मंसिर १७ २०७७   |  2020 Dec 02    


दाङका लागि रुपन्देही सहयोगी


news

दलीय ह्वीप लगाएपछि अन्ततः लुम्बिनी प्रदेशको राजधानी भालुवाङ राख्ने निर्णय दुई तिहाईले पारित भयो । प्रस्तावको पक्षमा ६९ मत खस्यो भने विपक्षमा १३ मत मात्र खस्यो । काँग्रेसका १९ सांसदमध्ये १३ मत मात्रै विपक्षमा खस्दा सो दलका ५ जनाले दलीय ह्वीप मानेनन् ।


तर नेकपाका सांसदहरुले भने पार्टी ह्वीपको इमान्दारिपुर्वक पालना गरे । जो जसले पार्टीको बैठकमा नोट अफ डिसेन्ट लेखे उनीहरु पनि अग्नी परीक्षामा फेल भए ।


रुपन्देही क्षेत्रकाले राजधानी बुटवल क्षेत्रमा हुनुपर्छ भन्नु र दाङ क्षेत्रकाले दाङ क्षेत्रमा राजधानी हुनुपर्छ भन्ने चाहना र माग नौलो नभई जायज पनि हो । किनकी आआफ्नो क्षेत्रमा राजधानी नचाहने को नै होला र ? जनता मात्र होइन प्रदेश राजधानीका बिषयमा दुबैतिरका राजनैतिक पाटीका नेता कार्यकर्ता पनि त्यसरी नै लागे । अन्ततः दाङमा राजधानी बनाउने मुद्दाका लागि नेकपा रुपन्देहीको नेतृत्व सहयोगी नै बन्यो ।


साविकको लुम्विनी अञ्चलको नेतृत्व गर्ने रुपन्देहीका नेकपाका अगुवाले रुपन्देही राजधानी राख्नका लागि असहयोग गरेपछि रुपन्देहीले पाएको अस्थायी प्रदेश राजधानी रहन सकेन । नेकपाका रुपन्देही इन्चार्ज तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश ५ को नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले रुपन्देहीका जनताको भावना मात्रै होइन साविकको लुम्विनी अञ्चलका जनताको भावनालाई बुझ्न सकेनन् । यसको परिणाम भर्खरै नदेखिएला तर आगामी चुनावी मैदानमा भने पक्कै देखिएने नेकपाकै नेताहरु बताउँछन् ।


भालुवाङ प्रदेशको राजधानी घोषणा हुनुमा मुख्यतः लुम्बिनी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने केही नेताले प्रमुख भूमका खेले । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषदमा प्रदेश राजधानीको प्रस्तावबारे निर्णय गर्दा रुपन्देहीका मतदाताले जिताएर मन्त्री बनेका लिला गिरी त्यस विरुद्ध उभिन सकेनन् । मुख्यमन्त्री पोखरेल दाङलाई नै राजधानी बनाउन चाहन्थे र उनको चुनावी एजेण्डा पूरा गर्न एक हदसम्म उनी सफल भएका छन् । तर मुख्यमन्त्रीले आफ्नो स्वार्थ अनुकुलको प्रस्ताव ल्याउँदै गर्दा मन्त्री गिरीले भने आफ्नो स्वार्थ अनुरुपको अडान राख्न सकेनन् । हुन त सरकारले गर्ने निर्णयमा मुख्यमन्त्रीले प्रस्ताव गरिसकेपछि त्यसमा अरु मन्त्रीले सहमति जनाए पनि वा नजनाए पनि त्यो सरकारको निर्णय हुन्छ भन्ने मान्यता छ । तर मन्त्री गिरीले जनतासँग गरेको वाचाअनुरुप आफ्नो सहमति नरुहेको भन्न सक्थे । मन्त्री गिरीसँग निकट मानिने एकजना नेता भन्छन्–“यो कुरामा मुख्यमन्त्रीलाई साथ दिएर मन्त्री गिरीले आफ्नो मन त फराकिलो बनाए, आफ्नै क्षेत्रको जनमत भने घटाउने काम गरे ।”


प्रदेश राजधानी दाङ लैजानका लागि मुख्य भूमिका खेल्ने अर्का नेता हुन् भूमिश्वर ढकाल । उनी नेकपाका संसदीय दलका प्रमुख सचेतक हुन् । उनले बुटवल राजधानी बनाउन चाहेको भए संसदीय दलबाट भूमिका खेल्न सक्थे र ह्वीप जारी गर्ने थिएनन् । पार्टी ह्वीप भन्दा जनचाहना ठूलो हो भन्ने मान्यतालाई बिर्सिएर उनले पनि भालुवाङमै सहमति जनाए र यसकै पक्षमा मतदान गर्न ह्वीप जारी गरे ।


प्रदेश ५ को राजधानी बुटवलमा राख्ने कि दाङमा भन्ने विवाद केही वर्ष अघिदेखि नै चल्दै आएको हो । नेकपा सरकारले दाङमा राजधानी राख्ने निर्णय गरेपछि पुनः सतहमा आएको विवादलाई काँग्रेस कार्यकर्ताले सडकमार्फत मुखरित गरे भने ढकालले मन्त्री पाउने लोभमा सडकको आवाज बिर्सिए । यसो भन्दै गर्दा उनले के कुरामा हेक्का राख्नुपथ्र्यो भने उनी रुपन्देहीकै बासिन्दाको मतबाट प्रदेश सांसद चुनिएका हुन् र जनमतलाई बुझेको भए भोलि पनि उनी मन्त्री हुन सक्थे । तर उनले पार्टी र आफ्नो दीर्घकालीन भविष्य भन्दा तत्कालीन रुपमा फाइदा लिन खोजेको देखियो ।
राजधानी दाङ पठाउन भूमिका खेल्ने अर्का नेता हुन् शिवराज सुवेदी । उनी नेकपाका रुपन्देही जिल्ला अध्यक्ष हुन् भने बुटवलबासीको मत पाएर चुनाव जितेका हुन् । प्रदेश सरकारले राजधानीका विषयमा निर्णय गर्दा उनी काठमाडौं गएका थिए भने त्यहींबाट विज्ञप्ती जारी गरेर असहमतिको औचारिकताको नाटक मन्चन गरे । उनले चाहेको भए बुटवल राजधानी बनाउने विषयमा जिल्लाभरका कार्यकर्ता परिचालन गर्न सक्थे । त्यसो गर्दा पार्टी नेतृत्व र प्रदेश सरकारलाई दबाव पुग्थ्यो । तर उनले बुटवलका पक्षमा दरिलो अडान नलिएर भालुवाङ राजधानी बनाउने विषयलाई छाती फराकिलो पारेर सजिलो बनाइदिए ।


नेकपाकै नेता भन्छन्, प्रदेशको राजधानी बुटवलमै राख्नु उपयुक्त हुन्थ्यो या दाङमा ? यसको जवाफ खोज्नका लागि अर्को चुनाव पर्खिनुपर्ने हुन्छ । तर एउटा कुरा के सत्य हो भने भौगोलिक हिसावले दाङ केन्द्र भएपनि ६० प्रतिशत जनसंख्यालाई पायक पर्ने ठाउँ बुटवल नै थियो । अहिले राजधानीको बिषय भुगोललाई मात्रै केन्द्रमा राखिएको छ । त्यहाँसम्म पुग्ने सडक पूर्वाधारसँगै भूगोललाइ भने हेरिएको छैन् । ति नेताले थपे ।

अपडेट : 2020-10-09 08:54:55




your-image

Leave a Comment