आश्विन ७ २०७८   |  2021 Sep 23    


नुन बोकेर माथाको उकालो


news

बटौली र नुन, पुरानो साइनो ।

त्यतिबेलाका ढाक्रे र अहिले गाउँमा गुड्ने जीप

फरक तर काम उस्तै ।

त्यतिबेला बटौली नुन बोक्न जादा आउदा भोको पेट भर्न बनपाखामा ढिडो ओडारेको बाध्यता र अहिलेको रमाइलोका लागि गरिने क्याम्प फायर, ठूला होटलका मेनुका परिकार ।

न नाता मिल्छ, न अर्थको खाता नै ।

त्यतिबेलाकाको बाध्यता, अहिलेकाको रहर ।
कहि कतै अहिले पनि यो बाध्यता जीउँदै छदैछ ।

यहि बाध्यता त भन्न सकिन्न तर यसै प्रकृतिका बाध्यता त कति छन् कति, अहिले पनि ।
यस्ता बाध्यता सुन्नका लागि टाढा जानु पदैन । कुनै एक ठाउँ मात्रै यस्ता बाध्यता सीमित छैन । ठाउँ र गाउँ गाउँ पुग्दा छरपस्तै भेटिन्छन् यस्ता बाध्यताहरु ।

अर्थात जीवन बाँच्न कठिनहुनेहरुको पिडा र बाध्यता ।

यी कुरालाई छाडौं,
बाल्यकालदेखि नै बटौली नुन बोक्न हिडेकी पाल्पा जब्गादीकी बिष्णुकुमारी गाहा (६६) को कथालाई पढौं । हो, बिष्णु कुमारी माथाको बाटो हुदै नुन बोक्नेमध्येकी एक पात्र हुन । उनि ११ बर्षको हुँदा पहिलो पटक बाबासँगै गाउँलेको समुहमा बटौली नुन बोक्न गएकी थिइन । गाउँबाट केरौली, झडेवा, सुकार्वास, माथागढी, सरनटारी, दमार हुदै उनिसहित गाउँलेहरु नुन लिन बटौली पुग्थे । बटौली पुग्न चारदिन लाग्थ्यो ।

नुन लिन बटौली पुग्ने अर्को बाटो पनि थियो । हुमीन, माडी, लहरेपिपल, चर्चरे, केराबारी, दोभान हुदै पनि बटौली पुगिन्थ्यो । यो बाटो जादा बटौली पुग्न ३ दिन समय लाग्थ्यो ।

गाउँका ठूलो समुह बनाएर नुन, तेल बोक्न बटौली पुग्थे । समुहमा २० जना भन्दा बढी नै हुन्थे । सुरक्षित हुन र रमाइलोका लागि पनि ठूलो समुहमा आउने जाने चलन थियो ।

गाउँबाट बटौली जादा घिउ, सुठो लैजाने र फर्किदा नुन, तेल, सिद्रा, कपडाको भारी बोक्नु पथ्यौ ।
घरबाट निस्केपछि रातको समयमा खेत, बारी, बुटा (रुख) को फेदमा बास बस्ने चलन थियो । घरबाट भाडा कुडादेखि पकाएर खाने कुरा पनि साथै बोक्नु पथ्यो ।

मुख्यगरेर आटो, सिन्की, मस्यौरा, पिडालु, जाँड बोकेर लैजाने र पकाएपछि भर्लाको पात टिपेर त्यही पातमा खाने गरेको बिष्णुकुमारीसँग अनुभव छ । बाटोमा नाँच्दै गाउँदै थकान बिर्साउने गरिन्थ्यो ।

बटौलीबाट नुन बोकेर माथाको उकालो हिड्दा पसिना पसिना भएको बिष्णुकुमारीलाई हिजो अस्ति जस्तै लाग्छ । त्यतिबेला नुनको भारीले ढाँड थिच्दा, नाम्लोले पातोले टाउको तान्दा भोगेको कष्ठ बिष्णुमायाको मानसपटलमा मिठो सम्झना बनेर बसेको छ ।


भन्छिन, आजभोलीका रमाइलो गर्न बनतिर आगो बालेर रमाइलो गर्छन तर हामीले त बटौली जाँदा आउँदा त्यतिबेलै अनुभव लियौं । नुन लिन हिड्दाको डम्फु मादलसँगको गीत, दुख सुख, माया पिरतीका गीत कति रमाइलो छ कति उनिसँग । न सस्कृतीमा मिसावट, न खानपानमा नै । साच्चिकै अर्गानिक ।

बालापन, यूवापन फर्काएर नफर्किने उनले भनिन्, मिल्ने भए मत नुन बोक्ने जमानाकै हुन्थे ।

बिष्णुकमारी आजभोली पाल्पाको आर्यभञ्ज्याङ रामपुर सडक खण्डको जब्गादीमा गाहा होटल चलाएकी छिन् । छोरा, बुहारी र बुढाले होटल चलाउनमा सघाउँछन् । उनले होटल गर्न थालेको पनि १७/१८ बर्ष पुगिसकेको छ ।

पाल्पाको आर्यभञ्ज्याङ रामपुर भइ हिड्ने गुड्नेहरुले उनको होटलमा खाजा खाना खान्छन् । उनले बोइलर कुखुराको मासु र भातको एक जनाको १८० रुपियाँ र लोकल कुखुराको मासु र भातको २०० रुपियाँ लिन्छिन ।

तडक भडक बीना गाउँले स्वादमा पाइने उनले पकाएको खाना खान त्यो बाटो हिड्नेहरु जब्गादीमा रोकिएर आमा भन्दै पस्ने गर्छन । उनको होटलमा खाना खादा भोक मात्रै होइन थकान समेत मर्छ । कुराकानी गर्दा घरपरिवारभित्रै रहेको अनुभव हुन्छ । गाउँलेपनकी बिष्णुकुमारी, साँच्चै अर्गानिक आमा रहेछिन । अनुभव अर्गानिक, कुराकानी अर्गानिक, व्यवहार अर्गानिक ।

अपडेट : 2021-05-22 16:20:24




your-image

Leave a Comment