आषाढ ७ २०७८   |  2021 Jun 21    


इकोसिस्टम पुनर्भरण


news

पृथ्वीलाइ जीवित ग्रह बनाउनको लागि यहाँको हावा, पानी, माटो, तापक्रमका साथसाथै जीवजन्तु र वनस्पतिको मुख्य भूमिका छ । यिनै तत्वहरु मिलेर पृथ्वीमा विशिष्ट प्रणाली निर्माण गरेका छन् । जैविक र भौतिक वस्तुहरु मिलर बनेको यहि प्रणाली नै परिस्थितिक प्रणाली (ईकोसिस्टम) हो । जीवजन्तु र वनस्पतिको उपलब्धता, पानी, हावा र माटोको भिन्नता अनुसार संसारभर धेरै किसिमका इकोसिस्टम तयार भएका छन् । उच्च हिमालदेखि समुन्द्रको पिधसम्म रहेका यस्ता इकोसिस्टमले पृथ्वीलाई जीवन दिएका मात्र छैनन्, मानव सभ्यतालाई नै अतुलनीय आर्थिक, सामाजिक र वातावरणीय सेवा प्रदान गरिरहेका छन् । हाम्रा वरपर रहेका इकोसिस्टम पानीका मुख्य श्रोत हुन् ।

पानीको संरक्षण, दिगो उपलब्धता र प्राकृतिक वितरण गरि खानेपानी र सिचाई, पर्यटन, जलविद्युत जस्ता काममा सघाएको हुन्छ । संसारका २ अर्ब भन्दा बढी मानिसहरु कृषिमा संलग्न छन्, जुन क्षेत्र इकोसिस्टमको परिचालन गरेर मात्र संचालन हुन्छ । प्रदुषण नियन्त्रण गर्न होस् वा उत्पादन वृद्धि गर्न होस्, इकोसिस्टमले नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले यसलाई कुनै एक किसिमको प्राकृतिक श्रोत भन्दा माथि राख्ने गरिन्छ ।


पछिल्लो शताब्दिमा प्राकृतिक श्रोतको दोहन र प्रदुषणले गर्दा इकोसिस्टमको विनाश तीव्रगतिमा भैरहेको छ । छिटो धनि हुने चाहना वा गरिबीबाट मुक्तिको लागि वन विनाश गर्ने प्रवृति संसार भरि नै छ । वन संरक्षणका प्रयत्नहरु नभएका हैनन्, तर यी प्रयासहरु पर्याप्त नहुदा अहिलेपनि विस्वमा प्रतिवर्ष एक करोड हेक्टर भन्दा बढी वनजंगल विनाश भैरहेको छ । धनि देशहरुले दैनिक जीवनमा आवस्यक पर्न साधनका अनेकौ विकल्पहरु ल्याएका भएपनि गरिव देशका नागरिकहरु अहिले पनि वनजंगल र वनसम्पदामै आश्रित रहेको पाइन्छ । जसले गर्दा वनक्षेत्रको जैविक विविधतामा अत्यधिक चाप परिरहेको छ । जडिबुटी र अन्य वनस्पतिको अनियन्त्रित संकलन, वन्यजन्तुको शिकारका साथै खेतीपातीको लागि वनक्षेत्रकै अतिक्रमण त भैरहेको थियो गएको दशकमा नेपालमा बैज्ञानिक वन व्यवस्थापन गर्ने नाममा वनमा भएका गैह्रकाष्ठ वनस्पतिलाई समूल नाश गर्ने र वनलाई पातलो बनाउने काम गरियो । जस्ता कार्यले जैविक विविधताहरु नाशिदै गएका छन् । कृषिका आनुबंशिक परिवर्तन गरिएका बालीको प्रयोग, विषादी र रासायनिक मलको प्रयोग जस्ता कारणले पनि एउटा पुस्ताले देखेका जैविक विविधताहरु अर्को पुस्तासम्म आइपुग्दा लोप भैसक्ने अवस्था आएको छ ।


पृथ्वीको ७२ प्रतिशत भूभाग पानीले ढाकेको छ र यहि कारणले पनि पानीमा अनगिन्ति संख्यामा सजिवहरु रहेका छन् । प्रदुषण र मानिसका अनियन्त्रित गतिविधिले जलाक्षेत्र असुरक्षित बनिरहेको छ । सन् १९७५ यतामात्र विश्वका ३० प्रतिशत ताजापानमिा पाइने जैविक विविधताहरु विनाश भएको विस्व कृषि तथा खाद्य संगठनको अनुमान छ । नेपालमा जलक्षेत्रहरु पुरिदै, साघुरिदै र प्रदुशानको चपेटामा पर्दै गएका छन् । यस्ता गतिविधिले जलीय जीवजन्तु र वनस्पतिहरु हराउदै गएका मात्र छैनन्, जाला उपलाब्धाताको कमीले गर्दा जमिनमा रहेका जीवजन्तु र वनस्पतिहरु समेत समस्यामा परिरहेका छन् ।

विकासको नाममा शहरी हरियालीको विनाश,अब्यवस्थीय शहरीकरण र अबैज्ञानिक ढंगका भौतिक निर्माण जस्ता कार्यले मानव बसोवास रहेको स्थानमा जीवजन्तु र वनस्पतिहरु हराउदै गएका छन् । शितल छायाँ, चराहरुको चिरबिर शहर र शहरोंमुख क्षेत्रबाट हराएका छन् । अनियन्त्रित विकास निर्माण र अव्यवस्थित खेतीपातीले गर्दा भूक्षय बढिरहेको छ । भूक्षयको कारणले मात्र विस्वमा हरेकवर्ष ६० खरब डलर बाराबारको कृषि उत्पादन र पारिस्थितीय क्षेत्रमा क्षति पुगिरहेको छ । यो शृंखला कहिलेसम्म जाने हो भन्ने थाहा छैन ।

पारिस्थितिक प्रणाली विनाशका डरलाग्दा परिणामहरु हाम्रा सामुन्ने देखा परिसकेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका अनुसार विस्वका ४० प्रतिशत अर्थात ३२० करोड जनसंख्या अहिले नै प्रभावित भएको छ । इकोसिस्टम विनाशको अवस्था यस्तै रह्यो भने सन् २०५० सम्ममा विस्वको कुल ग्राहस्थ उत्पादनमा एक सय खर्ब डलर भन्दा बढीले ह्रास आउने, कृषि उत्पादनमा १२ प्रतिशतले ह्रास आउने, जलबायु परिवर्तनका कारणले ७० करोड भन्दा अधि मानिसले आफ्नो थातथलो छोड्न बाध्य हुने अनुमान छ । वन, जलीय र कृषि पारिस्थितिक प्रणाली विनास भैरहेकोले कृषि पेशामा संलग्न र रैथाने आदिबासी, जनजातिका पारम्परिक व्यवहारहरु प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ ।

वनमा वनमारा जस्ता मिचाहा वनस्पतिको संख्या बढ्दै जादा रैथाने र उपयोगी वनस्पतिको विस्तारमा अवरोध आउने, वन्यजन्तुको चरन क्षेत्र र आहारामा कमि आउने जस्ता समस्याहर अहिले नै देखा परिसकेका छन् । कोभिड १९ ले मानिसलाई प्रकृतितर्फ फर्काएको छ । कृषिको लागि थप भूमिको खोजि, जीविकोपार्जनको लागि जलीय र जंगलको दोहन जस्ता समस्याहरु बढेको प्रस्ट देखिएको छ । यस्ता प्रभावहरु बढ्दै गएमा नेपालजस्ता विकासशील र गरिब देशमा वातावरणिय, सामाजक र आर्थिक समस्याहरु आउदा दशकमा निकै बढ्ने देखिन्छ ।


इकोसिस्टम पुनर्भरण किन र कसरी ?
इकोसिस्टमको पुनर्भरण वातावरणिय विषय मात्र नभएर सामाजिक आर्थिक आवस्यकता पनि हो । दिगो विकासका १७ वटा लक्ष्यहरु हासिल गर्न हामीसंग १० वर्ष भन्दा कम समय छ । गरिबी निवारण,खाद्यान्नको उपलब्धता, पानीको उपलब्धता, पानी र जमिन माथिको जीवन जस्ता लक्ष्यहरु हासिल गर्नको लागि इकोसिस्टम पुनर्भरण गर्नु पर्छ । पानीका श्रोतहरु जीवित राख्दै निरन्तर पानी आपूर्ति सुनिस्चित गर्न, भूक्षय नियन्त्रण र वन्यजन्तुलाई लोप हुन नदिनको लागि वन जंगलको इकोसिस्टमलाई जोगाउनु र नासिदै गएको वनक्षेत्रलाई फिर्ता ल्याउनै पर्छ ।


वन अतिक्रमण हटाउने,सामुदायिक वनको विस्तार, कृषि र शहरी वन विकास, संरक्षण क्षेत्रको स्थापना गरि वन क्षेत्रलाई पुनर्भरण गर्न सकिन्छ । वनक्षेत्रको पुनर्भरणबाट कृषि, पर्यटन, जैविक विविधता संरक्षण र जलवायु असर न्युनिकरणमा ठुलो सहयोग पुग्नेछ । जलाधार क्षेत्रको संरक्षण, नदि उकास क्षेत्रमा वृक्षारोपण,पानीका मुलको संरक्षण, प्रदुषण नियन्त्रण जस्ता कार्यले जलीय इकोसिस्टमको पुनर्भरण गर्न सकिनेछ । यसबाट जलीय जीवनको संरक्षण, वन संरक्षण, सिचाइको उपलब्धता, जलविद्युत र पर्यटन, खानेपानीको सहज उपलब्धता जस्ता प्रत्यक्ष फाइदाहरु प्राप्त हनेछन् । फोहरमैलालाई श्रोतमै नियन्त्रण गर्ने, कृषि क्षेत्रलाई अर्गानिक रुपमा अघि बढाउने, उच्च पहाडी र हिमाली क्षेत्रमा जडिबुटी र अन्य वन पैदावारको अनियन्त्रित संकलनमा रोक लगाउने, डढेलो लाग्न नदिने र लागेमा फैलिन नदिने ठोस कार्यक्रम संचालन गर्ने जस्ता कामहरु गर्न सकेमा नासिदै गएको इकोसिस्टम पुनर्भरण गर्न सकिनेछ र त्यसको प्रत्यक्ष लाभ मानव समुदायले प्राप्त गर्न सक्नेछ ।


संयुक्त राष्ट्रसंघले आउदो दशकलाई इकोसिस्टम पुनर्भरण दशकको रुपमा मनाउने निधो गरको छ । हाम्रो वरिपरी रहेका इकोसिस्टमको संरक्षण गर्न चासो जगाउने र अग्रसर बनाउने काममा यो कार्यक्रमले पक्कैपनि मद्दत गर्नेछ । इकोसिस्टम पुनर्भरण कुनै विशेष काम नभएर नासिदै गएका जल,जमिन र जंगललाई थप नासिन नदिने र सकेसम्म पहिलेकै अवस्थामा ल्याउने प्रयत्न हा ।


हरेक व्यक्ति र समुदायले प्राकृतिक श्रोतप्रति विवेकपूर्ण व्यवहार गर्ने, संरक्षणमा जिम्मेवारीबोध गर्ने र दोहनमा संलग्न नहुने हो भने हाम्रा प्राकृतिक सम्पदाहरु जिविंत रहिरहनेछन र हाम्रो जीवन सुरक्षित र सुखी हुनेछ ।

अपडेट : 2021-06-05 07:55:27




your-image

Leave a Comment