कार्तिक ११ २०७७   |  2020 Oct 27    


लघुबित्त ऋण लगानी र अशुलीको चर्चा


news

हिँजोआज कोरोना भाइरसले हाम्रो देश साथसाथै विश्व नै आतंकित छ । भाइरसका कारण लाखौंको ज्यान गैसकेको छ । छ महिनादेखि आर्थिक कारोबार सबै ठप्प छ । अहिले धेरै मानिसमा जसरी हुन्छ बाँच्न पाए नाच्न पाइन्छ भन्ने धारणा छ । चाइनादेखि शुरु भएको कोरोना भाइरसले बिस्तारै विश्वलाई नै हल्लाएको मात्र होइन, लाखौंको ज्यान लिइसकेको छ । आर्थिक कारोवार सबै ठप्प हुँदा अर्थतन्त्र डामाडोल हुन पुगेको छ । कोरोना भाइरसका कारण रोग सँगै भोक र शोकले मर्नेको संख्या पनि बढी रहेको छ । यतिमात्र नभएर ब्यबहार मिलाउन र साँझ बिहानको खर्च जोहो गर्न नसक्दा आत्महत्या गर्नेहरु पनि नेपालमा करीब ३ हजार पुगिसकेका छन । यतीबेला जतासुकै डामाडोलको स्थिति छ ।

केही दिनदेखि लघुवित्त ऋण लगानी र अशुलीको बिषयले निकै चर्चा बटुलेको छ । पूर्वका केही जिल्ला खोटाङ लगायतमा लघुवित्तको ऋण लगानी र अशुलीको तरिकाले अन्य ठाउँका लगानीकर्ताहरुलाई झस्काइरहेको छ । पत्रिकाको सम्पादकीय देखि समाचारलेसम्म स्थान लिएको यो बिषय कति राम्रो र कति नराम्रो भनि आँकलन गर्ने बेला आएको छ । ग्रामीण बिकास बैंकले महिलाहरुको समुहमा ऋण लागानी गरेर बैंकलाई माथि उकासेको देखेपछि यही ढंगले समुहमा ऋण लगानी गर्न थालनी गरेका माइक्रो फाइनान्स र सहकारीहरु अहिले बडो संकटमा परेको देखिएको छ । बिना धितो महिला समुहमा लगानी गर्ने यो प्रक्रियाले अहिले संकट ल्याउने देखिएको छ ।

नेपालको अर्थतन्त्रलाई माथि उकास्न महिलाहरु आय आर्जनमा लागेर आत्मनिर्भर बनुन् भन्ने ध्येयले महिला समुहमा लगानी गर्ने यो बिना धितोको ऋणले अहिले लगानीकर्तालाई थाल खाउँ कि भात खाउँ बनाएको छ । हिँजोका दिनमा गाई भैंसी पालन, बेमौसमी तरकारी उत्पादन, कुखुरा, बंगूर पालन जस्ता थुपै्र बिषय देखाएर ऋण लिएकाहरु कारोबार ठप्प भएर बसेका छन् । तरकारी बिक्दैन, दुध बिक्दैन, अण्डा बिक्दैन । बिक्यो भने पनि किन्नेहरुले उधारो लिएर पैसा उठाउन गाह्रो पर्छ । जसले गर्दा उनीहरुको कारोबार ठप्प छ । बैंकमा कर्जा छ तर साँवा ब्याज तिर्ने कुनै उपाय छैन । यसले गर्दा राष्ट्र बैंकदेखि कर्जा लिएर गाउँगाउँमा पुगी समुहमा ऋण लगानी गर्ने गरेका माइक्रो फाइनान्स र सहकारीहरु घाटामा छन् । राष्ट्र बैंकको कर्जा तिर्न नसक्दा बित्तीय संस्थाहरु छट्पटाइरहेका छन् । कोरोनाको महामारीले करिब चार महिनासम्म भएको लकडाउनका कारण न गाउँ गाउँमा जाने अबस्था नै रह्यो । लकडाउन थोरै खुकुलो भएपछि ऋणी महिलाकहाँ पुग्दा खाने खर्चको अभावमा राहत थापेर बसेका उनीहरु खाली हात देखाउँदै गुनासो मात्र सुनाउँदा ऋण उठाउन गएकाहरु पनि खाली हात फर्किनु परेको बित्तीय संस्थाका कर्मचारी सुनाउँछन् । कतिपय सहकारीले सदस्यहरुसँग दैनिकी पैसा उठाउने गर्थे । त्यो पनि रोकिएको छ ।

खोटाङ, दिक्तेल—रुपाकोट–मझुवागढी नगरपालिकाका केहि गाउँ र नगरका क्षेत्रमा लघुबित्तको ऋण अशुलीमा काँसका बटुका, थाल, टेलिभिजन लगायतका जिन्सी सामान उठाएको, गाइ, भैंसी फुकाएर लिएको र कुखुरा आदि बेचेर समुहको ऋण अशुलेको जस्ता खबर आएका छन् । यो गतिबिधि सबै ठाउँमा भएको छैन । समाचार हेर्दा बित्तीय सँस्थाहरु सबै खराब छन् भन्ने देखाइएजस्तो लाग्छ । केही ठाउँमा यस्तो कृयाकलाप भयो भनेर सबै ठाउँमा त्यही किसिमले चलेको छ भन्ने सोच्नु गलत हुनेछ । राष्ट्र बैंकसंग कर्जा लिएर दुई तीन प्रतिशत मार्जिन राखेर बित्तीय संस्थाले काम गर्छन् । गाउँमा महिला समुहलाई बिश्वास गरी लघु बित्त र लघु उद्यममा लगानी गर्छन्, त्यहाँ पनि सबै कर्जा लिने ऋणी इमान्दार छन् भन्ने छैन । समूह भित्रबाट नै झुक्याउने काम पनि हुने गरेको छ ।

ऋणी महिला समुह सबै इमान्दार छन् भन्ने छैन । धेरैजसोले ऋण लिँदा एउटा शिर्षक भर्छन् अनि गर्छन् अर्कै काम । त्यतिमात्रै होइन, समुहमा पाँच सातजनाको नाम भरेर कर्जा लिने तर पैसा चलाउने काम भने चलाख ब्यक्ति एक्लैले गर्ने गर्दा पैसाको ब्याज न किस्ता भएको छ । समुहका महिलाहरुको खोजी गर्दा हामी साक्षी बसेको हो तर पैसा हामीले छोएका पनि छैनौँ भनेपछि लगानीकर्ता अलपत्र भएको अबस्था छ । कतिपय महिला समुहको सदस्य बिना धितो ऋण लिएर बैदेशिक रोजगारीमा गएपछि टेक्ने हाँगो न समाउने डालो भएको छ । कोरोनाको आतंक सँगै सबै आर्थिक क्षेत्र तहस नहस त छ नै, त्यसैमा बित्तीय संस्था अझ बिना धितोको कर्जा लगानी बडो संकटमा परेको छ । धितो सहितको ऋण लगानीमा सहजेै असुली नभएमा धितो लिलाम गरेर पनि अशुल गर्न सकिने हुँदा खासै तनाव छैन, जति तनाव लघुबित्तको लगानीले पार्यो, एक सहकारीका अध्यक्ष भन्छन् । अर्को कुरा आफ्नो बास जान्छ अर्थात जग्गा जान्छ कि भन्ने डर र इज्जतका खातिर पनि कहिँ न कहिँ पैसाको जोहो गरेर चुक्ता गर्छन् । जति लगानी डुबेको छ त्यो बिना धितोको महिला समुहको कर्जा लगानीमा नेै बढी छ ।

कर्जा लगानी गर्ने बित्तीय संस्थाका पनि केही कमजोरी रहेका छन् । जस्तो शिर्षक अनुसार ऋण लगानी भए नभएको अनुगमन नगर्ने, कुनै कुनै एकाघरका दुई तीनजनाले फरक फरक समुहमा नाम लेखाएर ऋण लिंदा राम्रोसँग अनुसन्धान नगर्ने, कति रकम सम्म लगानी गर्ने भन्ने मापदण्ड बनाए पनि कुनै संस्थाले नियम बिपरित मुख हेरेर धेरै लगानी गर्ने गरेको पनि पाइन्छ । महिलाहरुले जे गर्ने भनेर ऋण लिएका छन् त्यो नगरेर दशैं, तिहार, तीज जस्ता चाड मनाउन पनि कर्जाको पैसा खर्च गर्ने गरेको पाइन्छ । जसले गर्दा उनीहरुलाई ब्याज वा किस्ता तिर्न समस्या नेै पर्ने भयो । राष्ट्रिय पत्रिकाहरुमा उल्लेख भए अनुसार जबरजस्ती कर्जा लेउ भनेर दवाव दिने काम त पक्कै पनि संस्थाले गरेका छैनन् । एउटा गल्ती के छ भने रकमको खाँचो भए संस्था धाएर उनीहरु रकम लैजान्थे तर सित्तैमा बाँडेजस्तो फिल्डमा वा घरमै गई पाँच सातजनाको समुह तयार हँुदासाथ तमसुक बनाइ पैसा बाँड्ने चलनले उनीहरुको खाँचो टार्न नभई कर गरेर जबरजस्ती ऋण भिडाएजस्तो देखिन्छ र केहीले जबरजस्ती ऋण भिडाउने असुल्ने बेलामा घरघरका जिन्सी सामान उठाए भनी दोष देखाउने काम गरेको देखियो ।


बित्तीय संस्था पारदर्शी नभएको र संस्थाहरु नाफामुखी भएकोजस्ता आरोप लगाएको पनि देखियो । केही त्यस्ता संस्थाहरु पनि होलान्, तर सबै त्यस्तै छन् भन्ने मान्न सकिँदैन । बित्तीय संस्था चलाउन त्यति सजिलो छैन । बचत गर्ने शेयर सदस्यलाई चित्त बुझाउन उत्ती गाह्रो छ । कार्यालय ब्यबस्थापन साथै स्वयंसेवकको रुपमा काम गर्ने संचालकको लगानीमा संस्था चल्ने हो । ऋण लगानी नगरे कारोवार हुँदैन । लगानी गर्यो डुब्ने डर बढ्दो छ । केही होला कि का लागि यो लोकतन्त्र पछि थुप्रै बित्तीय संस्था जन्मिए । मुलुकको डामाडोल परिस्थितिका कारण धेरै बित्तीय संस्थाहरु धमाधम मर्ज भैराखेका छन् । आफ्ना बालबच्चाको गास काटेर सहकारीहरुमा थोरै थोरै बचत गर्ने सदस्यहरु ब्याज कति भयो, नाफा कति आउँछ आदि औंला भाँचेर हिसाब गरी रहेका हुन्छन्, यता समुहको ऋण लगानीले के हुने हो, संस्था डुब्छ कि भन्ने चिन्ता सञ्चालकलाई भैरहन्छ । यस बिषयमा समाचार लेख्नुभन्दा पहिले नेपालभरी छरिएका सबै बित्तीय संस्थाको अबस्था हेरेर र बुझेर उचित बिश्लेषण गरि लेख्दा न्यायसंगत होला ।

अपडेट : 2020-09-22 05:35:26




your-image

Leave a Comment