श्रीमतीलाई लाहुरेको चिठ्ठी


news

लाहुरे जीवन अरूले देख्दा निकै अच्छा देखिन्छ तर घर आउँदा इदमभ्रष्टं उदम्भ्रष्टं दिक्कलाग्दो हुन्छ । मूलाबारीमा झार हल्केको खेतबारीका साँधकिला लथालिङ्ग गोठ कडकुरा भताभुङ्ग । लाहुरबाट चिटिक्क पारेर ल्याएका कपडा पसिनाले र माटाले कट्कटिउन्जेल काम गरेर बल्लतल्ल घरव्यवहार साविक बनाउँदा नबनाउँदै फर्कने बेला आइहाल्छ ।


यो लाहुरेलाई श्रीमतीको मोटोपनको ज्यादा चिन्ता छ । त्यसैले बिहान व्यायामका सूत्र सिकाउन तल्लीन रहँदा श्रीमतीले टेर्दिनन् र ऊ हैरान हुन्छ अनि मलिन मन लिएर आफ्नै लाहुर फर्कन्छ । उसको मनको पीडा चिठ्ठीमा बक्छ । श्रीमतीले श्रीमान्लाई खासै टेर्दैनन् अझ लाहुरेकाले । यहाँ काठमाण्डौँको लाहुरेको कथा छ । काठमाडौँ फर्केर श्रीमतीलाई लेखेको चिठ्ठी यस्तो छ ।


टुल्की...
पूर्णिमासम्म बस्छु भन्ने योजना एकछिनको तनावमा भङ्ग गरी द्वादशीका बिहानै काठमाण्डूतिर लागेँ । मैले सोचेको थिएँ मसित जोरकातोर भएर हिँडेका हराठानका र चिद्यारका उकालाहरू अहिलेको दसैँमा हिँड्दा असहज हुँदा आफ्नो जिउ भद्दा भयो भन्ने अनुभूति पक्कै भएको होला । विगत सम्झँदा तीन महिनाकी छोरीलाई दुई हातमा तेर्सो पारी अड्याएर थाङ्ग्राभोकटाको झोला पछाडि बोकेर असारको अत्याहटलाग्दो गर्मीमा धौलेटाकुराको उकालो साथसाथै पैदल चढ्दा तीन महिनाकी सुत्केरी कसरी हिँड्ली भन्ने पीर मनमनमा थियो । तर पनि खासै दुःख नमानी हिँडेकी थियौ र ठाडा बासबस्न पुगिएको थियो । यी सम्झना र आजको स्थितिसित तुलना गर्दा पक्कै पनि केही सोच्ने अवस्था आएको छ होला र त्यसको समाधानकालागि मनचित्त लागेर त्वं शरणको स्थिति आउँछ होला भन्ने लागेको थियो । त्यसैले चारपाँच दिन बिदा लम्बाउने विचारमा थिएँ । तर द्वादशीका बिहानको क्रियाकलापले म हतास मनस्थितिमा र हतारमा भागेँ ।


बडो उर्वर जीवनकालमा कतिपय अवस्थामा साथ राहत र कतिपय अवस्थामा आहतको लेनदेन भयो होला । सम्झने हो भने मैले दिएका आहतका क्षण पनि थुप्रै छन् । गरे जेमा पनि सफल हुन सकिन्छ भन्ने मेरो सिद्धान्त बेलाबेलामा असफल हुन्थ्यो ।


यो पढ्नुपर्छ र ऊ पढ्नुपर्छ भनेर श्रीमतीसित यति धेरै करकर गर्ने यो दुनिञामा अर्को मान्छे होला कि नहोला । त्यो करकर पनि लगभग डेढ दशकदेखि छोडेको छु । यसले घरमा अलि शान्ति भित्र्याएको जस्तो अनुभूति पनि भएको छ । बच्चाबच्चीसित पनि यस्तै करकर गर्दै रहेँ र अब सो प्रवृत्तिबाट पनि विस्तारै बिदा लिँदैछु । यसबाट उनीहरू पनि पक्कै आनन्दित होलान् ।


हाम्रो परिवार अहिलेको बेलासम्म कसैले राम्रोमा उदाहरण दिनेस्तरको नहोला तर नराम्रोमा उदाहरण दिने अवस्थामा छैन । यो नै खुसीको कुरा हो । सानो उपलब्धिमा खुसी हुन सक्ने प्रवृत्तिले हामीमा ठूलो अहङ्कार नभएजस्तो लाग्छ । सामान्य लवाइखबाइमा सन्तुष्ट हुन जान्नु अरूसित ज्यादा तुलना नगर्नु अरूभन्दा फरक छौँ भन्ने स्वत्वबोधले नै हामीलाई खुसी दिएको छ ।


कुनै अवस्थाले आफ्ना हातमा राज्य नै आओस् तर शरीर स्वस्थ छैन भने त्यो प्राप्तिमा आत्मीय खुसी हुँदैन । फोटो खिच्ने बेलामा चीज पनिर बोलेको अवस्थालाई खुसीको हाँसोमा परिभाषित गरेजस्तै खुसी कसरी जीवनमय वास्तविक खुसी बन्न सक्छ र ।


मेरो पेट दुखाइको समस्याले र ढाडको समस्याले पीडित हुँदा मलाई लाग्थ्यो आजको खुसी मेरो जीवनमा आउला कि नआउला । व्यायाम र योगको साधनाले ती सबै अहिले टाढा भएका छन् ।


नानी गर्भमा छँदा मरहटी गललागेर आच्छुआच्छु हुँदाको एकदम छोटो क्षणमा त्यो जन्मने शिशुलाई बाउ पिराहा गर्भे भन्ने भए भनेर पीर लागेको थियो । बच्चो जन्मने बेथा लाग्दा नजिकैको अस्पताल जाउँ भनेर कति गरेँ । तर मेरो एक्लो करले केही सीप लागेन । कोठामै जन्माउँदा अत्यधिक रक्तस्राव भएर बेहोसहुँदा आमाको टुहुराले फेरि पनि आमाकै टुहुरा छोराछोरी कसरी हुर्काउने होला भनेर पाण्डे भाउजू मगर्नी दिदीसमेत थुप्रैका सामुन्नेमा आँसु बगेका थिए । दैवले बाल्यावस्थामा आमा वियोगमा रुवायो । बैसावस्थामा पत्नी वियोगमा रुवाउने भयो भनेर निराश भएका अवस्थामा खै कसरी आजसम्म सारसौँतो रहेका छौँ ।


गणित पढेकी श्रीमतीसितको संयोग प¥यो भनेर म जति उत्साहित थिएँ त्यत्तिकै खुसी थिएँ खेलाडी श्रीमतीसितको संयोग भयो भनेर । अठिला गठिला हातपाखुरा हिँडडुल गर्न पनि खासै समस्या नहुने राम्रो स्वास्थस्थितिले मैलेजस्तै अल्पायुमा आमा गुमाउने अवस्था छोराछोरीमा छोराछोरीमा आउने छैन भनी मनका एक कुनामा बडो दीर्घजीवि प्रकाश प्रकाशित भएको अनुभूति हुने गर्थ्यो । म खेलमा लगभग शून्य अवस्था रहेको अवस्थामा परिवारमा कम्तीमा एक जना खेलाडी रहेको अवस्थाले गौरवान्वित बनाउँथ्यो । खेलकुँदमा पाएको स्टिलको खण्डे गिलास त्यसैले पनि अरू भाँडाभन्दा प्रिय छ ।


मेरो विवाहको साइतमा आमा नहुनुको पीडाले छटपटिइरहँदा मेरो मुखमा सबैभन्दा पहिले दूध चुस्न लगाउने बूढारे अर्जुने जेठीआँको अनुहार हेरेर पाइला चालेको थिएँ । अर्को दिन दुलही अन्माउँदाकाबखत मलाई सासूआमाले ज्वाइँलाई गोजी खर्च दिने चलनअनुसार जाकेटका गोजीमा खुस्स पैसा राखिदिँदा पनि म थामिन नसकी रोएको थिएँ आफ्नै आमालाई सम्झेर । मेरी बहिनीका श्रीमान्लाई यस्तो अवसर जुरेन नि भन्ने सम्झेर आँसु झरेका थिए । मेरी आमा सधै आँसु बनेर आउने गर्नुहुन्छ र त मेरा आँसु नसिद्धिँदासम्म म आमासितै रहेको हुन्छु । दुर्भाग्यले पाइएको भाग्य सम्झन्छु यसलाई ।


टुल्कीः त्यो द्वादशीका दिन बिहान व्यायाम गर्न सिकाउने सन्दर्भमा जब नानाबेखन्ना बहाना पारेर कहिले लौ चक्कर आयो भनेर बस्ने कहिले छरछिमेकसित कुरा गरेर समय टार्ने गर्दागर्दै पनि मैले उफ्रेर थकाउने प्रयास छाडिनँ । अनि दिसा लाग्यो भनेर भागेर तल झरेको तर दिसापिसाबको कुरा नभई कपडा धुने चाँजोपाँजो गरेको देख्दा मलाई साह्रै दिक्क लाग्यो र हठात् बिदा नलम्बाउने निर्णय गरेँ ।


त्यो मोटो शरीरदेखि बच्चाबच्ची पनि निकै पीडित छन् । श्रीमती नहुनुले श्रीमान्लाई हुने पीडाभन्दा बढ्ता पीडा हुन्छ आमा नहुनुले छोराछोरीलाई । मेरी आमा बित्दा म फलाको हालेर रोएको देखे सुनेर बुबा पनि रुनुभएको थियो । त्यसपछि मेरी आमालाई सम्झेर उहाँ कहिल्यै रुनुभएन । तर म र मेरी बहिनी अझै रुँदै छौँ । अझ कति रुने छौँ । बसेल साहिँलीआँकी दामली मेरी आमा आजसम्म हुनसक्ने सम्भावना थियो नै । आज उहाँ हुनुभएको भए उहाँ कति खुसी हुनुहुँदो हो । हामी सबै सँगै कति खुसी हुँदाहौँ । उपचारका नाममा एक ट्याब्लेट र डाक्टरको मुख देख्न नपाई ज्यान गुमाउने मेरी आमाको नातिले अहिले कतिको ज्यान जोगाउने जिम्मा पाइरहेको छ । त्यसैले त उसले अस्पतालबाट छुट्टी नपाउँदा पनि म झन् खुसी हुन्छु । वैद्यका गला गाँड भने जस्तै यस्तो घरायसी वातावरणले टुल्कीलाई किन छुँदैन भनेर म अचम्म पर्छु ।


अब वास्तवमा छोराछोरीले बुबाआमा चिन्ने बेला आएको छ । कसैले चाँडो चिन्छन् कसैले अलि ढीलो । आफू आमा बाबु भएपछि त सबैले चिन्छन् । त्यो बेलासम्म हाम्रो स्वस्थ उपस्थिति स्वर्गतुल्य हुन्छ । वास्तवमा स्वर्ग नै त्यही हो । हजुरबुबा हजुरआमा छँदैको मावल घर साँच्चै लैनी गाई हो भनेर पाकापुरानाले उसै भनेका होइनन् । त्यो स्वर्ग जोगाउन त्यो स्वर्ग ल्याउन हाम्रो ठूलो जिम्मेवारी छ ।


तर त्यो द्वादशीको बिहानको टुल्कीको व्यवहारले मेरा र ती बच्चाबच्चीका भावी रहरलाग्दा दिनमा हुस्सू लागेको कल्पना गर्दै अलिअलि बाहिर र धेरै भित्र आँसु खसे । भ्यात्तको शरीर बाङ्गो मुख लल्याक्क परेका एउटा हात र एउटा खुट्टा लिएर लौरो टेक्दै हिँडेको तिम्रो अनुहारसितको दृश्य मेराअगाडि झल्झली उभियो । त्यसबेला आजजस्तो दिसा लाग्यो भनेर भाग्ने ताकत कहाँ होला र । त्यसबेला त दिसा लाग्यो भनेर अरूसित अनुनयविनय गरेर शौचालय जानुपर्ने हुन्छ । कतै उच्च रक्तचापले आँखाको ज्योति गुमेको अवस्था कानको शक्ति हराएको अवस्था मुठीका मुठी औषधि खाएर बाँच्नुपर्ने अवस्था कल्पना पनि कहालीलाग्दो हुन्छ । आफूले काम गर्नुकोसाटो आफू नै कसैको काम र बोझ बन्नुपर्दाको स्थिति कति पीडादायी होला ।
अहिलेसम्म भेट्न आउने मान्छेले हाँसेर आहा क्या गजब जस्ता बोली बोल्छन् तर त्योबेला उनीहरूले अनिवार्य मलिन मुख लाएर ओहो कठै उस्तो हेर लौ यस्तै यस्तै शब्दावली बोल्लान् । यात्राको दिनभरि यस्तैयस्तै सोचमा रहेँ । फोनमा यहाँ पुगेँ भन्नेबाहेक केही बोल्न मन लागेन ।


म थाङ्ग्रे मान्छे थाङ्ग्रा कुरा गर्ने मेरो ब्रान्ड वा पहिचानै छ । फोन गरेर पनि यी कुरा गर्न सक्थेँ र अझ सो बिहान पनि यी कुरा गरेर पनि यता आउन सक्थेँ । यति धेरै मेरा कुरा सुन्ने फुर्सत टुल्कीसित कहाँ पाउनु र । फोन गरूँ भने अरू कसैको फोन आए उसैले प्राथमिकता पाउँछ । एकल म्यासेन्जरमा नपठाएर छोराछोरीसमेतको समूहमा पठाउनुको तात्पर्य छोराछोरीलाई मेरो पीडाको साछी राख्नुबाहेक अरू केही छैन ।


मैले जीवनमा धेरै चिठ्ठी लेखेँ । मेरो चिठ्ठी लेखन नौ दश वर्षको उमेरदेखिको हो । दिदीकहाँ गएकाबेला लाहुरे भिनाजुले आफ्नो बिदा लम्बाउन पन्जाबका मालिक जसवन्त रायलाई लेखिएको चिठ्ठीमा बिबिको भि नमस्ते जी लेख्न लगाएको अझै पनि याद छ । गाउँमा लाहुरेनी आमाहरूले लाहुरे बाहरूलाई पठाउने चिठ्ठी पनि थुप्रै लेखेँ । ती चिठ्ठी अरूको अह्रोटमा अरूको स्वादमा लेखिएका चिठ्ठी थिए । आफ्नै स्वादमा लेखिएका चिठ्ठी त १३ वर्षको उमेरमा साथी पीपलारुखे नारायण भारत गएपछि लेख्न थालेको हुँ ।


चिठ्ठीमा हस्सी मजाक घोचपेच काव्यात्मक धेरै किसिमका सन्दर्भ लेखेँ । सामाजिक चासोको सन्दर्भमा बूढार कान्छाबुबाको छोरा नन्दराम पराजुली भाइ काठमाडौँबाट हराउँदा लेखेँ । यसले भाइलाई काठमाडौँ लगेर वेवास्ता गर्नेका लागि दवाव सिर्जना गरेको थियो । तर बैसालु उमेरमा केटीलाई प्रेम प्रस्तावकालागि वा प्रेम प्रस्तावको प्रतिउत्तरमा भने कहिल्यै एक शब्द पनि लेखिनँ । अहिले कुनै राग रिस आदिको सन्दर्भ नभएर वैराग साधनाका हिसाबले यो चिठ्ठी लेख्दैछु ।


हरेक समस्याका समाधान हुन्छन् । समाधान सकारात्मक र नकारात्मक हुन्छन् । अझ खुलेर भन्ने हो भने निर्माणात्मक र ध्वंशात्मक हुन्छन् । घर बिग्रला भत्कला भनेर बेलैमा चखचेवा गरी दुरुस्त राख्ने सकारात्मक समाधान हो भने घरका गारा छानामा वर पीपल हुर्कने बढ्ने बेलासम्म पनि वास्ता नगरी जगैबाट ओदारेर बनाउने बेला आएपछिको समाधान ध्वंशात्मक समाधान हो ।


औषधि अर्ति बुद्धि धेरैजसोलाई मीठो लाग्दैन । यो जान्दाजान्दै पनि प्रयास भने गर्दैछु । पूर्ण समर्पण नभैकन केही सुधार हुँदैन केही सिकिँदैन । बच्चालाई क सिकाउँदा ऊ पूर्ण समर्पित वा पूर्ण रूपले शरणागति भएर सिकाउनेले यो क हो भन्दा उसले पनि हो यो क हो भन्ने ग¥यो भने उसले छिटो सिक्छ । तर उसले यो किन क हो क किन यस्तो हुन्छ यो क नै हो भन्ने आधार र प्रमाण के छ । क त अर्कै पो हुन्छ भन्न थाल्यो भने अधैर्य गुरु रहेछन् भने उसले नसिक्न पनि सक्छ र धैर्य गुरु रहेछन् भने ढीलो सिक्ला । र त्यो ढीलो कहिलेकाहीँ सिकाइ नै औचित्यहीन हुने खालको ढीलो पनि हुनसक्छ । पूर्ण समर्पण भाव भएन भने डाक्टरले विरामीको उपचार कसरी गर्छ र ।


पूर्ण समर्पण नहुने टुल्कीको बानीले पनि स्वास्थ्य कमजोर हुँदै गएको छ । बेलाबेलामा घाँटी बस्ने टाउको दुख्ने यी पूर्व लक्षण शरीरले देखाउन थालेको छ । म आफ्नै सुरले गर्छु अरूले बोलेको मन पर्दैन अरूले भनेपछि गर्न मन लाग्दैन म एक्लै हुँदा गर्छु आदि भाषा पनि त्यही असमर्पित प्रवृत्तिका उदाहरण हुन् । अहिले त देखालो समस्या एउटा मात्रै छ । शरीरको तौल बढी छ । यसले हाँगाबिँगा हाल्न ठिक्क छ । शायद आँकुरा आँकुराएका पो छन् कि भगवान् जानून् । यही एउटा समस्यालाई केन्द्रमा राखेर समाधानका उपाय खोजौँ ।

क खानपिनतर्फ
१ बिहान उठेर मनतातो पानी लगभग एक लिटर जति खाने ।
२ मूला बन्दा काँक्रा फर्सी लौका आदि काँचै सलादका रूपमा खाने ।
३ बन्दा उसिनेर झोलसमेत खाने
४ चिया नखाने । चिनीविनाको हट लेमन अर्थात् कागती पानी खाने ।
५ खाना खानासाथ नसुत्ने ।

ख व्यायामतर्फ
१ चार बजेतिर उठेर मनतातो पानी खाई १ घन्टा जति सिकाइएअनुसार उफ्रने ।
२ अनि १ घन्टा अन्य व्यायाम गर्ने ।
अठार अध्याय गीतामा ७०० श्लोकमध्ये श्रीकृष्णले अर्जुनलाई अर्ति उपदेश र विभिन्न कुरा सम्झाउन ५७४ श्लोक बोलेका छन् ।

र अन्त्यमा
इति ते ज्ञानमाख्यातंगुह्याद्गुह्यतरं मया । विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ।।६३।। अध्याय १८
यो मुख्यभन्दापनि मुख्य ज्ञान तिमीलाई मैले बताएँ । अब राम्ररी सोचविचार गरी जे इच्छा लाग्छ त्यही गर । भनेर सबै जिम्मा अर्जुनलाई दिएका छन् ।


श्रीकृष्ण भगवान् त यो गर्नैपर्छ भनेर भन्न सक्तैनन् भने म तिम्रो टुल्केले कसरी सकुँला । लौ टुल्की जे इच्छा छ त्यही गर । हिँजोसम्म त रिस मत्थर नहुँदा जे स्वाद्लाग्छ त्यै गर् भन्न मन थियो । तर आज अलि रिस मरेछ र गर मा र को खुट्टो काटिनँ ।


उही तिम्रो भलो चिताउने
टुल्के कान्छो
बुटवल

अपडेट : 2021-10-23 16:07:46




your-image

Leave a Comment