माघ १२ २०७७   |  2021 Jan 25    


बैकुण्ठबहादुर चन्दः जो मरेर पनि बाँचिरहने छन्


news

मृत्यु एकमात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो । किनकी कुनैपनि मानिस चाहेर जन्म लिन सक्दैन । तर कसै कसैकालागि मरणमा इच्छा मरण पनि हुन सक्छ । जीवनको निश्चित दुरी पार गरेपछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ । हाम्रो आध्यात्मिक दर्शन अनुसार पाप र धर्म सबैले साथमा लिएर यस धर्तीबाट अर्को संसारमा विलय हुन्छन् । अठार पुराणको सार भनेको “परोपकार पुण्डाय पापाय परपीडनम्“ हो । धर्म गर्ने स्वर्ग जान्छ पाप गर्ने नरक जान्छ भन्ने पुराणको मान्यता छ । अचम्म के हो भन्ने बारेमा महाभारतमा वर्णन गरिए अनुसार हरेक मान्छेले आफु जस्तै मान्छे आफ्नो अगाडी मृत्यु वरण गरेको देखेर पनि आफु एक दिन यसैगरी मर्ने कुरा भुसुक्कै बिर्से जस्तो गरी पिर, चिन्ता र तनाव लिने गर्छन । सायद यस्तै भएर होला मलाई पनि अचम्मले छोड्न सकिरहेको छैन । मानिसहरु मरेको सुन्दा कता कता नमिठो महशुस हुन्छ । सायद राजनैतिककर्मी भएको नाताले होला राजनैतिककर्मीहरुको मरणले अझ बढी मनमा दुखदायी स्पर्श हुन्छ । लामो समय सम्म विद्यार्थीकालदेखि नै गुल्मी जिल्लामा राजनीति गरेको भएर पनि होला विशेषगरी जिल्लावासी राजनीतिक कर्मीहरु मरेको सुन्दा कताकता दुख लागेर आए जस्तो वा केहि गुमाए जस्तो केही कुराको अभाव खड्के जस्तो महशुस भैरहन्छ । राजनीति भनेको समाजसेवा हो । राजनीति गर्नेहरुको जीवन पनि निकै जोखिम र अपुरो हुन्छ । किनकी सबै राजनीति गर्नेहरुले कमाएका हुन्छन् भन्ने निश्चित हुँदैन ।

आफ्नो पुरा जीवन समाजलाई अर्पण गरेर लागेकाहरुको मरण हुँदा अलि धेरै मलामीहरु बाहेक अरुथोक केहि नहँुदो रहेछ । २०७७ सालको तिहारको सेरोफेरोमा मैले नजिकबाट चिनेका केहि राजनैतिककर्मीहरुको मृत्यु हुन गयो । करिब एक हप्ताको सेरोफेरोमा नेपाली काँग्रेसको सहयोध्दा साथी मदाने गाउँपालिका निवासी सिर्सेनिका सभापति डिलहरि सेन, धुर्कोट गाउँपालिका नयागाउँ निवासी नेकपाका कुशल नेता बोम बहादुर खड्का र मदाने गाउँपालिका अग्लुङ निवासी बैकुण्ठ बहादुर चन्दहरुको मृत्य भयो । उहाँहरुको मृत्युले पुनः एकपटक यसभन्दा अगाडी मृत्य वरण गरिसक्नु भएकाहरुलाई सम्झन बाध्य गरायो । नेपाली काँग्रेसबाट २०४८ सालमा निर्वाचित पूर्व सांसद रुद्रमणि भण्डारी, तत्कालीन नेकपा एमालेका गुल्मीका अध्यक्ष टोमलाल पाण्डे, बरिष्ठ राजनीतिज्ञ प्रेमनाथ अर्याल, नेपाली काँग्रेसका नेता पदमपाणि पन्थी, २०४८ सालमा निर्वाचित पूर्व सांसद भागवत ज्ञवाली, नेकपा एमालेबाट निर्वाचित पूर्व जिल्ला विकास समितिका सभापति कौशल पोखरेल, नेपाली काँग्रेसका नेता फणिन्द्र भण्डारी र हरि न्यौपाने लगायतहरुलाई फरक फरक तरिकाले मनमा स्मरण गर्दै उहाँहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु ।


गुल्मी जिल्ला मदाने गाउँपालिका अग्लुङ निवासी पूर्व जिल्ला पंचायतका सभापति तथा राष्ट्रिय पंचायतका पूर्व माननीय बैकुण्ठ बहादुर चन्दको मृत्यु एक कदम अन्य नेताहरुको भन्दा फरक रहन गएको महशुस गरेको छु । फरक यस मानेमा रहन गयो कि जीवित रहुन्जेल बैकुण्ठ बहादुर चन्दलाई कसैले खोजेनन् । तर उहाँको मृत्युको खबरले एकाएक सामाजिक संजालले चारैतिर ततायो र छायो पनि । सबै राजनैतिक दलका नेता तथा कार्यकर्ताले सामाजिक सन्जालमा एकै चोटी हार्दिक श्रद्धाञ्जली प्रकट मात्र गरेनन् हार्दिक श्रद्धा सुमन र उच्च सम्मान पनि प्रकट समेत गरे । आम गुल्मेली जनताले उहाँको बैकुण्ठ बासको कामना गरे । प्राय सबैको सामाजिक सन्जालमा दुखेसो यो रहन गयो कि जीवित रहुन्जेल बैकुण्ठ बहादुर चन्दलाई कसैले पनि वा राज्य पक्षले उचित मूल्यांकन गरेन । सवाल यो पनि हो कि बैकुण्ठ बहादुर चन्द जीवित रहुन्जेल उहाँको मूल्यांकन हुनपर्छ भनेर सामाजिक संजालमा कसैले पनि भनेन । तर मृत्यपछि भने सबैले एकसाथ दुखेसो कहे ।


भानुभक्तले रामायण लेख्ने प्रेरणा घाँसीबाट पाएको हुनाले घाँसीको सम्झनामा उनले कविता लेखे ः भर जन्म घाँस तिर मन दिई धन् कमायो, नाम केहि रहोस् पछि भनेर कुवा खनायो । मान्छे मरेर गए पनि उसलाई जनताको मनमा जीवित राख्ने स्वयंले गरेको कृति हो । म धरानबाट धनकुट्टातिर जाँदा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको बाटो भनी स्मरण गरेको सुनँे र दाङबाट सल्यान रुकुमतिर जाँदा पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको बाटो भनेर गाडीमा यात्रुहरुले स्मरण गरेको सुनेको छु । हामी गुल्मेलीहरुले पनि जब पाल्पाबाट रिडी तम्घासतिर लागिन्छ तब बैकुण्ठको बाटो भन्न थाल्छन् । गुल्मी जिल्लाको सबैभन्दा टाढा दुर्गम अग्लुङमा जन्मेर पनि राजनीति तथा समाजसेवा गरेर २०२६ सालमा आफुलाई गुल्मीमा जिल्ला पंचायतको सभापति तथा पटकपटक राष्ट्रिय पंचायतको माननीयजस्तो गरिमामय पदमा पुगेर गुल्मीको राजनीतिक केन्द्र बिन्दुमा बैकुण्ठबहादुर चन्दले आफुलाई उभ्याउन सफल पारे । जिल्ला पंचायतको सभापतिमा विजय भई सकेपछि तम्घास महेन्द्र उच्चमाविको प्रांगणमा भाषण गर्दा पाल्पाबाट तम्घास मोटरबाटो लिएर गुल्मेली जनतालाई नुनको भारी बोक्न नपर्ने गराउने छु भनेर घोषणा गरेको सुन्ने रेसुंगा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख शशि पन्थीज्युले बताउनुहुन्छ । गुल्मीबाट हिँडेर बुटवलदेखि नुन बोकेर घरमा आइपुग्न दश बाह्र दिनको समय लाने अवस्थामा गुल्मीको सदरमुकाम तम्घासमा मोटरबाटो ल्याउने प्रतिवद्धता जनताकासामु वैकुण्ठ बहादुर चन्दले २०२६ सालमा गर्नु कम चुनौतीपूर्ण थिएन । हुनत २०११ साल देखि नै अर्घाखाँचीको पत्थरकोटबाट तम्घासमा गाडीको बाटो खन्ने प्रयास चले पनि त्यो अपुरो नै रहन गयो । स्वर्गीय वैकुण्ठ बहादुर चन्दको निरन्तर प्रयासले गुल्मीका आम जनतालाई साथमा लिएर पाल्पाबाट रिडी हुँदै तम्घास मोटरबाटो खन्ने काम निरन्तर रहन गयो । पाल्पाबाट गुल्मीको लागि मोटरबाटो अगाडी बढाउने क्रममा तत्कालीन अवस्थामा थुप्रै चुनौती नआएका होइनन् । तर एउटा साहसी, विकास प्रेमी नेताको प्रयासले नेतृत्व गरेको कारण २०३८ सालमा रिडीमा ट्याक्टर उद्घाटन भयो भने उनै गुल्मेलिका ढुकढुकी स्वर्गीय वैकुण्ठ बहादुर चन्दको अगुवाइमा २०३९ साल वैशाख महिनातिर गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक ट्याक्टर उद्घाटन भएरै छोड्यो ।


वैकुण्ठ बहादुरको यात्रा वैकुण्ठ बासमाः

गुल्मी जिल्लाको दुर्गम अग्लुङमा जन्मेका वैकुण्ठ बहादुर चन्द पंचायती व्यवस्थाका असल हिमायती हुनुहुन्थ्यो । ३० वर्षे पंचायती व्यवस्थालाई फ्याँकेर नेपाली जनताको जनान्दोलनबाट २०४६ सालमा बहुदलीय व्यवस्था आयो भने २०६२, ०६३ को अर्को जनान्दोलनको बलमा २५० वर्षे राजतन्त्र पनि समाप्त भयो । अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । व्यवस्था जस्तोसुकै भए पनि व्यक्ति असल भयो भने जनताको मनमा जो कोही पनि सधैभरी अटाउन सक्छ भन्ने दरिलो प्रमाण हो स्वर्गीय वैकुण्ठ बहादुर चन्द । गुल्मेली जनता निरंकुश पंचायती व्यवस्था विरोधी हुन् तर विकास प्रेमी नेता वैकुण्ठ बहादुर चन्द विरोधी होइनन् भन्ने प्रमाण अहिले उहाँको निधनपछि प्राप्त प्रमाण भएको छ । वैकुण्ठ बहादुर चन्दको निधनपछि अहिले सामाजिक सन्जालमा पाल्पाबाट रिडी तम्घास मोटरबाटोको नामकरण वैकुण्ठ मार्ग राख्नुपर्छ भन्ने कुरा पनि उठिरहेको छ । यो कुरा भविष्यले निर्धारण गर्ने नै छ । तर बाटोको नाम बैकुण्ठ मार्ग होला वा नहोला तर आम गुल्मेली जनताको मनमा पाल्पा, रिडी, तम्घास मोटरबाटो वैकुण्ठ मार्ग रहिसकेको छ । जनता भनेका जनार्दन हुन् भने जनार्दन भनेको भगवान हुन् । भगवानको निवासलाई वैकुण्ठधाम भनिन्छ त्यसैले वैकुण्ठ वहादुर चन्द जस्तो मृदुभाषी, स्मरण शक्ति भएको, सरल स्वभावको, सबैसँग हातेमालो गर्न रुचाउने नेताको निधन पश्चात उहाँको यात्रा नरकतिर होइन, स्वर्गको पनि वैकुण्ठ बाँसतिर भएको छ, वैकुण्ठ बाँसको कामना सहित भावपूर्ण श्रद्धाञ्जली छ ।

अपडेट : 2020-12-02 21:05:42




your-image

Leave a Comment