आषाढ ७ २०७८   |  2021 Jun 21    


नक्शा बदलेको ‘बुटवलको मे २९’


news

ब्यापार गर्ने निहुले भारतमा आएको इस्ट इन्डिया कम्पनीले मद्रास र बंगाललाई निलेर शासन चलाइरहेको थियो र उत्तर पश्चिम भारतमा द्रुत गतिले जालझेल र सैनिक बलमा आफ्नो साम्राज्य विस्तार गरिरहेको थियो । त्यहि समयमा गोर्खा राज्यले पहाडका सासाना राज्यहरुलाई जित्दै नेपाल देशको निर्माण गरि देशको सिमाना बढाउने वृहत योजनामा पश्चिम तर्फका भारतीय राज्यहरुलाई आफुमा विलय गर्दै गएको थियो ।

नेपालको विजय अभियानले इस्ट इन्डिया कम्पनीको स्वार्थमा धक्का पुगेकोले नेपालसंग निहँु खोजेर युद्ध ग¥यो । नेपालको आन्तरिक तयारीको कमि, विजित भूमिका नागरिकहरुको असहयोग अनि ब्रिटिशहरुको सैन्य शक्ति र कुटनीतिको सामु नेपाल युद्धमा लामो समय टिक्न सकेन र उसैले प्रस्ताब गरे अनुसारको सुगौली सन्धिमा हस्ताक्षर गरि मेची र काली नदि वारी खुम्चन बाध्य भयो । सुगौली सन्धिको आठ महिनामा भएको अर्को सन्धि र त्यसको ४४ वर्षापछि नयाँ मुलुक नेपालमा गाभिएपछि नेपालको वर्तमान स्वरूप कायम भयो । नेपालको नक्शा बदल्नमा नालापानी र कुमायँुका किल्लाहरुमा भएको लडाईले निर्णायक भूमिका खेलेको भएपनि बुटवलमा २९ मे १८१४ मा घटेको घटनाले नेपाल अंग्रेज युद्धको प्रारूप तयार गरेको कुरा कमै चर्चा हुनेगर्छ ।

के भएको थियो त्यो दिन ?
ब्रिटिश भारत तत्कालिन सबै सैनिक अधिकारि, प्रशासक र अन्य लेखकहरुले नेपाल अंग्रेज युद्ध सम्बन्धि तयार गरेका दस्तावेज, पुस्तक र अन्य वृतान्तहरुमा बुटवलमा २९ मे १८१४ मा घटेको घटना उल्लेख गरेको पाइन्छ । दस्तावेजहरुमा उल्लेख भए अनुसार २९ मै को दिन बिहानै मुनराज पÞmौज्दार (कतै मणिराज मास्के सुबेदार पनि उल्लेख छ । अँग्रेजले फौज्दार भनेपनि उनि सुबेदार दर्जाका सैनिक थिए र उनको थर मास्के थियो । मणिराजका सन्ततीहरु तानसेनबाट बुटवल आएर बसेका थिए । पारी बुटवल (पुरानो बुटवल) नीमचोकमा उनिहरुको पुरानो घर थियो ।) को नेतृत्वमा रहेको नेपाली सेनाले बुटवलमा रहेको अंग्रेजी चौकीमा आक्रमण गरि १८ जना प्रहरीको हत्या गरेको थियो भने त्यो घटनामा ६ जना घाइते भएका थिए । नेपालीले चौकी कब्जा गरेपछि आत्मसमर्पण गरेका चौकीका दरोगालाई रुखमा बाँधेर निकै बर्बर किसिमले हत्या गरिएको थियो । बुटवलका ३ चौकी नेपाली फौजले अतिक्रमण गरेपछि बाँकि अंग्रेजी चौकी अंग्रेज आफैले हटाए ।

त्यो घटनाले आक्रोशित व्रिटिश प्रशासनले बुटवल स्युराज क्षेत्रलाई खालि गर्न, क्षतिपूर्ति दिन र फौजदारलाई सुपुर्दगी गर्न माग गरे । यी मागहरु नेपालले स्वीकार गर्ने कुरै थिएन । यहि कुरालाई निहँु बनाएर इस्ट इन्डिया कम्पनीले नेपाल विरुद्ध लडाईको तयारि शुरु ग¥यो । लडाईको औचित्य प्रस्ट पार्दै गभर्नर जनरल लर्ड मोइराले कोर्ट अफ डाइरेक्टरलाइ २ अगस्त १८१५ मा लेखेको पत्रमा यो कुरा विस्तारमा उल्लेख गरिएको छ ।

विवादको निशानामा बुटवल
तत्कालिन अवध राज्य र पाल्पा राज्यको बीचमा रहेको तिलकपुर र विनायकपुर बुटवल अन्तर्गतका जिल्लाहरु थिए । पाल्पा राज्यले यो क्षेत्रको भोगचलन गर्दै आएको थियो । अवधमा इस्ट इन्डिया कल्पनिको प्रभाव नहुन्जेल यो क्षेत्रको बारेमा विवाद थिएन । सन् १८०१ नोभेम्बर १० का दिन अवध र इस्ट इन्डिया कम्पनि विच भएको सन्धि अनुसार गोरखपुर जिल्ला इस्ट इन्डियाको प्रत्यक्ष शासन अन्तर्गत रहन पुगेको थियो । दस्तावेजहरुमा उल्लेख भए अनुसार बुटवल तराइको उपभोग गरे बापत वार्षिक ३२ हजार रुपैया तिर्न लगाएका थिए । पाल्पा राज्य नेपालमा गाभिएपछि नेपाल सरकारले सन् १८०५ देखि त्यो कर तिरेन र बुटवलमा आफ्नै उपस्थिति बलियो बनाउदै लग्यो । १८ अगस्त १८०४ मा गभर्नर जनरलले बुटवल खाली गर्न पत्र पठाएपनि नेपाल सरकारले त्यसको वेवास्ता गर्दै बुटवल क्षेत्रमा उपस्थिति कायमै राख्यो । सन् १८०९ सम्म अंग्रेजले खासै प्रतिक्रिया नदेखाएपनि सन् १८१०–११ को अवधिमा अंग्रेजले नेपालको बारेमा सुचना संकलन, सर्भे र दुई पक्षीय वार्तालाई अघि बढाएको थियो ।

सन् १८१३ को शुरु देखि नै लेफ्टिनेन्ट कर्नेल ब्राडशाको टोली र नेपालको तर्फबाट रंगनाथ पाण्डे र दलभञ्जन पाण्डे वार्तामा सामेल भए, पटक पटकको वार्तामा पनि भूमी र सिमानाको बारेमा टुंगोमा पुग्न सकेन । त्यहि अवधिमा जोशुवा पिकर्स्गीलले बुटवल र स्युराज क्षेत्रको सर्भे गरे र यसैको आधारमा ब्राडशाले बुटवलमा नेपालको अधिकार नभएको प्रतिवेदन तयार गरे । त्यसैको आधारमा ११ मार्च १८१४ मा सर रोजर मार्टिन, गोरखपुरका मजिस्ट्रेटले २५ दिनभित्र बुटवल र स्युराज खालि गर्न आदेश दिनुका साथै फौज पठाएर बुटवल, स्युराज र लोटनमा चौकी स्थापना गरे । त्यसबेला कुनै प्रतिकार नगरी नेपाली फौज पहाड उक्लियो. चौकी स्थापना गरेपछि बुटवल आफ्नो अधिनमा रहेकोमा ढुक्क भएको बसेको अंग्रेज प्रशासन मे २९ मा नेपालीहरुले बुटवलका चौकी आक्रमण गरेपछि स्तब्ध भयो । त्यसपछि विवाद चर्कियो र नेपाल विरुद्धको तयारि शुरु भयो ।

१ नोभेम्बर १८१४मा युद्धको घोषणा गरियो । तर यस अघि नै २४ अक्टोबरको बिहान नालापानी किल्लामा अग्रेज सेनाले हमला गरेका थिए । कालिपारिको युद्धमा अंग्रेजले बढी शक्ति लगाएको थियो र त्यहाँ एक किसिमले विजय निश्चित देखेपछि २१ जुन १८१५ मा जनरल सुलिभान उडलाई बुटवल हान्न पठाइयो । उडले बुटवल कब्जा गरि पाल्पा जित्ने प्रयास गरेपनि ठुलो नोक्सानी बेहोरेर फिर्ता हुनुपर्यो. उनले पाल्पा राज्यका पुर्व भारदार, गुरुज्यूहरु र स्थानीय जमिन्दारहरुको सहयोग लिएपनि सफल हुन् सकेनन । सोझो लडाइमा हारेपछि पाल्पालाई कमजोर बनाउन बुटवल क्षेत्रका थारुहरुलाई उठाएर गोरखपुर नजिक पु¥याएर उतै बसाल्ने र यहाँ उनीहरुका खेतीपाती र वस्ती नष्ट गर्नेसम्मका कामहरु गरे । तैपनि उनले बुटवललाई हराउन सकेनन. अग्रेज सरकारले थप सैनिक सहयोग उपलब्ध गराउने आशामा उड केहि महिना नेपाल भारत सिमामा क्याम्प खडा गरेर बसेपनि उनको आशा निरर्थक भयो र बुटवल अविजित रहन पुग्यो ।

सुगौली सन्धि गर्दा सहजै रुपमा बुटवल माथिको अंग्रेजको दावीलाई छोड्न तयार भएको पाइन्छ । लर्ड मोइराले १२ जनवरी १८१६ मा काउन्सिल अफ गभर्नर जनरललाइ लेखेको पत्रमा बुटवल छोड्न उपयुक्त हुने कुरा उल्लेख छ । सुगौली सन्धि भए लगत्तै १२ मार्च १८१६मा बङ्गाल सरकारका सचिव जे. आदमले गोरखपुरका मजिस्ट्रेट रोजर मार्टिनलाई बुटवल छोड्नु भन्ने पत्र पठाए र यहि आदेश अनुसार बुटवलको सिमामा तैनाथ अंग्रेज सेना र उनका सहयोगीहरु गोरखपुर फिर्ता गए । नेपाल र ब्रिटिश भारतको सिमांकन सुस्त भएको अवस्थामा गोरखपुरका अंग्रेज प्रशासक र मजिस्ट्रेटले विशेष सक्रियता देखाएर मे १८१७ मै बुटवल क्षेत्रमा अंग्रेज सरकारको भुभाग जोडिएको क्षेत्रको सिमांकन समेत गरियो । युद्धको कारण बनेको बुटवल अंग्रेजले निकै हतार गरि छोड्नु वास्तवमा अचम्मको कुरा थियो ।

मे २९ को घटना नभएको भए युद्ध रोकिन्थ्यो ?
अंग्रेजले कालिपारिका जनता र पुर्व भारदारहरूलाई गोर्खाली विरुद्ध भड्काउदै गरेपनि उनीहरुलाई नेपालीको पश्चिम विजययात्रा रोक्न सकिने र काँगडाको बाटो हुदै तिब्बतसम्मको भूभागमा कब्जा जमाउन सकिने कुरामा कमै विस्वास थियो, त्यसैले पनि उनीहरु बुटवलको बाटो तिब्बत ब्यापार गर्न प्रयासरत थिए । सन् १८१३ सम्म अंग्रेज अधिकारीहरुले धेरै दक्षिणमा पर्ने स्युराज नेपाललाई दिएरै भएपनि बुटवललाई आफु मातहत राख्न नेपाललाई फकाइरहेका थिए । बुटवलको हावापानी उपयक्त नभएकोले उनीहरु भित्रैबाट बुटवल मात्र लिने मनसायमा थिएनन । ईतिहासविद निर्मल श्रेष्ठका अनुसार उनीहरुलाई शितल भुमि र तिब्बत ब्यापार गर्ने सजिलो बाटो चाहिएकोले पश्चिम अल्मोडा र पुर्व सिक्किम, दार्जिलिंगको भुमि कब्जा गर्न खोजेकोले नेपालले बुटवल माथिको दावी छोडेर अंग्रेजले भनेको मानेको भएपनि कुनै न कुनै बहानामा नेपाल र अंग्रेज युद्ध भएरै छोड्थ्यो ।

जव उनीहरुले नेपाललाई खुम्च्याएर उनीहरुले चाहेको भूभाग प्राप्त गरेपछि र बुटवलमा हार खाएपछि बुटवल हासिल गर्न आवश्यक रहेन । श्रेष्ठले जस्तै जोन पेम्बलले द इन्भासन अफ नेपालमा अंग्रेजले नेपालसंग युद्द गर्नुको धेरै कारण देखाएपनि उसको एकमात्र उद्धेश्य चीनसंगको व्यापारिक मार्ग कब्जा गर्नु थियो भन्ने उल्लेख गरेका छन् । यी तथ्यहरू हेर्दा अंग्रेजले बुटवललाई माध्यम बनाएर नेपाललाई कमजोर बनाउन मात्र खोजेको देखिन्छ ।

करिब १५ वर्ष बुटवल अंग्रेजको निशानामा प¥यो । अडानमा, वार्तामा र युद्धमा लामो समयसम्म अंग्रेजलाई रोक्न सकेको क्षेत्र बुटवल मात्र हो । सिमानाका कुरा गर्दा कालिपारिका युद्धहरुको चर्चा बढी हुन्छ तर बुटवलमा भएको तानातानको कमै चर्चा हुन्छ । जितगढ़ी र उजिरसिंहको भूमिकाको पनि चर्चा हुन्छ तर बुटवलको मुटुमा खडा गरिएको अंग्रेजी चौकीलाई हाकाहाकी भत्काएर अंग्रेजको औपचारिक उपस्थिति र दावीलाई सदाको लागि अन्त्य गर्ने मे २९ को घटना र मिनराज फौजदारलाई भने कसैले सम्झिदैनन् ।

अपडेट : 2021-05-29 11:16:19




your-image

Leave a Comment