आश्विन ९ २०७७   |  2020 Sep 25    


पश्चिम नेपालले शुक्रवारदेखि गाडी चलाउने


news

संघीय सरकारको निर्णय अनुसार यस क्षेत्रका यातायात व्यवसायीले भोलि शुक्रबारदेखि गाडी चलाउने भएका छन् । देशकै सबैभन्दा ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस व्यवसायी प्रालिले शुक्रबारदेखि सवारी साधन सञ्चालन गर्ने जानकारी दिएको छ ।

“रुपन्देहीमा असोज ४ गतेसम्म लकडाउन छ, तर संघीय सरकारले निर्णय गरिसकेकाले उक्त निर्णय जिल्ला प्रशासन वा प्रदेश सरकारले काट्न सक्दैनन्,”–प्रालिका अध्यक्ष दधिराम खरेलले भने–“यद्यपि आज दिनभर प्रमुख जिल्ला अधिकारीको परिपत्र कुर्छौं, परिपत्र नभए पनि भोलिदेखि गाडी चलाउँछौं ।”

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने यसबारे यातायात व्यवसायी लगायत विभिन्न निकायसँग समन्वय भैरहेको जानकारी दिए । “संघीय सरकारले गरेको निर्णय हामीलाई पनि प्राप्त भएको छ, यातायात व्यवस्था विभागले पनि सवारी सञ्चालनका लागि मापदण्ड बनाउँदैछ, त्यो मापदण्ड बनिसकेपछि हामीले पनि सवारी सञ्चालनका लागि परिपत्र गर्छौं”–उनले भने । सरकारको यातायात सञ्चालन सम्वन्धी मापदण्ड नआएको बताउँदै उनले मापदण्ड आइसकेपछि अरु प्रक्रिया अगाडि बढने बताए ।

यातायात व्यवसायीहरुले लामो समय गाडी बन्द हुँदा व्यवसायी तथा मजदूर निकै मर्कामा परेको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर सवारी सञ्चालन गर्न अव ढिला गर्न नहुने बताएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष खरेलले सरकारले बनाएको मापदण्डलाई पालना गर्दै स्वास्थ्य सतर्कता अपनाएरै सवारी सञ्चालन गरिने बताए ।

अपडेट : 2020-09-18 07:32:19




your-image

Leave a Comment