आश्विन ६ २०७७   |  2020 Sep 22    


संस्कृत भाषाः हिजो र आज


news

आज संस्कृत भाषाको उपयोगिता तर्फ विश्वको ध्यान आकृष्ट भएको छ । यसको प्रमुख कारण कम्प्युटरमा यसको उपयोग हो । पाणिनीको भाषा मेट्रिक्सको उपयोग त कम्प्युटरमा भएकै छ । तर यसभन्दा महत्त्वपूर्ण कुरा हो भावी कम्प्युटरको स्वरुप । लेखेर सन्देश दिने जमाना हराउँदै गएको छ । इमोजी, स्टिकर रेडिमेड म्यासेजजस्ता कुराहरुको बढ्दो लोकप्रियता, गुगल अनुवादका साथै मुखले बोल्दा कम्प्युटरले आफै पढिदिने (लेखिदिने) पद्धतिको विकास गर्ने क्रममा यस प्रविधिको विकास गर्न लागेका सबैले एकै स्वरले के कुरा स्वीकार गरेका छन् भने जे कुरा बोलिन्छ सोही लेखिने भाषामा संस्कृत सर्वोत्कृष्ट छ । यसको उच्चारण र लिपि एक अर्कासंग नछुट्टिने गरी मिसिएको छ । जसरी शब्दको अर्थ त्यस भित्र लुकेको छ । त्यसैगरी संस्कृत भाषाको उच्चारण अक्षरमा लुकेको छ । र यो कथन द्विमार्गीय कथन हो । यो केवल एकातिर सत्य छ भन्ने होइन । अर्कातिर पनि सत्य छ । अर्थात् जसरी भाषाको उच्चारण अक्षरमा लुकेको छ, त्यसैगरी उच्चारणमा अक्षरको स्वरुप लुकेको छ । उदाहरणका लागि अंग्रेजीमा लेख्दा बी लेखिन्छ तर त्यसको फोनेटिक संकेत हो ब् । तर संस्कृतमा ब लेख्दा त्यसमा ब र अ जोडिएको छ । ब् मात्र छ भने त्यसमा अ छैन । यति सूक्ष्म छ यसको लिपि, उच्चारण र परम्परा । अर्को कुरा यस भाषाको व्याकरण स्पष्ट छ । त्यसमा देशगत र कालगत अन्तर छैन । यस विशेषताले गर्दा आज पनि हामीले ३००० वर्ष पुराना ग्रन्थहरुको अर्थ लगाउँदा एकरुपता भेट्छौं ।


हाम्रो बहुमुखी विकासमा यो देववाणी बाधक छैन । यस भाषाको माध्यमबाट विगतमा के कुरा प्राप्त भएन र ? रामायणकाल वा त्यसअघिको वैदिककाल अथवा महाभारतकालका प्रागऐतिहासिक कालका अनेक दस्तावेज यस कुराका प्रत्यक्ष प्रमाण छन् कि जुन दिनहरुमा संस्कृत भाषा अधिकाधिक मानिसहरुले व्यवहार गर्थे ती दिनहरुमा पूर्वीय सभ्यता ज्यादै माथि पुगेको थियो । नेपालको मल्लकालको स्वर्ण युगमा संस्कृत भाषा आफ्नो उच्चरुपमा व्यवहार गरिन्थ्यो । विभिन्न भाषामा संस्कृत भाषाको प्रभाव बारे विभिन्न विद्वान्ले चर्चा गरेका छन् । नेराप्रप्र (हाल नेप्रप्र) मासमेत यस सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएका छन् । नेपालका मूर्धन्य भाषाविद् डा. टीकाराम पन्थीले पनि नेपालका स्थानीय भाषासंग मात्र होइन चीनी, रसियन अंग्रेजी भाषाका सम्बन्ध बारे चर्चा गरेर कार्यपत्र प्रस्तुत गरेको र सो सम्बन्धमा उहाँले विभिन्न पत्रिकामा लेख लेख्नुभएको थियो । त्यसमध्ये एउटा पत्रिका दीपिकाको सम्पादन मैले गरेको थिएँ । त्यो सम्बन्ध आश्चर्यजनक रहेको छ । यस लेखमा विभिन्न स्थानबाट प्राप्त जानकारीलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।


१. अंग्रेजी भाषामा संस्कृतको प्रभावः संस्कृतको पितृ शब्द नै पश्चिममा पीटर र फादर बनेको हो । यसैगरी मातृबाट मदर र मादर, भ्रातृबाट ब्रदरजस्ता शब्द प्रभावित देखिन्छन् ।


संस्कृतको नस् शब्दबाट नोज, दन्तबाट डेन्ट र टूथ, स्थानबाट स्टेशन, मनबाट माइण्ड, कुप्यबाट कप, द्वारबाट डोर, कोटरबाट क्वाटर, हस्तबाट ह्याण्ड, हृद् बाट हार्ट, मत्तबाट म्याड, दिव्यबाट डिवाइन, जननबाट जेनेटक्स आदि हेर्दा यी शब्दको सम्बन्ध संस्कृतसंग रहेको स्पष्ट हुन्छ । नाम शब्दमात्र होइन सर्वनाम र क्रियापद् पनि आपस कति सम्बन्ध छ भन्ने कुरा दुई उदाहरणबाट स्पष्ट हुन्छ– अंग्रेजीको आवर् तथा संस्कृतको आव को एउटै अर्थ छ । अंग्रेजीको क्रिया रीच र संस्कृतको ऋच् आपसमा मिल्छ । 

२. रुसी भाषाः रुसी भाषाका कैयौं शब्द संस्कृतसंग मिल्दाजुल्दा छन् । जस्तो कि संस्कृतको अग्नि रुसीमा अगोन््, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि रुपमा देख्न सकिन्छ ।


३. चीनीया भाषामा संस्कृतको प्रभावः यद्यपि चीनीया अति प्राचीन भाषा हो, तर पनि संस्कृतको छाप त्यहाँ पनि परिलक्षित हुन्छ । जस्तै, संस्कृतको पौषबाट चीनीयामा पौहुआ, माघबाट माकुआ, फागुनबाट फगुना आदि अनेक शब्द प्राप्त हुन्छन् ।


धेरैअघि चीन र भारतको बाटोमा पर्ने ख्रोतानमा संस्कृत भाषाको ठूलो विश्वविद्यालय थियो । जुनसुकै चीनीया विद्वान भारतीय यात्रामा जान्छ उसले ख्रोतानमा कम्तीमा छ महिना बसेर संस्कृतको अध्ययन अवश्य गरोस् भनी हुएनसांङले अनिवार्य बनाएका थिए । यसबाट के छर्लंग हुन्छ भने त्यसबेला संस्कृतको ज्ञान चीनियाहरुका लागि कति जरुरी थियो ।


४. इंडोनेशिया र संस्कृतः इश्लामिक देश इंडोनेशियाको जनजीवन रामायण र महाभारतको प्रभाव छ । उनीहरुले यी पुस्तकहरुमा वर्णित पात्रहरुलाई आफ्नो देव ठान्दछन् । रामायण र महाभारतका कथाहरु इंडोनेशियामा राष्ट्रिय कथाकारुपमा स्वीकृत छन् । इंडोनेशिया शब्द दुई शब्दको योगबाट बनेको छः इन्डस् र नेसस् । यहाँका भूतपूर्व राष्ट्रपतिहरु सुकार्णो र सहार्तोका नाम संस्कृतनिष्ठ छन् । त्यसैगरी इंडोनेशियाका द्वीपका नामहरु संस्कृतमा आधारित देखिन्छन् । जस्तै, सुमात्रा त्यहाँको एक स्थान छ जुन शुद्ध संस्कृत शब्द हो । यसैगरी एक स्थानको नाम जोगजकार्ता हो । जुन संस्कृतको योग्यकर्ताको तद्भवस्वरुप छ । जोगजकार्ताको सुलतानको उ

पाधि हो, भुवनो सेनापति, जुन संस्कृतको शब्द हो । यहाँको एक प्रसिद्ध बन्दरगाहको नाम प्रोबोलिंगो हो । जुन पूर्व र कलिंग शब्दबाट बनेको छ ।
युरोपमा संस्कृतः यूरोपेली विद्वानहरुले विशेष छानबीनद्वारा के थाहा पाएका थिए भने संस्कृत भाषा पाँच हजार वर्षको साहित्यले भरिपूर्ण छ । यसको अगाडि ग्रीक वा ल्याटिन साहित्य उभिन सक्दैन । यी सबै कारणहरुले अंग्रेजहरुले काशीका विद्वानहरुको रेखदेखमा हिन्दु धर्मशास्त्रहरुको अनुवाद गराए । र ती अनूदित ग्रन्थहरु पढेर उनीहरु आश्चर्यचकित भए । वारेन हेस्टिंग्जले चाल्र्स विल्किन्सलाई काशी पठायो । चाल्र्स विल्किन्सले सन् १७८५ ई मा गीता र हितोपदेशको अंग्रेजीमा अनुवाद गर्यो । सन् १७८३ ई. मा विलियम जोन्स नाम गरेको अंग्रेज बंगालको जज नियुक्त भएर आयो । जोन्सले संस्कृतको प्रशंसा युरोपमा सुनेको थियो । तसर्थ, भारतमा जजको रुपमा आएपछि उसले रोयल एशियाटिक सोसायटी अफ बंगाल नामक संस्थाको स्थापना गर्यो । सन् १७८९ मा विलियम जोन्सले महाकवि कालिदासकृत अभिज्ञान शाकुन्तलमको अंग्रेजी अनुवाद गर्यो । सन् १७९१ ई मा जर्मन विद्वान जोर्ज फास्टनले यस नाटकको जर्मन भाषामा अनुवाद गर्यो जसलाई पढेर जर्मनीको राष्ट्रकवि गेटे नाच्यो र ऊ भारतीय उपमहाद्वीप हेर्न छटपटाउन थाल्यो । गेटे महोदयले अभिज्ञान शाकुन्तलमको प्रशंसामा लेखेका छन्, मित्र यदि तिमी वासन्ती युवावस्थामा मनोरम पुष्प र ग्रीष्मतुल्य प्रौढावस्थाको उत्तमोत्तम फूल र यस्तै आत्मालाई प्रभावित गर्ने सामग्रीहरु एकै ठाउँमा खोज्न चाहन्छौ भने कालिदासको शाकुन्तलम पढ । त्यहाँ पुगेर केवल तिम्रो आत्मामात्र सन्तुष्ट र शान्त हुने छैन बरु तिमीलाई स्वर्ग र मत्र्यलोकका सफल समृद्धिहरु पनि एकै ठाउँमा भेटिनेछन् ।
यस्तै आध्यात्मिक ज्ञानको खानी ग्रन्थ उपनिषदहरु हुन् । जसलाई पढेर जर्मन दार्शनिक शोपेन होवर गद्गद् भए र उनले मुक्तकण्ठले भनिहाले, समग्र विश्वाई उपनिषदको तुलनामा कुनै पनि अध्ययन बढी उपयोगी र उदात्तकारी छैन । यो मेरो जीवनको सम्बल रहेको छ र यो नै मेरो मृत्युको सम्बल पनि हुनेछ ।
जर्मन विद्वान म्याक्समूलरको संस्कृतप्रति यति अगाध प्रेम थियो कि म्याक्स मूलरले लिपजिग विश्वविद्यालयमा हरमन ब्रोरबोस्कीको अध्यक्षतामा संस्कृतको अध्ययन गरे तथा सन् १८४३ ई मा दर्शनशास्त्रमा डाक्टरेटको उपाधि प्राप्त गरे ।


रुसका प्रसिद्ध विद्वान बोन गार्द लुविनलाई सबभन्दा बढी दुख के कुरामा भयो भने भारतका मानिसहरु गीता, महाभारत तथा योग आदिको अध्ययन अंग्रेजीबाट लिने गर्छन् । भारतीयहरु स्वयं संस्कृत पढेर आफ्नो देश र आफ्नो इतिहास बुझ्नुभन्दा विदेशीहरुको मुख ताकेर बसेका छन् । उनीहरुले अंग्रेजीमा गीता रामायण आदि पढाउने स्थिति बदल्नु पर्छ ।


जवाहरलाल नेहरुले संस्कृतलाई एक यस्तो शानदार भाषा भनेका छन् जसले टाढाटाढाका देशहरुलाई गौरवपूर्ण सन्देश दिएको छ । जसले उपनिषद, गीता र बुद्ध दिएको छ ।


देववाणी संस्कृतलाई धेरैजसो मानिसहरुले कर्मकाण्डको भाषा ठान्दछन् । जबकि संस्कृत एक यस्तो सुसम्पन्न भाषा हो जसमा ज्ञान, विज्ञान, अध्यात्म, व्याकरण, औषधि, खगोल, भूगोल, गणित, तथा गुरुत्वाकर्षणका सिद्धान्तहरु छन् । यो कुरा पाश्चात्य विद्वानहरुले धेरै अघि बताइसकेका छन् । जुन अंग्रेजीको वकालतमा मानिसहरु संस्कृतलाई बिर्सिन्छन् उसै अंग्रेजीलाई दिने देश इंग्ल्याण्ड संस्कृतलाई बढावा दिइएको छ । इंग्ल्याण्डमा संस्कृतको पठन पाठन अक्सफोर्ड, क्याम्ब्रिज, लन्दन तथा एडिनबरामा प्रारम्भ भयो र आज पनि सफलतापूर्वक चलिरहेको छ । अहिले युके लगायत युरोपका अनेक देशहरुमा स्कूलस्तरमा संस्कृत विषय पठन पाठन भइरहेको छ ।


नेपालमा संस्कृतको निकै विरोध भयो । यस विषयको वैज्ञानिकतातर्फ ध्यान जान सकेन । जसले यस विषयको वैज्ञानिकताबारे जानकारी दिनुपथ्र्यो उनीहरु किंकर्तव्यविमूढ बने । अहिले आएर फेरि यस विषयमा चासो जागृत भएको छ । युवा पुस्ताले यसको वैज्ञानिकता खोजी गरेर प्रचारमा ल्याउनु पर्छ । कुलचन्द्र गौतमको समय देखि नै के मान्यता छ भने संस्कृतको मूल ज्ञान जति नेपालमा छ अन्यत्र छैन । त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाली युवा जरुर सक्षम हुनेछ ।

 

अपडेट : 2020-08-11 17:06:08




your-image

Leave a Comment