श्रावण २८ २०७७   |  2020 Aug 12    


जुम प्रविधिमा स्मृति कार्यक्रम


news

कुरो १० औं लेखनाथ स्मृति मनाउँदाको हो । साउन ११ गते कवि लेखनाथ ज्ञवाली प्रतिष्ठानले कवि लेखनाथ ज्ञवालीको स्मृति सभा गर्ने गर्छ । अथवा लेखनाथ स्मृति दिवसको त्यो दिन कवि लेखनाथ ज्ञवालीलाई संझने उनका राम्रा पक्ष कमि कमजोरी र कृतिहरुको चर्चा गर्ने उनका कविता वाचन गर्ने दिन पर्छ । स्मृति मनाउन पहिला पहिलाजस्तो सहज छैन र अहिले पनि थिएन । एक त वर्षातको समय बाढी र पैरोको जोखिम उस्तै । त्यसैमाथि यो कोरोनाको कहर र लकडाउनको स्थिति । सरकारले लकडाउन खुकुलो पारिएको बताए पनि काम गरेर खाने पसले, जागिरे बाहेकका अन्यलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने, निस्कनै परे माक्स लगाएरमात्र निस्कने, एकबाट अर्कोको दुरी कायम राख्ने, सभा समारोह, भोजभतेर नगर्ने, माक्स नलगाउनेलाई समातेर दण्ड सजाय गर्ने आदि इत्यादि भनिरहेकै हुन्छ । सरकारको निर्णय पनि मान्नै पर्यो । कोरोना र त्यसबाट हुने मृत्युदर बढिरहेकै छ । यति जान्दा जान्दै पनि अटेरी गरेर आफैलाई जोखिम निम्त्याउनु भएन र यो पटकको कार्यक्रम हलमा गर्न सकिएन । अर्को कुरा प्रतिष्ठानका अध्यक्षलगायत सदस्यहरु पनि काठमाण्डौमै बस्ने हुनाले बुटवल भैरहवा, शंकरनगर तिरबाट काठमाण्डौमा जान जुट्न पनि अहिले निकै गाह्रै थियो ।


तर पनि संझना त गर्नै पर्यो भनेर अन लाइन जुम प्रबिधि मार्फत कार्यक्रम गर्ने मिटिङ तय गरिएको थियो । सोहीअनुसार यसबारे जान्ने भाइ भतिजालाई बोलाएर जुम डाउनलोड गर्न लगाएकी थिएँ । जुम आई डी, पासवर्ड त्यसमा टाइप गरेर ओके गरेपछि यताबाट बोल्ने र उताबाट बोल्ने मान्छे बल्ल जुममा जोडिन्छौ भनेका थिए उनले । एसपटकको मिटिङमा लेखनाथ स्मृति प्रतिष्ठानकी अध्यक्ष रम्भा पौडेलले जुम आईडी र पासवर्ड पठाइदिइन् । उनले भने अनुसार आइडी र पासवर्ड टाइपगरि ओके गरेर म र पति मदनलाल पौड्याल जोडिएर कुराकानी गरेका थियौं । अव त अलि अलि जानियो भनेर मख्ख पर्यौ हामी ।


कार्यक्रमको अघिल्लो दिन पनि आइडी र पासवर्ड अध्यक्षले नै पठाएकी थिइन् र अरुलाई पनि पठाइदिनु भनेकी थिइन् । सोहीअनुसार मैले यतातिरका लेखनाथ ज्ञवालीका निकट रहेका र उहाँलाई नजिकबाट चिन्ने केही साहित्यकार श्रष्टाहरुलाई निम्तोसहित आइडी र पासवर्ड फरर्वाड गरिदिएकी थिएं । कार्यक्रमको समय ११ गते साँझ ५.३० बजे राखिएको थियो । सोही अनुसार मोबाइल चार्ज गरेर फुल बनाएर राख्यौं दुबैले । प्रतिष्ठानको सदस्यको नाताले मलाई उपस्थितिलाई स्वागत गर्ने जिम्मा दिइएको थियो । मैले पनि जे जसरी जान्छु गरुँला भनेकी थिएँ ।


५.३० को समय दिइएको भएपनि साँझ ६ बजेसम्म उताबाट कुनै संकेत चिन्ह आएन । अतिथिहरु आआफना घरघरमा तयारी हुँदै थिए होला । आइतबारको दिन कसैको अफिस वा कतै काम पनि थिए होलान् । साँझ ठीक ६ बजे मैले नै बिचार गर्ने मनसायले जुम खोलेर आइडी र पासवर्ड राखें र ओके गरें । म जोडिएँ, दुई चार अनुहारहरु झल्याक झुलुक देखिए स्क्रीनमा । त्यसपछि मदनजीकोमा आइडी र पासवर्ड राख्न जुम अन गरिदिएं तर वहाँकोमा न आइडी राख्ने स्थान आयो न पासवर्ड राख्ने । पहिला मिटिङ गर्दा कुरा भएको यसपाली भएन । कसरी बिग्रिएछ । बनाउन आएन । यसो गराउँछु उसो गराउँछु पासवर्ड राख्ने ठाउँ नै आउँदैन । बन्द गरेर फेरि खोल्छु हुँदै हुँदैन । नजाने पछि कसको के लाग्यो ? बुढो दिमागले मदनजीले पनि बिर्सनु भयो कता कता के के चलाउनु भयो, गयो । त्यहाँ के के भनेको थियो जानिएन । बरु मोवाइलमा, फेसबुक चलाउन नजानेको भए आनन्दै हुँदोरहेछ अलिअलि जान्ने त्यो पनि अरुले ठीक्क पारेर यसो र उसो गर भनेर चलाउने मान्छे अलिकति यताउता भएपछि सिद्धियो । त्यस्तै भयो ११ गतेको कार्यक्रमा पनि । मदनजीकोमा नभएपछि मेरो पसिना आउन थाले । धन्न मेरोसम्म सही सलामत थियो । मैले भनेँ भो यसमा छाडिदिउँ पछि जान्ने मान्छेलाई बनाउन भनौँला । मेरो बाटै पालैपालो बोलौँला । अरु बोलेको हेर्न यसैबाट दुबैलाई मिल्छ । घरमा तेश्रो ब्यक्ति कोही छैन भनेर हामी दुबैले एउटैमा हेर्न थाल्यौं । उताबाट कार्यक्रम सञ्चालक संस्थाका आजीवन सदस्य विजय पौड्याल र बलराम पौड्याल देखिनु भयो र कार्यक्रममा आसन ग्रहण गराउन थाल्नुभयो ।


कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष्य रम्भा पौड्याललाई आसन ग्रहण गराएपछि उनलाई कार्यक्रमबारे थोरै प्रकाश पार्न भनियो । त्यसपछि प्रमुख अतिथिको रुपमा आदरणीय दाजु गोविन्द ज्ञवालीको नाम पुकारियो । जो लेखनाथ ज्ञवालीका प्रिय पनि हुनुहुन्थ्यो । त्यसपछि बिशिष्ट अतिथिको रुपमा बरिष्ट साहित्यकार आदरणीय ब्यक्तित्व पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रितको नाम आयो । जो हरिहर संस्कृत पाठशालामा पढ्दा बाह्र तेह्र्र वर्षकै उमेरमा लेखनाथ ज्ञवाली र मोदनाथ प्रश्रितले खेलखेलैमा सम्धी नातो जोडेका थिए । पछि यो नातो साकार भयो । त्यसैगरि अन्य विशिष्ट अथितिहरुमा नेपाल प्रज्ञा प्रतिठानका प्रध्यापक होमनाथ पौड्याल र सदस्य सचिव जगत प्रसादलाई आसन ग्रहण गराइयो । त्यसैगरेर भैरहवा, बुटवल, शंकरनगर, गुल्मी लण्डन, अमेरिका गर्दै अतिथिहरुलाई आसन ग्रहणमा नाम बोलाउँदै गइयो ।


आसन ग्रहणको कार्यक्रमलाई जोड्ने काम यथावत राख्दै मलाई उपस्थित पाहुनाहरुलाई स्वागत गर्न भनियो । उठ्नु परेन । बसीबसी मोवाइल जुममा मैले स्वागत गर्न शुरु गरें । पहिला त मेरो फोटो तल देखिएको थियो । तर पछि त मेरो फोटै देखिएन, फोटो भाग्यो । म बोल्दै त गएं तर आवाज गयो कि गएन थाहा भएन । बीचमै सोध्नु पर्यो भनेर हेलो हेलो भनि चिच्चाएँ । मेरो आवाज आएको छ भनेर सोधेँ । त्यो भन्दा अगाडी अध्यक्ष, प्रमुख अतिथि, बिशिष्ट अतिथि र अन्य अतिथिलाई कार्यक्रममा स्वागत गरिसकेकी थिएं र यसरी कार्यक्रम गर्नु परेको कारणबारे भनेकी थिएँ । खै कसैले सुने वा सुनेनन् मलाई थाहै भएन । नसुने त म बोलेको कुनै अर्थ नै भएन । मैले भने मलाई सुन्नुभएको छ हेलो भनँे । पछि विजय ज्वाइँले सुनिएको छ सुनिएको छ भन्नु भयो ।


पहिलोपटक यसरी प्रबिधिमा जोडिएकीले होला म अलि हडबडाएँ पनि । पुनः उपस्थितीलाई स्वागत भन्दै कवि लेखनाथ ज्ञवालीबारे उहाँको थोरै पृष्ठभूमिबारे दुइचार कुरा भनेर उहाँ अक्षरसंग खेल्ने, रमाउने ब्यक्ति भएकोले मैले पनि आप्mनो कविता नसुनाई, उहाँकैे अक्षर भन्ने पुस्तकबाट, अक्षर नामको र्शिषकबाटै कविताका दुईचार लाइन कविता उनैप्रति समर्पण भनि सुनाएँ । कविताका यी लाइन ।


मात्रा ब्यंजन अंक वर्ण स्वर वा संयोग हो अक्षर,
धेरै चिन्ह र विन्दूका चरणको प्रयोग हो अक्षर,
यो संसार प्रसार माध्यम ठूलो संचार हो अक्षर ।
त्यसै गरि अर्को चार लाइन हाम्रो आवाज भन्ने पुस्तकबाट लिएं र सुनाएं । कविता यस्तो रह्यो ।
हजार छन् डाँडा काँडा हजार छन् लेक,
जति लेक भएपनि देश हाम्रो एक,
एक एक स्वर मिलि यौटा गीत बन्छ,
त्यो गीतले सबैलाई एक होउ भन्छ ।
यौटै झण्डामुनि कति चिरापरी बस्ने ?
कति धेरै अहंकार गरि तल खस्ने ?
तलै तल खसे देश कहाँ माथि बन्छ ?
यो माटोले सबैलाई एक होउँ भन्छ ।


यही कविताका हरफ सुनाउँदै पुनः एकपटक कार्यक्रममा जोडिनुभएका पाहुनाहरुलार्इ स्वागत गर्दै म बिदा भएं । पहिलोपटक प्रबिधिसंग जोडिएर कार्यक्रममा स्वागत गर्दा भन्नुपर्ने कुरा छुटेको र नभने पनि हुने कुरा भनेजस्तो लाग्यो म आफैलाई । धेरैबेरसम्म मन कस्तो कस्तो भयो । तर रमाइलो पनि लाग्यो । त्यसपछि सबैको बोल्ने सुनाउने क्रम शुरु भयो । इन्टरनेट र, विजुली जाने आउने भएर होला कसैले बोल्न नाम बोलाउँदा उपस्थित हुन सक्नुभएन । उहाँहरुको पालोमा अर्कोलाई समय दिइन्थ्यो । कार्यक्रममा जति जोडिनुभएको थियो सबैले कवि लेखनाथ ज्ञवालीको ब्यक्तित्व, कृतित्व र पत्रकारिताको साथै उहाँको आनिवानी र ब्यवहारको चर्चा गर्दै उहाँकै कविता वाचन गर्नुभयो भने कसैले आप्mनो रचना सुनाउनु भयो । भैरहवा क्षेत्रबाट जोडिनेमा साहित्यकार समालोचक बालकृष्ण भट्टराई, गजलकार बूँद राना, साहित्यकार बनमाली निराकार, साहित्यकार रुद्र ज्ञवाली, साहित्यकार गंगा लिगल, गंगा अभिलासी हुनुहुन्थ्यो तर रुद्र ज्ञवाली पछि जोडिनुभएन कता लाग्नुभयो कि नेटले काम गरेन तर गंगा अभिलासीले जोडिए पनि सुनाउनु भएन । मणिग्राम क्षेत्रबाट प्राध्यापक एवं साहित्यकार आदरणीय गुरु ऋषिराम भूषाल, बुटवल क्षेत्रबाट प्रा. डा. हिरण्य ज्ञवाली, पत्रकार दीपक ज्ञवाली छन्द कवि कविराज पौडेलले छन्दमै कविता बाचन गर्नुभयो ।


शंकरनगर क्षेत्रबाट, वरिष्ट पत्रकार, लेखक साहित्यकार अर्जुन ज्ञवाली, कवि लेखनाथ ज्ञवालीका छोरा सरोज ज्ञवाली, भाइ एवं प्रतिष्ठानका पूर्व अध्यक्ष लक्षमण ज्ञवाली, सुदीप ज्ञवाली, डा. शिव पौड्याल, पत्रकार एवं लेखक मदनलाल पौड्याल, दुर्गा पौड्याल, सन्तोष ज्ञवाली, दीवाकर पंथी लगायत हुनुहुन्थ्यो । यी सबैले कवि लेखनाथ ज्ञवालीलाई जुन जुन रुपमा देखे, सामिप्यमा रहे, उनीसंग बर ब्यवहार गरे, उनका आनिवानीसंग परिचित रहे त्यही त्यही बिषयमा र कृतिहरुहरुका बारेमा र उहाँको लेखनका बारेमा चर्चा गरे कविता गजल सुनाए । त्यसैगरि गुल्मीको गाउँ ठाउँबाट पनि जोडिनुभएको थियो नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेल । उहाँले आफु सानोछदाँ देखे सुनेका लेखनाथ ज्ञवाली र कृतिमा लेखनाथ ज्ञवाली र प्रतिष्ठानले अगाडी गर्नुपर्ने काम बारे प्रकाश पार्नुभयो । त्यसैगरी काठमाण्डौबाट रामप्रसाद ज्ञवालीले कवि लेखनाथ ज्ञवालीको कृतिको बारेमा चर्चा गर्नुभयो । बाल साहित्यकार रुमानी पौड्यालले स्वागत गीत गाइन्, त्यसैगरी गंगा कर्माचार्य पौडेल, शान्ति सापकोटा, सीता ओझा लगायतले लेखनाथ ज्ञवालीको ब्यक्तित्वको चर्चा गर्दै कविता बाचन गरे ।


प्रतिष्ठानका आजीवन सदस्य एवं लुम्बिनी वाङ्मय प्रज्ञा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष्य हिमलाल ज्ञवालीले लेखनाथ ज्ञवालीको ब्यक्तित्व र कृतित्वको चर्चा गर्दै कवि लेखनाथ ज्ञवालीको प्रतिमा बनाएर कपिलबस्तुको साहित्यधाममा राख्न पहल गर्ने र त्यसमा परिवारले पनि साथ दिनुपर्ने बताउनु भयो । नेपालगन्जबाट भाइ नारायण ज्ञवालीले कवि लेखनाथ ज्ञवालीको आनिबानि ब्यवहारका विषयमा प्रकाश पारे । काठमाण्डौ त कार्यक्रम गर्ने मुख्य थलो भएकोले कवि लेखनाथ ज्ञवालीलाई नजिकबाट र कृतिबाट चिन्नुहुने महानुभाव शान्ता मानवी जो सांसद पनि हुनुहुन्छ, उहाँले पनि लेखनाथ ज्ञवालीले धेरै पहिला गाएको गीतका लाइन सुनाउँदै उहाँको ब्यक्तित्वबारे प्रकाश पार्नु भयो । बुवा ऋषिराम ज्ञवाली पनि केही समयकालागि जोडिनु भयो कवि लेखनाथ ज्ञवालीकी जेठी छोरी रम्भा पौड्याल र बिजय पौड्याल, माइली छोरी सुशीला र ज्वाइँ रुक्माङ्गत अर्याल, कान्छी छोरी मञ्जु पौडेल, ज्वाइँ बलराम पौडेलले बुवाका बारे आ आफना अनुभव सुनाए । सुशीला अर्यालले कविता पनि सुनाइन् ।


कवि लेखनाथका सम्धी बरिष्ठ साहित्यकार एवं कार्यक्रमका बिशिष्ट अतिथि मोदनाथ प्रश्रितले लेखनाथ र आफु सम्धी बन्दाको रमाइलो र उतिबेला केटाकेटी अवस्थाको कुरा पछि साकार पनि भएको बताउनुभयो । सम्धेनी कविता पौडेल आप्mनो अनुभव सुनाउँदै विदेश भएका छोरालाई घर फर्क भन्ने सन्देशमूलक कविता सुनाउनु भयो । सबैले जुन रुपमा कवि लेखनाथ ज्ञवालीलाई पाउनुभयो सबैले आआफनो अनुभव सुनाउदै केहीले उहाँका कृतिबाट कविता सुनाउनु भयो । त्यसैगरि लण्डनबाट कविका कान्छो छोरा निरज ज्ञवालीले बुवाको सबैभन्दा आफुलाई मनपर्ने कविता भनि सुनाए । लण्डनबाटै प्रतिमा केसीले कविता बाचन गरेर सुनाइन् । त्यसैगरि अमेरिकाबाट भाइको छोरा मधुसुधन ज्ञवालीले आफु ठूलो बुवाको आदर्शलाई पच्छाएको बताए । अन्त्यमा सम्पूर्ण कार्यक्रमको समीक्षा डा. शिव पौड्यालले गर्नु भयो । डा. शिव पौड्यालले आफ्नै पहलमा करिव तीनसय पचास पृष्ठको कवि लेखनाथ ज्ञवालीका कविता कृतिको अध्ययन गरेर दुई तीनवर्ष अगाडी नै पुस्तक प्रकाशित गर्नु भएको छ । उहाँप्रति कवि लेखनाथ स्मृति प्रतिष्ठान आभारी छ र आभार ब्यक्त गर्दछ । यो लकडाउन र कोरोना कहरको समयमा पनि प्रतिष्ठानको निम्तो स्वीकारेर प्रबिधिसंग जोडिई स्व. कवि लेखनाथ ज्ञवालीलाई संझना गरेर उहाँको ब्यक्तित्व र कृतित्वको चर्चा गर्ने कविता वाचन गर्ने सम्पूर्ण साहित्यकार, लेखक पत्रकार, सबैमा प्रतिष्ठानकी सदस्य र कवि लेखनाथकी बैनी भएको नाताले आभारी छु र आभार प्रकट गर्दछु । प्रबिधिसंग पहिलो पटक जोडिएर कार्यक्रम गर्दा बोलिमात्र सुनिएछ आप्mनै तस्बीर आएनछ । रमाइलो लाग्यो ।

अपडेट : 2020-08-01 19:26:16




your-image

Leave a Comment