मंसिर १६ २०७८   |  2021 Dec 02    


वायु प्रदुषणले लुम्बिनी प्रदेश प्रभावित


news

बिहान साँझ नियमित रुपमा घुमफिर गर्न कालिका नगरकी ज्ञानु मल्ल घुमफिर गर्दा आफुलाई फुर्तिलो महसुस गर्थिन । चैत्रको पहिलो सातायता भने उनलाई बिहान र साँझ घुम्दा असहज महसुस हुन थालेको छ । सास फेर्न अफ्ट्यारो भए जस्तो हुने, आँखा पोल्ने,छाला पोल्ने जस्ता समस्याहरु महसुस भएपछि उनले अहिले बिहानी र सन्ध्याकालीन घुमफिरलाई बन्द गरकी छन् । बाहिर घुमफिर गर्ने दैनिकीलाई घटाएर घरमा बस्न थालेकी मल्लले अहिले घर भित्र बस्दा पनि सास फेर्न असहज महसुस गरेको बताउँछिन ।


मल्लको जस्तै समस्या अहिले अधिकांश बुटवलवासीले गरिरहेका छन् । विगतमा बस्ती छेउका वनमा डढेलो लाग्दा मात्र वायु प्रदुषणजन्य समस्या महसुस गरका बुटवलवासीले यसपाली डढेलो नलागेका दिनहरुमा समेत यस्ता समस्याहरुसंग जुधिरहेका छन् ।


गत पुषको तेश्रो साता काठमाण्डौ उपत्यकामा वायु प्रदुषण बढेकोले सरकारले नागरिकलाई सकेसम्म घर वाहिर ननिस्कन, साँझ र विहान घुमफिर नगर्न आग्रह गरेकोमा चैत्रको दोश्रो साता देशभरी नै वायु प्रदुषणले गम्भीर स्वास्थ समस्या बढेको भन्दै ४ दिन सम्पूर्ण शैक्षिक सस्थाहरु बन्द गरेको छ । वायु प्रदूषणको समस्या लुम्बिनी प्रदेशमा नभएको भन्दै शैक्षिक सस्था बन्दको आलोचना गर्दै केहि सस्थाहरु कक्षा संचालन गरिरहेको भएपनि प्रदेशका धेरै ठाउँमा वायु प्रदुषणबाट स्वास्थ्य समस्या बढेको बताउनेहरूको संख्या भने उच्च देखिएको छ ।
सातादिन यता प्रदेशका तराई र शहरी क्षेत्रमा घाम मधुरो देखिने, कुहिरो लागेको जस्तो भएर भिजिबिलिटी घट्ने जस्ता असरहरु देखिएका छन् । महेन्द्र राजमार्गको छेउछाउको क्षेत्रमा बन डढेलोलाई यस्तो अवस्थाको जिम्मेवार मानिएपनि प्रदेशको समग्र तराई र शहरी क्षेत्रहरुमा प्रदुषण बढ्नुमा मानवीय गतिविधिहरु बढी जिम्मेवार देखिएका छन् ।


लुम्बिनी प्रदेशका प्रस्तावित महानगर नेपालगंज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवामा पछिल्ला वर्षहरुमा सडक निर्माण कार्यले तिब्रता पाएको छ । यहाँका सडकहरु विस्तार गर्ने कामले आवस्यक भन्दा लामो समय लाग्ने गरेको पाइन्छ । सडकहरु बनाउने र विस्तार गर्ने नाममा भत्काएर छोड्ने, लामो समयसम्म नबनाउने, सडक निर्माण गर्दा धुवाँ धुलो नियन्त्रणका उपयुक्त उपायहरु अपनाउने नगरिकेकोले सडकको धुलो वायु मण्डलमा फैलिदा प्रदेशका मुख्य नगर क्षेत्रमा प्रायजसो धुलो उडिरहेको देखिन्छ । सडक निर्माण र विस्तारका कामहरुले लामो सामय लिदा खजुरा, गुलरिया, बर्दघाट, सुनवल र खैरेनी जस्ता साना सहरहरु धुलाम्य भैरहेका छन् । सडकको धुलोले गर्दा दिनकी कष्टकर भएको बाँकेको खजुरा बजारका बासिन्दा कमल जोशी बताउछन् ।


लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगंज बढी मात्रामा औद्योगिकरण र यातायातका साधनहरु संचालन भएका क्षेत्र हुन् । पश्चिम नवलपरासीको परासी क्षेत्र, भैरहवा– बेथारी क्षेत्र, बुटवल वरपरको क्षेत्र, कपिलवस्तुको कृष्णनगर क्षेत्र, दाङ्गको घोराही, बाँकेको नेपालगंजमा पछिल्लो समयमा औद्योगिकरण तिब्र भएको छ । यी क्षेत्रमा संचालित सिमेन्ट उद्योग, इट्टा कारखाना, ग्यारेज र शहरी फोहरमैलाले वायु दुषित हुदै आएको छ ।


सरकारी नीतिले हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत वन क्षेत्र हुनुपर्ने ब्यवस्था गरेको भएपनि लुम्बिनी प्रदेशमा २० पालिका वनरहित छन् भने विस्तार हुदै गएका र ठुला शहरी क्षेत्रहरुमा वन खुम्चिदै गएको छ । शहरीकरणसंगै पुराना कुलोहरु, खोल्सा, खोलाहरुका डिल अतिक्रमण गरि संरचनाहरु निर्माण गर्ने क्रम बढेको र सडक निर्माण गर्दा किनाराका रुखहरु मासिएकाले शहरी क्षेत्रमा हरियाली निरन्तर घटिरहेको छ । लुम्बिनी प्रदेशको को कूल भूभागको ५० दशमलव ४३ प्रतिशत क्षेत्रफलमा वन रहको छ । अधिकांश वन चुर–भावर क्षेत्रमा रहेको र यो क्षेत्रमा वर्षेनी डढेलो लाग्ने गरेकोले तराइमा अधिकांश जिल्लाहरुमा चैत्र देखि जेठ महिनासम्म धुवाको असर बढी देखिने   गरेको छ ।


तराई क्षेत्रमा बाली स्याहारेपछि खेतबारीमा नै पराल, भुस, छ्वालिमा आगो लगाउने प्रचलन छ । यस्तो कार्यले गर्दा हिउदे बालि स्याहार्ने समय फाल्गुन–चैत्रमा तराइका बढी मात्रामा धुवाको असर देखिने गरेको छ. प्रसिद्ध लुम्बिनी क्षेत्रमा वायु प्रदुषण बढ्नुमा यसलाई प्रमुख कारण मध्येको एक भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । स्थानीय सरकार र विभिन्न सस्थाहरुल संचालन गरेको सचेतना कार्यक्रमको प्रभावले लुम्बिनी क्षेत्रमा खेतमा आगो लगाउन गतिविधिमा अचेल कमि आएको भएपनि सिमा जोडिएको भारतीय क्षेत्रमा यस्ता गतिविधिहरु अत्यधिक हुने भएकोले लुम्बिनी क्षेत्रमा जोखिम कायमै रहेको स्थानीय वासिन्दा राम जियावन यादव बताउछन् ।


कानपुर, लखनौ र गोरखपुर जस्ता शहरहरुमा अहिले वायु प्रदुषण उच्च छ. भारतमै वायु प्रदुषण उच्च भएका यी क्षेत्रहरु लुम्बिनी प्रदेशको नजिक रहेका छन् । पश्चिमी वायुको प्रभाव यो प्रदेशमा बढी हुने र यो वायुसंगे भारतीय भूमिको प्रदुषण पनि प्रदेशमा आएकोले लुम्बिनी प्रदेशको तराई क्षेत्रमा वायु प्रदुषणका असरहरु बढी देखिएको विज्ञहरु बताउछन ।


डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । नेपाल सरकारले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर र पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने वायु प्रदुषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ । धेरैजसो विकसित राष्ट्रहरूले टोटल सस्पेंडेड पार्टिकल्स (टिएसपी) लाई नियमन नगरिकन पीएम १० लाई मात्र नियमन गरेका छन् । नेपालमा स्थलगत अध्ययनबाट वायुमा टिपिएस को मात्रा धेरै देखिएकोले यसलाई वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डमा समावेश गरेको छ । १० माइक्रोन वा सो भन्दा कम व्यास भएका कणहरूलाई पीएम १० भनिन्छ । यी कणहरू स्वाशप्रस्वाश नलीको तल्लो भागसम्म पुग्न सक्छन्, जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । धेरै सूक्ष्म कणहरू जसको व्यास २.५ माइक्रोन वा सो भन्दा कम छ, त्यस्ता कणहरूलाई पीएम २.५ अन्तर्गत राखिन्छ । यी कणहरू स्वाशप्रस्वाश नली हुँदै फोक्सोसम्म पुग्न सक्छन् । जाडोको समयमा हावामा यस्ता कणहरु वायु मण्डलको तल्लो सतहमा लामो समयसम्म अडिएर रहने भएकोले यो समयमा वायुमा तीनवटै कणहरुको मात्रा बढी हुने गरेको छ ।


विश्व शान्तिको मुहान लुम्बिनी, स्थलमार्गबाट धेरै पर्यटक नेपाल आउने नाका भैरहवा, पश्चिममा धेरै पर्यटक प्रवेश गर्ने बिन्दु नेपालगंज र प्रदेशको राजधानी तोकिएको दाङमा वायुको गुणस्तर अस्वस्थकर भैरहदा प्रदेशका नागरिकको स्वास्थ्य त जोखिममा परिरहको छ नै प्रदेशको पर्यटनमा समेत नकारात्मक असर पर्ने निश्चित छ ।

अपडेट : 2021-04-02 19:33:44




your-image

Leave a Comment