मंसिर १७ २०७७   |  2020 Dec 02    


दशैँ एकः अवसर अनेक


news

दशैँ नजिकिँदै जाँदा गाउँ शहरमा उत्साहजन्य चहलपहल शुरु हुन्छ । बजार जुर्मुराउँछ, यातायात क्षेत्र व्यस्त हुन्छ । सबै यातायात रुटमा गाडीहरुको व्यस्तता बढ्छ । एक ठाउँ छोडेर अर्को ठाउँमा जानेहरुको हतारो हेर्नलायकको हुन्छ । दशैँ मान्नकालागि एक ठाउँदेखि अर्को ठाउँमा जानेहरुमात्र हैन, दशैँ मान्दै नमान्ने र मान्न नहुनेहरुले समेत दशैँमा घर जाने, दशैँमा साथीभाइ र आफन्त भेट्ने र घुम्ने योजना बनाएका हुन्छन् । अहिले दशैँ आइसक्दा पनि विगतमा देखिएकोजस्तो चहलपहल, उत्साह र योजनाहरु देखिएका छैनन् । विगत आठ महिनादेखि विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ का कारणले अहिले दशैँजस्तो उल्लासमय चाडले पनि उत्साह दिन सकेको छैन । कोरोना कहरले विश्व नै अस्तव्यस्त भएको छ । रोजगारी र व्यवसाय मुर्झाएको छ । परिवारको आम्दानी घटेको छ । दशैँको बेलामा चहलपहल बढाउने विद्यार्थीहरु लामो समयदेखि घरमै छन् । एक महिनायता कोरोना संक्रमित र मृतकको संख्या अत्याउने किसिमले बढिरहेको छ । परिवारकै सदस्य पनि बाहिरबाट घर आउँदा डराउनुपर्ने, साथीभाइ र इष्टमित्र भेटहँुदा तर्सिनुपर्ने अवस्था सिर्जना भएको छ । यिनै कारणल दशैँ आफन्त चिन्ने र चिनाउने अवसरमात्र नभएर गाउँ ठाउँ डुल्ने र चिन्ने अवसर पनि हो । पछिल्लो समयमा गाउँ छोडेर शहर पस्ने प्रवृत्ति बढ्दो छ । यसले गर्दा अधिकांश बालबालिकाहरु आफ्नो पुर्खाको थातथलोलाई चिन्न पाएका छैनन् । इन्टरनेटले विश्वलाई साँघुरो बनाइरहेको छ भनिरहँदा आफ्नै वनजंगल र पाखापखेराहरु, सभ्यता र सम्पदाहरु मानिसहरुबाट टाढिँदै गैरहेका छन् त्यसले गर्दा अहिले दशैँमा उत्साह छैन, र मानिसहरुका रमझमका योजनाहरु पनि छैनन्, धेरै मानिसको जीवनमा यसपालीको दशैँ खल्लोखल्लो हुने देखिएको छ ।

स्थानीय क्षेत्रमा भएका पुरातात्विक र साँस्कृतिक सम्पदाहरु, वन जंगलका विशिष्टता र महत्व, नदि ताल तलैयाहरुको बारेमा पछिल्लो पुस्ताले ज्ञान गुमाउँदै गएको छ । जीवन र जगतलाई चिन्ने बुझ्ने सबैभन्दा राम्रो उपाय घुमघाम भन्दा अरु केहि हुन सक्दैन । प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसारजस्ता कार्यहरु गर्न घुमघामबाटै सम्भव छ । विगतमा दशैँको समयमा देश विदेश घुम्न, रमाइलो गर्न जाने प्रवृत्ति विकसित भएपनि यसपाली घुम्न जान सम्भव छैन । तर आफ्नो जिल्ला र पालिकाभित्र रहेका धार्मिक सांस्कृतिक र प्राकृतिक स्थल यो समयमा सजिलै घुम्न सकिन्छ । पहिलेदेखि नै बाहिरी प्रवेश रोकिएका ठाउँमा र ढुक्क भएर घुमफिर गर्न सकिन्छ भने अरु ठाउँमा पनि पर्याप्त सुरक्षात्मक उपायहरु अपनाएर भ्रमण गर्न सकिन्छ । अरु समयमा भिडभाड हुने क्षेत्रमासमेत यसपटक सुनसान हुने भएकोले भ्रमण र सिकाइ सहज बनाउन सकिन्छ ।


कोरोना जोखिमले गर्दा धेरैलाई बाहिर घुम्नजान मन नलाग्न सक्छ । अझ संक्रमण बढी भएको ठाउँमा त घुम्नजानु जोखिम हुने भएकोले घुमफिर गर्ने मन हुँदाहुँदै पनि घुमफिर गर्न सकिँदैन । कोरोना जोखिमकाकारणले धेरै आफन्तको घरमा गएर भेटघाट र रमाइलो गर्न पनि असहज हुन्छ । यस्तो अवस्थामा समय बिताउन र दशैँ विदालाई उपयोगी बनाउनकालागि पुस्तक अध्ययन गर्नु राम्रो हुन्छ । अरु समयमा पुस्तक अध्ययन हतारोको काम हुन्छ । दशँै तिहार विदामा समय दिएर पुस्तक अध्ययन गर्न पाइने र पुस्तकमा उल्लेखित कुराहरुको टिपोट गर्न, विश्लेषण गर्न, तुलना गर्न सकिने भएकोले पुस्तक अध्ययनले सिप, बौद्धिक क्षमता र सिर्जनात्मक क्षमता बढाउने अवसर मिल्छ । व्यक्तिअनुसार अध्ययन रुचि अलगअलग हुन्छ । तैपनि चाडबाडको सांस्कृतिक माहौल र रमाइलोपन हुने भएकोले त्यसैअनुसारका पुस्तकहरु छनौट गर्नु उपयुक्त हुन्छ । रमाइलो महशुस गर्न चाहनेहरुकालागि उपन्यास, कथा कविताका पुस्तकहरु उपयोगी मानिन्छन् । बीपी कोइराला, बुद्धिसागर, नयनराज पाण्डेका उपन्यासमा कथा, ब्यथा र आञ्चलिकता अटाउने भएकोले सबै उमेर समुहकालागि उत्कृष्ट हुन् सक्छन् । पछिल्लो समयमा आएका फातसुंग, महारानी, कान्छी महारानी, मोक्षभुमी, बाढीजस्ता उपन्यास दशैँका लागि उपयोगी हुन सक्छन् ।


कर्मचारी, शिक्षक, राजनैतिक व्यक्तित्वहरुलृ लागि भूगोल र इतिहासका साथै जीवनी, आत्मकथाको अध्ययन गर्नु राम्रो हुन्छ । वसन्त पोखरेलको पन्ध्र प्रवन्ध, विष्णुप्रसाद अधिकारीको पाल्पा राज्यको इतिहास, कर्णबहादुर बानियाको नेपालको इतिहासमा उजिर सिंह थापाको योगदान, पुरुषोत्तम शमशेर जबराको श्री ३ को तथ्य वृतान्त, राजेश्वर देवकोटाको नेपालको राजनीतिक दर्पण, सरदार भिमबहादुर पाँडेको त्यसबखतको नेपाल र सुब सेनको सेनबंशको इतिहास र पाल्पाली सेनजस्ता पुस्तकहरु लुम्बिनी प्रदेशका पाठकको लागि उपयुक्त पुस्तक हुन् । यो क्षेत्रको साँस्कृतिक पर्यटकीय सम्पदाको बारेमा जानकारी लिनकालागि सैनामैना नगरपालिकाले प्रकाशन गरेको सैनामैना दर्पण, प्रा.डा. गीतु गिरीका लुम्बिनी अन्चलका सांस्कृतिक सम्पदा, वृहत लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा पुस्तक अध्ययन गर्दा आफ्नो समाज, इतिहास र प्रदेशलाई बुझ्न सकिन्छ । सप्तमीपछि पुस्तक पसलहरु र पुस्तकालयहरु बन्द हुने भएकोले भनेको समयमा पुस्तक प्राप्त गर्न कठिन हुन्छ । त्यसैले पहिले नै पुस्तकको जोहो गर्नुपर्छ । डिजिटल माध्यममा पुस्तक पढ्न चाहनेहरुको लागि निःशुल्क पुस्तक पढ्न र डाउनलोड पढ्न पाइने थुप्रै वेवसाइट छन् । पुस्तकालय डट ओआरजी, ई पुस्तकालय डटकम, डिजिटल हिमालय, ४४ बुक्सजस्ता साइटमा हजारौँ पुस्तकहरु निःशुल्क पढ्न पाइन्छन् ।

दशैँ तिहार बिदामा घुम्न जानैपर्छ, पुस्तक पढेर र इन्टरनेट चाहारेर बस्नुपर्छ भन्ने हँुदैन । अन्य काम नभएर फुर्सद हुनेहरुकालागि यी कामहरु विकल्प हुन् तर गाउँमा घर भएका र खेतीपाती भएका सबै समुहहरुको लागि यो समय कृषिलाई बुझ्ने र फरक काम गर्न उपयुक्त समय हो । धेरैजसो युवा र विद्यार्थीहरु बन्दाबन्दी शुरु भएपछि गाउँघरमै छन् तर कोरोना कहर सकिएपछि शहर फर्कने, काममा फर्कने सोच रहेकोले कृषिलाई बुझ्ने चेष्ठा नै गरेका छैनन् । अहिलेसम्मको अभ्यासले विपदमा पनि कृषिले साथ दिन्छ भन्ने पुष्टि गरेको छ । त्यसैले दशैँ बिदाको समयमा आफ्नो गाउँठाउँको कृषिलाई बुझ्ने, समस्या र सम्भावनाहरु खोजि गर्ने, कृषि, पशुपालन र जडीबुटी सम्बन्धि परम्परागत ज्ञानलाई लिपिवद्ध गर्ने, पाका पुस्ताहरुसंग परम्परागत ज्ञान र सिप हासिल गर्ने अनि इन्टरनेटबाट खोजेर वा अन्य माध्यमबाट जानकारी लिएर परम्परागत कृषि र प्रकृति सम्बन्धि सीपमा समयानुकूल सुधार गर्न मद्दत गर्न र आफ्नो क्षेत्रमा रहेका विशेषताहरुलाई फैलाउने काम गर्नुपर्छ । चाडबाडको बेलामा गाउँ घरमा पाहुना हुनमात्र जाने हैन कि गाउँघरलाई रुपान्तरण गर्न जाने ग¥यौं भने गाउँघरको बसाइ सार्थक बन्न सक्छ ।


लामो समय आफ्नो गाउँघर र समाजसंग टाढा बस्दा धेरै मानिसहरुले आफ्नो थलोलाई भुलिरहेका छन् । गाउँघरका आवस्यकता र समस्या बुझ्ने मानिसको कमि भैरहेको छ । विगतमा दशैँको मौका पारेर बाटोघाटो, पुलपुलेसा, मठमन्दिर, स्कूल बनाउने, मर्मत गर्ने चलन थियो । अहिले यसमा धेरै कमि आएको छ । हरेक काम सरकारले गरिदिनुपर्छ भन्ने मान्यताको विकास भैरहेको छ । यस्तो सोचले समाजकालागि आवस्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न, व्यवस्थापन गर्न र संरक्षण गर्न कठिन भैरहको छ । स्थानीय बासिन्दालाई परिचालन गर्न सकिएन भने स्थानीय विकासको कामहरु गर्न सकिँदैन । चाडको छुट्टीको बेलामा गाउँ पुगेर गाउँमा केहि छैन भन्दै गाउँघरलाई गालि गर्ने काम छोडेर छुट्टीमा गाउमा गको बेलामा गाउलाई कसरि विकसित र सुविधा सम्पन्न बनाउने भन्ने बारेमा योजना बनाउन र सबै मिलेर योजना सफल बनाउन काम गर्न अघि सर्नु राम्रो हुन्छ ।


चाडबाड आँगनमा आएका छन् । तर, कोरोनाकाकारणले रमाएर चाडबाड मनाउन सकिने अवस्था छैन । तरपनि चाडले धेरैलाई गाउँ फर्काएको छ, फुर्सदिलो बनाएको छ । आफ्नै गाउँघरमा फर्कन पाएका भाग्यमानिहरुले फुर्सदको समयमा आफ्नै गाउँघरको हित, कृषिको विकासजस्ता काममा आफुलाई व्यस्त बनाउनु पर्छ । गाउँघर फर्कन नपाएका वा घरभित्र बस्न बाध्य भएकाहरुले आफुलाई अध्ययनमा व्यस्त राख्नु र कोभिडबाट आफुलाई सुरक्षित राखेर घुम्दै सिकाइ गर्नु उपयुक्त हुन्छ । चाडबाड समाज, थलो, सभ्यता र आफैलाई सिक्ने, चिन्ने अवसर हो । नयाँ सोच विकास गर्ने र नयाँ काम गर्ने अवसर पनि हो । यो अवसर सदुपयोग गर्न जाँगर सबैमा पलाओस्, दशैँ तिहार सबैकालागि सुखद, उल्लासमय र सम्झनलायक बनोस्— यहि कामना ।

अपडेट : 2020-10-24 07:33:24




your-image

Leave a Comment