चैत्र २९ २०७७   |  2021 Apr 11    


फरक प्रसंगमा फरक टिप्पणी !!


news

मेरा साथीहरु अक्सर गरेर सोध्ने गर्दछन् —

अर्जुनजी सञ्चै छ ?

आज के कार्यक्रम छ ?


पहिलो जिज्ञासामा म भन्छु सन्चै छु । यथार्थमा म दिनको नौ प्रकारका औषधि खान्छु । स्वाथ्य विमा गरेको छु । विमाको सुविधामा लुम्बिनी प्रादेशिक अस्पतालले पहिलो पल्ट तीन महिनाको औषधि दिएको छ । ल्याव टेस्ट लगायत सम्पूर्ण औषधि निःशुल्क दिंदो रहेछ ।

यसमा राम्रै गरेको रहेछ सरकारले । ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई वर्षमा एक लाखसम्मको सुविधा रहेछ ।


साथीको जिज्ञासामा म यो सबै कुरा भन्दिन । सन्चै छु मात्र भन्छु । यो बेली बिस्तार गर्न थाले भने उनी आफै डाक्टर बन्न थाल्छन् । नौ वटा औषधि खाइरहेको छु । अरु थपेर १२, १५ पुराउन सक्छन् । अलि बजुग रहेछन् भने मधुमेहका रोगीलाई एलोप्याथिक भन्दा होमियोप्याथिक दबाइ ठीक हुन्छ भनेर सल्लाह दिन सक्छन् । त्यसभन्दा अगाडि बढेर आयुर्वैदिक औषधि र प्राकृतिक उपचारको विशेष सल्लाह पनि थप्न सक्छन् । यतिले नपुगेर यो यो खाने, यो यो नखाने, यति खाने, यतिफेर खाने भनेर खाने कुराको ठूलो फेहरिस्त बनाइदिन पनि सक्छन् । त्यसो भएर म सन्चै छु भन्दा अरु केही भन्दिन ।


आज के कार्यक्रम छ भन्ने जिज्ञासामा म कहिलेकाँही अलि फरक खालको कार्यक्रम पनि बताउने गर्दछु । कहिलेकांही भन्छुः आज मलाई लुगा धुन छ । बूढीमाउलाई त्यति सन्चो छैन, चुलो चौका गर्नुछ । जिरा धनिया पिसाउन जान छ । चामल सकिन लागेको छ, त्यसको जोहो गर्नछ । घर परिपरिको करेसाबारीमा खनखोरस पनि गर्नुछ । यस्तै यस्तै छ । धन पैसा पनि घटेको छ । सहकारीबाट हुन्छ कि साथी भाइको सरसापटीबाट हुन्छ, जुटाउनु छ ।


उमेर छँदा हाम्रो घरमा भैंसी गोठ थियो । म केटाकेटी पढाउने मास्टर भा’को । अलिअलि लेखपढ पनि गर्ने । पत्रकार बनेर सभा गोष्ठी, नागरिक समाजमा पनि हिँड्ने । पार्टी विशेषको चौवन्नी सदस्य भएर पनि हिँड्ने । दुईचारजना साथी मिलेर हामीले आफ्नै ठाउँमा एउटा खाम फाइलको कुटिर उद्योग पनि चलाएका थियौं । म त्यसमा पनि अलिअलि हिँड्थें । बूढीमाउ त्यसमा खाम बनाउँथिन् । खाम बनाउने काम छ, भैँसीलाई घासपात चाहियो । त्यतिखेर आज भंmै ग्यास बाल्ने चलन थिएन । वनबाट दाउरा ल्याउनु पर्दथ्र्याे । केटाकेटीका स्कुल । बूढीमाउलाई भ्याइनभयाइ छ । लखर लखर हिँडिरहेको मात्रै छैन, म पनि घरमा केही गरिरहेको छु भन्ने देखाउन म भकारो सोहोर्ने काम गर्थें । भकारो सोहोर्ने काम अलि फोहरी काम भएकाले यो काम गर्दा प्रत्यक्ष जस पाइन्छ भनेर मैले बाठो भएर यो काम रोजेको थिएं ।


त्यतिखेर एकपल्ट मेरा साथीले के काम छ भनेर जिज्ञासा राख्दा मैले आज भैँसीको भकारो सोहोर्ने काम छ भनेर भनेको थिएँ । एकपल्ट त भंैसीको पाडी अचाक्ली किर्ना परेर मर्नै लागेको छ, किर्ना मार्ने पाउडर हुन्छ रे । आज त्यो पाउडर हाल्ने कार्यक्रम छ भनेको थिएं । मैले यसो भनिरहंदा यो अर्जुन कस्तो पाखे रहेछ भन्ने साथीहरु पनि हुन्थे । शून्य चेतनाका मान्छे गोबर सोत्तर गर्ने, भकारा सोहोर्नेजस्ता काम पनि कार्यक्रम हुन्छन् र ? भन्ने ठान्दथिए । सभा, गोष्ठी, बैठक, सेमिनार, भाषण, प्रवचन, जुलुसलाई मात्र कार्यक्रम ठान्ने वानी परेकाहरु यी यस्ता कार्यक्रमहरु जनाउंदा झल्याँस्स हुन्थे । सभा, जुलुस, गोष्ठी, अन्तरक्रियालाई मात्र कार्यक्रम भन्ने भ्रम पालेकाहरु मेरो अनौठो भनाइ सुनेर दंग पर्थे । एकछिन पछि भ्रमभंग भएर हो त नि गोबर सोहोर्ने काम पनि कार्यक्रम हुन्छ होला भनेर घोत्लिन पनि पुग्थे ।


यो पंक्तिकारले प्रचलित कार्यक्रम बारे फरक कुरा गर्दैगर्दा कतिपय बुज्झकीहरुको सोचाइमा अलिकति फरक पर्न गएको पनि मैले बुझेको छु । कतिपयले मलाई भने पनि— हो कुनै निश्चित उद्देश्य पूर्तिका लागि सभा गोष्ठी जुलुस गरिन्छ र सो माध्यमबाट आवश्यक सन्देश प्रवाह गरिन्छ भने त्यो सभा, त्यो गोष्ठी, त्यो जुलुस वास्तममा कार्यक्रम हुन्छ । तर, सभाका लागि सभा, गोष्ठीका लागि गोष्ठी र जुलुसका लागि जुलुस गरिन्छ भने त्यस्ता सभा गोष्ठी कार्यक्रम हुँर्दैनन् । व्यर्थ कार्यक्रम हुन्छन् । त्यस्ता व्यर्थ कार्यक्रमभन्दा गोबर फाल्ने काम, भैँसी दुहुने काम, खाम फाइल बनाउने काम तथा पाडीका किर्ना मार्ने काम अवश्य अर्थपूर्ण काम हुन् ।


म आफुलाई जुनसुकै दर्जाको होस्, दुई चार शब्द लेख पढ गर्ने पत्रकारिताको विद्यार्थी हुँ । मैले समयक्रममा अखवारका लागि समाचार लेखेको हुँ । समाचार टिप्पणी हुंदै सम्पादकीय पनि लेखेको हुँ । छापा मिडिया हुँदै विद्युतीय मिडियाका लागि समसामयिकी पनि बनाएको हुँ । समाचार फिचर बनाएको हुँ । श्रव्यदृश्य दुबै मिडियामा प्रयोग हुन सक्ने अन्तरवार्तामूलक साम्रागी तयार पारि प्रयोग गरेको हुँ । अझै पनि कछुवाकै गतिमा भए पनि यसलाई निरन्तर राखेको छु । समयक्रममा प्रकाशित तथा प्रसारित साम्रगीहरु स्वयम्मा यसका साक्षी छन् ।


मैले माथि भनेँ, म दुई चार अक्षर दुई चार हरफ लेख्ने पत्रकारिताको विद्यार्थी हुँ । त्यही विद्यार्थीको नाताले गृहकार्य गर्दै गर्दा म अहिले प्रचलनमा आएका, समयक्रममा फरक रुपमा विकसित हुँदैरहेका एनिभर्सरी, (एनिभर्सरी शब्द मात्रैले विवाहको वर्ष गाँठ भनेर बुझिन थालेको छ) बर्थ डे, अन्नप्रासन, (भात खुवाउने काम) न्वारन, ब्रतबन्ध जस्ता कार्यक्रम बारे दुई शब्द लेख्ने धृष्टता गरिरहेको छु । हजार चन्द्रदर्शन गर्न सफल भएको उपलक्ष्यमा चौरासी पूजा गर्ने चलन छ । जन्मदिन, न्वारन, अन्नप्रासन, ब्रतबन्ध, चौरासी पूजाका उत्सव मनाउने चलन पहिल्यै पनि हो । पहिले पहिले सामान्य धार्मिक विधिले शुभकर्मको अर्थमा मनाइन्थ्यो । अहिले चांिह शुभकर्मको अर्थमा भन्दा मनोरञ्जनप्रधान बनाएर मनाउन थालिएको छ । अहिले विवाह वर्षगाँठ मनाउने चलन थपिएर आएको छ । पहिल्यै पनि कुनै न कुनै रुपमा मनाइँदो हो, थाहा भएन । अहिले रतिराग अथवा ‘पिरिम’ जनाउन मनाइने विवाह वर्षगाँठ निकै तामधामका साथ मनाउन थालिएको छ ।


जन्मदेखि चौरासीसम्मका कार्यक्रम पहिल्यै सामान्य शुभकार्यका रुपमा मनाइन्थ्यो भने पछिल्लो समयमा आएर झन् पछि झन भब्य र अति भब्य बनाउंदै मनाउन थालियो । यसमा पाश्चात्य शौलीलाई पनि अवलम्बन गर्न थाल्दा फरकपन आउँदै गयो । शुभकार्यको महत्व कम हुँदै र मनोरञ्जनको उल्लास बढी हुँदै गयो । खाद्य परिकारको विविधता, सजावटको वैशिष्ट्य तथा परिधान र आभुषणको गुणवत्ताले खर्चपर्च एकदमै बढेर गयो । कार्यक्रम यसरी मनाउने चलन उच्च धनाढ्य वर्गबाट शुरु भएको हो । चलन त्यस वर्गमा मात्रै सीमित रहँदासम्म कुनै तरंग निस्केन । जब यो चलन सुस्त सुस्त गरेर मध्यम वर्गसम्म छताछुल्ल भयो, तव यसले निम्न मध्यम वर्गलाई पनि प्रभावित पार्यो । मन बढ्न थाल्यो । प्रतिस्पर्धा हुन थाल्यो । हुँदाहुँदै खानपान भेषभूूषा, रंगरसको आयतन बढ्न थाल्यो । अचेलका शुभउत्सवमा भोजन हुँदैन, ‘डिनर’ हुन्छ । भजन कीर्तन हुँदैन ‘डान्स’ हुन्छ । डान्समात्र हुँदैन ‘डान्सवार’ हुन्छ । डान्सवार, मधुशाला ।


हाम्रो संस्कृति ‘तमसो मा ज्योतिर्गमय’ हो । मतलव, अँध्यारो होइन उज्यालो भन्ने हो । तर , हाम्रा जन्मोत्सव मनाउँदा बालेका बत्ती निभाउने चलन आएको छ । यस सम्बन्धमा मलाई स्व. डा. विष्णुराज आत्रेय लाटो साथीको भनाइ याद आइरहेछ । उनको भनाइ थियो— ‘जन्मोत्सवमा बलेको वत्ती निभाएर र केक रेटेर जन्मशोक मनाउँने यी ठेट्नाहरुलाई म के भनेर सम्झाऊँ, सल्लाह पाऊँ ।’ यसलाई विकृति भनौं भने पश्चगामी भइन्छ । अग्रगामी हुन यसलाई संमृद्ध संस्कृति भन्नुपर्छ ।


जन्मोत्सव, विवाह, ब्रतबन्ध, अन्नप्रासन, विवाह पछिको वर्षगाँठ मनाउने चलन मध्यम वर्गमा पनि छताछुल्ल भएपछि अवश्य पनि आर्थिक गतिविधि बढेको छ । यसलाई सकारात्मक मानौं । उत्सवको आकार बढेर गयो । घर आँगनमा संभव भएन होटल, पार्टी प्यालेस, रिसोर्ट बन्न थाले कार्यक्रमस्थल । अरु मुलुकमा पनि पाइने खाद्य परिकारको व्यवस्था छ त्यहाँ । त्यहाँ घिउ राखेको चिल्लो खाजाको ठाँउमा मसालेदार पुलाउ छ । घरमा बन्ने शिखार भात त्यहाँ हुने भएन । शुभउत्सवमा प्रचलित हाम्रा फिनी, अर्सा, अनरसा, सेल रोटी, हलुवा, पुरी, तरकारी, खिरजस्ता परिकारहरु लगभग अब विस्थापित छन् । तिनका ठाँउमा वर्गर, पिज्जा, चिकेन चिल्ली, मम, चाउमिन आदि यस्तै यस्तै स्थापित छन् ।


यो लेखनको अभिप्राय हाम्रा जीवनोत्सवहरु आफ्नै पुरानै शैलीमा मनाइरहनु पर्छ भन्ने होइन । तर, आफ्ना चलन चल्तीलाई, परम्परा, संस्कार, संस्कृतिलाई पनि जोगाउँदै संमृद्ध संस्कृतिलाई पनि अपनाउन सकिन्छ भन्ने अवश्य हो । नयाँ कुरा भनेपछि जस्तोसुकै पनि अपनाइहाल्ने पुरानो कुरा जस्तोसुकै होस् छाडिहाल्ने हाम्रो बानी बसिसकेको छ । यसबाट पुरानो कुरा राम्रो भए पनि प्रयोजनहीन हुनेभयो । यसबाट घाटैघाटा छ नाफा छैन ।


जहाँसम्म केक रेटेर र बत्ती निभाएर मात्रै बर्थडे मनिन्छ भन्ने संस्कृतिको विकास भइरहेको छ, कहीं कतै राम्रैहोला, केक व्यवसाय फस्टाउला । राम्रै हो । तर यही कुरा रुढ कर्मकाण्ड बनेर उज्यालो होइन अँध्यारो रोज्नपर्ने भयो भने खाल्टोमा परिने हो कि भन्ने चिन्ता यो मनुवालाई परेको छ । मिठाइमा लड्डु चांहि हाम्रा शुभकार्यमा, खुशीयालीमा निकै प्रयोग हुने मिठाइ हो । हाम्रो विश्वासमा ललड्डुमा शुभत्व र शुभत्वमा लड्डु भन्ने भावना कताकता अन्तर्निहित छ । केक रेट्ने र बत्ती निभाउने कुरा कर्मकाण्ड हुन्छ कि भन्ने भय उत्पन्न भइरहेको अवस्थामा केक काटेर, बत्ती निभाएर पनि बर्थडे मनाउन सकिन्छ, बत्ती बालेर र लड्डु बाँडेर पनि बर्थडे मनाउन सकिन्छ भन्ने यतिकनको उदारता कायम भए पनि अलिकति राहत हुन्थ्यो भन्ने यस मनुवाको कलमले खोजेको छ । यसो भनिरहँदा फेरि अर्को कर्मकाण्डी बनिन्छ भने यो मनुवा तयार छ ।


अहिले प्रचलनमा रहेका बर्थडे, न्वारन र अन्नप्रासनलाई कटुशब्दमा भन्नु पर्दा दैनिक उपभोगका बस्तु बेच्ने पसल हुन् भन्दा हुन्छ । यसो भन्दा बढी हुँदैन । उपभोक्तावादी संस्कृति हावी भएको अहिलेको अवस्थामा यसलाई अन्यथा पनि भन्न पर्दैेन । बन्दोबस्तीलाई हेर्दा दाम नतिरिकन निम्ता मान्न निम्तारुलाई गाह्रो छ । बर्थडेको चलन मध्यम वर्गमा छताछुल्ल भएपछि यसको प्रभाव निम्नमध्यम वर्गमा नपरि छाडेन । खास गरिकन रोजगारीको लागि कोरिया, कतार, साउदी अरब, जुनसुकै मुलुक गएका नेपाली बन्धु बान्धवले यसलाई यहाँ भित्राएका हुन् । तिनीहरुले विदेशमा कमाएर थुप्रै रेमिटान्स नेपाल पठाए । पठाइरहेका छन्, जसले मुलुक चलिरहेको छ । यसकालागि तिनीहरु धन्यवादका पात्र छन् । साथसाथै तिनीहरुले बर्थडेको यस रुपको चलनलाई पनि यहाँ भित्राए । आफ्ना मिया रोजगारीका लागि मुग्लान गएपछि विवीहरु नानीबाबु पढाउन भनी पहाड छोडेर तराईका शहर झरे । विदेशको दुई पैसा आउन थाल्यो । शहरमा केकका पसल छंदै थिए । बर्थडे मनाउन थालियो । यसलाई अन्यथा नलिऊँ तर कुरा यो हो कि घाँटीहेरी हाड निल्ने काम भयो कि भएन, आफनो परिचय जोगाउने कोशिस भयो कि भएन । ख्याल गर्ने कुरा यो हो ।


म्यारिज एनिभर्सरी अर्थात विवाह वर्षगाँठ मनाउने चलन निकै सजधजका साथ आएको छ । कतिपय धनाढ्यहरु यसमा मज्जाले रमाउन थालेका छन् । ठूला ठूला होटलहरु, पार्टी प्यालेसहरुमा पहिलो विवाह जस्तै २५ वर्षमा रजत वर्ष, ५० वषर्मा स्वर्ण वर्ष र ७५ वषर्मा हिरक वर्ष भनेर विवाह वर्षहरु गजवले मनाउन थालिएको छ । सानदार भोज गरेर मनाउन थालिएको छ । गहना कपडा आभूषणमा कुनै कमी छैन । यसलाई पनि अन्यथा नमानौं । यो कुरा मनोरञ्जनको विषय हो । रमाएर जिउने कलाको विषय हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यसबाट आर्थिक गतिविधि बढ्छ । होटलको बजार गुल्जार हुन्छ । राज्यको राजस्व पनि बढ्छ । संगसंगै नवीकृत दुलाहा दुलहीको आयु नै बढ्छ । २५, ५० र ७५ मा मात्रै वर्षगाँठ किन ? वर्षैपिच्छे मनाउँदा पनि हुन्छ ।


लेखक मनुवा यस सम्बन्धमा यतिमात्रै भन्छ —हाम्रो समाजमा विभिन्न वर्ग छन् । ती वर्गका आ आफ्नै सुख दुख छन् । हुने खाने वर्ग छन् । हुंदा खाने वर्ग छन् । हुंदा खाने वर्गले यसरी भब्य रुपमा विवाह वर्षगाँठ मनाउन त सक्दैन । हुने खाने वर्गले मनाउंदा आफ्नो वर्गमामात्र सीमित राखेर विवाह वर्षगाँठहरु तथा यस्ता नयाँ प्रचलनमा आएका उत्सवहरु मनाउँदा बढी बेस हुन्छ । नत्र हुनेखानेको उच्चताबोधमा हुँदा खानेमा हीनताबोध भई इज्जतको सवाल भएर स्थिति अनिष्ट हुन सक्छ ।


रञ्जन दुई किसिमका हुन्छन्—

१— मनोरञ्जन

२— आत्मरञ्जन
माथि यतिका बेली विस्तार गरियो । मनोरञ्जन भयो । यस्तै मनोरञ्जन गरेर विवाह वर्षगाँठ बर्थडेहरु मनाऊं । इच्छाको कुरा हो । दुई वर्ष अघिको कुरा हो, बुटवल कालिका विद्यालयको एउटा कार्यक्रममा सामेल थिएँ । विशाल उपस्थिति छ । त्यसमा होमबहादुर गलामी नामधारी एकजना सज्जनले भनेः मैले यस वर्ष छोराको विवाह गरें, छरछिमेकी नाता कुटुम्ब भएर छोटो मिठो गरें । विशाल भोज गरिन । मेरा इष्टमित्र धेरै । हिसाब गर्दा १२ लाख लाग्ने भयो । इष्टमित्रले पनि राम्रै मान्ने सम्झेर त्यो विवाह भोजमा लाग्ने १२ लाख रकम म यस विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषमा समर्पण गर्दछु ।


तालीको गडगडाहट आयो । सम्पूर्ण उपस्थितिसहित होमबहादुर गलामीलाई आत्मरञ्जन भयो । यो आत्मरञ्जन उनको मुख मन्डलमा प्रकट थियो । मेरा ती जिज्ञासु मित्रहरुलाई यिनै शब्दहरुमा साथ अहिलेलाई विदा ।

 

अपडेट : 2021-03-03 15:24:08




your-image

Leave a Comment