आश्विन ७ २०७८   |  2021 Sep 23    


खस्कदै वातावरणीय नैतिकता


news

मेलम्चीमा बाढीको वितण्डापछि नदि र बजारको अवस्था टेलिभिजनमा धेरैले हेर्न पाइयो । टेलिभिजनमा देखाइएको एक दृश्यमा एकजना स्थानीय वासिन्दाले बाढी पसेको एक ठाउँ देखाउँदै भनिरहेका थिए “उ त्यहाँ हामीले लाश जलाउँथ्यौं.“ ती मानिसले देखाएको ठाउँदेखि धेरै अगाडीसम्म बाढीले बिथोलेको ठूलो बजार थियो । उनकै भनाईमा विगतमा लाश जलाउने ठाउँ अर्थात नदि किनारमा ठूलो बजार बसिसकेको थियो । नदीलाई खुम्चाएर बजार बनाएकोले मेलम्चीमा बढी क्षति भएको जो कोहिले पनि सहजै अनुमान लगाउन सक्छ । समस्या हेर्न मेलम्ची नै पुगीरहनु भने पर्दैन । अलिकता बढी पानी पर्नासाथ सैनामैना, बुटवल, तिलोत्तमा, भैरहवा, बर्दघाट र नेपालगंजका बजारहरु डुबानमा परिहाल्छन् । केहि दशक अघिसम्म पानी निकास गर्ने कुलो र घोलाहरु, छेउँछाउँका नदीहरु मानव अतिक्रमणमा परेर नासिएका, खुम्चिएकाले वस्तीहरुमा डुवान समस्या बढी देखिन थालेको छ । वातावरणमा खलल पु¥याउन हुँदैन भन्ने हाम्रो पुरानो वातावरणीय नैतिकतामा ह्रास आएकोले यस्ता समस्याहरु बढिरहेका छन् ।


मानिसलाई प्राकृतिक श्रोत संरक्षणप्रति उत्तरदायी बनाउँदै श्रोतको दिगो उपयोग गर्नकालागि आदीमकालदेखि नै समाजले अपनाउँदै आएको व्यवहार नै वातावरणीय नैतिकता हो । वातावरणमा कुनै किसिमले नोक्सानी पुगेमा त्यसको असरभागी मानिस नै हुनुपर्छ, त्यसैले वातावरणमा क्षति पु¥याउनु हुँदैन भन्ने कुरा मानिसहरुले आफ्नो उत्पत्तिकालदेखि नै महसुस गर्दै आएका छन् । वातावरणीय नैतिकता हरेक धर्मको मूल मानिन्छ ।


ऋग्वेदको एउटा ऋचामा भनिएको छ “ आकाश बुबाजस्तै र पृथ्वी आमाजस्तो हुन् । र आकाश आफ्ना छोराजस्तै हुन् । यी तिन मिलेर बनेको ब्रह्माण्ड एउटा परिवारजस्तै हो र ती तीनमध्ये कुनै एकलाई हुने कुनै पनि किसिमको क्षतिले ब्रह्माण्डलाई सन्तुलनमा राख्दैन“ । वैदिक संस्कृति र वैदिक धर्मशास्त्रले पृथ्वीको इकोसिस्टम र आफ्नो सन्तुलन कायम गर्नुपर्ने आवश्यकताको बारेमा स्पष्ट अवधारणा प्रस्तुत गरेको पाइन्छ । ऋग्वेदकै अर्को ऋचामा भनिएको छ “ यदि तिमि हजारौंैं वर्ष जीवनको फलहरु र खुशीको आनन्द लिन चाहन्छौ भने रुख रोप .“ ऋग्वेदको धेरै ठाउमा नदि किनाराको संरक्षण र वृक्षारोपणको आवस्यकता उल्लेख गर्दै रुख र नदि किनारा विनाश गर्दा मानिसहरुले अकल्पनीय क्षति बेहोर्नुपर्ने उल्लेख गरेको पाइन्छ । अथर्ववेदमा वायु, जल र जमिनको महत्व दर्शाउदै यी तिन तत्वमा क्षति पुग्दा विस्वले भोग्नुपर्ने समस्याको बारेमा मानव जातीलाई सचेत बनाईएको छ ।. उपनिषद्हरुमा मानव र अन्य सजिवहरुको सन्तुलन राख्ने कुरालाई महत्व दिइएको छ । तैत्तरिय उपनिषद्मा खोला नदि, तालतलैयामा प्रदुषण नगर्नको लागि नैतिक बन्धनहरुको निर्धारण गरिएको छ । हिन्दु धर्मशास्त्रहरु मध्ये कान्छो मानिने पुराणमा जीवजन्तु र वनस्पति संरक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ । खानको लागि चरा मार्न नहुने( नरसिंह पुराण ), जनावर लगायत सृष्टिका अन्य सिर्जनालाई हानि नगर्दा भगवान विष्णु खुशी हुने (विष्णु पुराण), घर अगाडी तुलसीको विरुवा भएमा अकाल मृत्यु नहुने ( पदम पुराण, स्कन्ध पुराण ), जसले जीवनमा एकएकवटा बर पिपल र नीम, दुई दुईवटा अनार र सुन्तला, पाँचवटा आँप र दशवटा फूलका विरुवाहरु रोपेमा कहिल्यै नर्क जानु नपर्ने (बराह पुराण) जस्ता नैतिक बन्धन उल्लेख हुनुले वातावरणीय नैतिकतालाई बलियो बनाउन खोजेको पाइन्छ । हिन्दु धर्ममा रहेका यस्ता वातावरणीय नैतिकताका कुराहरु नेपाली सस्कृतिका अभिन्न अंगको रुपमा मानिसहरुले अवलम्बन गर्दै आएका छन् ।


बौद्ध दर्शनलाई प्रकृति केन्द्रित दर्शन मानिन्छ । अहिंसा यस दर्शनको सार हो । बुद्धले जीवजन्तुको हत्या नगर्नुलाई मात्र अहिंसा भनेका छैनन् । उनले मानिसहरुलाई यस जगतमा रहेका सम्पूर्ण जीवजन्तु र वनस्पतिको महत्व भएकोले सकेसम्म तिनीहरुमा कम क्षति पु¥याई आफ्ना कामहरु गर्नुपर्ने, जीवजन्तु र वनस्पतिको वृद्धि विकासमा असर पुग्ने काम कुनैपनि अनुयायीले गर्न नहुने, आवस्यकता भन्दा बढी श्रोत साधन थुपार्न नहुने कुरालाई जोड दिएका छन् । जसरि मौरीले फूललाई हानि नपुराई फूलको रस संकलन गर्छ र पराग सेचानामा मद्धत गर्छ त्यसैगरी मानिसहरुले प्राकृतिक श्रोतको उपयोग गर्नुपर्ने (धम्मपद), रुख हुर्काउँदा, इनार र पुल बनाउँदा पुण्य प्राप्त हुने ( वनारोपा सुत्त), जीवजन्तु र वनस्पतिको संरक्षण गर्न राजाले मुख्य भूमिका खेल्नुपर्ने (कुटदन्त सुत्त) जस्ता कुरालाई बुद्धले जोड दिएका छन् । खासगरी विनय पिटकमा वातावरणीय नैतिकताका धेरै कुराहरु छन् भने विभिन्न जातक कथाहरुमा पनि दृष्टान्तहरु पढ्न पाइन्छ । बुद्धका अष्टमार्ग र पंचशीलका सिद्धान्तहरुको आधारमा बौद्ध समाजमा वातावरणीय नैतिकताको उच्च प्रदर्शन भएको पाइन्छ । हिन्दु र बौद्ध धर्म दर्शनमा भएका यस्ता वातावरणीय सदाचार र नैतिकतालाई समाजले वातावरणिय कानून भन्दा पनि संस्कृतिको अभिन्न अंगको रुपमा स्वीकार गरेकोले स्वस्फुर्त रुपमा वातावरण जोगाउन लाग्ने गरेको देखिन्छ ।


मानिसहरुले आधुनिकताको नाममा परम्परागत सस्कृति र परम्परालाई त्याग्दै र मिच्दै जान थालेपछि वातावरणीय नैतिकतामा पनि प्रत्यक्ष ह्रास आइरहेको छ । पानीका श्रोतमा फोहर फाल्दा अनिष्ट हुन्छ भन्ने कुरालाई वेवास्ता गर्दै पानीका श्रोतमै फोहरमैला फाल्ने, ढल मिसाउने काम निर्धक्क भैरहेको छ । नदि थुन्नु हँुदैन, नदि किनार मास्नु हुँदैन र नदि, जलाशय छेउँछाउँका रुख विरुवाहरु काट्न हुन्न भन्ने परम्परागत मान्यतालाई लत्याउँदै जलाधार क्षेत्रमा अतिक्रमण र वन विनाश, नदीको वहाव मार्ग परिवर्तन, नदि किनारा अतिक्रमण गरि भौतिक संरचना निर्माणजस्ता कामहरु अनियन्त्रित रुपमा भैरहेका छन् । पानीका मूलहरु सुक्ने भएकोले त्यस्तो क्षेत्रमा निर्माण कार्य गर्न नहुने, रुख काट्न नहुने जस्ता कुराहरु अहिले सडक र अन्य विकास निर्माणका कामहरु गर्ने कसैलाई पनि सम्झिने फुर्सद छैन । यस्ता कार्यले बाढी, पहिरो, खानेपानीको संकट जस्ता समस्याहरु वर्षेनी बढिरहेका छन् ।


बटुवालाई शितलता मिलोस, हरियाली रहोस भनेर बाटो छेउँछाउँ रुख रोप्नुपर्छ भन्ने चेत हजारौ वर्ष अघिदेखि हाम्रो पुर्खामा थियो. त्यसैले उनीहरुले बाटो किनारामा रुख रोप्ने, वर् पिपल चौपारी बनाउने, बगैचा र धार्मिक आश्रमहरु बनाउने गर्थे । वर्तमान समयमा पुर्खाहरुले हुर्काएका तिनै रुख र चौपारिहरु मास्न कसैलाई पनि हिच्किचाहट छैन । बाटो बनाउने, घर बनाउने, विद्युत लाईन विस्तार गर्ने नाममा सडक किनारको हरियाली र रुखहरु नासिदै छन् । पुर्खाले राखेका गौचरण र बगैचाहरु कि व्यक्तिगत अतिक्रमणमा परेका छन्, कि त सामुदायिक भवन र विद्यालय वा अन्य त्यस्तै संरचना बनाउने बहानामा मासिएका छन् । यसले गर्दा स्वच्छ वायु र हरियालीको कमि महसुस भैरहेको छ । शहरका बित्ते घडेरीमा रुख रोप्ने ठाउँ हुने कुरै भएन , त्यसैले पिपलको पुजा गर्न टाढाको गाउँमा जाने र छतमा गमलामा तुलसी रोपेर सास्कृतिक औपचारिकता पुरा गर्ने काम भैरहेको छ ।


पछिल्लो समयमा मानव–वन्यजन्तु द्वन्द बढिरहेका छन् । यो हुनुको मुख्य कारण वन्यजन्तुको आहार–विहार क्षेत्रमा मानिसको हस्तक्षेप बढ्नु पनि हो । वन विनासले गर्दा वन क्षेत्रहरु पातलिदै र टुक्रिदै गएकोले वन्यजन्तु समस्यामा परेका छन् । हिजोका परम्परागत घरहरुमा चराचुरुङ्खीले सजिलै बास पाउथे, तर आधुनिक घरमा त्यो अवसर नपाउदा भँगेरा जस्ता चराहरु संकटमा परेका छन् । जीवजन्तु मार्नु हुँदैन भन्ने अहिंसाको मन्त्रलाई लत्याउँदै वन्यजन्तुको चोरि शिकार गर्ने, करेन्ट लगाएर र विष प्रयोग गरेर जीवजन्तुहरु मार्ने प्रवृत्तिले गर्दा हाम्रा मौलिक मान्यतालाई नै गिज्याईरहेका छन् । हरियालीको कमि, तारहरुको जालो, विकिरणजस्ता कारणले चरा र किराहरुमा असर परिरहेको छ । यस्ता सबै कार्यले हाम्रो वातावरणीय नैतिकताको अवस्था प्रष्ट देखाउँछ ।


प्राकृतिक श्रोत संरक्षण र व्यवस्थापनमा राज्यका सबैभन्दा बढी भूमिका रहन्छ । यसैले राज्यका नीति कार्यक्रम र व्यवहारमा उच्च वातावरणीय नैतिकता हुनुपर्छ । राज्य सम्बन्धि धार्मिक दर्शन र नेपालको संविधानको धारा ५१ (छ) मा राज्यका नीतिहरुअन्तर्गत राज्यकालागि वातावरणीय नैतिकताका कुराहरु उल्लेख गरिएको छ । राम शाहको थिति, पृथ्वीनारायण शाहको दिव्योपदेश, १८८५ को जंगल र सिमाना सम्बन्धि सवाल, उजिरसिह थापाको बन्दोबस्ती, मुलुकी फौजदारी संहिता २०७४ लगायतका व्यवस्था राज्यलाई वातावरणीय रुपमा नैतिक बनाउनको लागि गरिएको छ । नेपालका सबै किसिमका प्राकृतिक श्रोत वातावरणीय श्रोत संरक्षण र दिगो उपयोगका सम्बन्धि कानून र नीतिहरुमा पनि राज्यले कुराहरुलाई महत्व दिएको देखिन्छ । तर व्यवहारिक रुपमा भने राज्यले यस्ता नैतिक बन्धनलाई तोड्दै गएको पाइन्छ । धार्मिक र वातावरणीय महत्वलाई असर पुग्ने गरि नदि फर्काउने, तालहरुलाई पुर्ने वा पुर्न सहमति दिने, व्यवसायिक प्रयोजनकालागि व्यक्ति र समुहलाई वनजंगल, नदि, धार्मिक क्षेत्र उपयोग गर्न दिने, समुदायले संरक्षण गरिरहेका धार्मिक क्षेत्रको जग्गा, गौचरणलाई बेच्ने, वातावरणीय असर पुग्ने गरि गरिएका अतिक्रमणलाई राजनैतिक लाभ हानीको रुपबाट हेरेर सहयोग वा विरोध गर्ने, नदि वा खानी दोहनमा सहयोग गर्नेजस्ता कार्यले राज्यको वातावरणिय नैतिकता खस्कदै गएको स्पष्ट देखिन्छ ।


वातावरण संरक्षण र प्राकृतिक श्रोतको उपयोगको सन्दर्भमा थुप्रै कानूनहरु कार्यान्वयनमा छन् । जति कानूनहरु बनेपनि वातावरणिय विनाश घट्नुको साटो बढिरहेको छ । मानिसहरुले प्रकृति सम्बन्धि परम्परागत र सास्कृतिक मुल्य मान्यता र अभ्यासहरू पालना नगर्ने र वातावरणप्रति जिम्मेवार नहुने हो भने प्रकृतिलाई जोगाउन र वातावरण सन्तुलन गर्न कदापि सकिँदैन । यी कार्यहरु गर्नको लागि प्रत्येक व्यक्ति, समुदाय र राज्यले उच्च वातावरणीय नैतिकता प्रदर्शन गर्नैपर्छ ।

अपडेट : 2021-07-09 10:34:50




your-image

Leave a Comment