्षेत्र पहिचान गर्न सकिन्छ । विडम्बना नेपालमा निर्णयात्मक ढाँचाका वार्षिक र त्रैमासिक परीक्षाकै निरन्तरता छ । यी परीक्षाको नतिजा विश्लेषण गर्ने, सिकाइ सहयोग आवश्यकता पहिचान गर्ने र सहयोगको लागि योजना बनाउने चलन पनि छैन । अतिरिक्त कक्षाहरू पनि नियमित कक्षा जस्तै वन साइज फिट्सकै शैलीमा सञ्चालन हुन्छन् । यसकारण केही राम्रा विद्यार्थीलाई थप सहयोग भएपनि कमजोर सिकाई उपलब्धि भएका विद्यार्थीलाई फलदायी देखिदैनन् । प्रदेश सरकारले पनि ट्युसन पढाउन आर्थिक सहयोग ग¥यो । अचेल एकदुई दिनका गोष्ठीमा एकाध विषयवस्तुका शिक्षण नमुना प्रस्तुत गर्ने बाहेक अन्य काम भएको छैन । तालिम केन्द्रहरूले पनि फाराम भर्ने चलन हटेको छ । प्रशिक्षकले आवश्यक ठानेको र आफूलाई रुचि लाग्ने क्षेत्रमा सत्र सञ्चालन गर्दछन् । प्रायः तालिम केन्द्रका रोष्टर प्रशिक्षकहरू नै प्रदेश वा स्थानीय तहका पनि प्रशिक्षकहरू हुने गरेका कारण टिपिडि तालिममा चलाइएका सत्र शीर्षक र क्रियाकलापहरूकै पुनराबृत्ति हुने गरेको छ । नेपाल सरकारले सुधारका लागि कक्षाशिक्षणमा भन्दा कक्षोन्नतिका लागि कार्यक्रम बनाउने गरेको छ । अनुतिर्ण नगर्ने र ननग्रेडिङ्ग नराख्नेमात्र होइन माथिल्लो कक्षाहरूमा भर्नाका लागि समेत लचिलो ब्यवस्था गर्नाले उपलब्धि सुधारका लागि गरिने अन्य समकालीन प्रयासले पनि प्रभावकारी नतिजा दिन नसकेका हुन् । यसर्थ विभिन्न प्रकारका शिक्षक सहायता वा विद्यार्थी सहायता वा राष्ट्रको शिक्षामा लगानी वालुवामा पानी हुनुको मुख्य कारण लर्निङ डिफिकल्टी र सिकाई आवश्यकताको पहिचान विना परम्परागत सिकाइ सहयोगको निरन्तरता दिनु हो ।

कमजोर विद्यार्थीको सिकाई आवश्यकताको पहिचान र सहायता प्रदानको जिम्मेवारी विद्यालयलाई प्रदान गर्ने र आवश्यक जनशक्ति तथा स्रोतको ब्यवस्थासमेत विद्यालयमा उपलब्ध गराउने काम नेपाल सरकारबाट हुनु जरुरी छ । कहिल्यै विद्यालयमा नपढाउनेहरूबाट वर्तमानमा सञ्चालित फुटकर तालिम कार्यक्रमको प्रभाव ५० प्रतिशतमा सिमित हुनुको मुख्य कारण पनि विद्यार्थीको वास्तविक आवश्यकतामा आधारित सहजीकरणका लागि प्रबन्ध नगरिनु नै हो । विद्यार्थीका सिकाई आवश्यकताका आधारमा कुनै वर्ष वा निश्चित समयावधिका लागि निश्चित शीर्षक वा विषयवस्तु क्षेत्रमा केन्द्रित रहेर अतिरिक्त सहायता प्रदान गर्ने तरिका पनि अपनाउन सकिन्छ । यसको निर्देशक ढाँचासमेत केन्द्र वा प्रदेश सरकारले तयार गरी लागू गर्नुपर्दछ । यसरी सिकाइसँग सम्बन्धित समस्याको सहजीकरणका लागि विद्यालय र शिक्षकहरूलाई जवाफदेही बनाउनुको सट्टा सरकारबाटै एउटै तालिम पाठ्यक्रम निर्माण, प्रशिक्षक प्रशिक्षण र बास्केडिङ्ग मोडेलमा सञ्चालित तालिम कार्यक्रमहरूबाट सिकाइ उपलब्धि बृद्धिको अपेक्षा पूरा हुन सक्दैन । यसैगरी विशेष क्षमताका विशेष आवश्यकता भएका विद्यार्थीहरूका लागि दिइने अतिरिक्त सहायताको रुपरेखा र आवश्यक जनशक्ति तथा स्रोतको प्रबन्धका लागि नेपाल सरकारबाट कार्य भै त्यस प्रकारको विशेष शिक्षाको ब्यवस्था मिलाउनु आवश्यक देखिएको छ । तसर्थ नेपालमा केन्दीकृत सहायता प्रणालीलाई विद्यालयतहसम्म हस्तान्तरण गर्ने र विशेष क्षमताका विद्यार्थीको समेत आवश्यकता र क्षमतालाई सम्बोधन गर्नका लागि नेपाल सरकारले आवश्यक जनशक्ति र स्रोतको ब्यवस्था र निर्देशक ढाँचा तयार गरी लागू गर्नु आवश्यक देखिन्छ ।

कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीलाई विभिन्न तरिकाले सहायता प्रदान गरिन्छ । कक्षाकोठाभित्र प्रदान गरिने सहायताको प्रमुख रुप अभ्यास (ड्रिल र प्राक्टिस), सानो समूहमा अतिरिक्त समय दिएर गरिने शिक्षण, उच्च उपलब्धिस्तर भएका सहपाठीहरूबाट सहायता, विषयवस्तु शिक्षणका क्रममा प्रभावकारी प्रश्न सोधी विद्यार्थीका सोंचाइ तथा तार्किक सिपको विकास गर्न सक्ने हो भने गणित र विज्ञान विषयको सिकाइ उपलब्धि बढ्दछ । गृहकार्य तथा परियोजना कार्यलाई कक्षाकोठा बाहिरका मुख्य सिकाइ सहयोगी साधन मान्न सकिन्छ तर अत्यन्तै कमजोर सिकाई उपलब्धि भएका विद्यार्थीहरूलाई कक्षाकोठाभित्रको अभ्यास मात्र बढि प्रभावकारी हुने भएकोले विद्यालयभित्र शिक्षकले वा दिने सहायताले मात्र अहिलेको दुर्बल अवस्थामा सुधार आउन सक्छ । साधारण कक्षा शिक्षणभन्दा आवश्यकताका आधारमा अतिरिक्त समय र शिक्षण रणनीतिसहितको सहायता प्रदान गर्नका लागि शिक्षक र स्रोतको प्रबन्ध विद्यालयमा हुनुपर्छ । कम्तीमा सानो समूहमा ट्युसन कक्षा सञ्चालनका लागि सरकारले प्रबन्ध गर्न सक्ने हो भने नतिजामा सुधार आउने थियो । केही वर्ष पहिले लुम्बिनी प्रदेश सरकारले अतिरिक्त कक्षा सञ्चालनका लागि सहायता दियो । तर, नियमित कक्षाशिक्षणजस्तै विद्यार्थीका आवश्यकता पहिचान नगरी सबैलाई एउटै शिक्षण गरिँदा नतिजामा पटक्कै सुधार देखिएन । कमजोर विद्यार्थीहरूका स–साना समूह बनाई शिक्षण गरिएको भए सायद सकारात्मक परिवर्तन आउने थियो होला । त्यसैगरी विद्यालयमा हुने लामो विदाहरू, वार्षिक परीक्षापछिको चैत महिना र बैशाखमा भर्ना अभियानका समयमा विशेषगरी कमजोर सिकाई उपलब्धि भएका विद्यार्थीहरूका लागि मात्र गणित र विज्ञान विषयका अतिरिक्त कक्षाशिक्षण गर्ने हो भने अवस्था सुधार हुन्छ ।

गणित र विज्ञान विषय शिक्षणमा सिकाई विभेदीकरण र समान सिकाई क्षमता समूह शिक्षण रणनीतिहरू पनि प्रभावकारी देखिएका छन् । सिकाइ विभेदीकरण विधि प्रयोग गर्ने शिक्षकले प्रत्येक विद्यार्थीका कमजोर पक्ष र सिकाइ आवश्यकताको पहिचान गरी एक–एक विद्यार्थीका लागि उपयोगी हुनसक्ने विषयवस्तु, शिक्षण विधि र कार्यहरूको चयन गरी ब्यक्तिगत शिक्षण गर्नुपर्ने हुन्छ । सामान्यतया प्रति कक्षाकोठाको संख्या ३५–४० रहेको अवस्थामा यसप्रकारको रणनीति अपनाउन सकिन्छ । यदि बैयक्तिक सहायता प्रदान गर्नसक्ने हो भने कमजोर विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आउने र ब्यक्तिगत सहायता निरन्तर गर्नुपर्ने अवस्था नरहने भएकोले पनि यस प्रकारको रणनीति अपनाउँदा प्रभावकारी हुने देखिन्छ । त्यस्तै समान सिकाइ क्षमता भएका विद्यार्थीहरूको समूह बनाई बसाई ब्यवस्था मिलाउने हो भने शिक्षकले सिकाई क्षमता समूह अनुसारको शिक्षण रणनीति प्रयोग गर्न सजिलो हुन्छ । जनशक्ति ब्यवस्थापनका लागि सरकारले विभिन्न विकल्प अपनाउन सक्दछ । वास्तवमा नियमित कक्षाशिक्षण गरिरहेका साविकका शिक्षकहरूलाई तालिम, थप शिक्षकहरूको नियुक्ति, थप समय शिक्षण र दुई सिफ्टमा कक्षाहरू सञ्चालनको ब्यवस्था गर्न सकिन्छ ।

  • गणित र विज्ञान शिक्षणमा डिजिटल साधनहरूको प्रभावकारी भूमिका देखिन्छ । इन्टरनेटको सुविधासँगै वेवसाइट र वेवटुल्स्का माध्यमबाट विश्वभरको ज्ञानको पहुँच र विषयवस्तुको अभ्यास गर्न सकिने भएको छ । उदाहरणका लागि गणित विषयको शिक्षणमा जियोजेब्रा, म्याथमेटिका जस्ता वेवटुल्स् र विज्ञान शिक्षणमा फेटसिमुलेशन लगायतका डिजिटल टुुल्स्को प्रयोगले विद्यार्थीको सिकाइप्रति रुचि बढ्ने, सिकाई छिटो र प्रभावकारी हुने गर्दछ ।

गणितका आधारभूत सिपहरूको सिकाइका लागि निरन्तर अभ्यास र पुनराबृत्ति, सूत्रात्मक सिकाइ विधि, निमोनिक विधि, डिकोडिङ्ग विधि, सिकाइ विभेदीकरण, क्षमता समूह शिक्षण, छोटा र स्पष्ट निर्देशनहरू, गणितीय कथाहरू, गीत, खेलहरू, गणित सिपको जीवन र जगतसँगको सम्बन्ध स्थापना, तार्किक क्षमता विकास कार्य, प्रोबिङ्ग प्रश्न, भाषिक समस्याको संख्यात्मक प्रस्तुति लगायतका विधि तथा कार्यबाट गणित सिकाई उपलब्धि बढाउन मद्दत पुग्दछ । यसैगरी निरन्तर परीक्षण, गृहकार्य, परियोजना कार्य, ब्यवहारिक समस्या पूर्ति जस्ता कार्यबाट गणित विषयमा उच्चस्तरको उपलब्धि आउने छ । गणित विषयप्रति रुचि बढाउने उत्प्रेरणा जगाउने क्रियाकलाप प्रयोग गर्नु आवश्यक देखिन्छ । उदाहरणका लागि पारीवारिक जीवनमा प्रयोग हुुने गणितीय सिपमा आधारित समस्याहरूको सम्बन्ध देखाएर, कालिगढी कार्य वा निर्माण कार्य वा बजेटिङ्ग वा नाफा नोक्सान, ब्याज, प्रतिशत आदि ब्यवहारिक सिपसँग सम्बन्धित रहेर समस्या दिंदा विद्यार्थीले गणितको उपयोग थाहा पाउँछ र सिकाइका लागि बढि तत्परता देखाउँछ । यस्तै विज्ञान विषय शिक्षणलाई सान्दर्भिक बनाउनु आवश्यक हुन्छ । मानव सभ्यताको ऐतिहासिक विकासक्रम, दर्शन, प्रविधिको विकासक्रम, विद्यार्थीका दैनिक जीवनसँग सम्बन्ध गाँसेर सिकाउँदा पक्कैपनि सिकाईप्रति उत्प्रेरणा जाग्दछ । त्यसैगरी विद्यार्थीमा समालोचनात्मक सोंचाइ, तार्किक सिप, वातावरणीय चेतना र जिम्मेवारी लगायतका सिप र क्षमता विकास गर्ने क्रियाकलाप विज्ञान शिक्षणमा आवश्यक हुन्छन् । वैज्ञानिक दृष्टिकोणको विकास, यान्त्रिक अन्वेषण र विस्तार, वैज्ञानिकहरूका जीवनी र सफलताका कथाहरूले विद्यार्थीहरूलाई विज्ञान शिक्षणप्रति आकर्षण गर्दछ । वैज्ञानिक साक्षरता अर्थात् विज्ञानप्रविधिले विकास गरेका दृष्टिकोण या यन्त्र आदिको सदुपयोग बुद्धिमतापूर्वक गर्ने नैतिक आचरणका लागि पनि विज्ञान विषयको शिक्षणवस्तु बनाउनुपर्ने देखिन्छ । विज्ञान शिक्षणमा अन्तरविषयक सम्बन्ध महत्वपूर्ण मानिन्छ । त्यसैगरी विज्ञान शिक्षणमा ठोस सामाग्रीसँगको साक्षात्कार बढी उपयोगी मानिन्छ । अर्को महत्वपूर्ण उपाय भनेको परियोजना कार्यमा आधारित शिक्षणसिकाइ हो । यसले विषयवस्तुको ज्ञानका अतिरिक्त विद्यार्थीमा समालोचनात्मक सोंचाइ, सञ्चार सिप, नेतृत्व सिप लगायतका सबलीकरण सिपहरूसमेतको विकास गर्दछ ।

गणित र विज्ञान शिक्षणमा डिजिटल साधनहरूको प्रभावकारी भूमिका देखिन्छ । इन्टरनेटको सुविधासँगै वेवसाइट र वेवटुल्स्का माध्यमबाट विश्वभरको ज्ञानको पहुँच र विषयवस्तुको अभ्यास गर्न सकिने भएको छ । उदाहरणका लागि गणित विषयको शिक्षणमा जियोजेब्रा, म्याथमेटिका जस्ता वेवटुल्स् र विज्ञान शिक्षणमा फेटसिमुलेशन लगायतका डिजिटल टुुल्स्को प्रयोगले विद्यार्थीको सिकाइप्रति रुचि बढ्ने, सिकाई छिटो र प्रभावकारी हुने गर्दछ । चक र टक विधिको शिक्षण परम्पराबाट विद्यार्थीमा सिकाइ उत्प्रेरणा जगाउन सकिंदैन । गुगल सर्च गरेर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इ–लर्निङ्ग पोर्टल, पाठ्यक्रम विकास केन्द्रको वेवसाइट र खान एकेडेमी जस्ता अन्तर्राष्ट्रिय अनलाइन साइटहरूको अध्ययनबाट गणित, विज्ञान लगायत विषयहरूको विस्तारित ज्ञान, सिकाइ क्रियाकलाप र स्रोत सामग्रीको उपयोग गर्न सकेमा शिक्षण प्रभावकारी हुुनुका साथै स्वसिकाइमा रुचि बढ्नेछ । तसर्थ हरेक शिक्षणमा डिजिटल प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो । शिक्षणमा प्रविधिका साथै शिक्षकको प्रत्यक्ष सहायताको ब्लेन्डेड मोडल, फ्लिप्ट लर्निङ्ग मोडल र परियोजना कार्य जस्ता नविनतम सिकाई तरिकाहरू प्रयोग गर्न सक्ने हो भने सिकाइ रुचिकर, दिगो र उच्च उपलब्धिस्तर प्राप्त हुने खालको हुन्छ । नतिजा सुधारका लागि चालिने हस्तक्षेपकारी कार्यहरूको ढाँचा निर्माण गर्ने, आवश्यक जनशक्ति र स्रोतको ब्यवस्थापन गर्ने कार्य सरकारको तर्फबाट हुनुपर्दछ भने कक्षाशिक्षणका नविनतम रणनीतिको उपयोग गर्ने कार्य शिक्षकको हो । विद्यार्थीका सिकाई आवश्यकता र अप्ठ्याराहरू पहिचान गरी सक्षमता समूहका आधारमा ठोस सहयोग पु¥याउनु पर्दछ । नतिजा सुुधारका लागि सरकारको लगानी बृद्धि र शिक्षकको क्षमता विकासका कार्य गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी