मंसिर १८ २०७७   |  2020 Dec 03    


मुखियाको मुकुण्डो


news

यतिवेला तारादेवीले गाएको गीत याद आइरहेको छ । उनले गाएको गीतको अंश यस प्रकारको छ :–

“पोहर साल मायाँ फाट्यो जतन गरी मनले टालेँ ।
यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो.!”

वास्तवमा सबभन्दा ठूलो कुरा मन रहेछ । कसैलाई राम्रो मान्नु पनि मन । कसैलाई राम्रो नमान्नु पनि मन । कसैको प्रसंसा गर्नु पनि मन अनि कसैको निन्दा गर्नु पनि मन । मन हरेकसंग हुन्छ । त्यही मनले जसरी जे गर भन्छ हरेक मानिसले त्यही गर्छ । मन नियन्त्रणमा नहुनेहरुले हरेक स्थानमा ज्यादति गर्छन् । अरुको अपहेलना गर्छन् । अरुलाई हेलाहोंचो गर्छन् । अरुलाई सकेसम्म पछाडि पार्न चाहन्छन् । अरुको अपमान गर्न चाहन्छन् । अरुलाई उपयोग गरेर आफू रमाउन चाहन्छन् । अरुलाई पछाडि धकेलेर आफू अगाडि जान चाहनेहरुले अरुलाई अगाडि बढेको देख्न त के सुन्नपनि चाँहदैनन् । यो मन कुँडाउने खेलभित्र पर्दछ ।


मन कुँडियो भने अरुको मनमा आघात पुग्न सक्छ । मन कुँडाउने कामविभिन्न परिवेश र कोणबाट हुनसक्छ । यस्तो कुरा परिवार भित्रैबाट हुन सक्छ । परिवार बाहिर वा छरछिमेकबाट पनि हुनसक्छ । कहिलेकाँहि समाजबाट पनि मन कुँडाउने काम भएको हुनसक्छ । त्यतिमात्र होइन कुनै समयमा सरकारले नागरिकको मन कुँडिने बनाउँछ भने कतिपय समयमा नागरिकहरुले पनि सरकारको मन कुँडाउने गरेको पाइन्छ । तर अहिले कतिपय व्यक्तिहरुलाई कोरोनाको कारणले मन कुँडिने भएको छ । कतिपय मानिसहरु विदेशबाट फर्कन वाद्य भएका छन् । उनीहरुको सपना कति ठूलो थियो ।


आफू तथा आफ्नो परिवार सुखी बनाउने कति तीव्र इच्छा थियो त्यो सबै सपना हुरीले उडाएको अवस्था छ । कतिपय अहिले पनि विदेश जाने धुनमा रहेका छन् । आफूले चाहेको समयमा विदेश जान नपाएर उनीहरुको मन कुँडिएको अवस्था छ । कतिपय शिक्षित युवाहरु स्वदेशमा रोजगार नपाएर उनीहरुको मन कुँडिएको छ । युवाहरुका आफ्नै कथा र व्यथाहरु छन् भने ज्येष्ठ नागरिकका आफ्नै कथा व्यथाहरु छन् र उनीहरु पनि मन कुँडिएको अवस्था छन् । त्यस्तै प्रौढहरुका पनि आफ्नै चाहना र इच्छाहरु रहेका छन् । जुन पुरा भएका छैनन् । यसरी हेर्दा एकातर्फ कोरोना भाइरस कोभिड १९ का कारणले अर्थतन्त्र तहसनहस भएको छ भने अर्कोतर्फ तत्काल उत्पादन वृद्धि गर्ने अवस्था पनि छैन । यो संकटको अवस्थामा सरकारले चाँहदैमा वा नागरिकले चाँहदैमा तत्काल केही भइहाल्छ भन्ने पनि होइन । केही हुनका लागि बलियो आर्थिक श्रोत चाहियो । आर्थिक श्रोतमा हाम्रो मुलुक पहिलेदेखि कमजोर छ यो सबैले जानेको विषय हो ।


कुँडिएको मनलाई सान्त्वना दिने पनि केही तत्व चाहिने रहेछ । यो तत्व पहिले आफ्नै मनमा खोज्नु पर्ने रहेछ । हरेक मानिसका मनमा अनगिन्ती तत्वहरु रहेका हुन्छन् । मनमा रहेको सकारात्मक तत्वले मानिसलाई उँभो लाग्न सिकाउँछ भने कुतत्वले जहिले पनि उँधोको लक्षणमात्र देखाउँछ । दोश्रो अरु कसैसँग सम्वादका माध्यमबाट तत्व प्राप्त गर्नु पर्ने रहेछ । तेश्रो भनेको स्वअध्ययन हो । अध्ययनबाट धेरै कुरा जान्न बुझ्न सकिन्छ । कक्षामा पढेका कुराले गोजिमा राख्ने सर्टिफिकेट प्राप्त हुन्छ तर कुँडिएको मन तुन्न सक्ने क्षमता कम मात्रामा वृद्धि हुन्छ । विभन्न व्यक्तित्वले तयार पारेका यथायोग्य कृतिहरु अध्ययन गर्न लायक हुन्छन् । त्यस्तै कृतिबाट तत्वज्ञान आर्जन हुनसक्छ । त्यसले तुनेको मन अरुभन्दा बलियो हुन्छ ।


सकेसम्म कसैले कसैको पनि मन कँुडाउनु राम्रो हु्ँदैन । अरु कसैले आफ्नो मन कुँडायो भने आफ्नो चित्त कतिदुख्छ ? पहिले त्यसको मूल्यांकन गर्नु पर्दछ । जुन कुरा आफूलाई सधै विझाउँछ त्यस्तै काम र कुरा अरुप्रति गर्नु कति उचित होला ? मन कुँडिने भनेको कुरालेमात्र हुँदैन कामले पनि हुने गर्दछ । अरुप्रति आघात हुने भनेको कामले र कुराले हो । यसै भित्र व्यवहार पर्दछ । कुन कुराले मन कुँडिन्छ र कुन कुराले मन प्रसन्न हुन्छ यो कुराको हेक्का त एउटा मानवमा हुनु पर्दछ । तर कतिपय अक्कल वाजर अक्कल काटमा त्यसो पाइँदैन ।


कसैप्रति पनि जव मन कुँडिन्छ अनि उसंगको सबै सम्वन्ध विस्तारै तोडिन लाग्छ । अन्तमा वोलि वारावार भएका धेरै उदाहरण देख्न र सुन्न पाइन्छ । यस्ता कुरामा अरुको मान सम्मान तथा आदर नजान्ने र अरुलाई तल थिच्ने प्रवृत्ति भएकाहरुसंग बढ्ता मन कुँडिएको पाइन्छ । दमन एकै प्रकारको मात्र हुँदैन विभिन्नप्रकारका दमनहरु हुन्छन् । अरुलाई हेप्नु, उसमाथि आफ्नो प्रभुत्व जमाउन खोज्नु । आफूले उसमाथि गरेको व्यवहारले उसको मन कति कुँडिन्छ भन्ने विचार नगर्नु पनि दमन नै हो । पहिलेका मुखियाहरुले आफूले लगाएको जस्तो कपडा गाउँमा कसैले लगाउनु हुँदैन भन्ने सोंच र आफ्ना परिवारले लगाएका जस्ता कपडा तथा गहना लगाउन अनुमति नदिने प्रवृत्ति थियो । उनीहरुलाई आफूले गरेको त्यो दमनले अरुको मन कति कुँडिन्छ भन्ने कुरा उनीहरु कहिल्यै विचार गरेनन् । आज वर्ग फेरिएको होला । दमनको ढाँचा फेरिएको होला तर दमन र त्यो मन कुँडाउने मुखियाहरु अहिले पनि फरक मुकुण्डोमा देखिएका हुन सक्छन् ।


पहिलेका मुखियाको विरुद्धमा वोल्न पाइँदैनथ्यो । उनीहरुकाविरुद्धमा वोल्नु भनेको राज्यविप्लपको आरोप लाग्न सक्थ्यो । आफ्नो घरवास उठिवास लगाउनु जस्तै हुन्थ्यो । तर आजभोलिका मुखियाको चुरीफुरी धेरै समय टिक्दैन । किनकी यो लोकतान्त्रिक युग हो । अरुको मन कुँडाएको कुरा कतै न कतैबाट उजागर भइजाने हुन्छ । त्यसैमा हेक्का राख्नु पर्दछ । अवका मुखिया र जिमुवालहरुले हिंजोको जस्तो आफ्नो रवाफ रहन्छ भन्ने सोंचबाट समयमै टाढा हुन सके वा आफूलाई समयमै सुधारेर लग्न सके समय बुझेको हुने थियो ।


सरकारले आफ्ना नागरिकको मन कुँडाउने काम गर्नु हुँदैन । सरकारले नागरिकको मन बुझ्न सकेन भने उ पनि पहिलेका मुखियाको हविगत भएजस्तै हुन वेर लाग्दैन । पहिलेका मुखिया राम्रो काम गरेको भए नागरिकको मान सम्मान गर्न जानेको भए आजसम्म पनि उनीहरुको पद रहने थियो । आफूलाई छिटै च्यूत गराउनु छ भने अरुको मन कुँडाउने काममा लाग्नु पर्छ । होइन भने अरुको मान तथा सम्मानको महत्व अलिक छिटै बुझ्नुपर्छ । मानिसको जीवन त एकदिन यो दुनियाँ छोडेर जाने हो भने आफ्नो दम्भ देखाएर सर्वोपरि ठान्नबाट आफूलाई हरेकले सच्याउन आवश्यक छ ।


आफूले अरुबाट सम्मान पाउनकालागि अरुको सम्मान गर्न जान्नु पर्दछ । अरुको सम्मान गर्न नजान्ने पाखण्डीहरुलाई कसैले पनि मान तथा सम्मान गर्दैनन् । के जरुरी छ अरुको मर्म नबुझ्नेहरुको सधै एकोहोरो मान तथा सम्मान गरिरहन ? कोही कसैले पनि आफूलाईमात्र देख्ने होइन यो दुनियाँमा अरुहरु पनि सम्मान पाउने खालका र सम्मान पाउन योग्य हुन्छन् र छन् भन्ने कुरा सधै मनमा राखेर हरेकले समग्रमा व्यवहार गर्नु पर्दछ । कुनै एउटा सीपले आफुलाई साह्रै उचाइमा पुगेको कदापि ठान्नु हुँदैन । यो त एक प्रकारको भ्रममात्र हो । यही भ्रमले जीवन तल खस्कँदै जान्छ । राज्यले नागरिकप्रति गर्ने सम्मानमा पनि पक्षपाति खालको हुनु हुँदैन भने व्यक्ति व्यक्तिमा दम्भ जाग्नु हुँदैन । त्यसप्रकारको दम्भले अरुलाई भन्दा आफूलाई नोक्सान पुग्न जान्छ । त्यसकारण मन कुँडाउने खेल कतै कसैबाट हुनु हुँदैन । यही मन कुँडाइबाट कतै मन च्यातियो भने सिलाउने र तुन्ने केही हुँदैन ।

अपडेट : 2020-11-21 07:17:01




your-image

Leave a Comment