आश्विन ९ २०७७   |  2020 Sep 25    


'एकादेशको' कृषि प्रधान देश


news

एक समयमा हाम्रो देश कृषि प्रधान देशको नामले चिनिन्थ्यो । हामीले पढ्दा हाम्रो पाठयपुस्तकमै देशमा ९५ प्रतिशत जनता कृषिमा आधारित छन् भनेर पढियो । खेतीपाती यति हुन्थ्यो कि उब्जनीको धेरै हिस्सा देश बाहिर निर्यात हुन्थ्यो । सबै कुराकालागि कृषिमै निर्भर हुनुपर्ने समय भएकोले कृषक जाँगरिला थिए । किनकी कृषि बाहेक अन्य विकल्पको पेशा कम थियो । कृषिमा फर्मिङ तरिकाले गर्ने कुनै कुरा थिएन ।

जे गरिन्थ्यो ठाउँ अनुसारका खेतीपाती, गाई भैँसी बाख्रा पालन गरिन्थ्यो । धेरै भएको अन्न बेचेर अन्य आवश्यकता पुरा गर्ने चलन थियो । कृषिमा आधुनिकीकरण थिएन । पुरानै हिसावले खेती गरिन्थ्यो । आजकल जस्तो रासायनिक मल, युरिया, जिङ्क, पोटास भन्ने पनि थाहा थिएन । अन्न तरकारीमा बिषादीको प्रयोग हुँदैनथ्यो । बिकासी मलहरुकोसाटो गाई भैंसीकै गोवर हालिन्थ्यो । गाई भैँसी धेरै पालिन्थ्यो र तिनैको मल खेतबारीमा राखिन्थ्यो । अव त यी कुरा कथाजस्ता हुँदैछन् ।


बिस्तारै कृषिमा आधुनिकीकरण भित्रियो । खेती गर्ने तरिकामा आधुनिकीकरण भन्दापनि रासायनिक मल र बिषादी प्रयोग गर्नेलाई आधुनिकता मान्न थालियो । कृषिमा रासायनिक मल र बिषादीमा राम्रै परिवर्तन आयो । कृषिका औजार पनि आधुनिक आउँदै गए । कृषकहरु गाई भैँसी पालेर गोवरमल खेतमा हाल्नुभन्दा रासायनिक मल हालेर खेतीगर्न सजिलो मान्नथाले । रासायनिक मलले माटोलाई पार्ने असरबारे कृषकलाई कुनै जानकारी थिएन र गराइएन पनि । रासायनिक मलले शुरुका दिनमा खेतबारीको माटो त्यति बिग्रिएको थिएन । त्यो राखेपछि खेती राम्रो हुन्थ्यो । यसरी नै रासायनिक मलप्रति आकर्षण बढ्दै गयो । रासायनिक मललाई गाउँघरमा बिकासी मल भनिन्थ्यो । अलिअलि बिकासेमल छरेपछि राम्रै खेतीहुन्थ्यो ।

त्यसैले कृषकहरु बिकासका मल किनेर हाल्नतर्फ बढी आकर्षित भए । यो मल र विषादीको प्रभाव माटोमा र अन्न बालीमा कस्तो पर्छ यसले मानिसको स्वास्थ्यमा के कस्तो असर पुराउँछ भन्ने किसानलाई जानकारी हुने कुरै भएन । न त यसको दीर्घकालिन असरबारे कुनै विशेषज्ञले केही बताएन । जसले गर्दा माटो अम्लिय बन्दै गयो । माटोमा उर्बरा शक्ति क्षीण हुँदै गयो । अन्नबालीमा मात्र नभएर तरकारीबालीमा लाग्ने किराहरु मार्न बिषादी औषधि भित्राइयो । केही वर्षयता बजारमा विष नहालेका अन्न र तरकारी पाउन छाडिएको छ । अन्न, तरकारी, फलफूलमा बिषादी नराखी कुनै चिज फल्न र खानेलायक देखिन छाड्यो ।

विषादीको भरमार प्रयोग भएको अन्न र तरकारीको प्रयोगले मानिस र पशुपक्षिलाई समेत असर देखिन थाल्यो । मानिस रोगी बन्दै गए । पंक्षिहरु त कयांै लोप हुँदै गए । अहिले संरक्षणको खाँचो पर्न थालेको छ । खेतबारीमा छरिएको बिषादीले किराफट्याङ्ग्रा मर्दै गए भने मरेका किरा फट्याङ्ग्रा खाँदा चराचुरुङ्गी पनि मर्दै गए । प्रकृतिमा ब्यालेन्स बिग्रिँदै गयो । इकोसिस्टम बिग्रियो ।

सरकारले पहिले रासायनिक मल भित्रायो, विषदी भित्रायो । किसानलाई खेतीपातीका तरिका सिकाउन जेटिएको ब्यवस्था पनि मिलायो । कृषि अनुसन्धान केन्द्रहरु स्थापना भए । कृषि विषय पढ्नेकालागि क्याम्पसहरु पनि खुले । कृषि जेटिए देखि कृषि विज्ञहरु उत्पादन भए । किसानलाई मलहाल्ने, विषको प्रयोग गर्ने तरिका पनि कहिँ कतै सिकाउन थालियो । यसले तत्काल केही वर्षकालागि उत्त्पादन बढायो पनि । तर आजकल खेतको माटो नै विग्रिन थालेको छ । रासायनिक मल नहाली कुनै उत्पादन लिन नसकिने हुन थालेको छ । यसले त उपलब्धीको साटो विनासको बाटो समात्न थालेको छ । त्यसैले आजकल फेरि अर्गानिक खेतिको चर्चा हुन थालेको छ ।

यसैपनि ९५ प्रतिशत किसानले खेती गर्ने खेत खलिहान अहिले साँघुरो हुँदै गएको छ । धेरै राम्रा खेतीयोग्य जमिन सिमेन्ट र कङ्क्रिटको जंगलमा बदलिसकेको छ । अहिले कृषिकर्म गर्नेहरुको संख्या ५० प्रतिशत माथि छैन किजस्तो लाग्छ । पहिला पहिला नेपालबाट बाहिर निर्यात हुने अन्नपात उत्पादन हुँदैन । बरु, वर्षमा करोडौंको अन्नपात बाहिरी देशबाट नेपाल भित्रिन्छ । अव हाम्रो देश कृषि प्रधान देशको साटो कृषि सामाग्री आयात भन्ने नाम राख्नुपर्ला जस्तो लाग्छ । हरेक कुरामा परर्निभरहुनुपरेको अवस्था छ । जनसंख्या बृद्धि, राम्रा खेतीयोग्य जमिन बाँझै छन् । प्लटिंगले गर्दा खेती गर्ने जमिन घट्दै गएको छ । सरकारको जग्गा जमिन सम्बन्धी स्पष्ट नीति नियम नहुँदा जग्गा दलालहरुले मनपरी जग्गा प्लटिङ् र बेचबिखन गरिरहेकोले पनि खेतियोग्य जमिन मासिँदै गएको हो । अलिअलि भएका खेतबारीमा पनि काम गर्ने जनशक्ति छैन । कामगर्न सक्ने जनशक्ति र अलिअलि पढेको युवा खेतीको कामलाई काम मान्दैन र काम गर्न अप्ठेरो मान्छ । विदेश गएर होटल रेस्टुराँमा काम गर्न जाति मान्छ । यस्तो अवस्थामा देश कसरी कृषिमा आत्मनिर्भर बन्ला चिन्ताको विषय छ ।
आजकल जे जति जग्गामा खेती गरिन्छ त्यसमा धेरै उत्पादन लिन पनि रासायनिक मल र विषादीको प्रयोग नगरि हुँदैन ।

यी चिजहरुको प्रयोग बिना उत्पादन नै हुन छाड्यो । त्यसैले राम्रो फल लिनकालागि पनि रासायनिक मल र किटनासक औषधि प्रयोग गर्न अनिवार्य भएको छ । यी चिजको प्रयोगले स्वास्थ्यमा पार्ने असर एकातिर छँदैछ भने अर्कोतर्फ उत्पादन बढाउन रासायनिक मलखादको अवश्यकता उत्तिकै छ । कम्पोष्टलगायत अन्य बनाउन अलि झन्झटिलो होला । गोवर मलकालागि गाई भैंसी पाल्नै पर्यो । त्यसको विकल्पमा खेतीलाई चाहिने त्यही रासायनिक मल नै भएको छ । त्यही पनि खेतीको समयमा नपाउँदा कृषकमा चिन्ता हुने नै भयो । अहिले कृषकहरुमा मल नपाएर हाहाकार मच्चिएको छ । कही कतै बाँकी रहेको मल रहेछ भने पनि चिनजान र आफन्तको साइनो बेगर मल पाउने अवस्था छैन ।

यो पंक्तिकार पनि सानोतिनो किसानै हुँ अहिलेसम्म । करिव दश बाह्र कठ्ठामा हामी खेती गर्छांै । हामी पनि रोपाइँका बेला मल पाइने सबै ठाउँ चहार्यौं तर कतै मल पाइएन । त्यसपछि वडाको सिफारिस लिएर गएमा ५० किलो युरिया मल पाइन्छ भनेको सुन्यौँ र सिफरिस बनाउन तिनपा वडा नं ३ को वडा कार्यालय पुग्यौँ । वडाले आनन्दवन सहकारी संस्था मणिग्राम रुपन्देहीको नाममा असार १९ गते सिफारिस पत्र बनाइदियो । उक्त सिफरिस पत्र लिएर आनन्दवन सहकारी संस्था मणिग्राम गयौँ मल लिन । तर सहकारी संस्थाले मल आएको छैन, आएपछि आउनु भनेर फकाईदियो । बीना मल नै रोपाइँ गरियो । रोपाइँ गरेको पच्चीस तीस दिनपछि फेरि मलकोलागि सिफरिस पत्रलिएर मल लिन गइयो । त्यतिखेर पनि मल आएकै छैन, माथिबाट पठाएकै छैन, आएपछि फोन गरेर आउनु भनि उल्टोहात फर्काइयो । मल आएन होला, आए त्यो राखिराख्ने चिज पनि होइन । कोही बिचौलियाले महँगोमा बेच्न त्यसो गरेको भए थाहा भएन । धानमा मल हाल्ने बेला मल भएन । धान पहँेलो हुनलाग्यो ।

बोट उखलेर हेर्दा जरामा किरा देखियो । लकडाउनको बेला छ के गरेर धानको उपचार गर्ने चिन्ताको विषय रह्यो । धानको बोट उखेलेर कृषि विउबिजन र बिषादी राख्ने पसलमा गएर धानको बोट देखाई विषादी पनि ल्याएर छरियो । तर धान कालो भएको छैन । सायद बिषादी पनि राम्रो परेन होला । मल पाउने त आशै हरायो । फोन गरेर सोध्दा आएको छैन भन्छन् । अव राम भरोसे जति फल्ला फल्ला भन्दै बसेका छाँै ।

संचारमाध्यममा आजकल दिनहुँ किसानले मल नपाएका कुरा आउने गरेका छन् । सहकारीमा मल पाइन्छ भनेर लाम लागेका किसानले कसैले अलिअलि मल पाएको र कसैले लाठी खाएका समाचार पनि संचार माध्यममा सुन्छिन् । समयमा खेती गर्ने किसानलाई मल उपलब्ध गराउने काम सरकारको हो । सरकारले किसानले खेतिगर्ने समय आउँदैछ भनेर मलकालागि पूर्व तयारी केही गरेन । कमिशनको खेल नमिलेर पनि होला । अव अहिले बंगलादेशबाट ५० हजार मेट्रिक टन मल सापटी मागेका कुरा पनि सुनिएको छ । धान पसाउने बेला सापटी मागेको मल धान पाक्ने बेलासम्म पनि आउने कुरामा शंकै छ । हो आइहालेछ भने गहुँबालीकालागि पाए पनि हुन्थ्यो । कृषि सामाग्री कम्पनिले ठेक्का दिएका दुई ठेकेदार कम्पनि सैलुङ इन्टरप्राइजेजका ठेकेदार र होनिको कम्पनिका ठेकेदारले बेइमानी गरेछन् । तिनिहरुले अहिलेसम्म मल ल्याएनन् भनेर रोपाइँकै समयमा किन खोजीनिति गरिएन ?

मल ल्याउने ताकेता किन गरिएन ? आफुले लिएको ठेक्काको काम पुरा नगरेर किसानलाई मर्कामा पार्र्नेे ठेकेदार कम्पनिलाई कडा कारवाही हुनुपर्ने हो । हुन्छ हुँदैन समयले बताउँला ।

अहिले समयमै वर्षा भएका कारण कृषकले समयमै रोपाईँ पनि गरेका थिए तर मलको अभावमा बालीमा फललाग्छ लाग्दैन शंकै छ । यसले किसानलाई चिन्तामा पारेको छ । कृषि बिमाहुने कुरा पनि सुनिन्छन् । कुन कुन कृषिमा बिमा गरिन्छ सबै किसान जानकार पनि छैनन् । खेतीमा फल नलागेपछि बीमाले क्षतिपूर्ति दिन्छ भनिन्छ त्यो पनि थाहा हुँदैन । कृषिमा अनुदान पाइन्छ भन्ने सुनिन्छ । त्यो अनुदान पनि खास किसानले भन्दा चाकडीवाज नक्कली किसानहरुले हत्याउँछन् भन्ने सुनिन्छ । खास किसान सधै मर्कामा पर्छन् । किसानलाई खेतीप्रति आकार्षित गर्न पनि उनिहरुलाई प्रोत्साहन गर्नतिर सरकार लाग्नुपर्ने देखिन्छ ।

अपडेट : 2020-09-12 11:14:16




your-image

Leave a Comment