चैत्र २९ २०७७   |  2021 Apr 11    


लुम्बिनी प्रदेशमा आगलागीको जोखिम कति ?


news

लामो समयदेखि पानी नपरेकोले यसपाली सुख्खापन बढी देखिएको छ । गर्मी नलाग्दै देशभरी आगलागी र डढेलोका समाचारहरु आइरहेका छन् । आगलागीको चपेटामा वनजंगल, व्यवसायिक क्षेत्र र गाउँघरहरु जल्ने क्रम बढिरहेको छ । २०७७ बैशाखदेखि फाल्गुनको तेश्रो साकीयतासम्म आइपुग्दा देशभरमा एक हजार ९२८ वटा आगलागीका घटनाहरु भएका छन् र ति घटनामा ७७ जनाले ज्यान गुमाईसकेका छन् । फाल्गुनको अघिल्ला ३ सातामा मात्र आगलागीका २०५ वटा घटनामा परेर १० जनाको ज्यान गएको छ । यी आंकडाहरुलाइ अध्ययन गर्दा यसपालीको गर्मियाम (अप्रिल– जुन) मा अघिल्ला वर्षहरुमा भन्दा धेरै आगलागी सम्बन्धि बिपद्हरु हुने निश्चित छ ।


आगो मानिसको सर्वोत्तम आविस्कार हो । यसले उत्पादन र जीवनलाई सहज बनाएको छ । तर यहि आगोको व्यवस्थापन गर्न नसक्दा आगोले रौद्ररुप लिँदा ठूलो मानवीय र भौतिक क्षति हुने गरेको छ । विपद व्यवस्थापन केन्द्रका अनुसार नेपालमा विभिन्न विपदको कूल आर्थिक क्षतिमध्ये ७५ प्रतिशत क्षति आगलागीकै कारणले हुने गरेको छ । सन् १९७१ देखि २०१६ सम्ममा देशमा १६०५ जनाले आगलागीमा ज्यान गुमाएकोमा पछिल्ला ५वर्षमा मात्र ३७९ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । पछिल्ला ५ वर्षका घटनाहरुलाई हेर्दा आगलागीको कारणले वार्षिक औशत ७६ जनाको मृत्यु र करिब २ अर्ब ६५ करोड रुपैया बराबरको आर्थिक क्षति भएको देखिन्छ । आगलागीका हरेक घटनामा कुनै न कुनै किसिमका क्षतिहरु हुने भएपनि क्षतिको प्रकृति फरक फरक भएको पाइन्छ । आगलागीबाट शहरी क्षेत्रमा बढी आर्थिक क्षति पु¥याउने भएपनि भौतिक र मानवीय क्षति हेर्दा ग्रामिण क्षेत्रमा क्षति बढी भएको पाइन्छ ।

कति सुरक्षित लुम्बिनी ?
लुम्बिनी प्रदेशमा मनसुनी वायुको कम प्रभाव पर्ने भएकोले तुलनात्मक रुपमा यो क्षेत्रमा कम वर्ष हुने गर्छ । यहि कारणले गर्दा प्रदेशका पहाडी जिल्लाहरु, बाँकेको पूवी क्षेत्र र दाङ्ग जिल्लामा सुख्खा क्षेत्रहरु धेरै रहेका छन् । तराईको मैदानी भागमा गर्मीको समयमा चल्ने सुख्खा तातो हावाले पनि आगलागीको लागि आधार तयार गर्ने गर्छ । प्रदेशको करिब आधा भूभाग वनले ढाकेको भएपनि वन डढेलो रोकथामका प्रयासहरु प्रभावकारी नहँुदा डढेलो र आगलागीका घटनाहरु वन नजिकका वस्तीहरुमा धेरै हुने गरेको पाइन्छ ।

वि.स. २०६८ को जनगणना अनुसार प्रदेशका एक लाख ६३ हजार ८३५ घरमध्ये करिब ११ हजार ५०० घरहरुको भित्ता काठपातबाट बनेका छन् र करिब ६३ हजार घरका छानो कच्ची रहेका छन् । प्रदेशका एक लाख घरमा खाना पकाउनको लागि दाउरा वा गुइँठा प्रयोग गरिन्छ । यस्ता पारिवारिक भौतिक अवस्था आगलागीको लागि अनुकूल अवस्थाहरु हुन् । लुम्बिनी प्रदेशमा पछिल्ला वर्षहरुमा उद्योग र पसलहरुको संख्या बढिरहेको भएपनि व्यवसाय संचालन गर्दा विपद प्रतिरोधि प्रणाली जडान नगरिएकोले व्यवसायिक क्षेत्रमा हरेक वर्ष ठूला आगलागीहरु हुने क्रम बढिरहेको छ ।

आगलागीको प्रवृत्तिः
लुम्बिनी प्रदेशमा आगलागीको जोखिम सबै क्षेत्र र जिल्लाहरुमा देखिन्छ । पछिल्ला ५ वर्षका आगलागीका घटनाहरुलाई हेर्दा आगलागीको र क्षतिको फैलावट ब्यापक भएको देखिन्छ । २०७३ बैशाख १ गते यता लुम्बिनी प्रदेशमा १७९५ वटा आगलागीका घटनामा ६४ जनाले ज्यान गुमाएको र करिब २ अर्ब ३० करोडको आर्थिक क्षति भएको गृह मन्त्रालयका तथ्यांकहरुले देखाउँछन् । यसलाई केलाउँदा प्रदेशमा वार्षिक औशत ३२५ वटा आगलागीका घटनाहरु भएको र त्यसबाट औशत १२ जनाको मृत्यु भएको देखिन्छ । आगलागीबाट अहिलेसम्मकै सबैभन्दा बढी मानवीय क्षति वि.स. २०७५ सालमा भएको थियो भने आर्थिक क्षति भने २०७६ सालमा धेरै भएको थियो । बसोबास क्षेत्रमा आगलागी हँुदा बढी मानवीय क्षति हुने गरको छ भने व्यवसायिक क्षेत्रमा हुने आगलागीको बढी आर्थिक क्षति हुने गरेको देखिन्छ ।


लुम्बिनी प्रदेशमा आगलागीका घटना र क्षति
आगलागीका घटना र क्षति तराईका जिल्लाहरुमा बढी देखिन्छ । पछिल्ला ५ वर्षमा कपिलवस्तु र दाङ्ग जिल्लामा क्रमश ३२९ र २२२ वटा आगलागी भएका थिए । त्यसैगरी बर्दिया र रुपन्देहीमा २१५ र २०० वटा आगलागी भएका थिए । पहाडी जिल्लाहरु मध्ये रुकुममा १७, प्युठानमा ७२ र गुल्मीमा ७९ वटा आगलागी भएका थिए । पछिल्ला ५ वर्षमा आगलागीबाट मानवीय क्षति बढी हुने जिल्लाहरुमा दाङ्ग र गुल्मी छन् जहाँ आगलागीमा परेर क्रमश १२ जना र १० जनाले ज्यान गुमाएका थिए । आगलागीबाट आर्थिक र भौतिक क्षति उच्च हुने जिल्लाहरुमा रुपन्देही, कपिलवस्तु, दाङ्ग र बाँके पहिलो देखि चौथो स्थानमा रहेका छन् ।


आगलागी र गरिबी साइनोः
जोखिमपूर्ण बसोबास, असुरक्षित कार्य वातावरण र पर्याप्त सावधानीको कमीले गर्दा धनिहरु भन्दा गरिब परिवारमा आगलागीको जोखिम बढी हुने गरेको देखिन्छ । धनिहरु ठुला र पक्कि घरमा बस्ने भएकोले विजुली सर्ट भएर, ग्यास चुहिएर र विद्युतीय उपकरणमा गडबडी भएको कारणले आगलागीमा पर्ने गरेको देखिन्छ तर गरिबहरु बस्ने घरहरु काठपात, खर र अन्य वनस्पतिजन्य सामग्रिहरुबाट बनाइने भएको स्वाभाविक रुपमा उनीहरुका घर आगलागीको जोखिममा बढी हुन्छन् । ०७४ बैशाखको दोश्रो साता बांकेको डुडुवाको होलियामा आगलागी हँुदा एकै वस्तीका ६० घर जलेर खरानी भए भने एकै परिवारका ३ जनाले ज्यान गुमाएका थिए । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आगलागीका धेरै घटना हुने गर्छन् । गाउँ नै खरानी हुनेगरि भएका आगलागीका घटनाहरु प्रायजसो सुकुम्बासी बस्ति, दलित वस्ती र तराईका बिपन्न परिवारका वस्तीहरुमा हुने गरेका छन् ।


आगलागीको जोखिम जस्तै असर पनि गरिवहरुमा नै बढी पर्ने गर्दछ । धनि मानिस र व्यवसायले सम्पत्तिको बिमा गर्ने भएकोले आगलागीले उनीहरुलाई खासै फरक पर्दैन तर गरिवको घरमा आगलागी भएमा छिटो आगो फैलिने भएकोले धेरै जसो घटनामा मानिसहरुले आफ्नो शरीर र शरीरमा लगाएको लुगा बाहेक अरु केहि जोगाउन सक्दैनन् । वस्तीहरु खरानी हुँदा परिवारको लागि राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायत अन्य भौतिक सामग्री, चौपाया र गोठ समेत जल्ने भएकोले गरिव परिवारमा आगलागीको असर लामो समयसम्म रहिरहन्छ । वर्षेनी दोहोरिने आगलागीले समाजमा गरिवी र वातावरणिय विनाशको लामो शृंखला नै तयार हुने गर्दछ ।


उच्च जोखिम, न्यून तयारीः
गरिवी, असावधानी जस्ता कारणले गाउँघरमा आगलागीका घटनाहरु बर्षेनी बढिरहेका छन्, भने व्यवसायिक क्षत्रमा अग्नि प्रतिरोधी संरचनाको अभाव र प्राविधिक त्रुटिल गर्दा आगलागीका घटनाहरु दोहोरीरहेका छन् । अव्यवस्थित वस्ती र वस्तिभित्र घट्दै गएको हरियालीको कारणले पनि आगलागीका प्रकोपबाट हुने क्षति बढिरहेको छ । आगलागी पछिको उद्धार र राहतमा सरकार र सामाजिक संघसस्थाहरुको ध्यान जाने भएपनि आगलागि हुनै नदिने तर्फ कमै ध्यान दिएको पाइन्छ । नेपाल सरकारले तयार गरेको विपद जोखिम व्यवस्थापन राष्ट्रिय रणनीतिले आगलागिलाई प्राकृतिक प्रकोप सरह प्राथमिकतामा राखेको देखिदैन । लुम्बिनी प्रदेशको पहिलो आवधिक योजनाले विपद सिर्जित गरिबी न्युनिकरणका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने, विपदले असर गर्नसक्ने स्थानहरुको पहिचान गरि सम्भावित प्रभावको न्युनिकरण गर्ने रणनीति तय गरेको छ । यसका लागि स्थानीय तहसंगको सहकार्यमा खर तथा फूसका छानालाई विस्थापित गर्न, स्थानीय तहहरुसंगको सहकार्यमा बहुउपयोगी सुरक्षित आवास आश्रय स्थलको व्यवस्था गर्ने कार्यनीति निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश विपद व्यवस्थापन कार्य संचालन निर्देशिका २०७६ ल्याएर विपद पछिको राहत र उद्दारलाई व्यवस्थित बनाउने प्रयास गरेपनि आगलागी र डढेलोको रोकथाम, क्षति न्यूनीकरण र पुनस्र्थापनका योजनाहरु ल्याउन सकेको पाइदैन । पालिकाहरुले पनि व्यवस्थित वस्ती योजना तथा सुरक्षित भवन मापदण्ड बनाएर आवास निर्माण गर्न प्रेरित गर्ने, वस्तीमा आगो फैलिन नदिन पर्याप्त हरियाली प्रवद्र्धन गर्ने र आगलागी भएमा निभाउनको लागि दमकलको व्यवस्था गर्ने कामहरु गर्न सकेको पाइदैन । दमकल नहुने र अव्यवस्थित बस्तीको कारणले समयमा आगलागी भएको ठाउँमा दमकल पुग्न नसक्दा शहरी क्षेत्रमा आगलागीबाट हुने क्षति बढ्दो छ ।


आगलागीले दिने पिडा अपुरणीय हुने भएकोले यसलाई सामान्य विपदको रुपमा नहेरी सामाजिक आर्थिक समस्याको रुपबाट हेरिनु पर्दछ । आगलागी जुनसुकै बेलामा जहापनि हुन सक्छ । त्यसैले आगलागी भएपछी उद्दार र राहतका कुरा गर्नुभन्दा सुरक्षित वस्ती निर्माण र पुर्व तयारि जस्ता कुरामा सघाउन सकेमा प्रदेशमा आगलागीबाट हुने क्षतिलाई अवस्य पनि कम गर्न सकिने छ ।

 

अपडेट : 2021-03-09 11:11:10




your-image

Leave a Comment