© २०२३
मिनी नेपालको रुपमा चिनिने लुम्बिनी प्रदेश आर्थिक, सामाजिक र भौतिक रुपमा नेपालका माथिल्ला प्रदेशहरु मध्येमै पर्छ । हिमालदेखि तराईसम्मको संरचना, प्रशस्त खेतीयोग्य जमिन, यातायातको सुविधा, भारतीय बजारसम्मको सहज पहुँच जस्ता कारणले प्रदेशका नागरिकको जीवनलाई सहज बनाउन र प्रदेशको विकास गर्ने आधार प्राप्त छ । आर्थिक र भौतिक विकासले कर्णाली र गण्डकी प्रदेशलाई पनि सहज बनाएको छ । खिदिम, रिडी, पाल्पा, तौलिहवा, स्वर्गद्वारी जस्ता पुराना शैक्षिक केन्द्रहरु र पूर्वीय शिक्षाको केन्द्र वनारससंगको निकटता अनि लाहुरेहरुको बसाईले गर्दा लुम्बिनी प्रदेशका नागरिकहरु पंचायतकालमै पनि अन्य प्रदेशको तुलनामा बढी शिक्षित मानिन्थे । बुटवल, तौलिहवा, कोइलाबास, नेपालगंज, राजापुर जस्ता पुराना बजारहरुले प्रदेशलाई शताब्दीयता नै आर्थिकरुपमा चलायमान बनाएको पाइन्छ । यिनै आर्थिक र सामाजिक जगमा बनेको लुम्बिनी प्रदेश बनेको पनि ५ वर्ष पुगिसकेको छ ।
लुम्बिनी प्रदेशको पहिलो सरकारले समृद्ध प्रदेश सुखी जनता भन्ने नारा अघि सारेर काम शुरु गरेको थियो । खासगरी सामाजिक विकासका सूचक मानिने शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, उर्जा, सुरक्षित आवासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको कुरा प्रदेश सरकारले बताउने गरेको छ । लुम्बिनी प्रदेशमा विकासलाई लक्ष्यमुखी बनाउनको लागि आ.ब.२०७६÷७७ देखि प्रथम आवधिक योजना पनि लागू गरिएको छ, जुन आउदो आर्थिक वर्षमा अन्त्य हुदैछ । लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाले व्यवस्थित शहरीकरण, यातायात पूर्वाधार, सिंचाइ, खानेपानी, उर्जा र आवास जस्ता आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विस्तार गर्ने जस्ता दिगो विकासका लक्ष्य ६, ७, ९ र ११ लाई आफ्नो मुख्य रणनीतिको रुपमा अगाडी सारेको थियो । देश संघीयतामा गएपछि लुम्बिनी प्रदेशले ३ वटा सरकार पाएको छ र प्रथम योजना पनि अन्तिमतिर पुगेको छ । भर्खरै राष्ट्रिय जनगणना २०७८ का नतिजाहरु पनि सार्वजनिक भएका छन् । सरकारले गरेका बाचा र कार्यक्रमहरुले जनताका उर्जा, खानेपानी र सरसफाई जस्ता आधारभूत आवश्यकतालाई कति सम्बोधन गर्न सके भन्ने कुराको खाका जनगणना प्रतिवेदनले देखाएको छ । यो लेखमा तिनै कुरा खोतल्ने प्रयास गरिएको छ ।
खानेपानी र सरसफाई
वि.सं. २०६८ सालको जनगणना अनुसार नवलपरासी, रूपन्देही, कपिलबस्तु, गुल्मी, बाँके र बर्दियामा ९० प्रतिशतभन्दा बढी घरधुरीमा खानेपानी सुविधा उपलब्ध भएको देखिन्छ । सबैभन्दा कम दाङ्गमा ६८.४ प्रतिशत घरधुरीमा, रूकुममा ७४.३ प्रतिशत र रोल्पामा ७७.८ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको थियो । २०६८ सालमा ४१.९ प्रतिशत परिवारले धारा र ४४.३ प्रतिशतले चापाकल गरि ८८.६ प्रतिशत प्रदेशवासीले खानेपानी प्राप्त गरेका थिए । बाँकी परिवारले इनार, नदी वा पोखरीको पानी पिउने गरेका थिए । खानेपानी तथा ढलनिकास विभागका अनुसार २०७५ असोजसम्म यस प्रदेशका ८९.८३ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी पुगेको थियो । प्रदेश सरकारले खानेपानीलाई महत्वमा राखेर एक घर एक धारा कार्यक्रम ल्याएर २०८१ सम्ममा सबै परिवारमा खानेपानी पु¥याउने घोषणा गरेको थियो । वि.स.. २०७८ को जनगणना अनुसार प्रदेशका ९०.२१ प्रतिशत परिवारले पाईपद्वारा वितरित वा ट्युबवेलको पानी उपयोग गर्न सक्ने भएका छन् । तर, प्रदेशका ६० हजार २१३ परिवारले अहिलेपनि नदि, पोखरी वा असुरक्षित कुवाबाट खानेपानी प्राप्त गरेको देखिन्छ, यस्ता परिवारको संख्या वि.स. २०६८ मा ८६४२६ रहेको थियो । २०७८ मा गुल्मीका ९५ प्रतिशत, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पाका ८९ प्रतिशत परिवारमा धाराबाट वितरित खानेपानीको पहुँच पुगेको छ । प्रदेश राजधानी रहेको दाङका २५६६ परिवारले नदीको पानी पिउने गरेको देखिन्छ । तथ्यांकले पाईपद्वारा वितरित खानेपानीमा ५७ प्रतिशत परिवारको पहुँच देखाएपनि घरमै धारा पुगेका परिवारको संख्या ३४.६ प्रतिशत मात्र छ । यो तथ्यांकले आउदा आवधिक योजनाको लक्ष्य अनुसार आउदा १५ महिनामा प्रदेशका सबै परिवारमा स्वच्छ र सुरक्षित खानेपानी पु¥याउने तथा एक घर एक धारा अभियान सफल हुनेमा विश्वस्त हुन सकिदैन ।
खानेपानीसंगै स्वच्छतालाई समृद्ध समाजको सूचक मानिन्छ । परिवारमा शौचालय प्रयोगको अवस्थाले स्वच्छताको अवस्था दर्शाउँछ । वि.स. २०६८ मा यस प्रदेशका ४५ प्रतिशत परिवारमा शौचालय थिएन । पछिल्लो दशकमा स्वच्छता अभियानमा तीव्रता, खुला दिसामुक्त क्षेत्र बनाउने अभियानले गर्दा लुम्बिनी प्रदेशमा शौचालय प्रयोग गर्ने परिवारको संख्या वृद्धि भएको छ । २०७८ को जनगणना अनुसार प्रदेशका ९४ प्रतिशत परिवारमा आधुनिक वा साधारण मध्ये कुनै एक किसिमको शौचालय सुविधा पुगेको छ, यसलाई सुखद संकेत मान्नुपर्छ । प्रदेशमा शौचालय प्रयोग गर्ने परिवार संख्या बढेको भएपनि दाङका २२ प्रतिशत, बाँकेका ९.५ प्रतिशत, रुकुम पूर्वका ५.८ प्रतिशत, नवलपरासी (पश्चिम) का ४.४ प्रतिशत परिवारमा अहिलेपनि शौचालय छैन । शौचालय सुविधा पुगेका परिवारमध्ये एक तिहाईले साधारण खाल्टे चर्पी प्रयोग गरिरहेका छन्, यस्ता परिवार नवलपरासीमा ५५.८ प्रतिशत, बर्दियामा ४८.२ प्रतिशत, बाँकेमा ४५.२ प्रतिशत, रुकुममा ४२.७ प्रतिशत छन् । घरमा शौचालयको संख्या बढेपनि सार्वजनिक स्थल, सडक, शहर बजारमा शौचालयको कमी छ । यो तथ्यांक हेर्दा व्यवस्थित शौचालयमा प्रदेशवासीको पहुँच अझै कमजोर भएको सहज अनुमान गर्न सकिन्छ ।
बत्तीमा पहुँच
विकास र समृद्धिको प्रमुख सूचक परिवारको विद्युतमा पहुँच पनि हो । रातीमा बत्ति बाल्न मात्र नभएर विद्युतीय सामग्री र संचार सामग्री चलाउन बिद्युत उपलब्ध हुनुपर्छ । २०६८ को जनगणना अनुसार यस प्रदेशका ६६.० प्रतिशत घरपरिवारमा मात्र बिजुली बत्ती पुगेको थियो भने आर्थिक सर्वेक्षण २०७५÷७६ का अनुसार २०७५ सालको फाल्गुनसम्म प्रदेशका ८१.०३% जनतामा बिजुलीको, न्यूनतम सुविधा पुगेको देखिन्छ । २०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशका ९३.६७ प्रतिशत परिवारमा विद्युत पहुँच पुगेको देखिन्छ । बत्ती बाल्नको लागि विद्युत प्रयोग गर्ने परिवार रोल्पा र रुकुममा क्रमश ७२.९ र ८८.२ प्रतिशत मात्र छ भने रुपन्देहीमा ९८ प्रतिशत र गुल्मीमा ९७ प्रतिशत छन् । सोलार प्रयोगकर्ता रोल्पामा २५ प्रतिशत र रुकुममा १०.३ प्रतिशत छ । विजुलीमा पहुँच बढेपछी मट्टीतेल र सोलार बाल्ने परिवारको संख्या घटेको छ । प्रथम आवधिक योजनाको अन्त्यमा प्रदेशका सतप्रतिशत घरमा विजुली पु¥याउने, विद्युतको घरायसी उपयोग खपत बढाउने प्रदेश सरकारको लक्ष्य समयमै पुरा हुने कुरामा आशंका रहेपनि प्रदेशका परिवारमा विद्युतको पहुँच बढ्नुलाई राम्रो भन्नैपर्छ ।
खाना पकाउने दाउरा नै
खाना पकाउने इन्धनको मुख्य स्रोतमा काठ दाउराको बाहुल्यता रहेको छ । २०६८ सालमा लुम्बिनी प्रदेशमा ७१ प्रतिशत घरपरिवारले खाना पकाउन काठ दाउराको प्रयोग गर्दथे, जुन राष्ट्रिय औसत ६४.० प्रतिशत भन्दा बढी थियो । २०७८ मा आइपुग्दा लुम्बिनी प्रदेशमा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवारको संख्या घटेर ५३.६८ प्रतिशत पुगेको छ । अहिलेपनि पाल्पा बाहेक अरु सबै पहाडी जिल्लामा ८६ प्रतिशत भन्दा धेरै परिवारमा खाना पकाउनको लागि दाउराकै प्रयोग हुने गरेको छ । तराईका जिल्लाहरुमा कपिलवस्तु, दाङ र बर्दियाका ५० प्रतिशत भन्दा धेरै परिवारले दाउराको प्रयोग गर्छन् । प्रदेशमै कम परिवारमा दाउरा प्रयोग गर्नेहरु रुपन्देही जिल्लामा छन् । यहाँका २२ प्रतिशत परिवारले मात्र खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ । खाना पकाउन दाउराको प्रयोग अहिलेपनि उच्च रहनुले वन फडानीको दर उच्च रहेको मात्र हैन घर भित्रको वायु प्रदुषणको खतरा पनि धेरै रहेको स्पष्ट संकेत गर्दछ ।
खाना पकाउनको लागि एलपी ग्याँसको प्रयोग गर्ने परिवार पछिल्लो १० वर्षमा ४ गुणाले बढेका छन् । प्रदेशका ४२.२ प्रतिशत परिवारले एलपी ग्याँस प्रयोग गर्दा रुपन्देहीका ७१.७, नवलपरासीका ५६.३ र बाँकेका ५०.८ प्रतिशत परिवारले एलपी ग्याँस प्रयोग गरिरहेका छन् । प्रदेशभरि एलपि ग्याँसको प्रयोग बढ्दो क्रममा छ भने खाना पकाउन बिजुली प्रयोग गर्ने घरपरिवार नगन्य छन् । सरकारका वार्षिक योजना र आवधिक योजनामा गोबरग्याँस प्लान्ट स्थापनाको लागि सहयोग गर्ने र वन संरक्षणमा सघाउने कुराहरु आएपनि बायोग्याँस प्रयोग गर्ने परिवार २.९ प्रतिशतबाट घटेर १.५ प्रतिशत पुगेको छ । यसले बायोग्याँस प्रवर्धन गर्ने सरकारको योजनामा नागरिक अनिच्छुक भएको देखिन्छ । प्रदेशमा १० वर्ष पहिले खाना पकाउन गुईँठाको प्रयोग गर्ने परिवारको संख्या १० प्रतिशत रहेकोमा अहिले २ प्रतिशतमा झर्नुलाई वातावरण र कृषिको लागि सुखद संकेत मान्नुपर्छ. प्रदेशभरी गुइठाको प्रयोग गर्ने परिवारको संख्या घटिरहेको भएपनि रुपन्देहीमा ४.८ प्रतिशत र कपिलवस्तुका ८.२५ प्रतिशत परिवारले अहिलेपनि गुईंठा प्रयोग गरिरहेका छन् । यसले बौद्धस्थलमा वायु प्रदुषण बढाउन थोरै भएपनि भूमिका खेलेको हुनुपर्छ ।
समस्या धेरै छन् ।
खानेपानी, शौचालय, विजुली र खाना पकाउने इन्धन प्रत्येक परिवारका आवश्यकता हुन् र यी सुविधा हुनु र नहुनुले समाजको आर्थिक, सामाजिक र वातावरणिय अवस्थाको वास्तविकता चित्रण गर्छ । खानेपानी प्रदेशका वासिन्दाको मुख्य माग हो । खासगरी पहाडी क्षेत्रमा खानेपानी समस्या बढी छ । सरकार र समुदायको प्रयासमा पहाडी क्षेत्रमा पाईप धारा विस्तार गरिएको भएपनि पानीको दिगो श्रोतको कमि, अविवेकी विकास, प्राकृतिक प्रकोप , जलवायु परिवर्तन जस्ता कारणले जडित खानेपानी योजनाबाट पानि प्राप्त गर्न समेत कठिन भैरहेको छ । तराईमा पानीको सतह घटिरहेको छ । यस्तै अवस्था रहे तराई र पहाड दुवै ठाउँमा दिगो, स्वच्छ र नियमित पानी आपूर्ति गर्न भविस्यमा अझ कठिन हुनेछ । प्रदेशका अधिकांश पालिकाहरु खुला दिसामुक्त घोषणा भैसकेका छन् । घरमा शौचालय भए नभएको हिसाबले यस्तो घोषणा भएको हो । तर चेतनाको कमि, शौचालयको लागि आवस्यक पानी उपलब्धताको कमि जस्ता कारणले घरमा शौचालय भएकाले समेत बाहिर दिसापिशाब गरिरहेका छन्, यो सरसफाई अभियानको लागि ठुलो चुनौती हो ।
प्रदेशमा वनजंगल निरन्तर खुम्चिरहेको छ । प्रदेशको आधा भन्दा बढी परिवार खाना पकाउनको लागि दाउरामै निर्भर रहँदा अहिलेको वनले कतिसम्म चुलो बाल्दिन सक्छ भन्ने सोच्नुपर्ने बेला आइसकेको छ । खाना पकाउँदा दाउरा र गुईंठाको प्रयोग उच्च हँदा महिला र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । खेतमा हाल्नुपर्ने गोबर मल भान्सामा बालेर सिध्याउँदा तराईमा कृषिको लागि ठूलो परिमाणमा रासायनिक मल किन्नुपर्ने बाध्यता छ । प्रदेशका अधिकांश परिवारमा विद्युत सुविधा पुगेको भएपनि सबै ठाउँमा राष्ट्रिय प्रसारण नपुग्नु, पर्याप्त भोल्टेज नहुनु, विद्युत अनियमित हुनु र महसुल महँगो हुनु जस्ता कारणले गर्दा खाना पकाउने दाउरा र ग्याँसको विकल्प विद्युत बन्न सकिरहेको छैन । पशुपालनमा कमी र प्रोत्साहनको कमीले गर्दा कुनै समयमा निकै फस्टाएको गोबरग्याँस प्रयोग अभियान थला परेको छ । विद्युतमा सहज र सरल पहुँच नहँुदा ग्याँस प्रयोगकर्ता बढिरहेका छन् र प्रदेशबाट ठूलो धनराशी विदेश गैरहेको छ ।
खानेपानी, सरसफाई, चुलो र उज्यालो समृद्धिका आधारभूत सूचक हुन् । प्रत्येक परिवारमा यस्ता सुविधाहरु पुग्ने र त्यस्ता सुविधाहरु सबैले निर्वाध प्रयोग गरिरहन पाउने अवस्था निर्माण भएमा मात्र परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्य, संचारमा पहुँच, प्रविधिमा पहुँच जस्ता कुराहरु हासिल हुन सक्छन् । प्रदेश र स्थानीय सरकारले यी सामान्य लाग्ने कुराहरुमा बढी ध्यान केन्द्रित गर्ने र तथ्यांकमा भन्दा पनि व्यवहारमा यस्ता सुविधा प्रयोग गर्न पाउने व्यवस्था मिलाउने हो भने मात्र समृद्ध प्रदेश, सुखी जनताको लक्ष्य हासिल हुन सक्नेछ । @yrkandel@gmail.com
Error fetching popular posts.
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी