बादल पारिको देशमा


news

गर्भमा नौ महिनासम्म खेलेर आमाको पहिलो सन्तानको रुपमा बडो कष्टका साथ म धरतीमा ओर्लिएँ । तर ओर्लेदेखि नै म एक किसिमको छटपटीमा थिएँ । मैले धार्जेले आमाको मुख हेरिरहन पाइनँ । आमाको छातीमा मुख जोडेर मातृस्नेहको न्यानो अघाउन्जेल महसुश गर्न पाइनँ । ओर्लिने बित्तिकै चिसो महशुस भयो । त्यो चिसोले मेरो नाजुक शरीरलाई कोतर्न थाल्यो ।

आमाजस्तै कमजोर थिएँ म । दुबलो पातलो थिएँ । ठयाक्कै आमा जस्तो ! तर रंग भने गोरो । काली आमाको गोरो शिशु भएर म आएको थिएँ ।

ओर्लिने बित्तिकै मलाई उठाए । मेरो टाङ उचालेर हेरे । म छोरो भएर आएकोमा ती खुसी भए । नाभी काटिदिए । म अब स्वतन्त्र अस्तित्व भएँ । आमासँग जोडिएको मन, मुटु र मस्तिष्कको सम्बन्ध छुट्यो । तिनले मलाई मनतातो पानीले नुहाइदिए । न्यानो कपडामा बेरेर आमाको छातीमा टाँसिदिए । आमाको दूधमा मुख जोडिदिए ।

मैले सकी नसकी आमाको दूध चुस्ने कोशिस गरेँ । तर आमाको दूध आएन । मैले अझै कोशिस गरेँ । तर आएन । आमाजस्तै कमजोर थिएँ । सानो आवाजमा ‘चिहाँ चिहाँ’ गर्दै रोएँ । लामो कष्टप्रद यात्राबाट आएको यात्रीजस्तै थाकेँ । र, आमाको न्यानो गर्भ सम्झेर लुपुक्क निदाएँ ।

राम्ररी दूध नआएकोले आमालाई ज्वानो र कुखुराको मासुको झोल र घ्यू हालेको भात खान दिए । साँझदेखि आमाको छातीबाट क्रमशः दूध आउन थाल्यो । आमाले मलाई छातीमा टाँसेर दूध चुसाउने कोशिस गरिन् । आमाको न्यानो स्नेहपूर्ण हातले मेरो मुखलाई दूधमा लगेर छुवाउँथे । भोक त मलाई लागेकै थियो तर दूध तान्न सकिरहेको थिइन । कोशिस गर्थेँ तर मैले चाहे जति दूध मेरो पेटमा पुग्दैनथ्यो ।

मैले खान नसकेपछि आमाको दूध गान्निन थाल्यो । कचौरामा निचोरेर फाल्नु पर्ने भयो ।

त्यसरी फालिएको त्यो, आमाको दूधको धारा थिएन । अमृतको धारा थियो । र, त्यो अमृत फालिँदै थियो । म भने खान सकिरहेको थिइनँ । मलाई बेला बेलामा साह्रै अप्ठ्यारो हुन्थ्यो । सास फर्न गाह्रो भएजस्तो हुन्थ्यो । छाती दुखेजस्तो । अचानक ज्यान ताते जस्तो । अनि उत्नीखेरै सर्वाङ्ग चिसो । त्यस्तो बेला म ‘चिहाँ चिहाँ’ गर्दै रुन्थेँ ।

आमाले मातृत्वले लुछुप्प भिजेको हातले मेरो अनुहार छुन्थिन् । गाला मुसार्थिन । नाजुक मेरा ओठ छुन्थिन् । तप्प तप्प आँसु झार्थिन् । ‘खाऊ बाबु ! खाऊ !’ भन्दै दूध चुसाउने कोशिस गर्थिन् । मैले सकेसम्म दूध तान्ने कोशिस गर्थें । दूधको थोरै बुँदले मेरो घाटी भिजाउँथ्यो । आमालाई शिशु स्याहार र स्तनपानका बारेमा अनुभव थिएन । आमालाई लाग्थ्यो होला–दूध चुसेकै छ । अघाएकै होला ।
बजैले कराईमा आगोको कोइला बालेर ल्याउनुहुन्थ्यो । कचौरामा तोरीको तेल हुन्थ्यो । मलाई न्यानो कपडामा लपेटेर काखमा लिनुहुन्थ्यो । कोइलामा तेल लगाएको दाहिने हात तताउँदै मलाई सेक्नु हुन्थ्यो । म केही राहत महशुस गर्थेँ ।

सेकिसकेपछि मलाई आमाको छेउमा सुताएर बजैले सोध्नु हुन्थ्यो–“बाबुले दूध त खाकै छ नि ?”

आमाले भन्थिन्–“खान त खाएको छ, तर धेरै त खाँदैन त !”

बजैले भन्नुहुन्थ्यो–“एक चोटि खाए पछि धेरै सुत्चन् बाल्खाहरू । तर उठेपिच्छे ख्वाउनु पर्च है दूध ।”

रातभरि आमाले मलाई दूध ख्वाउने कोशिस गरिन् । थाकेर चूर भएको भए पनि मलाई सुम्सुम्याइरहिन् । यसो आँखा लागे पनि झस्केर आँखा खोल्थिन् र मैलाई हेर्थिन् । । ‘बुबु खाऊ मेरो बाबु ! खाऊ !’ भन्दै दूध चुसाउने कोशिस गर्थिन् । भोकले सताइरहेको भए पनि मैले दूध चुस्न सकिरहेको थिइनँ । मेरो घाटीमा केही अड्केजस्तो भइरहेको थियो ।

रात छिप्पिदै गयो । म आमाको छातीमा टाँसिएको थिएँ । म अर्धनिद्रामा थिएँ । अर्धबेहाीमा थिएँ । मानौं म फेरि आमाको गर्भमा पुगेर न्यानो अनुभव गरिरहेको थिएँ । म अनन्त महासागरमा पौडिइरहेको थिएँ ।

ब्युझिएँ । आमाको छातीमा टाँसिएको थिएँ । मेरो मुख आमाको दूधमा थियो । मलाई सास फेर्न गाह्रो भइरहेको थियो । मेरो छाती कसैले कोपरेजस्तो भइरहेको थियो । पीडाले मेरो आँखाबाट आँसु चुहियो । म रुन थालेँ–‘चिहाँ चिहाँ’ !

आमा व्युझिइन् । मलाई भुलाउने कोशिस गरिन् । दूध चुसाउने कोशिस गरिन् । तर सकिनन् । बिहानैसम्म म रोइरहेँ । धरतीमा घामको पहिलो किरणसँगै मेरो पीडा अलि कम भयो । आमाले फेरि दूध चुसाउने कोशिस गरिन् । अलिकति दूधले मेरो घाटी भिज्यो । थकाइ र निद्राले लखतरान पारेको थियो । म आमाको छातीमा टाँसिएर निदाएँ ।

के त्यो मेरो निद्रा थियो ?

त्यसपछिका घटनाहरू त मेरा लागि बिजुली चम्किदा देखिएका दृश्यहरूजस्ता लाग्छन् । घण्टौँको निद्रापछि व्यँुझेर म रुन थालेको थिएँ । मलाई आमाले छातीमा टाँसेर भएभरको मातृत्व खनाइरहेकी थिइन् । बजैले मायाले मुसार्दै तेल लगाइदिनु भएको थियो ।

दिउँसोे कुनै बेला बाबा आइपुगेका थिए काठमाण्डौबाट ।

आफ्नो छेउमा सुतिरहेको मलाई देखाउँदै पीडापूर्ण मुस्कानसहित आमाले बाबालाई भनेकी थिइन् –“ हाम्रो छोरा !”

बाबाले मलाई ध्यान दिएर हेरेका थिए । त्यसै त सामान्य तौलभन्दा कम्ती, दुब्लो र सिकुटे शिशुको रूपमा आएको थिएँ । आमाको दूध चुस्न नसकेर र भित्रभित्रै पीडाले कोपरेर दुई दिनमा नै हड्डीमा छालाले मात्रै बेरिएर जस्तो देखिन थालेको थियो मेरो शरीर । बाबाले मलाई कपडासँगै गुट्मुट्याएर आफ्नो हत्केलामा लिएको थाहा छ । उनले मेरो निधारमा चुमेको थाहा छ ।

साँझसम्ममा घर अर्कै भइसकेको थियो । मेरो रुवाइको ‘चिहाँ चिहाँ’ निरन्तर बढ्न थालेको थियो । अर्धबिहोशीमा पनि म मेरो छाती कसैले कोपरिरहेको महशुस गरिरहेको थिएँ । बाबा बेसरी आत्तिए । मलाई अस्पताल लैजाने तयारी भयो ।

धरतीमा साँझ खस्नै लागेको थियो । पहिले मलाई कुनै डाक्टरकोमा लिएर गए । डाक्टरको परामर्शपछि अस्पतालको इमेर्जेन्सीमा भर्ना गरे । मलाई नर्सहरूले घेरे । डाक्टर आएर हेरे । मेरो अर्धबेहाशी छिप्पिदै थियो ।

मेरा आँखा बन्द थिए । म पीडाको गहिराइमा डुब्दै थिएँ । अचानक मेरो गालामा मन तातो बुँद खस्यो । क्षणभरका लागि मैले कताकता न्यानो महशुस गरेँ । मेरो अनुहारमाथि झुकेर मलाई नै हेरिरहेको बाबाको आँखाबाट खसेको आँसुको थोपा थियो त्यो !

मलाई अस्पतालमा भर्ना गरेपछि आमालाई पनि अस्पतालमै ल्याए । आमा बेडमा पल्टिइन् । रुँदा रुँदा मेरो आवाज बस्दै गएको थियो । मलाई आमाले स्नेहले छोइन् । आमाको स्पर्शले मानौँ म मा जीवन फर्कियो । मैले पिलिक्क आँखा खोलेँ । मैले आमालाई हेरेँ । मैले आमाको आँखाबाट मातृत्वको नदी बगिरहेको देखेँ ।

म चलमलाएँ । म आमाको स्पर्शमा सुत्न चाहन्थेँ । आमाले मलाई छातीमा टाँसिन् । आमालाई हेदौहेर्दै मेरा आँखाहरू लोलाउन थाले । आमाको न्यानो स्पर्शमा मेरा आँखाहरू बन्द हुँदै गए । मलाई निद्राले च्याप्दै थियो कि पीडाले ङ्याक्दै थियो ? छुट्टयाउन सक्ने चेतना हराइसकेको थियो !

म अँध्यारो सुरुङमा थिएँ । मेरा दाँया बाँया देवदूतजस्ता दुई सुन्दर परीहरू थिए । तिनले सर्वाङ्ग सेतो पहिरन लगाएका थिए । तिनका सुन्दर पखेटाहरू थिए । म ती दुई परीहरूका बीचमा सानासाना पैताला चाल्दै हिँडिरहेको थिएँ । म सारा अनिश्चय, डर, अविश्वास, आशा, माया, पीडा, संवेदना सबैबाट मुक्त थिएँ ।

लामो हिँडाइपछि सुरुङ यात्रा सकियो । अचानक आँखै तिर्मिराउने उज्यालोमा निस्कियौँ । सुरुङको निकास पहाडको फेँदमा रहेछ । त्यहाँबाट हामी पहाडको उकालो चढ्न थाल्यौँ । मलाई पृथ्वीको गुरुत्वाकर्षण बलले तानिरहेको थिएन । त्यसैले पहाडको उकालो चढ्नु गाह्रो थिएन । मैले आफ्नो शरीरलाई फूलजस्तो हलुका महशुस गरिरहेको थिएँ ।

त्यो अग्लो न अग्लो पहाड त एकैछिनमा चढिसकेका थियौँ हामीले । हामी त सिमलको भुवाजस्तो बादलै बादलको बीचमा थियौँ । बादलको संसारमा थियौँ ।

परीहरूले मलाई हेरे । तिनको अनुहारमा प्रेमपूर्ण मुस्कान खेल्यो । तिनले मलाई एकजोर सुनौलो पखेटा दिए ।

के त्यो पखेटा तिनले कुनै पुतलीबाट सापट मागेका थिए ?

मेरा हातहरूको ठाउँमा सुनौलो रंगको पखेटा थियो । म उडानका लागि तयार थिएँ ।

धरतीमा ओर्लेर पनि म आमाको छातीमा अघाउन्जेल टाँसिन पाइनँ । बाबाको काँध पनि चढ्न पाइनँ । बाजे बजैको काखमा खेल्न पाइनँ । लिन आइहाले यी दुई जना । तर म एकदिन फेरि फर्किनेछु धर्तीमा । आमाको छातीमा टाँसिनेछु । बाबाको काँध चढ्नेछु । बाजेबजैलाई सताउनेछु । एकदिन म फर्किनेछु ।

अहिले भने उड्नु छ मलाई । पखेटाहरू तयार छन् ।

मैले पखेटा फिर्रफिर्र गरेँ । उडान लिएँ । बादलै बादलको सतह हुँदै म टाढा टाढा हुँदै गएँ । सबैबाट टाढा । आमाबाबा, बाजेबजै, प्रियजन सबैबाट टाढा । दुई दिनको पाहुनाजस्तै भएर झरेको धर्तीबाट टाढा ।

म बादलै बादल उडिरहेँ । मलाई थाहा थियो–मेरो गन्त्व्य !

बादल पारिको देश !

 

अपडेट : 2021-10-24 17:56:56




your-image

Leave a Comment