मंसिर १८ २०७७   |  2020 Dec 03    


नेकपा रुपन्देही अध्यक्ष सुवेदी कान लुकाउन काठमाण्डौं


news

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावमा मुख्यमन्त्रीलाई साथ दिएको आरोप लागेको नेकपाका रुपन्देही अध्यक्ष शिवराज सुवेदी काठमाण्डौ गएका छन् ।

बुटवलमा आन्दोलन चर्किएका बेला काठमाण्डौ हिडेपछि नेकपाका कार्यकर्ताहरुले कान लुकाउनका लागि जिल्ला छाडेको आरोप लगाएका छन् । कार्यकर्ताले आन्दोलन गर्नका लागि दबाब दिएपछि उनी कान लुकाउन गएको बताइन्छ । प्रदेशको राजधानीको बिषयजस्तो गंभीर एजेण्डामा आन्दोलनको नेतृत्व गर्ने समयमा काठमाण्डौं जानुले उनिमाथि नेकपा कार्यकर्ताले नै शंकाका दृष्टिले हेरेका छन् ।

उनलाई नेकपाभित्र राजधानीको बिषयमा मुख्यमन्त्रीसँग मिलेको आरोप छ । तर उनले उक्त आरोप कपोलकल्पित आरोप मात्रै भएको बताएका छन् ।

उनि आइतबार विहान हवाई मार्गबाट काठमाण्डौं गएका हुन् । काठमाण्डौं गएको पुष्टि बुटवल उपमहानगरपालिकाले गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेल पनि शनिवार नै काठमाण्डौं गइसकेका छन् ।

बुटवल टुडेको अनलाइन संस्करणले राजधानीको प्रस्तावमा नेकपा रुपन्देही अध्यक्ष सुवेदीको मुख्यमन्त्रीलाई साथ शिर्षकमा समाचार प्रकाशित भएपछि नेकपा रुपन्देही प्रदेशको राजधानी दाङ सार्न गरेको प्रस्तावप्रति विज्ञप्ती निकालेर विरोध जनाएको छ ।

पाटीको विज्ञप्तीपछि कार्यकर्तालाई सडकमा आउनका लागि बाटो खुलेको नेकपाका एक जिल्ला सदस्यले बताए । पहिले कार्वाही हुने डर थियो उनले भने, पाटीले नै विज्ञप्ती मार्फत बिरोध जनाएपछि सजिलो भयो । उनले राजधानी रहन नै दिने हो भने नेतृत्वले विज्ञप्ती निकालेर मात्रै नभएर सडकमै आएर आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

नेकपा रुपन्देहीको विज्ञप्तीमा प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने व्यवस्था गरे पनि प्रदेश सरकारले स्थायी राजधानी तोक्दा संविधानको भावना आत्मसात नगरेको उल्लेख छ ।

‘कोरोना महामारीको विषम अवस्थामा प्रदेश सरकारले राजधानी सार्न पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिंदैन’ पार्टी अध्यक्ष शिवराज सुवेदी र सचिव नारायण जीसीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रदेश राजधानी सार्दा रुपन्देही र यस आसपासका नागरिकलाई असुविधा पर्ने भएकाले जनमत आन्दोलित हुनु स्वाभाविक भन्दै नेकपाले राजनीतिक दल, संघसंस्था तथा नागरिकलाई संयमित रुपमा आफ्नो मत राख्न आग्रह गरेको छ । नेकपाले रुपन्देहीवासी र यहाँका संघसंस्थाले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई स्थापित गर्न गरेको योगदानको सम्मान गर्न पनि प्रदेश सरकारलाई विज्ञप्तिमार्फत अपिल गरेको छ ।


‘प्रदेश सरकारले ठूलो धनराशी समेत खर्च गरी भौतिक पुर्वाधार समेत निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाई यस क्षेत्रको पार्टी पंक्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

अपडेट : 2020-10-04 12:26:05




your-image

Leave a Comment