कार्तिक ११ २०७७   |  2020 Oct 27    


हिन्दू धर्ममा सोह्र श्राद्धको विधि र महत्व


news

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्म मध्येको एक हो । जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभार्इले गर्ने गर्दछन् ।श्राद्ध हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ। श्राद्धलाई पितृयज्ञ पनि भनिएको छ । भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। श्राद्ध खण्डको भनाई अनुसार ब्राह्मण भोजन, पिण्डदान गराउनु श्राद्ध हो । चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसै कसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ। आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त वा खुसी तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो।

औंसीमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिछ । वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने निति उल्लेख छ। यथार्थमा यहि औंसी तिथिमा गर्नु पर्ने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। तर समय व्यस्तता र ब्यवहार नमिल्ने हुनाले र विविध कारणले गर्न नसकेका कारण समग्रमा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा उल्लेख छ। शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि तिनैको तिथिलाई आधार मानेर प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ। पूणिर्मा तिथिमा गर्नुपर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ। औंसीमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथि मानिएकोले यसमा गरिने श्राद्धलाई सोह्र श्राद्ध पनि भनिन्छ।

पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन्। यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ। यस वर्ष २०७७ साल भाद्र १७ देखि सोह्रश्राद्ध शुरू भै २०७७ साल असोज १ गते पितृविसर्जनं गरिनेछ ।

श्राद्धको विधिः
सुरूमा देव(मनुष्य(दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ। श्राद्धमा फलामका भाडा प्रयोग गर्नु हुदैन । चाँदी, सुन, तामाका भाडा प्रयोग गर्नु पर्दछ । पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ। तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने धार्मिक नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ। पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्। सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । श्राद्धमा विशेष गरी पवित्र मन्त्रको रूपमा


ॐ देवताभ्य स् पितृभ्यश्च महायोगिभ्य एव च ।

नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः ।।

ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् ।

ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ ।

ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः ।

प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् ।

ऊँ पितृभ्यो नमः पितराय नमः ।।  भनेर उच्चारण गर्ने गरिन्छ ।

यसबर्ष कोरोनाको महामारीले गर्दा घरमै बसेर पितृको सम्झनामा शुद्ध भै वैकल्पिक विधिबाट श्राद्ध गर्नु पर्ने अवस्था श्रृजना भएको छ । वैकल्पिक विधि भनेको जुम विधिबाट अथवा यु टुबमा श्राद्ध सम्बन्धि विधि खोजेर वा विद्वानसँग फोन सम्पर्क गरेर भर्चुवल रूपमा पितृ कार्य (श्राद्ध) गर्ने प्रयास भएको छ र यसै सन्दर्भमा सामाजिक सञ्जालमा समेत चर्चा गरेको पनि पार्इन्छ । तर यसो गर्नु भन्दा विधि जानेका मानिसले आफ्नै घरका कोही सदस्यलार्इ पढ्न लगाएर पनि श्राद्ध गर्न उत्तम मानिएको छ । यसमा जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ ।

धर्मशास्त्रका जानकारहरू भने अहिले केहि गरी श्राद्ध गर्न नसक्नेको लागि पछि श्राद्ध गर्न सक्ने प्रावधान समेत शास्त्रमा उल्लेख गरिएको पार्इन्छ । अहिले श्राद्ध गर्न नसक्नेका लागि विभिन्न विकल्प रहेको र भर्चुअल श्राद्धको अर्थ नरहेको प्रा.डा. माधवप्रसाद भट्टरार्इले बताएका छन् । धर्मशास्त्र अनुसार रोकिएको सोह्रश्राद्ध असोजको औंसी, नौरथाको पञ्चमी, गार्इतिहारको औंसी वा पुषसम्मको जुनसुकै औंसी, अष्टमी,द्वादशीमा गर्न सकिन्छ भनिएको छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ ।

पितृपक्ष सूर्य दक्षिणायन भएको वेलामा पर्दछ । शास्त्रबमोजिम सूर्यले यस समयमा सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् । पितृहरू आफू दिवङ्गत भएको तिथिका दिन आफ्ना सन्तति (छोरा, नाति, पनाति) हरूबाट आफ्नो उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको आशा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत भएका मृत पितृहरूलाई उद्देश्य गरी श्राद्धादि कर्म गर्ने गर्दछन् भन्ने धर्मशास्त्रमा उल्लेख भएको पार्इन्छ । प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । श्राद्ध भन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजस्वला भएर सात दिन बितेको छैन भने पार्वण श्राद्धमा पिण्डदान गर्न हुँदैन ।

 पितृश्राद्धका दिन पिण्डदानको कार्य पूर्ण नहुन्जेलसम्म हवनादि कार्य, भिक्षादान, देवपूजा, ब्रह्मचारी, तपस्वी र अभ्यागतहरूको आतिथ्यादि कुनै पनि काम गर्नु हुँदैन । श्राद्धका दिन पितृकर्म नै मुख्य र विशेष काम हो, त्यसैले पहिलो प्राथमिकता पितृकर्मलाई दिनु उपयुक्त हुन्छ, त्यसैले त्यस दिन पिण्डदान अघि अन्य समस्त कर्म प्राथमिकताका क्रममा राख्नु हुँदैन । पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ भनिएको छ । संस्कृतमा भनिएको छ किःआयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः॥ अर्थात पितृको सदाशयता र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ र सुख प्राप्त हुन्छ भनिएको छ ।

श्राद्ध भन्दा पुण्यदायक अर्को कुनै कार्य छैन । यसर्थ देवकार्य भन्दा पितृकार्यलार्इ विशेष महत्वका साथ सम्पादन गर्नु पर्दछ । साक्षात सम्बन्ध भएका पितृहरूको मृत तिथिमा श्राद्ध तथा पिण्डदान गरिन्छ । यसरी असोज कृष्णपक्षलार्इ पितृपक्ष वा महालय पक्ष भनिन्छ । यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको घरमै आर्इपुग्छन् भन्ने धर्मशास्त्रमा ब्याख्या गरिएको छ । श्राद्ध गरि पितृहरूलार्इ खुसी बनाए पछि घरपरिवार सन्तान सवैलार्इ सुख प्राप्त मिल्ने कुरामा विश्वास गर्न सकिन्छ ।

धर्मशास्त्र अनुसार श्राद्धको दिन घरमा दही नमथ्नु, कपाल नकाट्नु, अघिल्लो दिन मुण्डन नगर्नु भन्ने उल्लेख गरिएको छ । यसै गरी महाभारतका अनुसार भन्टा,  गाजर,  मुसुरोको दाल, रहर,  लौकाहिङप्याजलसुन,  बीरे नून,  जामुन,  सुपारी,  सर्स्यौं र चनाको प्रयोग निषेध छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर पवित्रकुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, शिलान्यास, वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन । तर पितृकार्य गर्नका लागि माथि उल्लेखित कुनै कार्य गर्न छुट गरिएको पार्इन्छ । सृष्टिको प्रारम्भमा पूर्व, पश्चिम र उत्तर दिशा क्रमशः देवता, मनुष्य र रुद्रदेवलाई प्रदान गरिएको थियो, अनि दक्षिण दिशा पितृहरूको भागमा पर्यो । त्यसैले पितृहरूको श्राद्ध र पूजादि सदैव दक्षिण दिशातर्फ फर्किई गर्नुपर्दछ ।

श्राद्ध विशेष गरी पार्वण श्राद्ध र एकोद्दिष्ट श्राद्ध (पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध हो । यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस बिपरित पार्वण श्राद्ध आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीनपुस्तालाई पिण्ड दिइन्छ। विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामा लगायतलाई पिण्ड दिइने गरेको पाइन्छ। ­), तिर्थ श्राद्ध (कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो।), आभ्युदयिक श्राद्ध (विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध भनिन्छ।), सोह्र श्राद्ध (चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। )पुष्टि श्राद्ध (शरीर स्वस्थ्य राख्न गरिनेलार्इ पुष्टि श्राद्ध भनिन्छ ।)

सोह्रश्राद्ध सकिएपछि दशैको घटस्थापना शुरू हुने गरेकोमा यस बर्ष अधिकमासा परेकोले आश्विन १ गते पितृविसर्जन गरिने र कार्तिक १ गतेमात्र घटस्थापना गरी दशै शुरूवात हुनेछ । आश्विन २ गते देखि ३० गते सम्म अधिकमास हुनेछ । त्यसपछि मात्र शुध्द आश्विन शुक्लपक्षमा दशै पर्व एवं कार्तिक कृष्णपक्ष १५ दिन पछि मंसिर १ गते भाइटिका (तिहार) पर्व हुनेछ ।    

वैदिक ग्रन्थहरूमा मनुष्यको लागि तीन प्रकारको ऋण बताईएको छ, जसमा देव ऋण, ऋषि ऋण र पितृ ऋण । आश्विन महिनाको कृष्ण पक्षमा पितृलाई तृप्त गर्नको लागि मृत्युको तिथिमा श्राद्ध गरेर पितृ ऋणबाट मुक्त हुन सकिन्छ र यो श्राद्धमा तर्पण, ब्राहमण भोजन र दानको विशेष विधान रहेको हुन्छ । यस लोकमा मनुष्यद्वारा दिईएको हव्य (देवतालाई चढाईने कुरा) वा कव्य (पितृलाई चढाइने कुरा) हृदय देखिनै चढाउनु श्राद्ध हो । हव्य र कव्य पदार्थ पितृहरू कसरी प्राप्त गर्दछन् ? यो विचारणीय प्रश्न हो । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानता सित पनि जोडेर हेरिने गरिएको छ । तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन । हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । सोह्र श्राद्धको पावन अवसरमा परिवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्, पितृशक्तिले कोरोना महामारीको अन्त्य होस, कोरोनाको महामारीले गर्दा श्राद्ध विधिमा तलमाथि वा भुलचुक वा श्राद्ध गर्न नसकिएको अवस्था रहेछ भनेपनि कोरोनाको महामारी अन्त्य भएपछि विधिपूर्वक श्राद्ध गर्ने वचनवद्धताका साथ पितृको शुभ-आशिरवाद मिलोस, सवैमा खुसी प्राप्त होस र सवैमा सकारात्मक सोचको विकास होस भन्ने कामना गर्दै सम्पूर्ण पितृहरू प्रति हार्दिक नमन गर्दछु ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

 

 

अपडेट : 2020-09-03 05:53:17




your-image

Leave a Comment