माघ १२ २०७७   |  2021 Jan 25    


चिलिमे दाइका बूढाबूढी र हाम्रा नेताहरु


news
यो पङ्तिकार रुकुमको चौरजहारी बस्दाखेरिको कुरा हो, त्यतिबेला मेरो छिमेकमा एकजना बादी दाइको परिवार बस्थे । बादी दाइ र उनको बूढीले दिउसभरि चिलिम बनाउने र बेच्ने गर्थे । हामीले उनलाई चिलिमे दाइ भनेर बोलाउथ्यौं । त्यतिबेला नून र अन्य सामानहरु खरिद गर्न नेपालगञ्ज र चौरजहारीसम्म आएका डोल्पा र जाजरकोटतिरका मानिसहरुले चिलिमेदाइका परिवारले बनाएका चिलिम पनि लिएर जान्थे । व्यापार राम्रो चल्थ्यो । बूढाबूढीलाई भ्याइनभ्याइ हुन्थ्यो । साँझ परेपछि भने दिउसभरि कमाएको पैसाको बूढाबूढी मिलेर दारु खान्थे र झगडा गरेर रातभरि मलगायतका छिमेकीलाई सुत्न दिदैनथे । यतिसम्म खान्थे कि दिउसभरि चिलिम बेचेको पैसा चिलिम हुने गरी खान्थे । झगडा पनि यतिसम्म गर्थे कि भोलिपल्ट विहान यिनीहरुमध्ये कोही चिलिम फर्किसकेहोलान भन्ने अनुमान समेत गर्न भ्याउथ्यौं हामी । केही वर्ष त्यसरी नै बसे तिनीहरु हाम्रो छिमेकमा । त्यसपछि हामी त्यही छँदाछदै कहाँ गए तिनीहरु थाहा भएन । तिनीहरुको खोजी र सम्झना पनि कसैले गरेन । बरु खराव छिमेकीले छोडेर गएकोमा हामी सवैलाई हाइसञ्चो अनुभूति भयो ।
 
अहिले राजनीतिक दल भित्रको किचलो देख्दा मलाई ती चिलिमे दाइका बुढाबुढीको सम्झना आइरहेको छ । यिनीहरुको अधिकांश स्वभाव पनि चिलिमे दाइका बूढाबूढीको स्वभावसँग मिल्दोजुल्दो देखिन्छ । अघिपछि मिलेजस्तो गर्छन् । जव खाने र हसुर्ने बेला आउछ त्यतिबेला भने ज्यान गएपनि अरुले भनेको मान्दैनन् । किनभने कुनै न कुनै बेला सवै सत्तामा गएका छन् र सत्ताको स्वाद कति मीठो हुन्छ भन्ने कुरा थाहा छ उनीहरुलाई । त्यसैले पनि कसैले फेरि फेरि सत्तामा पुग्नका लागि झगडा गरिरहेका छन् भने सत्तामा पुगेकाहरुले सत्तामै टिकीरहनका लागि भगडा गरिरहेका छन् । आज त्यही भइरहेको छ उनीहरुको बीचमा । कलह त सधैं हुन्थ्यो । यत्तिबेला अलि बढि भएको छ । अव उनीहरु एउटै घरमा बस्न नसक्ने अवस्थामा पुगिसकेका छन् । एउटा पक्षले संसद विघटन गरेर चुनावको मिति समेत तय गरिसकेको छ । चुनावमा यिनीहरुको चिलिम फर्किन्छ जस्तै लागिरहेको छ मलाई त । चिलिमे दाईका बूढाबूढी कहाँ गए कसैले खोजी नगरेजस्तै चुनावमा यिनीहरुको पनि चिलिम फर्कियो भने त यिनीहरुको खोजी पनि कसले पो गर्ला र ?
 
मानिस भित्र सपना नै भएनन् वा सपना सामूहिक नभएर व्यक्तिगत भए भने मानिसहरु आपसमा मिल्न सक्दैनन् । सपना भएका र सपना नभएकाहरुको बीचमा पनि मिल्ति हुदैन र सपना भएर पनि फरक फरक सपना भएकाहरुको बीचमा पनि मिल्ति हुदैन । चिलिमे दाईका बूढाबूढीका सपना नै थिएनन् भएपनि झिनामसिना थिए । दिउसभरि काम गरेको पैसाले बेलुका मदिरापान गर्न पुगे भयो । सानो घर बनाउने, छोराछोरीलाई राम्रोसँग पढाउने र असल बनाउने, विरामी भए औषधीउपचार गर्नका लागि अलिकति नगद पनि जम्मा गर्ने मात्रै पनि चिलिमे दाइका बूढाबूढीको सपना हुन्थ्यो भने सायद उनीहरुले हरेक रात नसासेवन गरेर हाम्रो समेत निदहराम हुनेगरी झगडा गर्दैनथे होला र कमाएको पैसा जति नसासेवनमै पनि उडाउदैन्थे होला । हाम्रा अहिलेका नेताहरुमा चिलिमे दाइका बूढाबूढीका जस्तो सपनै नभएका त होइनन् । तथापि ती सपनाहरु सामूहिक भन्दा पनि व्यक्तिगत भए । देश बनाउने भन्दा पनि आफूमात्र बन्ने भए । देश बनाउने सपना बोकेका हुन्थे भने देश निर्माण नहुँदासम्म उनीहरु एक ढिक्का भएर अघि बढ्थे । सपनाहरु आफूबन्ने मात्र भएकाले उनीहरु देश निर्माणको थालनी हुँदानहुदै टुक्रिन थालेका छन् ।
 
सेतोपाटीमा प्रकाशित मुराहरी पराजुलीको आलेख पढेपछि बोध भयो कि नर्वे सरकारले सन् १९९० मा गभर्मेन्ट पेन्सन फन्ड स्थापना गरेको थियो । तेल बिक्रीबाट प्राप्त बचतको रकमले खडा गरिएको कोष भएकाले यसलाई बोलिचालीका भाषामा ’आयल फन्ड’ पनि भन्ने गरिदो रहेछ । भविष्यमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आयो भने आफ्नो देशलाई कसरी त्यतिबेला पनि समुन्नत र सम्पन्न बनाइराख्ने भन्ने सपना देखेर यो फण्डको स्थापना गरिएको रहेछ । यो कोषको सम्पत्ति हाल १० खर्ब डलरभन्दा माथि पुगेको छ । यो कोषको रकमलाई प्रत्येक नर्वेलीमा बराबर भाग लगाउने हो भने एक जनाको भागमा एक लाख ९५ हजार डलर (दुई करोड ३४ लाख रुपैयाँ) पर्न आउँछ । आम्दानीको सबै बाटो बन्द भयो र यही कोष चलाउनु पर्ने स्थिति आयो भने पनि नर्वेलीले धेरै समयसम्म तेस्रो विश्वका नागरिकलेभन्दा राम्ररी जीवन निर्वाह गर्न सक्छन् । आकारका हिसाबले सरकारले स्थापना गरेको यो संसारकै ठूलो कोष हो । लगानी विविधीकरणका लागि विश्वभरका विभिन्न भौतिक तथा वित्तीय सम्पत्तिमा लगानी गर्ने कोषको नीति छ । कोषले घरजग्गासहित ७३ देशका ९ हजारभन्दा बढी कम्पनीका शेयर तथा ऋणपत्रमा लगानी गरेको छ । मानवअधिकार उलङ्घन र हातहतियारमा सहयोग गर्ने एवम् सूर्तिजस्ता बस्तु उत्पादन गरी पर्यावरणमा क्षति पु¥याउने कम्पनीमा भने यो कोषले लगानी गर्दैन ।
 
नर्वेमा राज्यले परिकल्पना गरेको शिशु स्याहार केन्द्रको विकासको कुरा पनि अनुकरणयोग्य रहेछ । । यहाँ सन् १९५० ताका एक प्रतिशत शिशु मात्र सरकारी शिशु स्याहार केन्द्रमा जान्थे । सुरूमा राज्यले शिशु स्याहारको ढाँचा जसरी परिकल्पना गरेको थियो, पछि त्यो त्यस्तै रहेन । सुरूमा पूर्णतया सरकारले निःशुल्क प्रदान गर्दै आएको यो सेवामा पछि निजी कम्पनीको प्रवेश भयो । सरकारले उनीहरूलाई अनुदान दिन थाल्यो । सरकारले लक्षित अभिभावकलाई सेवाको सट्टा नगदै पनि दिन थाल्यो । त्यति मात्र होइन रोजगारदातामार्फत शिशु स्याहारका लागि पर्याप्त समय र नगद दिएर अभिभावकलाई नै बालबच्चा हेरचाह गर्न प्रोत्साहित गरियो । सन् २०१३ सम्म आइपुग्दा सरकारी शिशु स्याहार सेवाले समेट्ने शिशुको अनुपात झण्डै ९७ प्रतिशत पुग्यो । शिशु स्याहारमा मात्र होइन शिक्षा, स्वास्थ्य, रोजगार, सार्वजनिक यातायातका क्षेत्रमा नर्वेले अतुलनीय उन्नति गरेको छ ।
 
हाम्रोमा भने बुद्धको देश भन्नु मात्रै भयो, जता पनि कचिङ्गल र अशान्ति छ । सपनाहरु विभाजित छन् । देशका सपनाहरुमा आगो लगाएर आफ्ना सपनाहरुको जतन गर्नतिर लागेका छन नेताहरु । यस्तो लाग्छ उनीहरु घर जलाएर तामझामका साथ अहोरात्र खटेर खरानीको व्यापार गर्दैछन् । यही व्यापारबाट मनग्गे मुनाफा हुन्छ भन्ने कुबुद्धि पलाएको छ उनीहरुमा । राजनेता भनिएका व्यक्तिका सपनाहरु लामो रुटमा चल्ने गाडीका जति पनि हुन सकेनन् । कम्तिमा लामो रुटमा चल्ने गाडीले त निश्चित समयमा निश्चित स्थानमा यात्रीलाई पु¥याउने गरी आफ्नो गतिलाई व्यवस्थापन गरेको हुन्छ । हाम्रा नेताहरु त जहा जति बेला र जति अवधि पनि रोकिन सक्छन् । उनीहरुका सपना भनेका छोटो रुटमा चल्ने थोत्रो गाडीका जस्ता भए । यस्ता नेताहरुलाई देशको बागडोर सम्हाल्ने जिम्मा दिएपछि हाम्रो हविगत राम्रो हओस पनि कसरी ? नर्वे लगायतका समुन्नत मुलुकहरु त्यत्तिकै समुन्नत भएका होइनन् । उनीहरुले देशका निम्ति सपना देखे र तिनै सपनाहरुलाई साकार पार्नका लागि एकजुट भएर लागे । अनि पो देखेका सपना पूरा भएका हुन तिनीहरुका । हाम्रा सपना र कथाहरु त राणाकालदेखि कै छिमल्ने हो भनेपनि आफू बन्ने बाहेक देश बनाउने सपनाहरु देख्नै सकेनन् हामीले पत्याएका राजनेताहरुले ।
 
अहिले पनि मुलुकको सवैभन्दा ठूलो राजनीतिक पार्टी विभाजित हुनै लाग्दा मैले त सोचेको थिए कि यसका अधिकांश कार्यकताहरु विभाजनको विपक्षमा उभिनेछन् । त्यो विल्कुलै देखिएन । बरु कता लागे लाभ हुन्छ भन्ने कुराको विश्लेषण गर्दै लाइनमा लाग्न भ्याइनभ्याइ देखिएको छ । यस्तो लाग्छ कि सुझवुझ र विवेक भएका मानिसहरु राजनीतिमा छैनन् । चुनावमा होमिए भनेपनि त्यस्ताले चुनाव पनि जित्दैनन् । सुझबुझ र विवेक भएका रहेछन् भने पनि तिनीहरु ओझेल परेका छन् । हाम्रो देशमा त देशलाई समुन्नत बनाउनका लागि सपना देख्नेहरु भन्दा पनि भीड ठूलो देखाउनेहरुको बोलवाला छ । जनता सचेत नभएका चुनावी मैदानको त कुरै नगरौं । नागरिकलाई बाध्यता छ । जसले मासु चिउरा खान दियो उसैलाई भोट दिन्छन् । त्यो भन्दा अरु के दिन्छन भन्नेसम्म पनि उनीहरुलाई थाहा छैन । चेतना र शिक्षाको हिसावले अव्वल मानिएका केन्द्रीय राजधानीका जस्ता चुनावी मैदानमा समेत विवेक र सुझवुझ भएका नेताहरुको गतविगतको चुनावमा प्राप्त उपलब्धि हेर्दा समेत हालत खस्किएको देखिन्छ ।
 
सारमा हाम्रो मुलुकमा राजनीतिक क्षेत्रको रोजाइ सम्पत्ति र षडयन्त्रमा अब्वल भएकोहरुको निम्ति भयो । सुझबुझ र स्वाभिमान भएकाहरुको निम्ति यो क्षेत्र रोजाइको हुन सकिरहेको छैन । कतिपयले रोजेपनि पछुताइरहेको अवस्था छ । नेतृत्व पङ्ति नै दूरदुष्टि र दीर्घकालीन सोच भएको हुन सकेन भने देश समुन्नत पो कसरी हुन्छ र ? अहिले भएको हाम्रो मुलुकको विकास त स्वाभाविक विकास हो । एउटा बालक जवान भएर जुँगाको रेखी बसेको अवस्थालाई विकास भनेजस्तै हो हाम्रो यो अहिलको विकास । जो त्यसै पनि हुन्छ र कसैले रोकेपनि जवर्जस्त पनि हुन्छ । चन्द्रशमशेरले त्रि–चन्द्र कलेजको स्थापना गरेजस्तै । बरु यस्तै यस्तै विकासको नाममा भ्रष्टाचारको सीमा कति हो कति हुने गरेको छ । त्यो पनि राजनेताहरुबाटै हुने गर्दछ । किनभने चुनाव जित्न होस् वा समानुपातिकमा पर्न होस्, भौतिक सम्पत्ति नभइ सम्भव छैन । त्यसकारण पनि हामी नर्वे हिडेको बाटोमा हिड्न सकिरहेका छैनौं । हाम्रो बाटो भनेको चिलिमे दाइको बाटो हो । त्यही भएरै विना कुनै तुक कलह गरिरहन्छौं सधैं । यो पनि प्रष्ट छ कि चिलिमे दाइका बूढाबूढी छिमेकबाट हराएपछि गाउँमा शान्ति र हाइसञ्चो भएझै यी नेताहरु सुध्रिएनन् भने यिनीहरु हराएपछि हाइसञ्चो र शान्ति मिल्ने दिन पनि आउछ होला सायद ।

अपडेट : 2020-12-24 20:06:12




your-image

Leave a Comment