आश्विन ९ २०७७   |  2020 Sep 25    


कोरोनाभाइरसका एजेण्ट


news

कोभिड–१९ महामारीको विस्तारको अवस्थालाई सामान्यतया चार चरणमा वर्गीकरण गरिएको छ । संक्रमित स्थानबाट आएको व्यक्तिमात्र संक्रमित हुनु र स्थानीय स्तरमा अन्य व्यक्तिमा संक्रमण देखा नपर्नुलाई प्रथम चरण, प्रथम चरणमा संक्रमित व्यक्तिको सम्पर्कमा रहेका परीवार वा नजिकका मानिसहरूमा संक्रमण फैलिएको तर सजिलै यकीन (कन्ट्याक्ट ट्रेसिङ्ग) गर्न सकिने अवस्थामा रहेको दोस्रो चरण, तेस्रो चरणमा संक्रमणको स्रोत पहिचान गर्न नसकिने र यात्रा गरेको नभै समुदायमै रहेका व्यक्तिमा संक्रमण देखिनु र कन्ट्याक्ट ट्रेसिङ्ग गर्न नसकिने अवस्था बन्दछ र विभिन्न समुदायमा नियन्त्रण गर्न नसकिने गरी संक्रमण देखिनुलाई चौथो चरण भनिएको छ । यसप्रकारको वर्गीकरणका आधारमा नेपालमा कोरोना संक्रमणको अवस्थालाई दोस्रो चरण मान्नुपर्ने हुन्छ ।


पछिल्ला दिनहरूमा यात्रा विवरण नभएका व्यक्तिहरूमा संक्रमण देखाप¥यो र समुदायस्तरमा कोरोनाभाइरस फैलियो भनेर ठूलोठूलो अक्षर वा स्वरमा प्रचार भैरहेको पाइन्छ । तर यात्रा विदेशको मात्र हुँदैन । व्यक्तिगत वा पारिवारिक वा छिमेकिसँग भेटघाट, नियमित औषधोपचारका लागि गरिने यात्राका क्रममा अस्पताल वा बाटोमा, वैयक्तिक, कार्यालयीय वा संस्थागत भेटघाटका क्रममा जहाँ पनि संक्रमित व्यक्तिसँग सम्पर्कमा पुग्न सकिन्छ र संक्रमणको सम्भावना हुन्छ । अहिलेसम्म संक्रमण देखापरेका व्यक्तिको समुदाय वा छिमेकमा बन्दाबन्दी अर्थात् सिल गर्ने, शंकाको आधारमा सम्पर्कित र छिमेकिहरूको परीक्षण गर्ने, संक्रमण पुष्टि भएकालाई एकान्तबास (आइसोलेशन) मा राख्ने र संक्रमण नदेखिएपछि खुला गर्ने गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ्ग गर्न नसकिएको र नियन्त्रणभन्दा बाहिर गएकोजस्ता तेस्रो र चौथो चरणको अवस्था देखिएको छैन ।

अहिलेसम्मको अनुसन्धानका आधारमा सामान्यतया कोरोनाभाइरस संक्रमित व्यक्तिको नाक र मुखबाट सर्दछ भनिएको छ । संक्रमित व्यक्तिले खोक्दा, हाच्छुँ गर्दा, सिगान, थुक, खकार फाल्दा र केही मात्रामा कुराकानीका क्रममासमेत भाइरस नजिकमा रहेको व्यक्तिमा सर्ने गर्दछ । संक्रमित व्यक्तिको विवरण अध्ययनका आधारमा छिटा र हावा दुवैबाट कोरोनाभाइरस सरेको पाइएको छ । दुरीका सन्दर्भमा छ फीटसम्म पनि फैलिएको पाइएको छ । कोभिड–१९ रोगको लक्षणका आधारमा तीन चरण किटान गरिएको छ । पहिलो चरणमा संक्रमित व्यक्तिमा सामान्य रुघा र फ्लूजस्ता लक्षण देखापर्दछ । यस चरणमा भाइरसको संख्या अत्याधिक बृद्धि भै रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँदछन् । दोस्रो चरणमा रोगीलाई श्वासप्रश्वासजन्य समस्या देखापर्दछ । निरन्तर सुखा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र रगत जम्नेजस्ता समस्या देखापर्दछ । तेस्रो चरणमा मुटु, मृगौला लगायतका अङ्ग काम गर्न असक्षम हुन्छन् र बिरामी मर्न सक्छ ।

तर संक्रमित व्यक्तिमा कुनैपनि लक्षण देखा नपर्ने पनि हुन्छ । सामान्यतया शुरूका पाँच दिनसम्म त परीक्षणबाट पनि पहिचान हुन सक्दैन भनिन्छ । तसर्थ संक्रमित व्यक्तिको पुष्टि भैसकेपछि पाँच दिनपछि मात्र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी परीक्षणमा लैजाने गरिएको हुन्छ । यसरी संक्रमित व्यक्तिमा लक्षण देखा नपर्नुका कारण मानिसले सामान्य जीवन र क्रियाकलाप गर्ने भएकाकारण अन्य मानिसहरू सहजै सम्पर्कमा आउने गर्दछन् । ती सम्पर्कमा आएका व्यक्तिहरूसमेत संक्रमित भएको थाहा पाउँदैनन् र नियमित क्रियाकलापमा रहन्छन् । पहिलो संक्रमित व्यक्तिमा लक्षण नै देखा नपरी कोरोनाभाइरसलाई जित्ने तर दोस्रो वा तेस्रो संक्रमितले जित्न नसकेकाकारण रोगी हुने भएको पाइएको अनुसन्धाताहरूले बताएका छन् । त्यसर्थ यात्रामा रहेका व्यक्तिमा कोरोनाभाइरस नेगेटिभ देखिने तर सम्पर्कमा रहेका व्यक्तिमा पोजिटिभ देखिने हुनसक्छ । अनुसन्धान प्रतिवेदनहरू पढ्दा र नेपालमै संक्रमितहरूको विवरण सुन्दा लाग्छ कोरोनाभाइरस आफै लाग्ने रोग पक्कै होइन । एउटा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भै लाग्ने रोग हो । कोरोनाभाइरस लागेको थाहा पाउन नै नसकिने समय लामो हुने भएकोले अन्य व्यक्तिलाई सार्ने सम्भावना बढि भएको र विश्वमा संक्रमित हुनेको संख्या ह्वात्तै बढ्नुको कारण पनि यही हो । अहिलेसम्म कोरोनाभाइरस रोकथाम र रोगको उपचारको भरपर्दो उपाय पत्ता लागिसकेको छैन ।

नेपालले विश्वका अरू देशहरूलेजस्तै लामो समयसम्म लकडाउन गरिरह्यो । तर मानिसहरू रोग र भोक दुवैबाट मर्नपर्ने हुन लाग्यो । खासगरी निजी प्रतिष्ठान तथा संघसंस्थाहरूको चर्को दवावका कारण सरकारले लकडाउन हटायो । केही स्थान विशेषमा केही समयका लागि निषेधाज्ञासमेत लगाइयो । तर सर्बसाधारणको जीवन कष्टकर बन्दै गएपछि यी व्यवस्था खुकुलो पार्दै शैक्षिक संस्था र लामो दुरीका सार्वजनिक यातायातबाहेक सबै सेवाहरू क्रमशः सामान्य अवस्थामा सञ्चालन हुन लागेका छन् । विद्यालयमा बनाइएका सबै क्वारेन्टिन बन्द गरिएका छन् । केही आइसोलेशन केन्द्र सञ्चालनमा भए पनि सबै यात्राबाट भित्रिएकाहरूलाई दुई हप्तासम्म घरमै एकान्तबास (होम आइसोलेशन) मा रहने र परीक्षण गर्ने भनिएको छ । मानिसहरू भारत र अन्य मुलुकहरूबाट आउने क्रम निरन्तर छ । हवाइ मार्गबाट आउनेहरूका लागि एकदिनको होल्डिङ्ग र सतर्कतासम्बन्धि अभिमुखीकरण गरिएको छ । तर, भारतबाट आउने र नेपालभित्र पनि विभिन्न स्थानबाट ओहोरदोहोर गर्नेहरूका लागि कुनैप्रकारको अभिमुखीकरण गरिएको छैन । यसरी संक्रमित मानिसहरू कुनै किसिमको जानकारी वीना सिधै गन्तव्यसम्म पुग्ने अवस्था छ । यसले गर्दा कोरोनाभाइरस ओसारपसार हुने सहज परिस्थिति निर्माण भएको छ । समस्या सिर्जना हुनमा अहिले एकअर्कालाई औंला देखाउनुभन्दा सावधानी अपनाउनु हरेक मानिसको दायित्व बनेको छ ।

पाल्पामा केही समय पहिला अर्को जिल्लाबाट आएका एक शिक्षकमा कोरोनाभाइरस संक्रमण भएको पाइयो । यहाँको एउटा गाउँपालिकाका वडाध्यक्षका छोरा भारतबाट आएका र गाउँमा इष्टमित्रसँग नाचगान पनि गरेका थिए रे । पछि पुष्टि भयो उनी कोरोनाभाइरस संक्रमित रहेछन् । अहिले केही जनप्रतिनिधिहरूमा समेत संक्रमण पुष्टि भएको छ । विडम्बना ती जनप्रतिनिधिहरू स्वाब परीक्षणका लागि पठाइसकेपछि पनि नियमित रूपमा कार्यालयीय गतिविधि र बैठक आदिमा संलग्न भैरहेको भन्ने सुनियो । यस्तै अवस्था अन्य जिल्लामा पनि छ । केही समय अगाडि मन्त्रीहरूसमेत भोजभतेरमा समावेश भएको र संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएको थियो । यसैगरी संक्रमितका परिवारका सदस्य र उपचारमा संलग्न चिकित्साकर्मीहरूमा पनि संक्रमण देखा परेको छ । सरकारबाट जारी गरिएको स्वास्थ्य प्रोटोकल उलंघनका यी केही उदाहरणहरूबाट प्रष्ट हुन्छ कि हामीहरू यो महामारीका समयमा पनि ठूलो लापरवाही गरिरहेका छौं । यिनै लापरवाहीकाकारण कोरोनाभाइरस विभिन्न ठाउँसम्म पुग्न सकेको हो । कोरोनाभाइरस फैलाउने एजेण्ट मानिस नै हो । मानिसका गतिविधिमार्फत भाइरस ओसारपसार भैरहेको छ ।

कोभिड–१९ महामारीको कठीन परिस्थितिमा संक्रमण रोक्नकालागि हरेक नागरिक, परिवार, समुदाय, प्रतिनिधि सबैले सतर्कता अपनाउनु आवश्यक छ । विदेशबाट आएका घरकै सदस्यलाई अनिवार्य रूपमा छुट्टै कोठामा राख्ने, उहाँहरूसँग कम्तीमा तीन हप्ता सम्पर्कमा नरहने, दुई मीटरभन्दा पर रहने, परिवारका सबैले माक्स लगाएरमात्र खाना आदि दिने, सम्भव भए छुट्टै शौचालय, टावेल आदिको प्रयोग गर्ने, लुगाफाटा आँफै धुने, ढोगभेट नगर्ने र श्रीमान्–श्रीमतिसमेत सम्पर्क नगर्नेजस्ता सावधानी अपनाउनु जरुरी छ । अन्यथा हामीले माया गर्ने, संस्कृति परम्परा पालना गर्नेलगायत बहानामा सम्पर्क गर्दा रोग सारेको हुनसक्छ । यदि रोग स¥यो भने तपाईंले देखाएको मायाप्रेमभन्दा धेरै ठूलो मात्रामा खतरा निम्तेको हुन्छ । भोजभतेर बन्द गरौं । साथीभाइसँग अर्को महिना भेटौंला । छोराछोरीलाई अर्को महिना काखा लिऔंला । श्रीमतिसँग अर्को महिना रमाइलो गरौंला । बुबाआमालाई अर्को महिना ढोगौंला । छरछिमेकमा अर्को महिना घुमौंला । हतार गर्नाले ज्यान लिन सकिन्छ । यतिमात्र होइन अब चाडपर्वको मौसम छ । पर्वहरू अर्को साल पनि आउँछन् । संस्कृति परम्पराजन्य कार्य अर्को साल पनि गर्न सकिन्छ । कार्यालयमा जाँदा, जनप्रतिनिधि र सामाजिक कार्यकतासँग जाँदा अपनाउने सावधानी र सार्वजनिक पदमा रहेका व्यक्तिहरूसमेत सचेत, सतर्क रहने र अरूलाईसमेत सतर्क रहन सिकाउने गर्नु आवश्यक छ ।

व्यापारिकलगायतका प्रतिष्ठानहरू पुनःसञ्चालनमा ल्याउँदा सतर्कता अपनाएको देखिँदैन । उदाहरणका लागि पसलमा दुरी कायम भएको देखिँदैन । ग्राहकले माक्स लगाएको छ तर पसलेले माक्स लगाएको देखिँदैन । मानिसहरूको भिडमा पैसाकाखातिर ज्यान धरापमा राखेको देखिन्छ । माक्स, पञ्जा लगाउने, पसलभित्र प्रवेश गराउँदाको सावधानी आदि अपनाएको देखिँदैन । फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्य, सुरक्षा, जनप्रतिनिधि र कर्मचारीहरूको सुरक्षा व्यवस्था सम्बन्धित सबैले मिलाउनु पर्दछ । सेवाप्रदायकहरूको लापरवाहीकाकारण सेवाग्राही सर्बसाधारण संक्रमित हुने अवस्था आउनु विडम्बना हो । मानिसहरूको लापरवाहीका कारण कोभिड–१९ महामारी विश्वभर फैलिएको हो । आफु यो महामारी फैलाउने एजेण्ट नबनौं । मानव जातिको सुरक्षाकालागि सहयोगी बनौं । सरकार र नागरिक सबै उत्तरदायी बन्यौं भने कोरोनाभाइरसबाट क्षति कम हुनेछ ।

अपडेट : 2020-09-16 13:03:51




your-image

Leave a Comment