माघ १२ २०७७   |  2021 Jan 25    


चियासँग कविता


news

मैले जति गन्थनहरू
लेख्ने गर्छु कविताको नाममा
मलाई लाग्छ ती कवितै होइनन्
यी त प्रचण्ड आवेग, कुण्ठा र आवेश मात्र हुन् ।

जब कहिलेकाही
गर्ने गर्छु म पुर्वपश्चिमको यात्रा
देख्छु राजमार्गसंगै जोडिएका जंगलहरुमा
ढलेर सडिरहेका असंख्य रुखहरु
सो बेला सलक्कै सम्झन्छु
सिंगो वन विभाग
क्युफिट, इन्चीको हिसाबले
नजरना उठाउने राष्ट्रका असेवकहरु
डलरको हिसाबले गिन्ती हुने
यिनका बैंक खाताहरु
अनि यात्रा सकिँदासम्म
मनमनै लेखिसकेको हुन्छु
एउटा सिङ्गो कविता
तर यो मेरो आलेख
कविता हुनै सक्दैन वा हुँदै होइन
यो त मात्र घृणा, आक्रोश र
जलनको पुलिन्दा मात्र हो ।

कहिलेकाही यात्रा जुर्छ
दाउन्ने, चोरमारा हुँदै गैंडाकोटसम्मको
गैंडाकोट मै राजमार्गसँग जोडिएको
एक विशाल संरचना देखिन्छ
जो बिस्तारै बिस्तारै खण्डहर बन्दै गइरहेको छ
यो भुतबंगाला,
हो कुनै समयको देशको ढुकढुकी
रोजिरोटीको अजश्र श्रोत
मित्रहरूको सुन्दरतम उपहार


यो नबेचिएको भए
अथवा बेचिएर पनि जिउँदो रहेको भए
बिक्री हुँदो हो पोलिएर सकिने पराल
मेरो बारीमा सडेर जाने
बाँस, लोक्ता र छ्वालीको खपत हुँदो हो
बेरोजगार मेरा भाइ छोराछोरीहरूले
रोजगारी संगै
भिसाको लाइन
दलालको दलाली
राष्ट्र असेवकको भोलिको भाका
साहुको चक्रबर्ती ब्याज
कफिनको गणना


सबै सबै सबैको कमि हुँदो हो
यिनै निम्छरा विषयउपर
मेरो चित्तमा नतर्दै नारायणीको पुल
कविताका भेलहरू गड्गडाउन थाल्छन्
तर यी मेरा मनका गड्गडाहटहरू
मात्र शासकप्रतिको चरमघृणा बाहेक केही होइन
कविता त पटक्कै होइनन् ।

यात्रा कै दौरानमा
जब साक्षत होइन्छ
एकातिर बन्दै गरेको
अर्कोतिरबाट भत्किदैं गएको
एकातिर पुर्दै गरेको
अर्कोतिर विशाल खाल्डो पर्दै गरेको
न लम्बा न चौडा राजमार्गहरू


सो बखत
सम्झन पुग्छु म
विश्व बैंक, सहयोगी संस्थाहरुबाट
मिनेट घन्टाको हिसाबले
मेरो थाप्लोमा चढाइदै गरेको
गरुङ्गो ऋृणको भारी र
मनको निख्खर सेतो पाटीमा
लेख्न पुग्छु एक ज्वालामय कविता
तर माफ गर्नुहोला
मेरा प्रीयजनहरू
मैले कल्पना गरेको यो आलेख
कुनै मानेमा कविता होइन
यो त मात्र हुंकार हो
एक च्यालेन्ज हो
कथित समृद्धिको सपना बाड्ने
नपुंसक शासकहरुलाई ।

अपडेट : 2020-11-28 14:50:32




your-image

Leave a Comment