आषाढ ७ २०७८   |  2021 Jun 21    


तिलोत्तमामा २ सय ५० बस अट्ने प्रादेशिक बसपार्क


news

संघीय सरकार र प्रदेश सरकारको सह–लगानीमा रुपन्देहीको तिलोत्तममा बस टर्मिनल निर्माण हुने पक्कापक्की भएको छ । प्रादेशिक बस टर्मिनलको लागि संघीय सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण हुने पक्का भएको हो ।

नगरपालिकाकाको वडा नं. १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारले १ करोड ६६ लाख बजेट छुट्टाएको छ ।

अत्याधुनिक सुविधासहितको बन्ने बस टर्मिनलका लागि आन्तरिक स्रोतले मात्रै नपुग्ने भएकाले संघीय र प्रदेश सरकारको सह–लगानीमा निर्माण प्रस्ताव गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

प्रदेशस्तरीय बसपार्कको लागि नगरपालिकाले प्रस्ताव गरेअनुरूप संघीय सरकारले ७० प्रतिशत र लुम्बिनी प्रदेश सरकारले ३० प्रतिशत लगानी साझेदारी रहनेछ ।

नयाँ बजेटमा संघीय सरकारको अर्थ मन्त्रालयबाट विनियोजन भएको बजेट लुम्बिनी प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा आएको नगरप्रमुख घिमिरेले बताए ।

१८ विगाहा क्षेत्रफलमा टर्मिनलस्थल
तिनाउ नदिले उकास बनाएको १८ विगाहा क्षेत्रमा बस टर्मिनल निर्माण गर्न लागिएको हो । बस टर्मिनलस्थल गौतमबुद्ध विमानस्थल, बुद्धजन्मस्थल लुम्बिनी, बुटवल, भैरहवालगायत रूपन्देहीका धेरैजसो पालिकालाईसमेत पहुँच पुग्ने स्थानमा रहेको नगरपालिकाले दाबी छ ।

निर्माण हुन लागेको बस टर्मिनल निर्माणस्थल बेलहीया बुटवल ६ लेन सडकको पत्थरडाँडाबाट ६ किलोमिटर पश्चिम दक्षिणमा पर्छ भने गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलदेखि पनि ६ किलोमिटर उत्तरमा रहेको छ ।

बस टर्मिनल निर्माण सम्पन्न गर्न १ अर्बभन्दा धेरै लाग्ने भए पनि बहुवर्षे कार्यक्रम अन्तर्गत हरेकवर्ष संघ र प्रदेश सरकारले बजेट छुट्टाउने भएकोले बस टर्मिनलको लागि रकम अभाव नहुने घिमिरेको भनाई छ ।

यसअघि नगरपालिकाले चालु आर्थिक वर्षमा नै एक करोड रुपैयाँ विनियोजन गरि जग्गा तारबारको काम शुरु गरिसकेको छ ।

बस टर्मिनलमा के के रहन्छन त ?
सुविधासम्पन्न, प्रविधियुक्त र स्तरीय सेवासहितको बस टर्मिनलमा पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारीसाधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहनेगरी डिजाइन तयार गरिएको छ ।
त्यसैगरी बस टर्मिनलभित्र यात्रु तथा सवारी साधनका चालकलाई छोटो समय आराम गर्न मिल्ने गरी प्रतिक्षा कक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकीसमेत रहने छन् ।

काठमाण्डौंको डेकोर स्टुडियोले तयार पारेको आर्किटेक्ट डिजाइन अनुसार बस टर्मिनलमा डिजिटल प्रविधिसहितको टिकट काउन्टर, गाडीको रुट र समय चार्ट राखिने छ ।

त्यस्तै किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल समेत बस टर्मिनलभित्रै निर्माण हुनेछन् ।

२ सय ५० बस पार्क गर्न मिल्ने
बस टर्मिनलमा एकैपटकमा १० वटा गाडी मर्मत सम्भार गर्न मिल्नेगरि वर्कसप, एकैपटकमा २ सय ५० वटा बस लामो समय पार्क गर्न मिल्ने पार्किङ क्षेत्र तथा ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

अपडेट : 2021-06-08 15:30:10




your-image

Leave a Comment