मंसिर १७ २०७७   |  2020 Dec 02    


बालगृहमा तिहारको उपहार


news

एनआईसी एशिया बैङ्कको तौलिहवा शाखामा कार्यरत कर्मचारी अस्मिता अग्रहरी तौलिहवा स्थित बुद्ध पद्धम माध्यमिक बिद्यालयकी पुर्व बिद्यार्थी हुन । उनी सगै कपिलवस्तु बाल गृहमा रहेका अभिभावकबिहिन ५ जना बालकहरुले पढेका थिए । उनीसगै पढेका बालकहरु अहिले बिभिन्न स्थानमा जागीरमा छन । उनी मात्रै होईन, महालक्ष्मी बैङ्कमा कार्यरत अब्दुल कादिर हलवाई, लक्ष्मी बैङ्कमा कार्यरत वसिम खान, ओमकार चौधरी र नागेन्द्र चौधरी पनि तिनै बाल गृहबाट पढन जाने पुर्व बिद्यार्थीहरुका साथी हुन । आफुहरु सगै पढ्ने बाल गृहमा रहेका साथीहरुको अनुशासन देख्दा उनीहरु त्यति बेलै प्रभावित बनेका थिए ।

बाल गृहको राम्रो व्यवस्थापन र अभाव टार्न आफुहरुले कमाई गर्न थाले पछि सहयोग गर्ने सबैको मनस्थिती थियो । सो मनस्थिती बारे उनीहरु आफै आफैमा सल्लाह समेत गर्थे । तर बिद्यार्थी भएकाले उनीहरुले तत्कालै सहयोग गर्न सक्ने अवस्था पनि थिएन ।

तर उनीहरुले बर्षौ देखी बनाएको योजना अहिले जागीर खाए पछि पुरा भएको छ । उनीहरुले माउन शुरु गरे पछि पुरानै योजना अनुसार बाल गृहमा सहयोग गर्न तिहारमा उपहार लिएर पुगेका छन । शुरुमा अस्मिता र कादिरले सल्लाह गरेको योजनामा वसिम, ओमकार र नागेन्द्रले साथ दिए । सबै साथी मिलेर आफुहरु र नजिकका साथीहरुबाट करिब ४५ हजार रकम जम्मा गरि उनीहरु उपहार लिएर बाल गृहमा पुगे । बाल गृहमा तिनै पाँच जना सगै पढेका साथी जस्तै २९ अभिभावकबिहिन बालक छन । “हामी सगै पढेका बाल गृहको साथी सँग नजिक भएकै कारण चाडबाडका बेला केहि सहयोग लिएर बाल गृहमा पुगौं भन्ने योजना थियो । अहिले जागीरे भए पछि उपहार लिएर बाल गृहमा खुसी साट्न पुग्यौ । ” अस्मिताले भनिन् ।

श्रोत अभावका कारण सञ्चालनमा समस्या झेल्दै आएको कपिलवस्तुको तौलिहवा स्थित बाल गृहमा रहेका अभिभावकबिहिन बालकलाई पाँच युवाले तिहार खुसी साथ मनाउन उपहार दिए । तिहारका बेला बाल गृहमा रहेका अभिभावकबिहीन बालकहरुलाई फरकपनको महसुस हुन नदिन पाँच पुर्व बिद्यार्थी युवाले उपहार र सामाग्री हस्तान्तरण गरे । बाल गृहका बालक सगै अध्ययन सकेका तौलिहवाको बुद्धपद्धम माबिका पाँच बिद्यार्थीले बाल गृहका २९ बालकलाई तिहारको खुसी साट्न बिभिन्न उपहारको सामाग्री दिएका हुन । नेपाल बाल संगठनद्वारा सञ्चालिनत बाल गृहमा आयोजित कार्यक्रममा उपहार दिएर बाल गृहका बालक सगै सबैले खुसी साटे । तिहारका बेला बालगृहका बालक सँगै खुसी साटन पुगेका पुर्व बिद्यार्थीले बाल संगठनका अध्यक्ष गोपालमणी ज्ञवाली, सदस्यहरु सन्तोष कुमार श्रीवास्तव र श्यामलाल सुवेदीलाई नगद १० हजार हस्तान्तरण गरे । । त्यति मात्रै होईन, प्रत्यक बालकलाई तिहार सुखद होस भन्ने शुभकामना दिदै बिभिन्न सामाग्रीको उपहार व्याग हस्तान्तरण गरे । युवाले बाल गृहमा तिहार सुखद बनाउन उपहार, खेल सामाग्री, खाद्यान्न, फलफुल, मिठाई, कपडा, मास्क र कास्मेटिक गरि ३५ हजार बराबरको सामाग्री दिए ।

तिहारमा बाल गृहमै उपहार पाए पछि त्यहाँका बालक दंग परे । आफुहरु र साथीभाईबाट संकलित रकमले बाल गृहमा उपहार दिन संभव भएको बाल गृहमा उपहार लिएर पुगेका वसिम खानले बताए । “हाम्रो समुदायमा जन्मोत्सव समेत मनाउने गरिदैन । त्यस्ता सुखद अवसरमा बाल गृहमा खुसी साटौ भन्ने थियो । अहिले सम्म श्रोत अभावले सकिएन, अब जागिरे भएकाले सहयोग गर्न सक्यौ ।” अर्का युवा अब्दुल कादिर हलवाईले भने । यसरी बाल गृहमा रहेका बालकलाई तिहारको उपहार दिनेमा दुई पुर्व बिद्यार्थी मुस्लिम समुदायका हुन । जस्को परिवारमा तिहार पर्व मानिदैन । तर तिनै परिवारका युवा तिहारको खुसी बाड्न उपहार लिएर बाल गृहमा पुगेका छन ।

भर्खरै जागिर शुरु गरेका युवाले सहयोगी भावना राखेर बाल गृहका बालकलाई तिहारमा उपहार दिनु उदाहणीय कार्य भएको बाल गृह प्रमुख राम प्रसाद अर्यालको बुझाई छ । बाल गृहका बालक सँग अध्ययन गरेका पुर्व बिद्यार्थीहरुले बाल गृहमा रहेका बालकलाई तिहारको उपहार दिएर ठुलो मन देखाएको नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणी ज्ञवालीले बताए । प्रयाप्त स्थाई आम्दानी नरहेको बाल गृहमा सहयोगी मनहरुको सदैव खाँचो रहेको उनले प्रष्ट्याए । “हाल सम्म बाल गहृको प्रपाप्त स्थाई आम्दानीको बाटो देखिएको छैन । यस्तै सहयोगीहरुको सहयोगलाई सदुपयोग गरेर बाल गृह सञ्चालन गरेका छौ ।” ज्ञवालीले भने ।

कार्यक्रममा सहभागी संगठनका जिल्ला सदस्य सन्तोष कुमार श्रीवास्तव, श्याम लाल सुवेदी, बाल गृह प्रमुख राम प्रसाद अर्याल, प्रशासकिय अधिकृत सुरेशचन्द्र उपाध्यायले युवाले गरेको सहयोगको प्रशंसा गरे ।

 

अपडेट : 2020-11-14 17:54:04




your-image

Leave a Comment