श्रावण ८ २०७८   |  2021 Jul 23    


गोठाले जीवन र भ्रष्टाचार


news

पुरानू जमानामा प्रत्येक घरमा गाई गोरु पाल्ने चलन थियो । गोरु नपाल्नेले पनि गाई पाल्थे । लिपपोतकालागि गोबर, गोठको शोभा, घरको लच्छिन भनेर । गाई बाख्रा चरुवा हुन्थे । भैँसी बँधुवा हुन्थे ।


करिब बीस कुरिया भएको हाम्रो गाउँमा पचास साठीगाई गोरु र त्यत्तिकै सङ्ख्यामा बाख्रा थिए । एउटै चरनमा चर्ने यी गाईहरू पनि सामूहिक जीवनमा अभ्यस्त थिए । एक घरका मात्र छुट्टै चर्न चराउन खोज्दा खुसी मान्दैनथे ।

गाउँका पाको गोठालाले गाई फुकाएपछि अरूले पनि साथसाथै फुकाएर गाई वन लैजाने चलन थियो । कुनै कार्यालयको खोल्ने बन्द गर्ने निश्चित समय भएजस्तो गार्ई फुकाउने र बाँध्ने समय पनि निश्चित हुन्थ्यो । चरनमा रहेका गाई समय भएपछि आफै घर फर्कनका लागि सल्बलाउँथे । समयमै समूहमा गाई फुकाउन पाइएन, ढिला भयो भने गाईले नै पाइलो सुँघ्दै हाँच भेटाउन पुग्थे । यसरी खोजी भेटाउनुलाई पाइलो खेदेको भनिन्थ्यो ।

बथानमा गाई बाख्रा मिसाएपछि पाका गोठालाको अह्रन खटनमा सबै गोठाला खटिनु पथ्र्यो । अब तीगाई बाख्रा सकुशल घर लैजानु सबैको साझा जिम्मेवारी हुन्थ्यो । कुनै गाई बाख्राले कसैको खेतीपाती खाए वा नासे भने कस्का गाई बाख्राले नास्यो भन्नुभन्दा कस्को जिम्माको क्षेत्रमा नास्यो भन्ने कुराले बढ्ता अर्थ राख्थ्यो । सामूहिक चरिचरनको संस्कार बुझेका खेती नासिएका खेतीवालाले आफ्नो खेती नोक्सान भएको ओरन लिएर गोठाला नाइकेसित जान्थे । यसरी सगोलमा चराउँदा वन्यजन्तुको आक्रमणको डर पनि कम हुन्थ्यो ।

हिउँदको जौ गहुँ पाक्नै लागेका बेलामा खेतमा कुतलीकोसा खोजेर खानुको मज्जा गोठाले जीवनको एक रमाइलो पक्ष हो । कापो अर्थात् अमिली झारको फूल सोर्केर जम्मा पारी नुनखुर्सानीहाली साँधेर खानुको मज्जापनिअर्कै हुन्थ्यो । सुँगुरे अर्थात् थकाइलो काँढाको जरा लौराका सहायता खनेर धोइ पखाली गरेर खाने, यसैका ढाँकुर अर्थात् डुकु लोक्त्याएर खानुको मज्जा बेग्लै हुन्थ्यो ।

याम अनुसारका वनेली फलफूलमा गोठालाकै राज हुन्थ्यो । तिँजु, च्यूरी, खनियो त नास्ता नै हुन्थे । केही गोठालाले गाई बाख्रा हेरेर केहीलाई फलफूल टिप्न पठाउने र ल्याएपछि सबैले बाँडी खाने गरिन्थ्यो । समूह सहभागिताम ामारिएका माछा बाँडेर घर लैजाने जति भएनन् भने झिँजापात खर बटुलेर आगो बाली पुर्सुङ लगाएर पोली खाने काम हुन्थ्यो । निकै रमाइलो हुन्थ्यो ।

असार साउनमा विद्यालय बिदा हुने हुनाले त्यो बेला स्कूले केटाकेटी गोठालामा रूपान्तरित हुन्थ्यौँ । तिँजु, काफल, ऐँसेलु जस्ता फलफूल सिद्धिएपछि आँपको पालो आउँथ्यो । वनमा पनि आँपका बोट हुन्थे । कच्करो देखि पाकेका आँप टिपेर बाँडी चुँडी खाइन्थ्यो । त्यो बेला आँप बेच्ने चलन थिएन । जगतेका पाटाको बगैँचामा खाइ नसक्नु आँप फल्थे । जेठको अन्त्यसम्म भारीका भारी काँचा आँप अमचुर बनाउनका लागि तिनै बगैँचाबाट लगिन्थे । त्यो बेलामा पनि गोठाला र स्कूले केटाकेटीले नुन खुर्सानीसित ती काँचाआँप दाँत कुँडिने गरी खान्थे । खाइयो ।

असारको मध्यतिर आँप फाट्टफुट्ट पाक्न थाल्थे । अनि गोठालाले आस्कोटका गोजीमा चक्कु राख्ने काम अनिवार्य जस्तो गर्थे । सिक्रीसितको चक्कु आस्कोटको माथिल्लो गोजीमा राख्नुको शान छुट्टै हुन्थ्यो । यो सौभाग्य कताकतिलाई मात्र जुथ्र्यो । आँपको चोपले आस्कोट कटकटिएर दह्रो भएको हुन्थ्यो । यसमा कुनै मन दुखाइ हुन्नथ्यो । यो पनि शायद पौरखीको शान मानिन्थ्यो ।

समूह मिलेर आँप टिपे बटुलेपछि गाई बाख्रालाई नजरमा राखेर आँप खान बसिन्थ्यो । आँपको कोइला (कोया) को दुई पाखालाई गहिरी भनिन्थ्यो । यी दुई पाखा काटेर छोडिने भागलाई डाँडी भनिन्थ्यो । दुई जना मिलेर खान लागिएको भए एउटा गहिरी र एउटा डाँडीखाँदा बराबरी हुन्थ्यो । तीनजना मिलेर सँगै खान लागेको भए दुई जनालाई एकएक गहिरी र एक जनालाई दुईवटा डाँडी गर्ने र पालैपालो सबैले डाँडी खाने गर्दा तीन पटकमा सबैलाई बराबर हुन्थ्यो । चार जना भएमा दुई जनालाई गहिरी र दुई जनालाई डाँडी गरी दोस्रो पटकमा नै सबैलाई बराबरी हुन्थ्यो । पाँचजना भएमा डाँडी गहिरी र कोइलो चुस्ने क्रम घुमाइन्थो । पाँच दाना खाइसक्दा सबैलाई बराबरी हुन्थ्यो ।

आँप काट्ने व्यक्ति अलि कैफती भए गहिरी भनेर डाँडीतिरबाट काट्ने, चक्कुको धार यताउता गरेर कम बेसी गराउने गर्थे । यस्ता कुरामा कहिलेकाहीँ झगडा पनि हुन्थ्यो ।

फाँटमा कुनै खेतीबाली नभएको अवस्थामा गोठाला निकै फुर्सतिला हुन्थे । यस्तो बेलामा विभिन्न खेल खेल्ने, पाका गोठालासितका जीवनका अनुभूति तथा अनुभव सुन्ने अवसर मिल्थ्यो । नाम्ला दाम्ला बाट्ने, सिलक शास्तर सुन्ने, लेख्ने र याद गर्ने जस्ता जीवनोपयोगी सीप सिक्ने काम हुन्थ्यो ।

यसरी फाँट खाली भएकाबेलामा अन्य गाउँका गाईगोरु पनि फाँटमा आउँथे । भिन्नभिन्न गाउँका गाईगोरु भेट हुँदा विशेष गरी गोरुहरू जुध्थे । गोरु जुधेको हेर्न खुब रमाइलो हुन्थ्यो । भिन्नभिन्न गाउँका जिद्दा जिद्दा गोरु जुधाउँदा कसैले जित्न सकेका गोरुलाई फाँटको राजा घोषणा गरिन्थ्यो ।

फुर्सतिलो समयमा कोही खोलामा दुवालो थुन्ने तरखरमा लाग्थे । कसैले हत्केला खेलेर माछा मार्थे । कसैले माछा भएका रह पहिल्याएर बल्छी खेलेर माछा मार्थे । कोही गोरुझार बटुलेर गोरु जुधाइ खेलेर रमाइलो गर्थे । कसैले छ्यूँकी झार खोजेर मिचेर नाकमा हाली हाच्छुँ निकालेर रमाउँथे ।

वैशाख जेठमा बाढी आउँदा खोला खोल्सामा पटुवाकालागि रहमा गाडिएका फोर्सा, चिप्लेका सिठा खोलाले बगाएर ल्याई खोला किनारमा फालिएका हुन्थे । ती सिठा खोजेर पटुवा निकाली सानातिना डोरी बाट्ने, बाख्राका लागि दाम्ला बाट्ने सीप सिकिन्थ्यो ।

वनबाट आउँदा सानोतिनो दाउराको बिटो, सानोतिनो सालका पातको बेरी ल्याउनुलाई गोठालाको लच्छिन मानिन्थ्यो । “दिनभरि गोठाला दाउरो न पात, रात प¥यो गोठाला पुर्पुरोमा हात” भन्ने उखानले पनि दाउरा पात गोठालाको लच्छिन हो भन्ने कुरामा थप बल दिन्छ । “वनभँडार घर ओडार” भन्थे बूढा पुरानाले । वनलाई दिएको उच्च सम्मान !

गाई बाख्रा अघाएर घारिएका बेला गोठालाहरू विभिन्न खेल खेलेर रमाउँथे । लाहारी बियो, चारी(गट्टा), धुलेबाजी, खग्रेटो, कपर्दी, काइँखुट्टी जस्ता खेल खेलिन्थ्यो । लाहारी बियो अर्थात् डन्डीबियो खास जाडो मौसममा बढी खेलिन्थ्यो । यी खेलहरूले अडकल गर्न, ठम्याउन, प्रतिवाद गर्न, समर्थन गर्न, अनुशासनमा रहन, अनुशासनमा नरहँदा दण्ड भोग्नुपर्ने जस्ता थुप्रै व्यावहारिक सीप सिकाउँथे ।

एकल्टुवा घरवालाले गाई गोरुको सङ्ख्या हेरी वार्षिक रूपमा रु १५ देखि ३० सम्म दिएर गाई बाख्रा हेराउँथे । यसरी गाई बाख्रा हेरिदिने गोठालालाई विशेष चाड पर्वमा खाना खान दिने, कहिलेकाहीँ नास्ता खान दिने गरिन्थ्यो । यसलाई गोठालाले आफ्नो ठूलो मर्यादा भएको रूपमा लिन्थे ।

कतिपय लाहुरे घरवालाले लाहुरे आउँदा अधुराना वा नयाँ लुगाफाटो दिन्थे । यस्ता कुराले गोठालालाई निकै खुसी तुल्याउँथ्यो ।

गोठाले बुद्धि, गोठालो भनेर कतिपयले रूखो बोली गरे पनि सहजीवनको मानव व्यवहार सिक्न, विभिन्न पशु व्यवहार बुझ्न गोठाले जीवनले निकै मद्दत गरेको थियो । यस्तो रमाइलो भोगाइमा केही पछुताका ठेसले भने कहिलेकाहीँ चित्त भरङ्ग पार्छ । अमिलो पनि पसीनसकेका करवलका फल सोरकेर खाने, तिँजुका बत्तिला थिँचेर भित्रका सेता बिजुलाभाती भन्दै खाएर कति फलफूल नाश गरियो कति !

सामूहिक रूपमा बाँडीखाने भनेर बटुलेको खाद्य सामग्री आफूले धेरै खान खोजियो कि ?

आफूभन्दा कमजोरलाई अलि रूखो हात, रूखो बोली बोलियो कि ?

समान खालको गल्तीमा आफ्ना गाई गोरुलाई भन्दा अरूका गाई गोरुलाई अलि दह्रो गरी पिटियो कि ?

त्यो अलि साँगुरो बौद्धिकअवस्थाका गोठाले भ्रष्टाचार यस्तै यस्तै हुन्थे ।

 

अपडेट : 2021-06-18 07:19:12




your-image

Leave a Comment