माघ १२ २०७७   |  2021 Jan 25    


घरजग्गा किन्ने भन्दा बेच्ने धेरै


news

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा रुपन्देहीमा घरजग्गाको कारोबार बढ्न सकेको छैन । अहिले जग्गा किन्ने भन्दा पनि बिक्री गर्नेहरु धेरै देखिएका छन् । जग्गा व्यवसायीहरु भने अधिकांश सर्वसाधारणले बैंकमा धितो राखेर जग्गा किनेको तर अहिले बैंकको क्रृण तिर्न नसकेका कारण बिक्री गर्नेहरु बढेको बताउँछन् ।


कोरोना भाइरसको महामारीका कारण बिक्री गर्ने बढे पनि किन्ने मानिस निकै कम भएको घर–जग्गाको कारोबार गर्ने व्यवसायीहरु बताउँछन् । “यतिबेला घरजग्गा कारोबार निकै कम भएको छ भने मूल्य पनि स्थिर छ, बैंकको क्रृण तिर्न नसकेका कारणले नै अहिले धेरैले जग्गा बेच्न खोजिरहेका छन्”–घरजग्गा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दशरथ पौडेलले भने ।


घरजग्गाको कारोबार गरिरहेका तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का प्रेम मरासिनी पहिले डेढ करोड कट्ठामा कारोबार हुने ठाउँमा अहिले एक करोडमा कारोबार हुने गरेको बताए । “जग्गा किन्नेहरु धेरै नहुँदा त्यसको असर मूल्यमा परेको छ, बिक्री गर्नेहरु धेरै हुँदा सस्तो मूल्यमा पनि बेच्ने गरेको पाइएको छ”–उनले भने ।


उनले तिलोत्तमाका भित्री स्थानहरुमा घरजग्गाको कारोबार गर्दै आएका छन् । ग्राहकहरुले अहिले सस्तो मूल्यका जग्गाको खोज्न थालेको उनको अनुभव छ । “अहिले आउने ग्राहकले सस्तो जग्गा खोजिरहेका छन्”–उनले सुनाए ।


अहिले परिस्थिति नै जटिल रहेको बेला जग्गाको मूल्य नबढे पनि अवस्था सामान्य भएमा ६ महिनापछि जग्गा किन्ने मानिस धेरै हुने घरजग्गा व्यवसायी संघका जिल्ला अध्यक्ष पौडेलको दावी छ । उनका अनुसार आर्थिक समस्यामा परेका मानिसले केही हदसम्म जग्गाको मूल्य कम गरेर पनि बेच्न चाहेका छन् ।


“जग्गा भनेको आज किनेर भोलि बेच्ने कुरा भएन”–पौडेलले भने, “विगतको दिनमा किनेर राखेका व्यापारीहरुले कोरोनाका कारण बैंकको ऋण तथा अन्य समस्याले बजारको मूल्यभन्दा केही कम मूल्यमा बिक्री गरिरहेका छन् ।”


घरजग्गा किनबेचका लागि ब्रोकरको काम गर्ने अनलाइन साइटहरुमा यतिबेला घरजग्गाको मूल्य घटाएर बिक्रीका लागि राख्न थालिएको छ । समस्यामा नपरेका व्यावसायीहरु भने मूल्य घटाएर बेच्न तयार छैनन् ।


“समस्यामा नपरेका व्यवसायी हुन् वा सर्वसाधारण हुन् उनीहरुले मूल्य बढाएका पनि छैनन्, घटाएका पनि छैनन्”–अध्यक्ष पौडेलले भने, “समस्यामै पर्दा त जो कसैले पनि मूल्य घटाएर बेच्छन् नै ।”


बिगतमा घरजग्गामा गरिएको लगानीले अहिले उद्योगधन्दामा पनि असर परेको छ । उद्योगका लागि भनेर बैंकबाट क्रृण लिने तर जग्गामा लगानी गर्ने प्रवृत्तिले उद्योगधन्दा फस्टाउन नसकेको उद्योगीहरु बताउँछन् । “अहिले जग्गा बिक्री गर्न आत्तिएको पनि यही कारण हो, उद्योग चलाएकाहरुले बैंकबाट क्रृण लिए, तर क्रृणको ठूलो हिस्सा जग्गामा लगाए, अहिले बैंकले ताकेता गर्न थालेपछि ससे मूल्यमै भएपनि बिक्री गर्नेहरु बढ्न थालेका छन्”–नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले भने–“यसरी लिएको क्रृण उद्योगमै लगाएको भए उत्पादन वद्धि हुन सक्थ्यो ।”

यता, बैंकरहरुले भने बैंकहरुले ताकेता नै गर्नुपर्नेगरी घरजग्गामा गरिएको लगानी जोखिममा नरहेको दावी गर्छन् । “घरजग्गामा गरिएको लगानी अहिलेसम्म असुरक्षित छैन, बैंकबाट क्रृण लगेकाहरुले नियमित किस्ता तिरेकै छन्”–एनआइसी एशिया बैंकका लुम्बिनी प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले भने । आफ्नो बैंकले जग्गामा भन्दा पनि घरमा केन्द्रित भएर लगानी गरेकोले सुरक्षाको जोखिम नरहेको भन्दै उनले जग्गामा भने पछिल्लो समय लगानी नभएको दावी गरे ।


यता, मालपोत कार्यालय बुटवलको राजस्वमा भने बिगतको तुलनामा सामान्य मात्रै गिरावट आएको छ । आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिकमा १७ करोड ७६ लाख ३६ हजार ५६२ रुपियाँ घरजग्गा कारोबाट राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १५ करोड ५२ लाख ९८ हजार ८८५ रुपियाँ राजस्व संकलन भएको लेखा अधिकृत बाबुलाल नेपालले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष ८७ प्रतिशत राजस्व संकलन भएको छ । मालपोत कार्यालय बुटवलका प्रमुख बेदप्रसाद आचार्यले कोरोना महामारीका कारण गत भदौसम्म कारोबारमा कमी आएपनि असोज यता कारोबार बढ्न थालेको बताए ।

अपडेट : 2020-12-24 10:44:45




your-image

Leave a Comment