आश्विन ९ २०७७   |  2020 Sep 25    


प्लाज्मा संकलनका लागि दाता खोज्दै “घरघरमा हामी”


news

कोरोना संक्रमित गम्भीर अवस्थाका बिरामीलाई बचाउन घरघरमा हामी अभियानले प्लाज्मा संकलनका लागि दाता खोज्दै हिंडेको छ । कोरोना महामारीसँगै सामाजिक सञ्जालबाट सुरु गरिएको “घरघरमा हामी” अभियानले कोभिड १९ पोजेटिभ भई निको भएकाहरुको प्लाज्मा संकलनको सुरुवात गरेको छ । “यसका लागि हामीले घरघरमा दाता खोज्दै हिंडेका छौं”–अभियानका संयोजक शिव डुम्रेले भने ।


अभियानले अहिले रुपन्देहीको तिलोत्तमा र सियारीमा कोरोना संक्रमण भइ निको भएका बिरामीहरुको नामावली संकलन गरिसकेको छ । अव भैरहवा, देवदहलगायतका क्षेत्रमा पनि नामावली संकलन गरिने संयोजक डुम्रेले बताए ।


पछिल्लो समय प्लाज्मा थेरापी बिधिबाट केही कोरोना संक्रमितको रक्त मात्रा बढाउने र रोग नियन्त्रण हुने देखिएपछि नेपालभर सो अभियानको सुरुवात गरिएको संयोजक डुम्रेले बताए । डुम्रेका अनुसार नेपाल रेडक्रससँगको समन्वयमा यो काम सुरु गरिएको हो । कोरोना विरामीको परीक्षण लगायत उपचारमा खटिएका चिकित्सकहरुसँगको सहकार्यमा यो काम गरिएको हो ।


अभियान अन्तर्गत रुपन्देहीको कन्चन गाउँपालिकास्थित रुद्रपूर हरैयामा नेपाल रेडक्रसको कन्चन उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको छ । जहाँ चारजना कोरोना पोजेटिभ भई निको भएकाहरुले रक्तदान गरेका छन् भने ६९ जना अन्य मानिसले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा कन्चन गाउँपलिकाका प्रमुख गोकर्ण क्षेत्रीले रेडक्रस र घरघरमा हामी अभियानले थालेको यो अभियानमा गाउँपालिकाको पुर्ण सहयोग रहेको बताए ।


विश्वमा कोरोना महामारी फैलिएसँगै प्लाज्मा थेरापीका अभ्यासहरु भैरहेको अवस्थामा नेपालमा पनि सरकारले प्लाज्मा थेरापी गर्ने भनेसँगै प्लाज्म जुटाउने अभियान चलिरहेको छ । रक्त तत्वको एक महत्वपूर्ण हिस्सा प्लाज्माले रोगविरुद्ध लड्ने क्षमताको वृद्धि गर्ने गर्दछ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग रोग प्रतिरोधी क्षमता कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ ।
जटिल प्रकारका बिरामीको शरीरमा एन्टिबडी उत्पादन हुन गाह्रो हुने भएकाले प्लाज्माको प्रयोग गर्न सकिन्छ । कोरोना महामारीमा फुड बैंक सञ्चालन गरेसँगै प्लाज्मा थेरापीलाई सहयोग पुग्ने गरी अभियानले प्लाज्मा संकलनको लागि संस्थाकै सदस्य आयुषा कंडेलको संयोजकत्वमा उपसमिति नै गठन गरी प्लाज्मा संकलनको लागि अभियान चलाएको छ ।


कोरोना महामारीसँग समाजको ब्यवहार र दृष्टिकोणमा परिवर्तन ल्याउन अपिल गर्दै सामाजिक चेतनासहितको प्लाज्मा र रगत संकलन गरी रक्तसञ्चार केन्द्रमा बुझाइने संस्थाले जानकारी दिएको छ ।

अपडेट : 2020-09-13 10:48:31




your-image

Leave a Comment