कार्तिक ११ २०७७   |  2020 Oct 27    


कोरोनाको कहरमापनि उद्योग दर्ता बढ्यो


news

दाङमा कोरोना कहरका बीचमा पनि उद्योगमा लगानी गर्ने क्रम बढेको छ । कोरोनाका कारण बेरोेजगार बढ्दै गएपछि रोजगारी स्थापना गर्न साना उद्योगमा लगानी हुन थालेको हो । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा दुई सय बढी उद्योग थपिएका छन् । साउन र भदौ महिनामा दुई सय ६५ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीले जानकारी दिए । साउनमा एक सय ६५ र भदौमा एक सयवटा उद्योग नयाँ थपिएको उनले बताए । “कोरोना कहरका कारण अधिकांश नागरिक घरमा रहेकोले विभिन्न किसिमका उद्योगमा लगानी गर्ने क्रम बढेको छ, उद्योग स्थापना गरी आफू स्वरोजगार बनेर अरूलाई पनि रोजगारी प्रदान गर्न कोरोना कहरका बीचमा उद्योगमा लगानी हुन थालेको देखिएको छ” वलीले भने । नयाँ उद्योगमा अधिकांश कृषि तथा वनजन्य रहेका छन् ।


चालु आवको दुई महिनामा मात्रै एक सय ९४ कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । ति उद्योगमा पाँच सय ९८ जनाले रोजगारी पाएका छन् । त्यसैगरी सेवामूलक उद्योग ३३ वटा दर्ता भएका छन् भने ९९ जनाले रोजगारी पाएका छन् । जिल्लामा उत्पादनमूलक २१ वटा उद्योग दर्ता भएकोमा एक सय एक जनाले रोजगारी पाएका छन् । त्यसैगरी पर्यटन उद्योग १७ वटा दर्ता भएकोमा ४८ जनाले रोजगारी पाएका छन् । जिल्लामा चालुवर्षमा मात्रै करिब आधा अर्ब उद्योगमा लगानी भएको छ । साउन र भदौ महिनामा दुई सय ६५ उद्योगमा ४९ करोड ९६ लाख ८० हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्रै विभिन्न प्रकृतिका सात सय ३१ उद्योग दर्ता भएका थिए । ति उद्योगमा करिब १ अर्ब २० करोड ८७ लाख ४२ हजार तीन सय २७ लगानी भएको छ भने दर्ता भएका अधिकांश उद्योगमा कृषि तथा वनजन्य रहेका छन् । गतवर्ष ३ सय ७० कृषि तथा वनजन्य उद्योग दर्ता भएको छ भने ति उद्योगमा करिब ५८ करोड ९३ लाख ४३ हजार दुई सय लगानी भएको छ । त्यस्तै सेवामूलक उद्योग एक सय ५० दर्ता भएका छन् भने ति उद्योगमा २० करोड ५० लाख २२ हजार बढी लगानी भएको छ । उत्पादनमूलक उद्योग एक सय १९ वटा दर्ता भएका छन् भने ति उद्योगमा ३२ करोड ७३ लाख बढी लगानी भएको छ । गतवर्ष दर्ता भएका उद्योगमा करिब तीन हजार जनाले रोजगारी पाएका छन् ।

प्रदेश नम्बर ५ सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ वटा उद्योग दर्ता भएका छन् । जिल्लामा भदौ अन्तिमसम्म २४ वटा विभिन्न प्रकृतिका उद्योग निशुल्क दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय घोराहीले जनाएको छ ।

प्रदेश सरकारले उद्योग प्रवद्र्धनका लागि दर्ता शुल्क नलिने भएपछि उद्योग दर्तागर्नेहरु बढेको कार्यायल प्रमुख उमबहादुर वलीले जानकारी दिए । जिल्लामा निशुल्क दर्ता भएका उद्योगमध्ये २० वटा कृषि उद्योग रहेका छन् । कोरोना कहरका बीचमा आफ्नै ठाँउमा स्वरोजगार बन्न र रोजगारी प्रदान गर्न जिल्लामा साना उद्योगमा लगानी क्रम बढेको कार्यालय प्रमुख वलीले बताए । प्रदेश नम्बर ५ को सरकारले भदौ ११ गते प्रदेशका १२ वटै जिल्लामा वाणिज्य बाहेक अन्य उद्योग दर्तामा छुट दिने निर्णय गरेको थियो । प्रदेश सरकारले उद्योग दर्तामा ल्याएको छुटको योजना भदौ १५ मा परिपत्र आएपछि जिल्लामा निःशुल्क रूपमा दर्ता हुने गरेको हो । जिल्लामा अहिले पाँच लाखदेखि पाँच करोडसम्म पुँजी भएको उद्योग दर्ता गर्न सकिने उनको भनाई छ ।

अहिले उद्योग दर्ता गर्दा निवेदन शुल्क एक सय बाहेक अरू शुल्क लाग्दैन । अन्य अवस्थामा पाँच लाखदेखि २० लाखसम्मको उद्योग दर्ताका लागि पाँच हजार लाग्ने गरेको थियो । त्यसैगरी २० लाखदेखि ५० लाखसम्म पुँजी भएको उद्योग दर्ताका लागि १५ हजार र ५० लाखदेखि एक करोडसम्म पुँजी भएको उद्योग दर्ताका लागि २५ हजार शुल्क लाग्ने गरेकोमा अहिले निःशुल्क हुने गरेको छ ।

अपडेट : 2020-09-24 04:44:39




your-image

Leave a Comment